विकासन्युज

उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौं च्याप्टर

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्यमीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाडौं च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो । विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले बताइन् । ‘हाम्रो उद्देश्य भनेकै उदयमशीलतालाई प्रवर्द्धन गर्ने हो,’  उनले भनिन्, ‘त्यसै अनुसार उद्युमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका विद्यार्थीलाई सम्मान गर्दैछौं ।’ इमर्जिङ लिडरका लागि विद्यार्थी कालमै उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका उद्यमीले आवेदन दिन सक्ने छन् । आवेदन, उद्यमी स्वंय आफैले वा अरूले पनि दिन सक्ने छन् । इमर्जिङ लिडरका लागि आवेदन दिन नोमिनी ३० वर्षभन्दा कम उमेरको नेपालमा आधारित विद्यार्थी हुनुपर्नेछ भने एनवाईईएफको पार्ट नभएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । इमर्जिङ लिडरका लागि आवेदन खुला भइसकेको छ । प्राप्त आवेदन मध्येबाट सूचना प्रविधि, सामाजिक प्रभाव, शिक्षा, ई-कमर्स र रिटेल, दिगो, वातावरण र कृषि गरेर पाँच विधामा १० जनालाई इमर्जिङ लिडरको रूपमा सम्मान गरिने छ । प्रत्येक विधाबाट २ जनालाई सम्मान गरिने छ । प्राप्त आवेदनको आधारमा निर्णायकहरूले उत्कृष्ट विद्यार्थी उद्यमीको छनौट गर्ने बताइएको छ ।

पहिरोका कारण अरुण तेस्रोका एक मदुरको मृत्यु, २ जना घाइते

संखुवासभा । पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत आयोनजामा कार्यरत एक मजदुरको मृत्यु भएको छ। संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा आएको पहिरोका कारण अन्य दुई जना मजदुर घाइते भएका छन्। अविरल वर्षापछि मंगलबार रातिको खसेको पहिरोका कारण अरुण तेस्रोमा कार्यरत बर्दियाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्। कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । आयोजनाको कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएको बताएको छ।

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौं । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंंकमा रन बनाउन सकेनन् । समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अंकका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अंंक बाँड्दै पाँच अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्याण्ड दुई खेलमा एक अंकका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।

सुर्खेतको बुलबुले तालमा मोटरबोटको औपचारिक शुभारम्भ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘प्रदेशको विकासका लागि कृषि क्षेत्रको व्यावसायिकीकरण, घरेलु उद्योग र पर्यटन नै हो, बोटेबोरा कम्पनीले यहाँ मोटरबोट सञ्चालन गरेपछि पर्यटकीय गतिविधि पनि बढेको छ । प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्नेछ ।’ उनले प्रदेशमा निजी क्षेत्रको लगानी अझ बढ्नुपर्नेमा पनि जोड दिए । कर्णाली प्रदेशलाई जहिले पनि दुःख र अप्ठ्यारोको पर्यायवाचीका रुपमा लिने गरिएको उल्लेख गर्दै उनले यो सोच बदल्न जरुरी रहेको बताए । यसका लागि पर्यटन क्षेत्रको विकास सबैभन्दा उपयुक्त विकल्प भएको उनको भनाइ छ । उनले यसप्रकारको पर्यटनले सम्बन्धित गन्तव्यमा आर्थिक गतिविधि बढ्नुका साथै राजगारी सिर्जना हुने र विदेश जाने युवालाई स्वदेशमै रोक्न सकिने धारणा राखे । सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल)ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताए । उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपैयाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिए । बुलबुले ताल क्षेत्रमा प्रवेशका लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपैयाँ लिँदै आएको छ । प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरापालिकाले वार्षिक ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने अवस्था आएको समेत उल्लेख गरे । मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए । ‘मोटरबोट सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको छ । मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ आउनुभएको छ’, उनले भने । उनका अनुसार गत वैशाख १२ गतेयता ३० हजारभन्दा बढीले मोटरबोटको अनुभव लिइसकेका छन् । ‘अहिलेसम्म मोटरबोट सञ्चालन राम्रोसँग भइरहेको छ, तर तालमा पानीको सतह कम भएको र साँझ नपर्दै पार्क बन्द हुने भएको समस्या भएको छ’, उनले भने, ‘तालमा पर्याप्त पानीको सुविधा उपलब्ध गराउन तथा पार्क अबेरसम्म खुला गर्ने विषयमा स्थानीय तहसम्म हामीले पहल गरिरहेका छौँ, आशा छ चाँडै त्यो पनि पूरा हुनेछ ।’ बोटेबोरा कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो । मृत अवस्थामा रहेको बुलबुले ताललाई कम्पनीले आफ्नै लगानीमा सफा गरेर मोटरबोट सञ्चालन गरेको जनाएको छ । कम्पनीका अनुसार ताल सफा गर्न हालसम्म आठ सय २० जना व्यक्ति खटिइसकेका छन् । कम्पनीले यसका लागि मात्रै २५ लाख रुपैयाँ लगानी भइसकेको ढकाल बताउँछन् । तालमा रहेको फोहोर सफा गरेपछि अहिले पानीको सतह केही कम भएको छ । तालमा पर्याप्त पानीको व्यवस्थाका लागि प्रयास जारी रहेको कम्पनीले जनाएको छ । हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार मोटरबोट चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ बच्चा साथमा भएमा दुई सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ । कार्यक्रममा मुख्यमन्त्री कँडेलसँगै प्रदेशसभाका सभामुख नन्दा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गवहादुर रावत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, वीरेन्द्रनगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल), उपप्रमुख निलकण्ठ खनाल, तीन वटै सुरक्षा निकायका प्रमुखहरू, विभिन्न वडाका अध्यक्ष र उपाध्यक्षका साथै विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

