विकासन्युज

सहकारी ठगीमा खुसुक्क चार घण्टा बयान

काठमाडौं । सहकारीको बचत ठगीमा आफू संलग्नता इन्कार गर्दै आएका धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रोपटक बयान लिएको छ । नेपाली कांग्रेसका उपसभापति गुरूङसँग सीआईबीले मंगलबार चार घण्टा निरन्तर बयान लिएको हो । उनी १२ बजे सीआईबीमा पुगेका थिए । सीआईबीका अधिकृतहरुले १ बजेदेखि उनको बयान लिन सुरु गरेका थिए । उनले बयानमा सहकारीको बचतको विषयमा आफूलाई केही पनि थाहा नभएको र तिनुपर्ने रकम भने तिरिरहेको बताएका छन् । उनले बाँकी रहेको रकम पनि अझै तिर्दै जाने बयान दिएका छन् । यसअघि कात्तिक २८ गते पहिलो बयान लिइएको उनीसँग मंगलबार दोस्रो पटक बयान लिइएको हो । तर, उनले दोस्रो बयानमा पनि आफ्नो संलग्नता सहकारी ठगीमा नरहेको बताएका छन् । सीआईबीले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान गरिरहेको छ । मितेरी सहकारी संस्थामा रकम अपचलन भएका विषयमा उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको थियो । गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन् । तर, गुरुङले श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै आएका छन् । सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ। सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले भने यो ठगीमा धनराजको पनि संलग्नता रहेको बयान दिँदै आएका छन् । धनराजले भने २०७७ मै आफूले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरिसकेकोले त्यसमा आफ्नो संलग्नता नरहेको बयान दिँदै आएको बुझिएको छ । उनले ज्योतिको गल्तिमा आफूलाई नजोड्न आग्रह गरेको पनि बुझिएको छ । अहिले धनराजको श्रीमती ज्योति फरार छिन् । धनराजले कागजीरूपमा मात्रै ज्योतिसँग सम्बन्ध विच्छेद गरेको विषय पनि चर्चामा छ । सहकारीका अन्य भीआईपी आरोपितसँग खुलेआम बयान लिँदै आएको प्रहरीले धनराजसँग भने गुपचुपमा अनुसन्धान गरिरहेको छ ।समाचारमा चार घण्टा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ : सम्पादक सम्बन्धित सामग्री :  सीआईबीसँग धनराजको निरन्तर ५ घण्टा बयान …त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म

पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान, निर्माण क्षेत्र ऋणात्मक

काठमाडाैं। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेको छ । कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गर्दै वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेको हो । गत आव अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतमात्र विस्तार हुने अनुमान कार्यालयको छ । सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुने उल्लेख गरेको छ । मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा आधारभूत मुल्यको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन करिब करिब बराबर रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । चालु आवको प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो । यद्यपी, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान कार्यालयको छ । पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको देखिएको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ । दोस्रो स्थानमा यातायात र गोदाम रहेको छ । कार्यालयले आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत, प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान गरेको छ । यस्तै, थोक तथा खुद्रा व्यापार ०.५ प्रतिशत, औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, शिक्षा ०.४ प्रतिशत, स्वास्थ्य ४.१ प्रतिशत, घरजग्गा कारोबारमा ३.१ प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशतमात्र रहने अनुमान छ । यस्तै,पहिलो त्रैमासमा निर्माण क्षेत्र ०.६ प्रतिशतले ऋणात्मक हुने कार्यालयको अनुमान छ ।

भाटभटेनीद्वारा प्रवर्द्धित एग्रिवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरु गर्ने

