'केही समूहले इन्साइडर ट्रेडिङ गरेर १६ अर्ब दुरुपयोग गरे, अर्बौं कमाए'

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा सीमित समूहको प्रभाव बढ्दा सर्वसाधारणको अर्बौं रुपैयाँ जोखिममा परेको बताएका छन् । उनले इन्साइडर ट्रेडिङ र बजार हेरफेरमार्फत केही व्यक्तिले करिब१६ अर्ब रुपैयाँसम्म दुरुपयोग गरेको आरोप लगाएका हुन् । 

मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले विगतका वर्षहरूमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको नियन्त्रणमा पुगेको स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए । उनले बजारमा कृत्रिम चलखेल गरेर राजनीतिक नेतृत्वसमेत प्रभावित पार्ने प्रवृत्ति बढेको टिप्पणी गरे ।

उनका अनुसार केही समूहले पुँजी बजारलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेका छन् । यस्तो अवस्थाले आर्थिक संस्थामात्र होइन, राजनीतिक संरचनामाथि समेत प्रभाव पार्ने वातावरण बनेको उनको भनाइ छ । 

मन्त्री वाग्लेले सरकारले पुँजी बजार सुधारका लागि विभिन्न कदम अघि बढाइरहेको जानकारी दिए । स्टक एक्सचेन्जको पुनःसंरचनाका लागि गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको उनले बताए ।

उनले आगामी दिनमा नेपालको पुँजी बजारलाई अझ व्यावसायिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममा समेत पुँजी बजारप्रति उदार नीति समावेश भइसकेको भन्दै आगामी बजेटमार्फत त्यसलाई थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे । 
‘पुँजी बजारलाई विश्वस्तरीय अभ्यासअनुसार अघि बढाउने गरी सरकारले सुधारका कार्यक्रम ल्याइरहेको छ,’ मन्त्री वाग्लेले बैठकमा भने । 
 

Share News