डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ अन्य देशको मुद्राको भाउ
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २२ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.४६ रुपैयाँ र खरिददर १३३.८६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.३१ रुपैयाँसम्म पुगेको थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । ेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ । आज युरोपियन युरो एकको खरिददर १४६.५६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.२१ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६.३१ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५५ रुपैयाँ र बिक्रीदर ९६.९८ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६६ रुपैयाँ र बिक्रीदर ३५.८२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७० रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४४ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२५ रुपैयाँ र बिक्रीदर ३०.३९ रुपैयाँ तोकिएको छ ।
तीन जना संस्थापक लुम्बिनी विकास बैंकको सेयर बेच्दै
काठमाडौं । तीन जना संस्थापक सेयरधनीहरूले लुम्बिनी विकास बैंकको सेयर बिक्री गर्ने भएका छन् । बैंकका ससंस्थापक सेयरधनी गोपाल प्रसाद बास्तोला, सुवास महर्जन र शिवराज आचार्यले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार बास्तोलाले १५ हजार कित्ता, महर्जनले ४ हजार ७७६ कित्ता र आचार्यले २३ हजार ५२३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयर खरिद गर्न इच्छुक जोकोहीले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यसअघि संस्थापकलाई बिक्रीमा राखेको थियो । तर, विद्यमान संस्थापकले आवेदन नदिएपछि सर्वसाधारणलाई बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
मर्जपछि ७ बैंक : बलियो बने कि कमजोर ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अध्ययन गर्दा मिश्रित नतिजा आएको देखिन्छ । कुनै बैंकका सूचकमा गिरावट आएका देखिन्छ भने कुनै बैंकका सूचक उल्लेख्य बढेका छन् । अघिल्लो वर्ष मर्जरमा सामेल भएका ७ बैंकको वित्तीय विवरण पनि सार्वजनिक गरेका छन् । मर्जरपछि सार्वजनिक वित्तीय विवरणमा अधिकांश सूचकमा गिरावट आएको थियो । तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष भने मर्जरमा सामेल बैंकहरूले उल्लेख्य प्रगति गरेको ब्यालेन्ससिटबाट प्रस्ट देखिन्छ । पछिल्लो पटक नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंक मर्जरमा सामेल भएका थिए । गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिकपछि मर्जरमा गएका बैंकहरूमा तुलनात्मक विश्लेषण गर्न थालिएको छ । कुन बैंकले कस्तो प्रगति गरे भनेर सबैको चासोको विषय बनेको छ । गत वर्ष बैंकिङ क्षेत्रका लागि सहज नभए पनि आर्थिक वर्षको अन्त्यतिर भने बैंकहरूले राम्रो सुधार गरेको देखिन्छ । मर्जरपछि आफूलाई नम्बर वान बनाउने प्रयास र प्रतिस्पर्धा पनि पनि बैंकरहरूबीच चलिरहेको छ । मर्जरमा सामेल भएका बैंकहरूले गत वर्ष ३० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जसमध्ये नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ । जुन बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै नाफा हो । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) बैंकले ५ अर्ब १९ करोड रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ, लक्ष्मी सनराईज बैंकले ३ अर्ब ३ करोड रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ८३ करोड रुपैयाँ र कुमारी बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेका हुन् । गत वर्ष बैंकहरूको ब्याजदर न्यून बिन्दुमा भएपनि कर्जा लगानी भने खासै वृद्धि गर्न सकेका थिएनन् । गत असारसम्म यी बैंकहरूले २० खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये नबिलले ३ खर्ब ७३ अर्ब रुपैयाँ, ग्लोबल आइएमईले ३ खर्ब ६९ अर्ब रुपैयाँ, एनआईएमबिले ३ खर्ब ७ अर्ब रुपैयाँ, कुमारीले २ खर्ब ७३ अर्ब रुपैयाँ, लक्ष्मी सनराइजले २ खर्ब ५० अर्ब रुपैयाँ, प्रभुले २ खर्ब २५ अर्ब रुपैयाँ र हिमालयनले २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी गत असारसम्म यी बैंकहरूले २६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमईले ४ खर्ब ८७ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै, नबिलले ४ खर्ब ६२ अर्ब रुपैयाँ, एनआईएमबिले ४ खर्ब ३ अर्ब रुपैयाँ, कुमारीले ३ खर्ब ३३ अर्ब रुपैयाँ, लक्ष्मी सनराइजले ३ खर्ब २८ अर्ब रुपैयाँ, प्रभुले ३ खर्ब ५ अर्ब