४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र
वीरगञ्ज । पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किलोमिटर लम्बाइको नमूना सडक तयार पारेको बताए । ‘पथलैयाबाट हेटौँडा आउने सडकको लेन उच्च भारवाहन क्षमताका मालवाहक सवारीसाधनले सडक धसिने समस्या देखिँदै आइरहेको छ । हामीले पहिलो चरणमा आधाभार क्षेत्रमा दुई किलोमिटर सडक स्तरोन्नति गरेका छौँ,’ उनले भने, ‘यो सडक पहिलो चरणमा ‘डिबिएम’ र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरेकाले पनि सडक धासिने समस्या आउने छैन ।’ गत माघ २२ गते सडक डिभिजन हेटौँडा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । यो आयोजनाको लागत ४ करोड १२ लाख १७ हजार ३ सय ४८ रुपैयाँ रहेको छ । ठेक्का सम्झौताअनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्ती र मौसमका कारणले तोकिएको समयभन्दा केही ढिला गरेर सम्पन्न भएको हो । सूचना अधिकारी पाण्डेले यो प्रविधिबाट सडक कालोपत्र गर्दा लामो समयसम्म टिकाउ हुने दाबी गरे । ‘हामीले परीक्षणका क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गरेका छौँ । यो सडक प्रभावकारी भएको खण्डमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ,’ उनले भने ।
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले सर्वसाधारणका लागि आफ्ना सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा ल्याएको सेयरको संख्या भने खुलाएको छैन् । उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।
कोरियन भाषा परीक्षा असोजमा, साउन पहिलो साता आवदेन दिनुपर्ने
काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया जानेहरूको भाषा परीक्षा असोजमा हुने भएको छ । ईपीएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा दिनेले साउन ७ गतेदेखि ११ गतेसम्म फाराम भर्नुपर्ने छ । परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ । शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ । जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान राखिएका छन् ।
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बलेवा । मंगलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएका छैनन् । सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो । जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।
सर्वसाधारणका लागि आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ३८ हजार ७ सय ५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बुधबार एक सूचना जारी गरी संस्थापक सेयरधनीहरू नेपाल इन्भेष्टमेण्ट प्रालिको २ लाख २३ हजार १ सय ७२ कित्ता, प्रभु ग्रुप प्रालिको ११ हजार ४ सय २९ कित्ता र तारा कुमारी भट्टचनको ४ हजार १ सय ५७ कित्ता गरी २ लाख ३८ हजार ७ सय ५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूलय २९९ रुपैयाँ तोकिएको छ । यो सेयर संस्थापक सेयरधनीले खरिद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । यो सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा कम्पनीले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने छन् ।
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर
भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । संघीय सरकारको १ करोड ५० लाख रुपैयाँ सशर्त अनुदानबाट विपन्न समुदायका आवास निर्माण भएका हुन् । मंगलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे । सो अवसरमा उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए। ‘पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो,’ उनले भने, ‘टोल र वडाको छनोटका आधारमा उनीहरूको घर निर्माण गरेका हौँ ।’ अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताए । ‘घडेरी सम्याउने र जग खनेर ढुंगा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो,’ उनले भने, ‘अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’ उgले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए । गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताए । उनले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिए । गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताए । पालिकाले आगमी आवका लागि # करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए। वर्षौँदेखि खरको झुप्रोमा बस्दै आएका इच्छाकामना –७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताए । इच्छाकामना–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताए । उनले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गरे । ‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, ६ जनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ,’ उनले भने । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।
नौबिसे-मलेखु सडक १५ दिनसम्म रातिमा ५ घण्टा बन्द हुने
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबारदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताए । नौबिसे नागढुंगा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्नको लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए । गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताए । ‘पुलको आरसिसी बिम ९प्रिकास्ट ब्रिज गर्डर० पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्नेछ,’ उनले भने, ‘काम नयाँ पुलमा हुने भए पनि पुरानो पुलसँगै रहेकाले काम गर्ने क्रममा आई पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो ।’ काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय) मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरूपमा रोकिनेछ । सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभाबी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द रहनेछ । राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक मार्गको रूपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।
कञ्चनपुरमा ७८ वर्षयताकै सर्वाधिक वर्षा
काठमाडौं । नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको छ । यही असार २४ गते बिहान ०८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्यांकअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६२४ मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर तथा सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो । वायुमण्डलिय तथ्यांक, भू–उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली विकसित भएको थियो । साथै, उपल्लो वायुमण्डल पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बंगालको खाडी दुबैबाट जाउने जलवायुयुक्त हावा सो स्थानमा समिश्रण भई भारी वर्षा भएको विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि २०७४ साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो भने भू–संरक्षण विभागको तथ्यांकअनुसार २०५० साउन ५ गते (सन् १९९३ जुलाई २०) मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार दुई दिनअघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा सक्रिय मनसुन अहिले कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सक्रिय रहेकाले ती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । ‘बुधबार राति कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा पनि भारी वर्षाको सम्भावना देखिन्छ,’ उनले भनिन् । हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाले हरेक तीन दिन विशेष मौसम बुलेटिन निकालेर मौसम पूर्वानुमानसम्बन्धी अध्यावधिक गरिरहेको छ ।