काठमाडौं । चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रिवस्तु चिस्यान केन्द्रले किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ । चिस्यान केन्द्रले पहिलो चरणमा ५ सय मेट्रिक टन (५ हजार क्विन्टल) गाजर खरिद गरी बजारमा पठाउने र भण्डारण गर्ने तयारी गरेको छ । भाटभटेनी सुपर मार्केटद्वारा प्रवर्द्धित एग्रिवस्तु चिस्यान केन्द्रले किसान, किसान समूह र कृषि सहकारीसँग समन्वय गर्दै सिधै तरकारी खरिद गर्न थालेको भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए । चिस्यान केन्द्रका प्रबन्ध निर्देशक आशिष शर्माका अनुसार चितवन र धादिङका किसानहरूका लागि यो पहलले ठूलो राहत पुर्‍याउने छ । ‘चितवन तरकारी उत्पादनका लागि प्रख्यात छ । तर, आधुनिक चिस्यान केन्द्रको अभावमा किसानले उत्पादन खेर फाल्नुपरेको समस्या समाधान गर्न पहिलो चरणमा गाजर खरिद गर्न लागेका छौं,’ शर्माले भने । तरकारी मात्र नभइ चिस्यान केन्द्रले हाल सुन्तला र जुनारको बिक्री वितरण र भण्डारणसमेत सुरु गरेको छ । करिब २ सय मेट्रिक टन सुन्तला र जुनार स्याङ्जा, पाल्पा, गोर्खा र सिन्धुलीलगायतका जिल्लाहरूबाट खरिद गरिएको छ । खरिद गरिएका फलफूल र तरकारी प्रशोधन गरेर मात्रै बजारमा पठाइने व्यवस्था गरिएको शर्माले जानकारी दिए । किसानलाई बजारसँग जोड्ने उद्देश्यका साथ एग्रीवस्तुले विभिन्न जिल्लाहरूमा यस्ता गतिविधि विस्तार गर्ने तयारी गरेको छ । हाल भाटभटेनी सुपर मार्केटसँग सहकार्य गरी उपभोक्तालाई ताजा र स्वास्थ्यकर तरकारी तथा फलफूल आपूर्ति गर्ने योजना अघि सारिएको छ । किसानले आफ्नो उत्पादनका लागि सुनिश्चित बजार पाउनुका साथै उत्पादन खेर जाने समस्या समाधान हुने छ । अर्कोतर्फ उपभोक्ताले ताजा र स्वास्थ्यकर तरकारी तथा फलफूल प्राप्त गर्न सक्नेछन् । ‘किसानलाई आर्थिक रूपमा सबल बनाउँदै आम उपभोक्तालाई स्वास्थ्यकर तरकारी उत्पादन आपूर्ति गर्ने हाम्रो उद्देश्य हो,’ शर्माले थपे । पौडेलले पनि किसानको उत्पादन सिधै भाटभटेनीका सबैजसो स्टोरबाट उपलब्ध हुने बताए । चिस्यान केन्द्रले उत्पादक र उपभोक्ताबीचको दूरी घटाउँदै दुवै पक्षलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । सुन्तला, जुनार र तरकारी उत्पादनको यस्तो व्यवस्थापनले जिल्लाका कृषकहरूको आत्मविश्वास बढाउनुका साथै कृषिमा नवप्रवर्तन गर्ने सम्भावना देखाएको आम उपभोक्ताको बुझाइ छ । दुर्गम तथा अति दुर्गममा फल्ने रैथाने कृषि उत्पादनहरू पनि सिधै कृषकहरूबाट खरिद गरेर एग्रिवस्तुले प्रशोधन तथा प्याकिङ गरी बिक्री वितरण सुरु गरेको प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।

केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, सामाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ । सडक दुर्घटनाहरू बढ्दै जाँदा नेरोलेकले ‘नो हर्न प्लीज’, ‘नो स्टपिङ’, ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’ जस्ता सडक साइनबोर्डहरू प्रदान गरेको छ । यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन् । जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाइमा योगदान पुर्‍याउन नयाँ लक्ष्य राखेको छ । सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ । केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरी नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ ।

सिमेन्टको मूल्य बढाएको भन्दै सरकारले पुनः उत्पादकलाई बोलायो, उद्योगी भन्छन् : मूल्य ८५० पुगेको हल्ला मात्रै हो