रुपैयाँ र हिमालयनले २ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा यी ७ बैंकले ९४ अर्ब ८ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेर अग्रस्थानमा छ । यस्तै नबिलले १६ अर्ब २० करोड रुपैयाँ, एनआईएमबिले १५ अर्ब १ करोड रुपैयाँ, प्रभु बैंकले १२ अर्ब २ करोड रुपैयाँ, हिमालयन बैंकले ११ अर्ब ६१ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ५९ करोड रुपैयाँ र कुमारी बैंकले १० अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यस्तै, गत असारसम्म मर्जरमा सामेल भएका बैंकहरुको चुक्ता पूँजी १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये ग्लोबल आइएमई र एनआईएमबि बैंकबीच पूँजी वृद्धिमा प्रतिस्पर्धा देखिन्छ । ग्लोबल आइएमईको ३६ अर्ब १२ करोड रुपैयाँ छ भने एनआईएमबिको ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस्तै, नबिलको २७ अर्ब ५ करोड, कुमारीको २६ अर्ब २२ करोड, प्रभुको २३ अर्ब ५४ करोड, लक्ष्मी सनराइजको २१ अर्ब १८ करोड र हिमालयनको २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । समीक्षा अवधिमा यी बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ रकम जगेडा कोषमा जम्मा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै एनआईएमबिले ३० अर्ब ५६ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको देखिन्छ । यस्तै नबिलले २८ अर्ब ६५ करोड रुपैयाँ, ग्लोबल आइएमईले २३ अर्ब ७५ करोड रुपैयाँ, हिमालयनले २२ अर्ब ४३ करोड रुपैयाँ, लक्ष्मी सनराइजले १६ अर्ब २८ करोड रुपैयाँ, कुमारीले १४ अर्ब ६६ करोड रुपैयाँ र प्रभुले ११ अर्ब ६६ करोड रुपैयाँ जगेडा कोषमा राखेको तथ्याङ्क छ । लगानीकर्ताले सबैभन्दा चासोको रूपमा हेर्ने सूचक प्रतिसेयर आम्दानी (ईपीएस) मा नबिलको २६.०९ रुपैयाँ, प्रभुको १९.०३ रुपैयाँ, ग्लोबल आइएमईको १६.५६ रुपैयाँ, एनआईएमबिको १५.२३ रुपैयाँ, हिमालयनको १३.१ रुपैयाँ, लक्ष्मी सनराइजको १३.०९ रुपैयाँ र कुमारीको ८.८८ रुपैयाँ छ । मर्जरमा सामेल बैंकहरूले अधिकांश सूचकमा सकारात्मक फड्को मारे पनि लाभांश क्षमतामा भने कमजोर देखिएका छन् । गत असारसम्मको तथ्याङ्क अनुसार औषत २.५७ प्रतिशत मात्रै लाभांश क्षमता छ । वितरणयोग्य नाफा कम भएका कारण लाभांश क्षमतामा पनि ह्रास आएको हो । गत असारसम्म एनआईएमबी, हिमालयन र कुमारीको वितरणयोग्य नाफा ऋणात्मक छ भएपनि ४ वटा बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा छन् । ग्लोबल आइएमई बैंकको लाभांश क्षमता ३ प्रतिशत मात्र छ भने यस्तै नबिल बैंकको १४.२६ प्रतिशत, प्रभु बैंकको ५.२ प्रतिशत र लक्ष्मी सनराइजको ५.५५ प्रतिशत लाभांश क्षमता छ । गत असारसम्म नबिलको खराब कर्जा ३.८५ प्रतिशत, एनआईएमबीको ४.९५ प्रतिशत, ग्लोबल आइएमईको ४.३७ प्रतिशत, प्रभुको ४.७८ प्रतिशत, हिमालयनको ४.९१ प्रतिशत, कुमारीको ४.९५ प्रतिशत र लक्ष्मी सनराइजको ४.७३ प्रतिशत रहेको छ ।
कर्णाली विकट होइन, विराट छ : उपसभापति खड्का
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताएका छन् । सोमबार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली पहिला विकट भएपनि अहिले विराट रहेको बताए । कर्णाली सभ्याता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको जानकारी दिए । यस्तै, उनले कर्णालीको श्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताए । कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पुर्याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको जानकारी दिए । ‘जहाँसम्म कर्णालीको कुरा छ, कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदैछ । कर्णाली सभ्याता, श्रोत, साधन, मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली छ’, उनले भने । अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताइन् । धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको बताइन् । कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने बताइन् । कर्णालीको सुन्दरतालाई अहिलेसम्म पनि देखाउन र ल्याउन नसकिएको जानकारी दिइन् । कर्णालीको बारेमा नयाँ पुस्तालाई बुझाउन र चिनाउन सक्नुपर्ने जानकारी दिइन् ।
डा. थापा हेमबहादुर मल्ल सम्मानबाट पुरस्कृत हुँदै
