विकासन्युज

काठमाडौं उपत्यकामा आजदेखि मनसुन सक्रिय हुने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

एमसीसीअन्तर्गत रातमाटे सबस्टेसनको ठेक्का लाग्यो, ३९ महिनाभित्र निर्माण हुने

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । एमसिए नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुनेछ । ५ करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरे । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सबस्टेसनमध्ये एमसिए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो । उक्त सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘नेपालको प्रसारण प्रणाली विकास योजना (टिएसडिपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्वपूर्ण उपलब्धि हुनेछ ।’ निर्माण सम्झौतामा हस्ताक्षरपछि मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘तीन वटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकाले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिन्छ । आगामी केही वर्षमा एमसिसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौँ ।’ एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसिए नेपालले सवस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको छ । दमौलीमा निर्माण गरिने तेस्रो सवस्टेसनको निर्माण सम्झौता पनि चाँडै नै हुन लागेको छ भने १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागिपरेको बोलपत्रको मूल्यांकन भइरहेको छ । हामी प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।’ चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ । एमसिसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमी प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । १८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनःबोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।

बागलुङमा बने दुई वर्षमा ४१ झोलुंगे पुल

ढोरपाटन । बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुंगे पुल निर्माण भएका हुन् । झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौं स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुंगे पुल निर्माण भएका हुन् । पूर्वधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई र अघिल्लो वर्ष चार गरी ६ पुल निर्माण भएका छन् । गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एक÷एक गरी दुई पुल बनेका छन् । ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष चार र यस वर्ष दुई गरी ६ पुल निर्माण भएको उनको भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष दुई गरी ५ झोलुंगे पुल बनेको इञ्जिनियर चापागाईंले बताए । चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी ९ वटा पुल बनेका छन् । तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा दुई र चालु वर्षमा एक गरी तीन वटा पुल बनेको उनले जानकारी दिए । बडिगाड गाउँपालिकामा गत वर्ष एक र यस वर्ष यस वर्ष चार गरी पाँच वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउँछन् । ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताए । पुल निर्माण भएपछि खोला वारपारमा निकै भहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्तीमगरले बताए। उत्तरगंगा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँठाउँमा पुल बनेपछि समस्या समाधान भएको उनको भनाइ छ । बर्खाको समयमा उत्तरगंगा नदीले बर्सेनि दुई÷तीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउँछन् । उनले भने, ‘हिउँदका समयमा बस्तुभाउ वारिपारी खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुविस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरु पनि सजिलै वारपार गर्नेछन् ।’

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिए । ‘सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो,’ आयोजना प्रमुख रेग्मीले भने, ‘अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेका छौं ।’ मालिका गाउँपालिका–६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु) तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उनले बताए । आयोजना प्रमुख रेग्मीका अनुसार जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ । उनका अनुसार जम्मा दुई हजार ९ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म १ हजार मिटर मात्र खनिएको छ । िमालिका– ५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रबर्द्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । न्यू लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ । मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन अवस्थामा रहेको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सवस्टेसनको काम सम्पन्न भएपछि निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले पनि धमाधम गति लिने बताए । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ। सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रबर्द्धक सक्रिय भएका छन् । सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ ख। ठेक्का अवधि समाप्त हुनै लाग्दासमेत सवस्टेशन र प्रसारण लाइनको निर्माणले भने गति लिन सकेको छैन। कूल २५ किमी दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन्। टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम सकिएको छ।

७१ जिल्लामा फैलियो डेंगी

काठमाडौं । डेंगी रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगुहाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको संक्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको बताए। ‘गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ । त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ,’ उनले भने । उनका अनुसार ७१ जिल्लामा एक हजार १३० जनामा संक्रमणमा देखिएको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेंगु रोगको संक्रमण देखिएको थियो । उनका अनुसार कोशी प्रदेशमा २७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा संक्रमण देखिएको छ। उपत्यकामा १५९ जनामा संक्रमण काठमाडौंमा ११४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा संक्रमण देखिएको छ। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन।

कोइका र युएनएफपीएबीच ‘सेफ गर्ल्स’ परियोजनामा सहकार्य गर्ने सम्झौता, तीन प्रदेशमा अभियान चलाउने

