विकासन्युज

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट  ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए । आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको बताए । झिंगाले सरापेर डिंगा नमर्ने भन्दै अरुले सरापेर एमाले नसकिने टिप्पणी गरे । ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने’, उनले भने । प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ की छैन भन्नेकुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने जानकारी दिए ।

नेशनल लाइफका ४०० बढी अभिकर्ताले लिए इन्स्योरेन्स इस्टिच्युट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूमार्फत कोलकातामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई कम्पनीले कोलकातामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल बीके नायकको सभापतित्वमा सम्पन्न तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरू जे सेन, मिहिर गोस्वामी, अनिरवन शाहलगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कलेजका प्रिन्सिपल बीके नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीहरूलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरूलाई नेपालबाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकामा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नवीन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेस कन्ट्युनिटी साइकलका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरूको रूचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्री गर्ने र बिक्रीपश्चात् पनि आफ्ना ग्राहकहरूसँग सधैं सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्न सक्ने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब ४०० जनाभन्दा बढी अभिकर्ताहरू र कम्पनीका मार्केटिङ कर्मचारीहरूलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरूले तालिमको प्रमाणपत्र वितरण गरेका थिए । बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको तालिममा सहभागी भई तालिम प्रमाणपत्र प्राप्त गर्नु एउटा ठूलो अवसर भएको र यो अवसर जुराइदिएकामा कम्पनीप्रति आभारी रहेको सहभागी अभिकर्ताहरूले बताएका थिए ।

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो । सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो । विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।

नागरिकका गुनासा सुन्न स्वास्थ्यमन्त्रीले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ । एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् । सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए । मन्त्री पौडेलले आम नागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार समेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । आम नागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो, उनले भने, आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भैरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस् । उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए ।

१८ अंकले घटेको सेयर बजारमा ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०८ कम्पनीको १ करोड ५७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सुपर म्यादी हाइड्रोपावरको भएको छ । सुपरको ४४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीनर्जी पावर डेभलपमेन्टको २८ करोड ३२ लाख, सीन्धु विकास बैंकको २५ करोड २४ लाख, हिमालयन पावर पाटनरको १९ करोड ८५ लाख र एनआरएन इन्फ्राइस्ट्रक्चरको १७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

गाउँको सरकारी विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्न आउँछन्

बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौं ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् । नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१/८१ मा यस विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना छन् । कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताए । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उनको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको शहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरुपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ । यस विद्यालय आव २०७६÷७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो । विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताए । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उनको भनाइ छ । विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताए । उनका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रीक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थीहरु यस विद्यालयमा आउने गर्दछन् । यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् । शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँहरुबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ । नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८/७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ । विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो । अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ । विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् । दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताए । विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्छन् । यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताए । दूरीका हिसाबले गशेण माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उनको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बताउँछन् । बागलुङ नगरपालिकाले आगमी पौस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् । रासस

सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो, साँझसम्म आदेश हुनसक्ने

कास्की । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले बिहीबार साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो । उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए । आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गरेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आजै हुने न्यायाधीवक्ता काफ्लेले बताए । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा रहेको न्यायाधीवक्ता काफ्लेले बताए ।