साढे ५ करोड खर्चेर बन्यो पैयूँ गाउँपालिकाको भवन
पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ । प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० रुपैयाँ लागतमा निर्माण भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले केही ढिलाइ भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए । निर्माण सम्पन्न भएको उक्त भवन यही साउन २५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ । पैयूँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ । गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । स्थापनाकालदेखि हालसम्म पैयूँ गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक एक लाख रुपैयाँ भाडा खर्च हुँदै आएकामा अबदेखि उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताए । पालिकाको मुख्य प्रशासनिक भवनसँगै वडा कार्यालयहरु धमाधम निर्माण भइरहेको छ । सातवटा वडा कार्यालय रहेको पैयूँमा अधिकांशका सुविधासम्पन्न कार्यालय भवन बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले जानकारी दिए । रासस
डेंगीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
काठमाडौं । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौं उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र नाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त नेपाल माइक्रोले चुँक्ता पुँजीको ३० प्रतिशत आइपीओ जारी गर्न लागेको छ ।
वर्षाले हवाई उडान प्रभावित; टर्किस र एयर इन्डियाको विमान भारत ‘डाइभर्ट’
काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताए । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सरकारले बहुमतको घमण्ड देखाए दुर्भाग्य हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो माग गरेका हुन् । उनले सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी समेत दिए । आफूहरु संविधान संशोधनको विपक्षमा नरहेको भन्दै विधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका संशोधन भए समर्थन गर्ने जानकारी दिए । उनले अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा परिमार्जन नभइ जनताको अधिकार कटौति गर्ने उद्देश्य रहेको जिकिर गरे । दुई राजनीतिक दलहरु मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए । समानुपातिकता, समावेशिताको अधिकार कटौति गर्ने दुःशाहस सह्य नहुने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने कुरामा जोड दिए । सरकार दलाल, विचौलिया, उद्योग व्यवसायीहरुलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको आरोप लगाउँदै सरकारले छुट दिए आफूले सो विषयमा बोल्ने जानकारी दिए । ‘हामी संविधान संशोधनको बिरोधी होइन, संविधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर अझ त्यसलाई परिमार्जन गर्न, जनतालाई अझ धेरै अधिकार दिनका लागि यो देशका सरकार नै विचौलियाले बनाइदिएको छ’, उनले भने । अध्यक्ष दाहालले सरकार विचौलियाले बनाइदिएको आरोप लगाए ।
ब्रिटिश काउन्सिलले गर्यो एजेन्ट र परामर्शदाताहरूसँग छलफल
काठमाडौं । ब्रिटिश काउन्सिलले एजेन्ट र परामर्शदाताहरूसँग छलफल गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव बृद्धि गर्ने उदेश्यले छलफल गरेको जनाइएको छ । युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाडौंमा एजेन्ट र परामर्शदाता बैठक बोलाई छलफल गरेको थियो । बैठकमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा कसरी सफलता दिलाउने भन्ने विषयमा छलफल भएको थियो । ब्रिटिश काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्क (AQF) जस्ता पहलहरू मार्फत विद्यार्थीहरूलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ । सन् २०१९ सँग यस्तै तथ्याङ्कलाई तुलना गर्ने हो भने २०२३ मा युकेमा नेपाली विद्यार्थीको संख्यामा १३४० प्रतिशतभन्दा बढी वृद्धि भएको थियो। उद्घाटनको अवसरमा ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले ब्रिटिश काउन्सिलले नेपाल र युकेबीच शैक्षिक तथा सांस्कृतिक अवसरहरू सिर्जना गरेको बताइन् । ‘६५ वर्षभन्दा बढी समयदेखि, हामीले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि सबै तहका सरकारहरूसँग सहकार्य गर्दै नेपालको शैक्षिक प्राथमिकताहरूलाई गर्वका साथ सहयोग गरेका छौं,’उनी भन्छिन्,‘ हाम्रा कला र संस्कृति कार्यक्रमहरूले सांस्कृतिक सहजकर्ताहरूलाई सहयोग प्रदान गर्दछ र जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा, र लैङ्गिक समानता जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्दछ।’
