विकासन्युज

इजिप्टमा फ्रान्सको लगानी ७.२ बिलियन अमेरिकी डलर 

काठमाडौं । फ्रान्सेली उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र इजिप्टमा कार्यरत फ्रान्सेली कम्पनीका प्रतिनिधिसँग भएको भेटमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टमा फ्रान्सका ९४० कम्पनीहरूमार्फत करिब ७.२ अर्ब अमेरिकी डलरको लगानी भएको बताएका छन् । बैठकमा मोस्तफा मदबोलीले इजिप्टमा यी कम्पनीहरूले कार्यान्वयन गरेका परियोजनाहरू, तिनीहरूको भावी योजनाहरू र इजिप्टमा उनीहरूको लगानी विकास गर्ने प्रस्तावहरूको समीक्षा गरिएको थियो । प्रधानमन्त्रीले फ्रान्सेली कम्पनीहरूले इजिप्टमा विशेषगरी यातायात, विशेषगरी मेट्रो परियोजनालगायत क्षेत्रमा लगानी बढाउने आशा व्यक्त गरे ।

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती । बागमती प्रदेशसभाको बैठक बुधबार पनि बस्दै छ । उक्त बैठक बिहान ११ः३० बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । मंगलबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो । यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । मंगलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

बाँकेमा वनक्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइए

राँझा । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ । नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा अतिक्रमित वनक्षेत्रमा निर्मित घरटहरा हटाइएका हुन् । डिभिजनल वन कार्यालयका अधिकृत अजीतकुमार कर्णका अनुसार, राप्ती सोनारी–७ मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वनक्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको हो । नरैनापुर–६ स्थित दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरासमेत हटाइएको छ । राप्ती सोनारी–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वनक्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए । अन्य वनक्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको उनले बताए । राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर हाइटेक नर्सरी निर्माणकार्य भइरहेको छ । हाइटेक नर्सरीमा बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए । शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयअन्तर्गत राप्ती सोनारी–२ कचनापुर, वडा नं ६ फत्तेपुर र वडा नंं ८ महादेवपुरीमा बाढीपीडितका नाममा वनक्षेत्र अतिक्रमण गरिएको उनले बताए । रासस

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।  रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् । क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गए राति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उनले जानकारी दिए । सडक अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष जमिमाया गुरुङलगायतको टोली उद्धारको पहलमा लागि घटनास्थलमा जाँदै गरेको उनले बताए । स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् । ‘पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन’, उनले भने–’प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन ।’ सो ठाउँमा ६ वटा घर रहेका छन् । तीन घर भने पहिरोबाट जोगिएका छन् ।

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

लिस्बन । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, नवीनकुमार थापा, राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, सङ्गीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज विष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र यामबहादुर पुर्कोटी सर्वसम्मत चयन गरेको छ । मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गाना, एनआरएनए पोर्चुगलका अध्यक्ष्य उमेश खड्कालगायतको उपस्थिति रहेको थियो ।

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडलका विजेता करण परियारलाई बधाई दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाईका साथै  गितार उपहार दिएका हुन् । प्रधानमन्त्रीले परियारलाई बधाई दिँदै खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए । नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने प्रधानमन्त्री प्रचण्डले ले विश्वास व्यक्त गरे ।

पृथ्वी राजमार्गको चाउथेमा सडक भासियो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । बुधबार बिहान करिब ६ः३० बजेको समयमा उक्त राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारीसाधन प्रभावित भएका छन् । सडक अहिले एकतर्फी खुलाइएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा कास्कीको लामापाटनमा ११५.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

लमजुङमा पहिरोले तीन घर पुरिँदा ४ जना बेपत्ता

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चार जना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।