सिन्धु विकास बैंकको सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई
काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ । साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो ।
पीडितलाई न्याय महसुस हुने गरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुने गरी कार्यसम्पदान गर्ने बताएका छन् । उनले बिहीबार पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताए । ‘पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ’, महान्यायाधिवक्ता बडालले भने, ‘मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।’ उनले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव दिए । महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गरे । उनले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गरे । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकारका रूपमा बडाललाई नियुक्त गरेका थिए । यसअघि, बडाल छोटो समयका लागि महान्यायाधिवक्ता हुनुभएको थियो ।
राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यक : उद्योगमन्त्री भण्डारी
काठमाडौँ, साउन ३ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नका लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताए । उनले मुलुकमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरूलाई स्वदेश फर्काउन सकिने बताए । उनले उद्योग मन्त्रालय नीतिगत रूपमा अहिले पनि ओझेलमा परेको जिकिर गरे । मन्त्री भण्डारीले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताए । उनले मन्त्रालयले नीतिगत सुधारका पक्षहरूलाई विशेष महत्त्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताए । उनले लगानी सम्मेलनपछि लगानी सहजीकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताए। सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरू सञ्चालन हुने ठाउँमा पुगेको उनको भनाइ छ । उद्योग मन्त्री भण्डारीले सुर्तीजन्य पदार्थहरूको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भए पनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरू सञ्चालन गरी रहेको जानकारी दिए । उनले छिमेकी मुलुकमा सुर्तीजन्य पदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको बताए । उद्योग मन्त्री भण्डारीले नेपाल अझै सुर्तीजन्य पदार्थहरूको प्रयोगसम्बन्धी ऐन, कानुन र नीतिमा अभ्यस्त बन्न नसकेको बताए । उनले सुर्तीजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भए पनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले कोभिडपछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठुलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा सङ्कुचन आएको जिकिर गरे ।
कार्यकाल दोहोर्याउने लबिङमा गभर्नर अधिकारी, बाधक बन्न सक्छ ओली-चौधरीको सम्बन्ध
काठमाडौं । गत सोमबार नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयको सचिवालयबाट बैंकरहरूलाई एउटा सूचना आयो । सूचनामा मौद्रिक नीतिको विषयमा छलफल तथा बैंकरबाट सुझाव माग गर्ने उल्लेख थियो । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि लिखित सुझाव दिइसकेका बैंकरहरू एकछिन अलमलमा परे । पछि सचिवालयमा सम्पर्क गरेर सोध्दा गभर्नरको सचिवालयका व्यक्तिले भने, ‘यो अनौपचारिक छलफल नै हो, कुनै छुटपुट सुझावहरू छन् भने लिनका लागि सबैलाई डाकिएको हो ।’ त्यसपछि नेपाल बैंकर्स संघको कार्यसमिति, डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष र उपाध्यक्षसहितको समूह मंगलबार साढे १२ बजे राष्ट्र बैंक पुग्यो । गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू पनि उपस्थित भएको उक्त छलफल कार्यक्रम करिब दुई घण्टासम्म चल्यो । छलफलमा बैंकरहरूले गभर्नरको अन्तिम मौद्रिक नीति भएकाले लचिलो र कर्जा विस्तार हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने माग गरे । बैंकरहरूको भाव थियो, ‘गभर्नरको अन्तिम कार्यकाल भएकाले पनि बजार विस्तार हुने मौद्रिक नीति आओस् ।’ मौद्रिक नीतिको सुझाव दिन आयोजना गरिएका अधिकांश कार्यक्रममा गभर्नर अधिकारीले सुन्न परेको शब्द हो ‘अन्तिम कार्यकाल’ । विभिन्न उद्योगी व्यवसायी तथा बैंकरहरूले पनि हरेक कार्यक्रममा यही शब्द उफार्ने गरेका छन् । तर, त्यो शब्दप्रति उनी सन्तुष्ट छैनन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धन आउनुअघि उनले त्यो सहज रूपमा स्वीकारे पनि पछिल्लो समय भने उनी आफ्नो अन्तिम कार्यकाल मान्न तयार छैनन् । किनकि गभर्नर अधिकारीले पृथक रणनीति र योजना अगाडि सारिसकेका छन् । मंगलबार बैंकरहरूसँगको छलफलमा पनि उनले त्यो संकेत देखाए । एक बैंकका सीईओले गभर्नरको अन्तिम कार्यकाल भन्दा उनले त्यसको ‘ट्याकल’ गरे । अर्थात् उनले त्यो शब्दलाई स्वीकार गर्न चाहेनन् । र, उनले हँसिलो मुहारमा भनेको कुरा उदृत गर्दै एक बैंकरले भने, ‘सबैले मलाई अन्तिम मौद्रिक नीति ल्याउँदै भनिरहनुभएको छ, तर मेरो अन्तिम मौद्रिक नीतिभन्दा पनि पहिलो कार्यकालको अन्तिम मौद्रिक नीति हुन सक्छ भन्नुभयाे ।’ ती बैंकरका अनुसार गभर्नर अधिकारीले छलफलमा गभर्नरका रूपमा दोहोरिन चाहेको संकेत व्यक्त गरेका थिए । विसं २०७६ चैतमा राष्ट्र बैंकको गभर्नर बनेका अधिकारीको कार्यकाल आगामी चैतमा सकिँदैछ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा अघिल्लाे कार्यकालमा प्रधानमन्त्री ओली हुँदा उनले ने अधिकारीलाई गभर्नरमा नियुक्त गरेका थिए । र, अहिले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकार भएकाले अधिकारले गभर्नरमा दोहोरिने चासो राखेको बुझिएको छ । कार्यकाल दोहोर्याउने लबिङमा गभर्नर अधिकारी कार्यकाल दोहोर्याउने मनस्थितिमा पुगिसकेको बुझिएको छ । नेपाल राष्ट्र बैंकको नेतृत्व लिनका लागि पूर्वकार्यकारी निर्देशकहरू, डेपुटी गभर्नर तथा बैंकिङ क्षेत्रका विज्ञहरूको ठूलो तछाडमछाड हुन्छ । अधिकारी पनि त्यही भुमरीबाट गभर्नर बनेका हुन् । उनी पुनः गभर्नर बन्ने लबिङमा लागेको बुझिएको छ । उनको गभर्नर बन्ने रणनीति नयाँ बनेको सत्ता गठबन्धनले थप मलजल गरेको हो । उनकै ट्युनिङ मिल्ने व्यक्ति विष्णु पौडेल अर्थमन्त्री छन् भने ओली प्रधानमन्त्री छन् । यी दुवै व्यक्ति गभर्नर अधिकारीका लागि फराकिलो हात गर्ने व्यक्ति हुन् । गभर्नर अधिकारीले पदमा बस्दा कुनै राजनीतिक दलको गन्ध आफ्नो कार्यशैली र व्यवहारमा नदेखाए पनि उनी एमाले निकट हुन् भन्ने बुझाइ धेरैको छ । एकताका उनी एम अधिकारीको नामले पनि चर्चित पनि बने । अहिले ओली नेतृत्वको सत्ता गठबन्धनले उनलाई गभर्नरमा दोहोर्याउन सक्ने सम्भावना पनि देखिन्छ । किनकि उनले आफ्नो कार्यकालमा सन्तोषजनक काम पनि गरेका छन् । उसो त अहिलेको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि राष्ट्र बैंकको नेतृत्व आफूले पाउनुपर्ने माग गर्न सक्छ । यसअघि नै कांग्रेस र माओवादी केन्द्रको गठबन्धन हुँदा कांग्रेस निकट केही व्यक्तिहरू गभर्नरको लबिङमा लागिसकेको बुझिएको थियो । त्यतिखेर हाल नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना गभर्नर बन्ने लबिङमा रहेको विषय बाहिरिएको थियो । ढुङ्गानाका दाजु आनन्द ढुङ्गाना नेपाली कांग्रेसका नेता हुन् । यदि नेपाली कांग्रेसले राष्ट्र बैंकको गभर्नरमा दाबी गरेमा माहोल पृथक बन्न सक्छ । किनकि नबिल बैंककै मुख्य लगानीकर्ता विनोद चौधरी र प्रधानमन्त्री ओलीको सम्बन्ध अहिले निकै राम्रो छ । ओली र चौधरीको अहिले नियमित भेटघाट हुने गरेको पनि स्रोत बताउँछ । त्यसैले पनि कांग्रेस निकटकै व्यक्ति राष्ट्र बैंकको जिम्मेवारी लिएमा चौधरी निकटको व्यक्तिले पाउन सक्ने अड्कलबाजी पनि बैंकिङ बजारमा हुुन थालेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटी अस्पतालमा १५ प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र मर्सी सिटि अस्पतालबीच समझदारी भएको छ । बैंक र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी सिटी अस्पतालमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने भएको छ । बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक रहेको बताइएको छ । यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाएको छ । साथै, बैंकको हालै सम्पन्न भएको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरू प्रशस्त छन् : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरू प्रशस्त भएको बताएका छन् । बिहीबार ६२औं इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताए । उनले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिए । त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उजानकारी दिए। मन्त्री खड्काले इन्जिनियरहरू कुनै पनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा ध्यानाकर्षण गराए । उनले इन्जिनियरहरूलाई द्विपक्षीय अथवा त्रिपक्षीय सम्झौता गरेर काम गर्न सुझाव दिए ।
नाडाका पदाधिकारीले भेटे अर्थमन्त्री, अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न माग
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री पौडेलसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको हो । उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गरे । साथै उनले नाडाका तर्फबाट २२ बुँदे सुझावहरु समेत पेस गरे । नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैकबाट हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालू रेसियोमा हाल लागु हुँदै आएको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत पुर्याउनु माग राखेका छन् । साथै, कालो सुचिमा रहेको ब्यक्ती फर्मलाई कर चुक्ता तथा नबिकरण गर्न रोक लगाईनु पर्ने र यसका लागि बैंकले कालो सुचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालो सुचिमा राख्ने ब्यवस्था गर्नु पर्ने तथा अनुसुची १३ मा देखाइएको बक्यौतालाई आधिकारीक मानी कानुनी प्रक्रीयामा जान मिल्ने गरी कार्यविधी तयार गर्नु पर्ने लगायत माग नाडाले राखेको छ । चालुपुँजी कर्जा मार्ग दर्शन २०७९ का सम्बन्धमा चालुपुँजी कर्जा मार्ग दर्शन लागु भएको मितिभन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछी कर्जा लिएका हरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याउन सकिए सम्पूर्ण समस्याको समाधान हुने नाडाको धारणा छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल राष्ट्र बैंकले नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने बताए । यसैगरी, महासचिव सुरेन्द्र कुमार उप्रेतीले सीमा क्षेत्रमा कडाई गर्नुपने भनाई राख्दै नेपाल मै उत्पादन हुने सवै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात वस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था गर्न आग्रह गरे । साथै उनले नेपालमा उत्पादित व्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह ‘एनएस’ पाउने व्यवस्था मिलाउन अनुरोध गरे । छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको तर्फबाट राखिएका नीतिगत सुझावहरु प्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका निबर्तमान अध्यक्ष धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।