विकासन्युज

लघुवित्तका ठूला सेयरधनीलाई राष्ट्र बैंकको कडाइ, एकाघर परिवारका सदस्य कर्मचारी बन्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । लघुवित्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैंकले ठूला सेयरधनीहरूमाथि कडाइ गरेको हो । लघुवित्त संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति तथा पुनर्नियुक्ति गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति/पुनर्नियुक्ति हुन योग्य नहुने राष्ट्र बैंकको निर्देशन छ । लघुवित्त संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न पाइने छैन । तर, राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेशनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र लगायतका संस्थामा र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । अन्य संगठित संस्थाबाहेकका संस्थाहरूको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा कार्य गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, थोक कर्जा प्रदायक लघुवित्तले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिकाअनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन । [pdf id=533016]

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार वृक्षरोपण गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सीईओ रेग्मीले वृक्षरोपण कार्यक्रम चालु आर्थिक वर्षभर संचालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरु रोपण गर्ने जानकारी दिए । ‘रुखविरुवा प्रकृति संरक्षणको महत्त्वपूर्ण पाटो हो । वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको स्रोत जोगाउन सहयोग पुर्‍याउँछ,’ उनले भने । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडाैं । स्टक एक्सचेन्जको नयाँ लाईसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कृष्ण बहादुर थापाले आज मंगलबार रिट दायर गरेका हुन् । जुन निर्देशिकाको आधारमा नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिन लागिएको हो, सो निर्देशिका नै कानुनसम्मत नभएको जिकिर गर्दै थापाले रिट दर्ता गराएका हुन् । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिनको लागि ‘धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको थियो। सो निर्देशिका मूल कानुन र संविधानसँग बाझिएको जिकिर गर्दै निर्देशिका बदर गर्न माग समेत गरेका छन् । उनले आफ्नो रिटमा सो निर्देशिका धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११८ सँग बाझिएको उल्लेख गरेका छन् । साथै संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको उनको जिकिर छ। रिटमा नेपाल धितोपत्र बोर्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अर्थ मन्त्रालयलाई विपक्षी बनाईएको छ । यस अघि पनि मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावली मूल कानुनसँग बाझिएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। सो रिट अदालतले खारेज गरिदिएको थियो ।

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

काठमाडौं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्यांकले देखाएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु । भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक/एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर  ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरूको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले उल्लेख गरे ।  | मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पको  धक्का काठमाडौंसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए । ‘पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।’

ठूलो खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारणसभा मंगलबार कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ । सभाबाट सञ्चालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् । सभाबाट सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । यस कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यस आयोजना २०८२ को बैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले सभामा सेयरधनीहरूलाई सुनाए ।

ताल बाराही मन्दिर पुनर्निर्माणका लागि नेपाल एसबीआई बैंकको १० लाख सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरास्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुंगाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरुसमेतको उपस्थिति थियो ।