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) नेपाल र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) बीच ‘सेफ गल्र्स’ परियोजनामा सहकार्य गर्ने सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर दुई संस्थाबीच किशोरी तथा युवा महिलाहरूको लागि सुरक्षित र सक्षम वातावरण ‘सेफ गर्ल्स’ परियोजनामा सहकार्य गर्ने समझादारीमा हस्ताक्षर भएको हो । सम्झौतामा कोइकाका लागि नेपालका वरिष्ठ डेपुटी निर्देशक सुश्री जियङ-युन सङ र युएनएफपीए नेपालका प्रतिनिधि वोन यङ होङले हस्ताक्षर गरेकी हुन् । यस परियोजनाका लागि कोइकामार्फत् कोरियाली सरकारले ६ मिलियन अमेरिकी डलर सहयोग गर्ने बताइएको छ । सो परियोजनामा १० प्रतिशत युएनएफपीएले थप्नेछ । परियोजना कुल ६.६ मिलियन अमेरिक डलरको हुने बताइएको छ । दुई संस्थाको संयुक्त प्रयासले आगामी चार वर्षमा लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुमा काम गर्नेछ । युएनएफपीएले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग साझेदारीमा कार्यान्वयन बताएको छ । लिङ्गका आधारमा हुने हिंसाको प्रतिकार गर्नुका साथै त्यस्ता हिंसा रोकथाममा यो अभियानले महत्वपूर्ण टेवा पुग्ने बताइएको छ । डिजिटल प्रविधिको प्रयोग गरेर लिङ्गमा आधारित हिंसा र गलत अभ्यासहरूको न्यूनीकरण गर्ने काम यो अभियानले गर्नेछ । युएनएफपीएले समाजमा निगरानी गरेर यौन शिक्षा प्रदान गर्ने, समाजमा भइरहेको हिंसात्मक गतिविधिको अध्ययन तथा निगरानी गरेर न्यूनीकरणका उपाय पहिचान गर्ने, डिजिटल प्रविधिको प्रयोगले महिला तथा किशोरीहरुलाई सीपयुक्त बनाउने उद्देश्य राखेको छ । सम्झौता कार्यक्रममा बोल्दै कोइका नेपालका वरिष्ठ डेपुटी कन्ट्री डाइरेक्टर जियङ-युन सङले नेपालमा किशोरी तथा महिलाहरूलाई सशक्त बनाउन यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताइन् । युएनएफपीएका नेपाल प्रतिनिधिवोन यङ होङले यो समझादारीले समाजमा परिवर्तन ल्याउन योगदान गर्ने बताइन् । उनले यो कार्यक्रम कोरियाली सरकारले घोषणा गरेको ‘बेटर लाइफ पर गल्र्स’ अन्तर्गत सुरु गरिएको बताइन् । समारोहले नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको पनि स्मरण गरेको थियो । आगामी दिनमा पनि यो मैत्रीपूर्ण सम्बन्धलाई थप सहकार्य तथा समन्वय गर्दै जाने जोड कार्यक्रममा दिइएको थियो । परियोजनामा छनोट भएका प्रदेशहरुमा लैंगिक हिंसा बढी हुन गरेको जानकारी युएनएफपीएले दिएको छ । मधेश र लुम्बिनी प्रदेशमा १५ देखि ४९ वर्षका महिलाहरूको सबैभन्दा धेरै शारीरिक हिंसाको जोखिममा रहेको बुझिएको छ ।

