विकासन्युज

बुद्धभूमी हाइड्रोपावरको विशेष साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । बुधबार बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा बस्दैछ । सभा काठमाडौं पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले सभाका लागि गत जेठ २३ गतेका दिन बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ २२ गतेसम्म कायम सेययरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न नेपाल एसबिआई बैंकको आग्रह

काठमाडौं । नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८०, सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ र सम्पत्ति शुद्धीकरण निवारण नियमावली अनुसार खातावाला तथा निजका हिताधिकारीका ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने भएकाले प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो । खातावालाहरूले यसअघि बुझाउन बाँकी कागजात तथा विवरण वा परिवर्तित थप विवरण आफ्नो खातामा रहेको शाखा वा आफूलाई पायक पर्ने नेपाल एसबिआई बैंकको कुनै पनि शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एंव कागजात पेस गर्न बैंकले आग्रह गरेको छ ।

एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले असार १४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समिति बैठकले बबरमहलस्थित बसेरा बुटिक होटलमा साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले अधिकृत तथा जारी पुँजी वृद्धिपश्चात् हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा असार ९ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर बैंकका हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ । तोकिएको समयमा खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै, सेयरको मूल्य बिक्रेताअनुसार फरक भएकाले त्यसको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

प्रभु बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गरी विभिन्न पाँच संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार ५३९ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको हो । यो सेयर विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।

काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वीरगन्ज महानगरले गर्‍यो ५ निजी विद्यालयमा सिलबन्दी

वीरगञ्ज । नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले मंगलबार शिलबन्दी गरेको छ । शिक्षा समितिको अनुगमन समितिले अवैध रूपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए । शिलबन्दी भएका विद्यालयहरूमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन् । वीरगञ्ज महानगरपालिका–२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ ।

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारदेखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमानासम्म पुर्‍याएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा सम्झौता भएको थियो । २४ किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।