काठमाडौं । नेपाल जन-प्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कपर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एव कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन-प्रशासन संघले विस २०७९ मा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो । सम्मानपत्रसहित नगद राशी दुई लाख रुपैयाँको यो सम्मान वर्षेनी प्रदान गरिदै आएकोमा यस वर्ष थापालाई प्रदान गर्ने निर्णय भएको नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले बताएका छन् । पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्याएको बहुमुल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापालाई प्रदान गरिने भएको आचार्यले बताए । उनका अनुसार सम्मान विशेष समारोहबीच आगामी २०८१ श्रावण २३ गते वितरण गरिने छ । सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवंम् पूर्व अर्थ मन्त्री शकरप्रसाद कोईरालाको संयोजकत्वमा एक छनौट समिति गठन गरिएको थियो । सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमीटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहेको उनले बताएका छन् । अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोईराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा, देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भइसकेका छन् । डा. भेषबहादुर थापा यो सम्मानबाट सम्मानित हुने २०औं व्यक्ति हुन् । स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए । उनी नेसनल फाइनान्स कम्पनी लिमीटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेड र सुवर्ण फर्मास्युटिकल्स लिमीटेडको पनि अध्यक्ष थिए ।
बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी
काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् । प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएका हुन् । उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएका छन् । ‘प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्ने वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन् । बंगलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बंगलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् । ‘देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो’, वाकरले भने, ‘मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।’ बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।
गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई
काठमाडौं । गोखार्ज फाइनान्सको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ । नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ । त्यसैगरी सोही बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत रहेको छ । नवनियुक्त सञ्चालकहरुले गोर्खाज फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पुर्याउने विश्वास संस्थाले लिएको छ ।
विद्यार्थीलाई करियर सम्बन्धी सल्लाह दिने पहिलो सम्मेलन सम्पन्न
काठमाडौं । माध्यमिक तहको (२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ । ‘करियर कन्क्लेभ’ विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर आयोजना गरिएको नेपालको राष्ट्रियस्तरको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ । प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालमा करियर बनाउन केही चुनौती देखिएपनि ती चुनौतीको सामना गर्नुपर्ने बताए । उनले करियर बनाउन विदेश जानु मात्र नभएको भन्दै विद्यार्थीहरुले नेपालमा भविष्य बन्ने प्रसस्त ठाउँहरूको खोजि गर्नुपर्ने सल्लाह दिए । मन्त्री पौडेलले यो पुस्ताको करियर खोज्दा भोग्नुपरेका समस्याको नीतिगत सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने र युवा पुस्तालाई यही बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कि नोट मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले विद्यार्थीहरुमाझ अहिलेको प्रतिस्प्रधी बजारमा प्रतिस्पर्धाकाबीच पहिलो स्थानमा कसरी उभिने र १२ पास गरिसकेपछि अब तत्कालै केके कुरा गर्ने भन्ने भिजन प्रस्तुत गरे । सम्मेलनमा ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा नेपालको अग्रणी डिजिटल वाल्ट ईसेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक संजोग कोइराला, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले प्यानलमा बहस गरेका थिए । उक्त बहस बाट विद्यार्थीहरुले व्यावहारिक ज्ञान र अहिलेको वास्तविक बजारबारे जानकारी पाएको आयोजकले जनाएको छ । कार्यक्रममा क्यनका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए । यस्तै नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति र हास्य कलाकार सुमन कार्कीले प्रहसन प्रस्तुत गरेका थिए । सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ। यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजनना गरेका छन् ।