वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टी गर्ने तर्क गरे । तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टी हुने सम्भावना टाढासम्म नरहेको उनको भनाई थियो । पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताए । यसले देशमा विकासका बाटाहरु समेत प्रशस्त गर्ने दाबी उनको छ । उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारे ।
उज्वेकिस्तानको जीडीपी सय बिलियन अमेरिकी डलर माथि
काठमाडौं । उज्वेकिस्तानको जीडीपी सय बिलियन यूएस नाघेको छ । इतिहासमा पहिलो पटक सय बिलियन अमेरिकी डलर माथि पुगेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र उज्वेकिस्तानका विभिन्न मन्त्रालय र एजेन्सीहरूको सहभागितामा तास्कन्दमा भर्खरै भएको बैठकमा आईएमएफले २०२३ मा उज्वेकिस्तानको नाममात्र सकल घरेलु उत्पादन १२५.६ ट्रिलियन सोम (१०.७ अर्ब अमेरिकी डलर) ले बढेको अनुमान गरेको छ । उज्वेकिस्तानको तथ्यांक निकायको सहयोगमा सेन्टर फर इकोनोमिक रिसर्च एण्ड रिफम्र्स (सीईआरआर) ले कार्यक्रम आयोजना गरेको हो । सीईआरआरका निर्देशक ओबिद खाकिमोभले लुकेका भण्डारहरू पहिचान गर्न र प्रभावकारी सार्वजनिक नीति विकास गर्ने उपकरणको रूपमा अनौपचारिक र छाया अर्थतन्त्रको सांख्यिकीय मूल्यांकनको महत्त्वलाई जोड दिए ।
आज नेप्सेसँगै सेयर कारोबार पनि बन्द
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । आइतबार सार्वजनिक विदा परेको हुँदा सेयर कारोबार नहुने भएको हो । गृह मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । सोही कारण नेप्सेमा सेयर कारोबार नहुने भएको हो । अब सोमबार मात्रै सेयर कारोबार खुल्नेछ ।
१८० कार्यालयको लेखापरीक्षण गर्दै ग्रामीण विकास लघुवित्त, आवेदन आह्वान
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आन्तरिक लेखापरीक्षण गर्ने भएको छ । लघुवित्त संस्थाले १८० वटा शाखा कार्यालयको आन्तरिक लेखापरीक्षण गराउने भएको हो । कार्यालयहरुको आन्तरिक लेखापरीक्षण कार्य वाह्य श्रोतबाट गराउने लघुवित्तले जनाएको छ । आन्तरिक लेखापरीक्षण सम्बन्धी सेवा खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म तथा व्यक्तिलाई बोलपत्र आह्वान पेस गर्न लघुवित्तले आग्रह गरेको छ । इच्छुकले १५ दिनभित्र प्रधान कार्यालय बुटवलमा आवेदन दिनुपर्नेछ ।
नेपालले पायो बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशनको उपाधि
काठमाडौं । नेपालले ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधि प्राप्त गरेको छ । विभिन्न देशहरुको नोमिनेशनबाट नेपालले ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधी प्राप्त गरेको हो । ट्राभल वल्र्ड अनलाइन (टीडब्लुओ) ले भारतको नयाँ दिल्लीमा साउन १८ गते आयोजना गरेको कार्यक्रममा नेपाललाई ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को रूपमा सम्मान गरेको हो । नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले यो सम्मानले नेपाल पर्यटनकका लाागि सुरक्षित र पर्यटकमैत्री गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए । ुसाथै अवार्डले नेपालको समग्र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । ‘यो अवार्ड पाउँदा हामी गौरवान्वित भएका छौं । नेपाल पर्यटन बोर्ड यस उपलब्धिमा योगदान पु¥याउने सबै साझेदारहरू र सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै हामी पर्यटकहरूलाई नेपालको विविधतायुक्त पर्यटनको अनुभव र नेपाली आतिथ्यताको लागि आमन्त्रण गदैछौं,’ उनले भने । अवार्ड समारोहमा पर्यटन उद्योगमा उत्कृष्टता र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । जसअन्तगर्त बेस्ट वेलनेस रिसोट कैराली (आयुर्वेदिक उपचार गाउँ) भारत, उत्कृष्ट इनबाउन्ड अपरेटरमा क्रिएटिभ ट्राभल भारत, सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय पर्यटन बोर्डमा श्रीलंका पर्यटन प्रवद्र्धन ब्यूरो, उत्कृष्ट उदीयमान पर्यटन गन्तव्य (अन्तर्राष्ट्रिय) अजरबैजान पर्यटन, बेस्ट डोमेस्टिक टुर अपरेटरमा सदर्न ट्राभल भारत,उत्कृष्ट दिगो राज्यमा मध्य प्रदेश पर्यटन बोर्डलाई सम्मान गरिएको थियो ।
लुक्ला विमानस्थलमा कुनै खतरा छैन, सुरक्षाको जिम्मा म लिन्छु : प्रधानमन्त्री ओली
काठमाडौं र प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन् । विश्वका छानिएका भ्लगरहरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्काे पटक आफै आउँआउँ लाग्ने बताए । उक्त रियालिटी शोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगतलाई चिनाउन थप मद्धत पुग्ने उल्लेख गर्दै उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवनको सार्थक अर्थ नहुने बताए । नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ति चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उनको भनाइ छ । प्रिमियर शोमा लुक्ला विमानस्थल एक खतरायुक्त विमानस्थलका रुपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राख्दैै लुक्ला विमानस्थलमा उडानका लागि अति तालिमप्राप्त र अनुभवी पाइलट मात्रै खटिने स्पष्ट पारे । ‘म आफैं धेरै पटक विमान चढेर लुक्ला पुगेको छु, विमानस्थल खोँचमा रहेको र धावनमार्ग सानो भए पनि त्यहाँ दैनिक ८५ उडान हुन्छन् । अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन । त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन । विमानस्थल सुरक्षित छ । यसको जिम्मा म लिन सक्छु,’ उनले भने । प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरु कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत रहेको बताए । प्रिमियर शो हेर्न प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकारलगायत उपस्थित थिए । श्री गुरुङद्वारा निर्देशित यस रियालिटी शोमा नेपालसहित छ देशका ११ जना १९ देखि ३० वर्ष उमेरका युवा भ्लगरहरु सहभागी छन् ।
मत्स्येन्द्रनाथको भोटो देखाउने, आज सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार सार्वजनिक बिदा दिईएको छ । सरकारले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनपीएल घटेपनि नेपाल फाइनान्सको नाफा घट्यो, वितरणयोग्य नाफा २०.८२ करोड ऋणात्मक
काठमाडौं । नेपाल फाइनान्सको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १० प्रतिशत घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष फाइनान्सको नेट फि एण्ड कमिशन इनकम ७८ प्रतिशत बढेर १ करोड २७ लाख ८२ रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ प्रतिशत बढेर १५ करोड २३ लाख ६५ हजार रुपैयाँ, सञ्चालन मुनाफा १० प्रतिशत बढेर २ करोड २८ लाख ८३ हजार रुपैयाँ छ । फाइनान्सका् वितरणयोग्य नाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ र जगेडा कोष ४३ करोड १० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी घटेर २.४८ रुपैयाँमा सीमित छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ । अघिल्लो वर्ष १२.१६ प्रतिशत रहेकोमा घटेर ९.११ प्रतिशतमा झारेको छ ।