आइएमई २४ औं वर्षमा प्रवेश, ग्राहकको आर्थिक रूपान्तरण प्राथमिकतामा
काठमाडौं । नेपाली रेमिटेन्स कम्पनी ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको कम्पनीले जनाएको छ । आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधबार काठमाडौंमा विशेष कार्यक्रममा आयोजना गर्यो । ‘डिजिटल रुपान्तरणलाई अंगाल्दै’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह–सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिट्यान्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताए । रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । साथै अध्यक्ष ढकालले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरे । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने पनि उल्लेख गरे । त्यसैगरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए । प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे । उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप बिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सो समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।
नारायणगढ-मुग्लिन सडक : २५ ठाउँमा पहिरोको जोखिम
चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ । यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो । कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए । हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ । सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।
साउनदेखि नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने
काठमाडौं । साउनदेखि नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । नेपाल सरकारले बंगलादेशमा विद्युत बिक्रीका लागि अन्तिम चरणको सम्झौताको तयारी गरेको छ भने बंगलादेश पनि अन्तिम तयारीमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साउन पहिलो साताभित्र बंगलादेशमा बिजुली निर्यात गर्ने कार्ययोजना अनुसार काम भइरहेको छ । मंगलबार बंगलादेशको मन्त्रिपरिषद् अन्तगर्तको सार्वजनिक खरिद सम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट ४० मेगावाट बिजुली खरिद प्रस्ताव स्वीकृत गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । यो खरिद प्रस्ताव त्यहाँको मन्त्रिपरिषद्ले अनुमोदन गर्न भने बाँकी छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षता बसेको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौताका आधारमा पाँच वर्षका लागि विद्युत खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशले ट्रान्समिसन चार्जसहित प्रतियुनिट करिब ९ रुपैयाँमा विद्युत आयात प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताइएको छ । नेपाल–बंगलादेशबीच विद्युत व्यापारका विषयमा अहिलेसम्म भएका सबै समझदारीलाई अन्तिम र एकीकृत रूप दिन असार दोस्रो साता नेपालमा दुई देशका सचिवस्तरीय बैठक बस्ने तय भएको छ । बंगलादेशमा ४० मेगावाट बिजुली निर्यातका लागि भारत सरकारले सैद्धान्तिक सहमति जनाइसकेको छ भने यसबाहेक अन्य कार्यान्वयनकारी निकायहरूबीच विद्युत व्यापारको प्रारम्भिक मस्यौदामा पनि सहमति भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अघिल्लो भारत भ्रमणका क्रममा भारतीय संरचना प्रयोग गरी नेपालको ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने सहमति भएको थियो । गत वर्ष जेठ २ मा बंगलादेशमा सम्पन्न ऊर्जा सचिवस्तरीय निर्देशक समिति बैठकले नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंलादेश निर्यातका लागि नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबिच बिक्री सम्झौता ९पावर सेल्स एग्रिमेन्ट० छिटोभन्दा छिटो गर्ने निर्णय गरेको थियो । नेपालको ४० मेगावाट बिजुली ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुनेछ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापत भाडा शुल्क बंगलादेशले नै तिर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिजुली बिक्रीबापत मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । प्राधिकरणका अनुसार भारतको एनभीएनएनलाई तिर्ने शुल्क र करिब ३ प्रतिशत चुहावट बंगलादेशले नै बेहोर्ने प्रस्तावमा उल्लेख गरिएको छ । दुई देशबीच यसअघि नै विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने भनिएको भए पनि दरमा कुरा नमिलेका कारण सम्झौता हुन सकेको थिएन । बंगलादेशको विद्युत् निर्यात गर्ने निर्णयपछि अब भने सम्झौताको बाटो खुला भएको छ । सम्झौताअघि बिजुलीको प्रतियुनिट दर, भारतको प्रसारण लाइन प्रयोग गरेबापतको ह्विलिङ चार्ज लगायतका विषयमा टुंगो लगाइने छ ।
खोरङ्गा हाइड्रोपावरले ५० प्रतिशत हकप्रद जारी गर्ने, बोलायो विशेष साधारण सभा
काठमाडौं । खोरङ्गा हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार १४ गते विशेष साधारणसभा डाकेको छ । सभा काठमाडौं महाराजगञ्जस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे सुरु हुनेछ । सभाले सेयरधनीहरूलाई ५० प्रतिशत अर्थात् १ः०ः५ को अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, ठेगाना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । जेठ ३० गते बसेको बैंकको सञ्चालक समिति बैठकले आगामी असार १९ गते कम्पनीको १६औं वार्षिक साधारण सभा डाकेको हो । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे आयोजना हुनेछ । उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कुमारी बैंकको १ लाख ६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्ने छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ । तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै
गलकोट । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ। ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मङ्गलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने जनाइएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शय्याको प्रदेश अस्पताल बनाउन गत फागुन ६ गते मन्त्रिपरिषदले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य केन्द्र ५० शय्याको अस्पताल भएमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् । विसं २०५२ मा स्थापना भएको उक्त स्वास्थ्य केन्द्रबाट नियमित रूपमा बहिरङ्ग सेवा, गर्भ जाँच, सुत्केरी सेवा, आधारभूत प्रयोगशाला परीक्षण, खोप सेवा, परिवार नियोजन, क्षयरोग र कुष्ठरोगको उपचार हुँदै आएको छ । यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बनाउने निर्णय गरी ३२ करोड रुपैयाँको लागतमा संरचना निर्माण भइसकेका छन् । स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पताल बनाउने निर्णयपछि संघीय सरकारले प्रदेश सरकार मार्फत आगमी आर्थिक वर्षका लागि १५ करोड बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिए । उक्त बजेट बुर्तिावाङ स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपलमा अस्पतालको हो । तीन शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई ढोरपाटन नगरपालिका स्थापना पछि १५ शय्याको पालिका अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ । हाल स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत कार्यरत छन् । नीति तथा कार्यक्रममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र मुस्ताङ अस्पताललाई २५ शय्या, पर्वत, स्याङ्जा, दमौली, मध्यबिन्दु र मातृशिशु मितेरी अस्पताललाई ५० शय्या क्षमतामा र अमरापुरी स्वास्थ्य चौकी, गैंडाकोटलाई स्तरोन्नति गरिने उल्लेख छ ।
काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने
काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रिन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।