१०० दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री अधिकारीले भूमि व्यवस्थातर्फ ६१, सहकारीतर्फ ३२ र गरिबी निवारणतर्फ आठवटा गरी एक सय एक कामको प्रगति हासिल भएको विवरण सार्वजनिक गरेका हुन् । त्यस्तै, मन्त्रालयले आगामी दिनमा गर्ने विभिन्न १६ वटा योजना पनि मन्त्री अधिकारीले प्रस्तुत गरे ।  ऐन कानुन निर्माण, अनाधिकृतरुपमा प्रयोग भएका र अनुचित ढङ्गले कब्जा गरिएको सरकारी जग्गा फिर्ता, मालपोत नापी तथा सहकारी कार्यालयको कार्यसम्पादनमा चुस्तता, सहकारी क्षेत्रमा देखिएका समस्याको ठोस समाधानका लागि मन्त्रालयबाट भएका पहलकदमीलगायत कामलाई मन्त्री अधिकारीले आफ्नो एक सय दिनका उपलब्धिमा राखेका छन् । सङ्घीय भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका-२०८१ जारी गरी भूउपयोग क्षेत्रको वर्गीकरणमा हुँदै आएको त्रुटि हटाउने काम गरेको, बाँसबारी छाला जुत्ता कारखानाको करिब १० रोपनी जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याएको तथा देशका विभिन्न स्थानमा अनाधिकृत रुपमा प्रयोग भएका जग्गाहरु सरकारको नाममा ल्याउने काम सुरु भएको सहकारीमन्त्री अधिकारीले जानकारी दिए । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनको कार्यले अपेक्षित रुपमा गति लिन नसकेपछि राष्ट्रिय भूमि आयोग विघटन गरी नयाँ रुपले जान खोजेको भए पनि सर्वोच्च अदालतको आदेशले यथास्थितिमा राख्नुपर्ने अवस्था आएको मन्त्री अधिकारीको भनाइ छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिँदै गएको समस्या समाधानको विषयलाई पनि सरकार र मन्त्रालयले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । सहकारी समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने, कर्जा असुली न्यायधिकरण स्थापना गर्ने, बचत तथा क्रण कर्जा सुरक्षण कोष स्थापना गर्ने, सहकारी समस्याको दीर्घकालीन समस्या समाधानका लागि नियामक निकायको स्थापनालगायतको काम सुरु भइसकेको सहकारीमन्त्री अधिकारीले बताए । समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने स्थिति सिर्जना गर्नका लागि तीनवटै तहका सरकार र मातहतका निकायहरुले समन्वयात्मक रुपमा काम गरिरहेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लैजानेगरी मन्त्रालयले योजना बनाएको पनि उनको भनाइ छ । सङ्घीय भूउपयोग योजनाको आधारपत्रको मस्यौदा तयार पारेको, भूमि समस्या समाधान आयोग गठन आदेशको मस्यौदा तयार पारेको, भौगोलिक सूचना पूर्वाधार नीति, २०८१ को मस्यौदा तयार गरिएको, एकीकृत भूमि विधेयकको प्रारम्भिक मस्यौदा तयार पारिएको, छुट जग्गा दर्तासम्बन्धी कामलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लगिएकोलगायतका काम मन्त्रालयबाट भएको अधिकारीले बताए । त्यस्तै, नापनक्सा तथा जग्गा दर्ता गर्दा उत्पन्न समस्या समाधानका लागि जग्गा (नापजाँच) ऐन, २०१९ लाई प्रतिस्थापन गर्नेगरी भूसर्वेक्षण ऐन २०८१ को मस्यौदा तयार पारिएको मन्त्रालयले जनाएको छ । गुठी विधेयकको मस्यौदा तयार गर्न गुठी प्रशासकको संयोजकत्वमा कार्यदल गठन भएको, एकीकृत भूमि विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिएको, भूमि व्यवस्थापन तथा मालपोतमा एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्नका लागि कानुनी र संस्थागत परिमार्जनका लागि अवधारणा तयार गरी कार्यान्वयनको चरणमा रहेको मन्त्री अधिकारीको प्रगति विवरणमा उल्लेख छ । आफूले मन्त्रालय सम्हालेको एक सय दिन अवधिमा दुई हजार चार सय १६ जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइएको पनि प्रगति विवरणमा उल्लेख छ । पछिल्लो एक सय दिनमा थप दुईवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व फरफारक गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको जनाइएको छ । हालसम्म समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचत मागदाबी निवेदनको सङ्ख्या ५९ हजार पाँच सय ८७ र ती निवेदनबाट देखिएको रु ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको पनि सहकारीमन्त्री अधिकारीको कार्यप्रगति विवरणमा उल्लेख छ । सहकारीका समस्यालाई तत्कालै सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने कार्यको प्रारम्भ भएको र दीर्घकालसम्मका लागि समस्या समाधान गर्ने निकायका रुपमा प्राधिकरण गठनको तयारी भइरहेको सहकारीमन्त्री अधिकारीले बताए । परिचयपत्र वितरण गर्ने प्रयोजनका लागि विगतदेखि रोकिएको विभिन्न १५ जिल्लाका गरिब परिवारको अन्तिम सूची स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस भएको जनाइएको छ । त्यस्तै, गरिब परिवारसम्बन्धी तथ्याङ्क सङ्कलन एवं प्रशोधन हुन बाँकी १३ वटा जिल्लाबाट सङ्कलित तथ्याङ्क प्रशोधनको काम सुरु गरिएको छ । सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सोबमोजिम गठन हुन नसकेका कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधिकरणजस्ता संरचनाहरु गठन गर्ने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउने योजना सहकारीमन्त्री अधिकारीको भनाइ छ । त्यस्तै, सहकारी सङ्घ संस्थाको सम्पूर्ण विवरण झल्किने गरी स्वेतपत्रको ढाँचा तयार गरी सबै सहकारी सङ्घसंस्थालाई १५ दिनभित्र श्वेतपत्र जारी गर्न निर्देशन दिइएको छ