द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले दूर शिक्षाको सहयोग तथा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइटी कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्न लागेको हो । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको यस कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले जानकारी दिए । विद्यार्थीलाई विश्वव्यापी रुपमा सक्षम र सफल बनाउन आवश्यक आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालित यस कलेजको आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न ल्याब, पुस्तकालय, छात्रावास, यातायातका साधन, क्याफ्टेरिया, खेल मैदान रहेका छन् । शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत यस कलेजले उत्कृष्ट स्थान हासिल गर्दै आएको न्यौपानेले बताए । कलेजका विद्यार्थीहरूले शैक्षिक र पेशागत क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पाएको सफलताले यसको गुणस्तरलाई प्रमाणित गरिरहेको उनको भनाइ छ । विभिन्न सेमेस्टरहरूमा त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय रुपमै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको यस कलेजमा बिबिएम, बिसिए, बिए एसडब्लु, बिबिएस र एमबिएसका साथै कक्षा ११ र १२ का कक्षाहरू पनि सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालन गरिएका बिबिएम र बिसिएका कार्यक्रममा आइबिएमसँगको सहकार्यले विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरूको ढोका खुल्ने उनले बताए । साथै विद्यार्थीहरू विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारी प्राप्त गर्न सफल हुने उनको दावी छ । न्यौपानेले भने, ‘सम्पूर्ण उत्तिर्ण विद्यार्थीहरूलाई रोजगारीको ग्यारन्टी छ । एकातिर त्रिविको सेमेस्टर कार्यक्रम अर्कोतिर आइबिएमको तालिम, त्यसले विद्यार्थीलाई व्यावसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक सीपहरूले निपूर्ण बनाउने र उद्यमशीलता समेत प्रवर्द्धन गर्छ’, उनले भने, ‘जसबाट उनीहरू आफ्नै पेशा व्यवसाय सफल रुपमा सञ्चालन गर्न र विश्वका विभिन्न अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारीका अवसर प्राप्त गर्न सफल हुन्छन् ।’ जुनसुकै आर्थिक अवस्थाका भएपनि जेहेन्दार विद्यार्थीले यस्ता प्रभावकारी शैक्षिक कार्यक्रमबाट वञ्चित हुनु हुँदैन भन्ने कलेजको मान्यता रहेकोले यी विषय अध्ययनका लागि न्यूनतम शुल्क नै कायम गरिएको उनले बताए ।
लघु र हवाई बीमाको व्यापारमा उछाल, किन घट्यो मोटर र कृषि बीमाको बजार ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीतर्फको लघु बीमाको व्यापार ३४९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुबीमाको व्यापार ३४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६ करोड ९८ लाख रुपैयाँको लघुबीमा व्यवसाय भएपनि गत आर्थिक वर्षमा भने ३१ करोड ३६ लाख रुपैयाँको पुगेको छ । यस्तै, यो अवधिमा हवाई बीमा ३५.८ प्रतिशत र सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कुल २ अर्ब ६० करोड ७६ लाख रुपैयाँको हवाई बीमा भएको छ भने १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सम्पत्ति बीमा भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो बीमा क्रमशः १ अर्ब ९२ करोड २ लाख र ९ अर्ब रुपैयाँ भएको थियो । गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसाय सामान्य रुपमा वृद्धि भएको छ । निर्जीवन बीमाको व्यपार ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । निर्जीवन तर्फको मूख्य व्यवसायको रुपमा हेरिएको मोटर बीमाको बजार भने घटेको छ । निर्जीवन बजारको ४० प्रतिशतको हिस्सा ओगट्ने मोटर बीमाको व्यापार गत आवमा खुम्चिएको हो । मोटर बीमाको बजार ५.५६ प्रतिशतले खुम्चिएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मोटर बीमाको व्यापार ७४ करोड रुपैयाँले घटेको हो । यस्तै, कृषि बीमाको बजार ११.२५ प्रतिशतले घटेको हो । सरकारबाट बीमा अनुदान वापतको रकम भुक्तानी नपाएपछि बीमा कम्पनीहरुले करिब अढाई महिना कृषि बीमालेख जारी गर्न रोकेका थिए । सोही कारणले पनि यो पोर्टफोलियोको व्यापार घटेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू बताउँछन् । यस्तै, समून्द्रिक बीमालेख अन्तर्गतको बजार १.७४ र इन्जिनिरिङ्ग तथा निमाण क्षेत्रको बीमा बजार ०.९६ प्रतिशतले घटेको छ ।