विकासन्युज

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको प्रतिकित्ता बिक्री मूल्य ५०० रुपैयाँ राखिएको छ । हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने उक्त सेयर इच्छुक संस्थापकले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर कित्ताको संख्या खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापकबाट सेयर खरिद लागि आवेद नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासन अनुमति, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासन अनुमति पाएको छ । बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्सलाई बोर्डले आईपीओ निष्कासन अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाकाका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो । रिलायन्सले यसअघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ । यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो ।

शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले निष्क्रिय खाताहरू बन्द गर्ने भएको छ । बैंकले १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका बैंक खाताहरू बन्द गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले शून्य मौज्दातका निष्क्रिय बैंक खाताहरू सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने प्रावधान गरेको छ । सोही प्रावधानअनुसार बैंकले बिहीबार एक सूचना प्रकाशित गरी निष्क्रिय खाता बन्द गर्न लागिएको जनाएको हो । बैंकले त्यस्ता खातावाला ग्राहकलाई आफ्नो खातामा न्यूनतम मौज्दात जम्मा गरी खाता अद्यावधिक गर्न आग्रह समेत गरेको छ । १५ दिनभित्र निष्क्रिय खाता अद्यावधिक नभएमा बन्द गरिने सूचनामा उल्लेख छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभरि साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पर्यटन प्रवर्द्धनका लागि पोखरामा रोपाइँ महोत्सव हुने

गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९औं संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९औं संस्करणको तयारीलाई तीव्र बनाइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहेका छन् । महोत्सवमा हिलो खेल्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिताअन्तर्गत स्वदेशी र विदेशी महिला र पुरुष पर्यटकको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । त्यसअवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहने छन् । नेपालीको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानखेतीप्रतिको आकर्षण घट्दै गएका अवस्थामा नयाँ पुस्तालाई धानखेती प्रणाली देखाउँदै उनीहरूलाई यसतर्फ आकर्षित गराउन पनि महोत्सव आयोजना गरिएको मूल व्यवस्थापन समितिका संयोजक पहारीले बताए ।

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डमा २२ पुल निर्माण

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा-सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उनले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताए । ६ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उनले बताए । मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी दत्तका अनुसार ९ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपैयाँ छ । यसैगरी सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको उनले जानकारी दिए । उनले १० अर्ब १३ करोड रुपैयाँ लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म १ सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताए । उनका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको २९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो ।