काठमाडौं । उद्योगीहरूले सिमेन्टको मूल्य हाललाई बढाएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । पछिल्लो समय सिमेन्ट प्रतिबोरा ५ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री भइरहेको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ । बजारमा ६ सयमा पाइने ओपीसी सेमिन्टको मूल्य हाल ८५० परिरहेको कुरा हल्ला भएको संघका पूर्वमहासचिव केशव उप्रेतीले बताए । उनले सिमेन्टको मूल्य ५ सयदेखि ६ सयसम्ममा बिक्री भइरहेको छ । उनले भने, ‘हामीले सिमेन्टको मूल्य बढाएका छैनौं । बजारमा जुन हल्ला छ । त्यो सबै ठेकेदारले चलाएको हावा कुरा हो । अहिले सिमेन्ट ५ देखि ६ सयमा बिक्री गरिरहेका छौं । गत वर्षको मूल्य हेर्नुहुन्छ भने यहीं समयमा त्यति बढाएका छैनौं । बढीमा ५ प्रतिशत मात्रै बढाएका छौं । जुन यो स्वाभाविक हो । यसमा बजारमा हल्ला फैलाउनु गतल हो ।’ पूर्वमहासचिव उप्रेतीले ठाउँअनुसार मूल्य फरक भएको बताए । उनले भने, ‘ओपीसी सिमेन्ट ७ सय पीपीसीको ६ सयमा बिक्री गरिरहेका छौं । काठमाडौंमा कम पर्छ भने अन्य ठाउँमा बढी पर्न सक्छ ।’ उनले वर्षातको सिजनमा निर्माण कार्य कम हुने र बिक्री पनि कम हुने भएर सिमेन्टको मूल्यमा ह्रास भएको बताए । त्यही बेला घटाएको मूल्यलाई हाल बढाएको उनको दाबी छ । सिमेन्टको मूल्य बढीमा ७ सय भन्दामाथि नलिएको पूर्वमहासचिव उप्रेतीको भनाइ छ । बजारमा फैलिएको हल्लाप्रति गम्भीर आपत्ति रहेको उनले जनाए । उनले सरकारले यसबारे बैठक बोलाएको जानकारी दिए । उनले भने, ‘यसबारे बृहत मिटिङ बस्नेछ । हामीलाई उद्योग वाणिज्य मन्त्रालयले छिट्टै मिटिङ बस्ने भनेको छ । मन्त्रालयले मूल्यबारे सबै विवरण मागेको छ । यसको खर्च सबै हिसाब गरेर निर्णयमा पुग्नेछौं । त्यसपछि मिटिङबाट सिमेन्टको मूल्य तोकिनेछ ।’ यस्तै, हाल सिमेन्ट उद्योगहरू मारमा रहेको बताउँदै उनले जुन अवस्था हाललाई छ, त्यही अवस्था रहने हो भने दर्जनाैं उद्योग नै बन्द हुने दु:खेसो व्यक्त गरे । उता सिमेन्टको मूल्य बढ्दै गइरहेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलन गर्ने तयारीमा छन् । सम्बन्धित सामग्री : निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच तनाव बढ्दै सरकारले ४० अर्ब नतिरेपछि निर्माण व्यवसायीहरू सरकारविरुद्ध खनिए सिमेन्टको मूल्यमा सरकार तटस्थ, निर्माण व्यवसायी र उत्पादक संघबीच नै सहमतिको खाका

प्रोटोन ईमास सेभेन श्रृङ्खलाका गाडीहरू नयाँ ब्याट्री प्रविधिसहित चाँडै नेपाल भित्रिने