नेपाल बैंकद्वारा सडक डिभाइडर सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडको तर्फबाट शाखा प्रबन्धक नारायण प्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्रा.डा. ध्यानेन्द्र बहादुर राईसमक्ष सडक डिभाइडरहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाका कर्मचारी तारा राई लगायतको उपस्थिति रहेको थियो ।

बन्दीपुर केबलकार सञ्चालन भोलिदेखि, भुइँ छोडेर मन्दिर दर्शन गर्न मिल्ने

बन्दीपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बनेको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको उनले बताए । करिब १ वर्षअघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिए पछि कम्पनीले कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त गरेको शर्माले बताए । कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेको उनले बताए । केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । भुईँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्न पर्छ भन्ने मान्यता बन्दीपुर केबलकार मार्फत पुरा हुने भएको छ । केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ । यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधा सहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले गत वैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो । त्यस्तै बटम स्टेसनमा जङ्गली म्युजियम, चिल्डरेन जोन, ३३कोटी देवीदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ । बन्दीपुरहिलको कुल लागत ६ सय २९ करोड मध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले बताए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटेल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरिएको २ सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ । केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको सो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजेसम्म चल्नेछ । केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष समेत सञ्चालन गर्ने भएको छ । तर केबलकारको सो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ । बाँकी २ वटा पारदर्शी एडभेन्चर गोण्डला हुने छन् भने २ वटा ढुवानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ ।

टि २० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध

काठमाडौं । आइसिसी टि २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले समान १/१ अंक बाँडेका छन् । समूह डिमा रहेको नेपालको २ खेलबाट एक अंक भएको छ भने श्रीलंकाको तीन खेलबाट १ अंक छ । तीन खेलमा श्रीलंका बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको हो भने नेपालसँग वर्षाका कारण १ अंक बाँडेको हो । यता नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो भने श्रीलंकासँग अंक बाँड्न बाध्य बनेको हो । नेपालले अब १५ तारिकमा दक्षिण अफ्रिकासँग् वेस्टइण्डिजमा खेल्नेछ । साथै १७ तारिकमा बंगलादेशसँग खेल्नेछ । बाँकी दुवै खेल जितेको खण्डमा नेपालले सुपर ८ को यात्रा तय गर्नेछ । समूह डिबाट दक्षिण अफ्रिका एक अखेल अगावै सुपर ८ मा पुगिसकेको छ । दक्षिण अफ्रिकाले तीनमा तीन खेलमा नै जित हात पारेको छ ।

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन् । हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३.८८ प्रतिशत महिला छन् । वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राम्ह्ण–क्षेत्री परिवारका छन् । ब्राम्ह्ण–क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार पाँच सय ७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्यांकसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए । महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।