सेबोन अध्यक्षको छनाेट प्रक्रियामा चलखेलको आशंका !

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको नियुक्ति प्रक्रियामा चलखेल भएको आशंका गरिएको छ । सेबोनको अध्यक्षको नियुक्ति प्रक्रियामा ढिलाई हुँदा आर्थिक चलखेल भएको आशंका गर्दै एक जना अभियान्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी  दर्ता गराएका छन् । उजुरीकर्ताले आयोगमा निवेदन दर्ता गर्दै तत्काल छानबिन अगाडि बढाउन माग गरेका हुन् । नेपाल धितोपत्र बोर्डमा पछिल्लाे केही समयदेखि भ्रष्टाचार र अनियमितताका ठूला श्रृंखलाहरु जारी रहेका सूचनाहरु छरपष्ट आइरहेकाे उल्लेख गर्दै उजुरीकर्ताले तत्काल नियुक्ति प्रक्रिया रोकेर छानबिन गर्न आयोगलाई आग्रह गरेका हुन् । बोर्डको अध्यक्ष छनोट समितिले पाँच जनाको नाम सर्टलिष्टिङ गरेको छ । जसमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, मुक्ति श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, सन्तोष नारायण श्रेष्ठ र कृष्णबहादुर कार्कीलाई छनोट गरिएको छ । आयोगमा उजुरी दर्ता गरेका अभियान्ताले ती पाँचै जना अध्यक्षका लागि अयोग्य रहेको विषय पनि निवेदनका साथ पेस गरेका छन् । निवेदकले उजुरीमा भनेका छन्, ‘५ अर्बको भ्रष्टाचार काण्डबाट देशलाई जोगाउन, ६३ लाख लगानीकर्ताको साढे ३३ खर्ब रुपैयाँ सम्पतिको सुरक्षाका लागि पनि सम्मानित अख्तियारले तत्कालै अग्रसरता लिएर अहिलेका सम्पूर्ण प्रक्रियाहरु रोकि अनुसन्धान प्रक्रिया अघि बढाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’ आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाले सेबोनको विषयमा उजुरी परेको वा नपरेको विषयमा जानकारी दिन नमिल्ने बताए । ‘हामी उजुरी परेको छ वा छैन भनेर मिडियामार्फत् जानकारी गराउँदैनौं, अनुसन्धान सकेपछि मात्रै सार्वजनिक गर्छौं, अहिले नै उजुरी परेको वा नपरको, अनुसन्धान भइरहेको वा नभएको विषयमा सार्वजनिक गर्न मिल्दैन,’ उनले भने । उजुरीकर्ताले आयोगमा दिएको निवेदन दर्ता भएको प्रमाण विकासन्युजलाई प्राप्त भएको छ । सरकारले बोर्डको अध्यक्षको नियुक्ति प्रक्रियालाई अन्तिम रुप दिँदै गर्दा अख्तियारमा उजुरी परेको हो । स्रोतका अनुसार सरकारले आगामी साताभित्र बोर्डको अध्यक्षमा एक जनालाई नियुक्त गर्दैछ ।