परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो । भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए । उनले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे । साथै नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।
अब सिमकार्डदेखि सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना जारी गरी आगामी माघ १ गतेदेखि लागु हुने गरी राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णयहरू समेटेर गृह मन्त्रालयले १० असारमा राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको हो । राजस्व सम्बन्धी अर्थात् व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सेवा सम्बन्धी, टेलिफोन तथा सिमकार्ड सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेच सम्बन्धी काम गर्न देशैभरि लागु हुने गरी राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सूचनामा उल्लेख छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार राजस्व सम्बन्धी सेवा, ड्राइभिङ लाइसेन्स र कम्पनी दर्ताका लागि १ साउन २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । बैकिङ तथा वित्तीय सेवा सम्बन्धी सेवा र टेलिफोन तथा सिमकार्ड लिनसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । यो सेवामा माघ १ माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । सामाजिक सुरक्षा कोषको सेवा र घरजग्गा किनबेचमा समेत सोही मितिबाट यो पत्र अनिवार्य गरिएको छ । हालसम्म नागरिकता प्रमाणपत्रका आधारमा सेवा प्राप्त हुँदै आएकामा अबदेखि राष्ट्रिय परिचयपत्र चाहिने भएको हो । सरकारले २०७५र७६ बाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । [pdf id=492961]
नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई अध्यक्ष ढकालले गरे आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताए । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएका छन् । उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे । ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको ठूलो सम्भावना रहेको बताए । नेपाल सरकार र भारत सरकारबिच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्याउने हुँदा जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर रहेको बताए । त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए । नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानूनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको समेत उनले उल्लेख गरे । त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी ९बीआईए० फ्रेमवर्क तयार भई मन्त्रीपरिषद्बाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ, उनले भने । मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताए । उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए । ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा ओपेक फण्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत तथा साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ओपेक फण्डले थप लगानी गर्न तयार रहेको बताएका छन् । त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फण्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताए । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार हस्ताक्षर गरेका छन् ।
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान
काठमाडौं । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ । चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन् । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ । चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ ।
इजिप्टमा फ्रान्सको लगानी ७.२ बिलियन अमेरिकी डलर
काठमाडौं । फ्रान्सेली उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र इजिप्टमा कार्यरत फ्रान्सेली कम्पनीका प्रतिनिधिसँग भएको भेटमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टमा फ्रान्सका ९४० कम्पनीहरूमार्फत करिब ७.२ अर्ब अमेरिकी डलरको लगानी भएको बताएका छन् । बैठकमा मोस्तफा मदबोलीले इजिप्टमा यी कम्पनीहरूले कार्यान्वयन गरेका परियोजनाहरू, तिनीहरूको भावी योजनाहरू र इजिप्टमा उनीहरूको लगानी विकास गर्ने प्रस्तावहरूको समीक्षा गरिएको थियो । प्रधानमन्त्रीले फ्रान्सेली कम्पनीहरूले इजिप्टमा विशेषगरी यातायात, विशेषगरी मेट्रो परियोजनालगायत क्षेत्रमा लगानी बढाउने आशा व्यक्त गरे ।
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती । बागमती प्रदेशसभाको बैठक बुधबार पनि बस्दै छ । उक्त बैठक बिहान ११ः३० बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । मंगलबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो । यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । मंगलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।
बाँकेमा वनक्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइए
राँझा । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ । नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा अतिक्रमित वनक्षेत्रमा निर्मित घरटहरा हटाइएका हुन् । डिभिजनल वन कार्यालयका अधिकृत अजीतकुमार कर्णका अनुसार, राप्ती सोनारी–७ मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वनक्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको हो । नरैनापुर–६ स्थित दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरासमेत हटाइएको छ । राप्ती सोनारी–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वनक्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए । अन्य वनक्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको उनले बताए । राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर हाइटेक नर्सरी निर्माणकार्य भइरहेको छ । हाइटेक नर्सरीमा बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए । शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयअन्तर्गत राप्ती सोनारी–२ कचनापुर, वडा नं ६ फत्तेपुर र वडा नंं ८ महादेवपुरीमा बाढीपीडितका नाममा वनक्षेत्र अतिक्रमण गरिएको उनले बताए । रासस
लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ । रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् । क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गए राति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उनले जानकारी दिए । सडक अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष जमिमाया गुरुङलगायतको टोली उद्धारको पहलमा लागि घटनास्थलमा जाँदै गरेको उनले बताए । स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् । ‘पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन’, उनले भने–’प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन ।’ सो ठाउँमा ६ वटा घर रहेका छन् । तीन घर भने पहिरोबाट जोगिएका छन् ।