७२ वटा जिल्लामा फैलियो डेंगी, १२ सय बढी संक्रमित

काठमाडाैं । हिमालमा पनि डेंगीको संक्रमण फैलिनु अब नयाँ कुरा रहेन । कुनै समय तराईमा मात्र सीमित हुने लामखुट्टे अहिले मुस्ताङ, डोल्पा लगायतका हिमाल चढिरहेका छन् । केही वर्षअघि डेंगीको संक्रमणबाट तराई क्षेत्र अथवा गर्मी ठाउँमा बस्ने नागरिक अस्पताल पुग्थे भने अब चिसो ठाउँ डोल्पाका नागरिक पनि संक्रमणको जोखिममा छन् । किन लामखुट्टे हिमाल चढ्दैछन् ? विज्ञको जवाफ हुन्छ जलवायु परिवर्तनको असर हो ? विज्ञको अर्को तर्क पनि छ, मान्छे एक ठाउँबाट अर्को ठाउँमा बसाइसराइँ गर्दा अथवा सबै ठाउँमा यतायातको साधन पुग्दा लामखुटटे पनि सँगसँगै गए । अब डेंगी संक्रमणकाे जाेखिम हिमाल, पहाड र तराई जुनसुकै ठाउँमा छ । नेपालमा पहिलो पटक सन २००४ मा डेंगी पुष्टी भएको थियो । त्यसपछि विस्तारै अन्य जिल्लामा फैलँदै सन २०१५ सम्म २५ जिल्लामा फैलिएको थियो । त्यसपछिका वर्षमा डेंगी संक्रमण धेरै जिल्लामा फैलँदै गयो । २०२२ देखि भने डेंगी ७७ वटै जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । किट विज्ञहरू विगत केही वर्षदेखि देशभरि डेंगीको संक्रमणदर बढ्दै गएको बताउँछन् । यो वर्ष पनि देशका ७२ वटा जिल्लामा डंगीको संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार हुम्ला, डोल्पा, मुगु, जुम्ला र मुस्ताङमा मात्र संक्रमण फैलिएको छैन । ६ महिनाको तथ्यांक हेर्दा १ हजार २ सय ६८ जना बढी व्यक्तिमा संक्रमण पुष्टी भएको छ । पछिल्लो डेढ महिनामा मात्र ४ सय बढी व्यक्तिमा संक्रमण भएको छ । गत मे महिनामा १ सय ५१ जनामा संक्रमण देखिएकोमा यो महिनाको अहिले सम्म १ सय ८६ जनामा संक्रमण देखिएको महाशाखाले जनाएकाे छ । सबैभन्दा बढी काठमाडौंमा संक्रमण देखिएको चिकित्सिकहरूले बताएका छन् । झापा, चितवन कैलाली, डोटी, मकवानपुर लगायतका जिल्लामा पनि संक्रमणदर बढ्दै गएको छ । तीन वर्ष देखिको तथ्यांक देशभरि संक्रमण फैलिएसँगै संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ । सन २०२२ को तथ्यांक हेर्दा ५४ हजार ७ सय ८४ जनामा डेंगी संक्रमण भएको थियो । जसमा ८८ जनाको मृत्यु भएको थियो । यस्तै गएको वर्ष सन २०२३ मा ५२ हजार ७ सय ९० जनामा संक्रमण हुँदा २० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । यस्तै सन २०२४ को यो महिनासम्म १ हजार २ सय ६८ जनामा संक्रमण देखिएको छ भने अहिलेसम्म मृत्यु भएको छैन । गर्मी बढेर वर्षा सुरु हुँदा डेंगीको संक्रमण पनि बढ्दै जान्छ । यो समयमा डेंगीको संक्रमणले प्रकोपको रूप लिने जोखिम भएकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । यो लामखुट्टेले रातिको समयमा टोक्दैन । यो लामखुट्टे उज्यालोमा मात्र सक्रिय रहने भएकाले मान्छे काममा व्यस्त रहदा टोक्ने विज्ञहरू बताउँछन् । संक्रमक रोग विशेषज्ञ डा. शेरबहादुर पुन दिनमा मान्छे काममा व्यस्त हुँदा टोकेको थाहा नपाउँदा पनि संक्रमणदर बढ्ने बताउँछन् । दिउँसोभन्दा पनि बिहान र साँझ लामखुट्टे सक्रिय हुने भएकाले सचेत रहन उनको आग्रह छ । डेंगी के हो ? लमखुट्टेको माध्यमबाट सर्ने एक प्रकारको भाइरस हो । यसलाई चार वटा सेरोटाइपमा वर्गीकरण गरिएको छ । नेपालमा यो चारवटै सेरोटाइप देखिएको छ । विशेषतः यो फैलाउने माध्यम भनेको एडिज लामखुट्टेको टोकाइ हाे । यो संक्रमण फ्लेविविरिडे परिवार– डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी–४ को भाइरसको सेरोटाइपको कारणले हुन्छ । चार वटा प्रकार कस्तो हो ? जुनबेला हामीले कोभिडका बेला नयाँ नयाँ भेरिएन्टको कुराकानी गथ्यौँ, त्यसमा निरन्तर रूपमा भेरियन्टहरू देखिने क्रम जारी रहेको थियो । यस्तै यो पनि चार प्रकारको एउटै लामखुट्टेबाट सर्ने हो । तर, कन बेलामा, कुन समयमा, कुन सेरोटाइप खालको प्रजाति देखिन्छ भन्ने कुरा परिक्षण अथवा त्यसको विश्लेषण हेर्दा मात्र पत्ता लाग्छ । नेपालमा विगतदेखि फैलदै आउँदा अनुसन्धानले चाहिँ चारवटै शेरोटाईप नेपालमा छ भनेर देखाएको छ । के यो लामखुट्टेले रातिमा यसले टोक्दैन ? रातिमा पनि टोक्छ तर, सम्भावना कम हुन्छ । बिहान जुनबेला हामी काममा सक्रिय हुन्छौ, अझ भनौ जुनबेला सुर्य उदय भएको समयमा यो पनि सक्रिय हुन थाल्छ । जुनबेला हामी काम सकेर घरमा फर्कन्छौ त्योपछि यो पनि त्यति सक्रिय हुँदैन । दिउँसोको समयमा यो बढी सक्रिय हुन्छ र त्यही बेला टोक्यो भने सम्भवतः कसैलाई थाह हुँदैन । लामखुटेटे छुट्याउन सकिन्छ ? यो दिउँसो प्रयाप्त मात्रामा देखिन्छ । तर यो बेलामा हामी व्यस्त हुन्छौँ । खुट्टामा यसले बढी टोक्छ । यसको रंग सेतो कालो हुन्छ । हामीले पहिचान गर्न सक्छौँ, देख्नेबित्तिकै थाहा हुने डा. पुन बताउँछन् । अहिले सबैभन्दा सक्रिय यो लामखुट्टे नै हुने उनकाे भनाइ छ । डेंगु लागेर मान्छे कसरी मर्छ ? यसको जटिलताको कुरा गर्दा मुख्यतया रक्तस्राव हुँदा मृत्यु हुन्छ । दीर्घरोगीदेखि लिएर विभिन्न किसिमको समस्यामा गुज्रेकाहरूलाई पनि यो संक्रमण भएपछि जटिलता हुन्छ । यो उमेर समूहलाई बढी र यो समूहलाई कम हुन्छ भन्ने हुँदैन । यहाँ एउटा जोखिमको अवधि हुन्छ । रक्तस्राब आन्तरिक हुन्छ कि बाह्य हुन्छ ? डा. पुनका अनुसार यो आन्तरिक पनि हुन्छ जुन हामीलाई थाह हुँदैन । रगत जम्ने प्रक्रियामा पनि यसले समस्या ल्याउँछ । अत्यधिक मात्रामा रगत बग्दा मान्छे बेहोस हुन्छ र समयमा  उपचार पाएन भने मृत्यु समेत हुने गर्दछ । डेंगी लाग्ने बित्तिकै बिरामीले के गर्नुपर्छ ? डा. पुन यसका लागि खाेप  प्रभावकारी हुने बताउँछन् । खोपले पनि त्यति सफलता पाएको नदेखिएकाे उनकाे भनाइ छ , यसकाे कारणा यो वर्षैदेखि एउटा समस्याको रूपमा रहिआएको अवस्था हो । यसमा चिकित्सकले वार्मींग साइन अथवा चेतावनी संकेत पनि भन्छन् । अधिकांश बिरामीहरू घरमै आराम गरेर पनि ८ देखि १० दिनको अवधिमा डाक्टरसँग सरसल्लाह लिएर स्वास्थ्यलाभ गर्न सकिने उनले बताए ।