काठमाडौं । प्रसिद्ध मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको ईमास सेभेन श्रङ्खलाका गाडीहरू नेपाल भित्रिँदै छन् । नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स काठमाडौंमा ईमास सेभेनल श्रृंखला सार्वजनिक गर्ने तयारीमा रहेको हो । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ईमास सेभेन श्रङ्खलाका गाडीहरू भित्र्याउन उत्साहित रहेको जानकारी दिए । उनले भने, ‘हामी प्रोटोनको नवीन ईमास सेभेन सवारीसाधनहरू नेपालमा प्रस्तुत गर्न उत्साहित छौं । यसमा एजीईआईएस सर्ट ब्लेड ब्याट्री प्रविधि रहेको छ । यस अत्याधुनिक ब्याट्री प्रणालीले सवारीसाधनको प्रदर्शनलाई उल्लेखनीय रूपमा सुधार गर्नेछ । यसले ईमास सेभेनलाई वातावरणमैत्री मात्र नभई उच्च दक्षता र प्रदर्शनयुक्त सवारीसाधन बनाउनेछ। ‘ यो त्रैमासिकमा इमास सेभेनका साधनहरू नेपाल भित्रिन लागेका हुन् । प्रोटोनको ईमास सेभेन सवारीसाधनहरू टुबेल-इन-वान इलेक्ट्रिक ड्राइभ प्रणाली र उन्नत एजीईआईएस सर्ट ब्लेड ब्याट्रीले सुसज्जित छन्, जसले नेपाली अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्नेछ । सवारीमा राखिएको एजीईआईएस सर्ट ब्लेड ब्याट्री बीस मिनेटमै चार्ज हुने कम्पनीले जनाएकाे छ । प्रोटोनको नेपाल प्रवेश दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति बढाउने व्यापक रणनीतिको हिस्सा हो । पर्यावरणीय दिगोपन र उपभोक्ता सन्तुष्टिप्रति प्रतिबद्धताका साथ प्रोटोनले क्षेत्रभरिका ग्राहकहरूका लागि उच्च गुणस्तरीय सवारीसाधनहरू प्रदान गर्न निरन्तर नवप्रवर्तन गर्ने लक्ष्य राखेको छ ।

लघुवित्त संस्थाले ऋणीको हितका लागि छुट्टै कोष खडा गर्नुपर्ने

काठमाडाैं । लघुवित्त वित्तीय संस्थाले ऋणीको हितमा खर्च गर्नेगरी अलग्गै कोष खडा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूका लागि जारी गरेको सञ्चालन मार्गदर्शन २०८१ अनुसार लघुवित्त संस्थाहरूले ग्राहक संरक्षण कोष खडा गनुपर्ने भएको हो । लघुवित्त वित्तीय संस्थाले कोषको लेखापरीक्षण प्रतिवेदन तथा वार्षिक कार्य सम्पादन प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख छ । यस्तै, संस्थाले ग्राहक संरक्षण कोष सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नुपर्नेछ । मार्गदर्शन अनुसार उक्त कोषको रकम देहायबमोजिमका कार्यहरूका लागि मात्र उपयोग गर्नु पाइन्छ १. सम्पूर्ण ऋणीहरूको व्यवसाय सञ्चालन सीप जस्तै लेखा राख्ने, वित्तीय विश्लेषण गर्ने तालिममा हुने खर्च, २. उद्यमशीलता विकास सम्बन्धी कार्यक्रममा हुने खर्च, ३. समस्यामा परेका ऋणीहरूको पुनस्र्थापनाका लागि सहुलियत ब्याजदरको कर्जा, ४. ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता (सुत्केरी स्याहार, औषधी उपचार, काजक्रिया, शिशु स्याहार जस्ता) खर्च, ५. प्राकृतिक प्रकोप, सरुवा रोगबाट सृजित महामारीको अवस्थामा दिइने सहयोग, ६. सदस्यहरूका बालबालिकाको भविष्यको लागि छात्रवृत्ति एवम् पाठ्यसामाग्री प्रदान गर्दा हुने खर्च, ७. सदस्यहरूको नियमित स्वास्थ्य जाँचको लागि हेल्थ क्याम्प सञ्चालन, नजिकको स्वास्थ्य चौकीहरूमा स्वास्थ्य उपकरणहरूको खरिदको लागि हुने खर्च, ८. वातावरणीय संरक्षण जस्तै वृक्षारोपण जस्तो कार्यमा हुने खर्च  ।

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितको घरमै गएर शुक्रबार (पुष ५ गते)मा दावी वापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाख रूपैयाँको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो । उक्त दावी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भुमही शाखा प्रमुख प्रबिन कंडेल, मार्केटिङ दया तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रममा एमडीआरटी माधव भुसाल , एमडीआरटी कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वोस्ती, शालिकराम भण्डारी समेत को उपस्थिति थियो । एजेन्सी म्यानेजरहरू रेशम भाट, हिमाल राना,शलिकराम तिवारी , नुमकला पङेनी,टांक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो। कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको थियो । शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खानाल, एमडीआरटी माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्तीले मन्तब्यको क्रममा बीमाको अपरिहार्यता र महत्वलाइ सबैले समयमै बुझ्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।