आईएमई लाईफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म पाउने
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजार बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमालेख ३० वर्ष वा सोभन्दा धेरै अवधिका लागि खरिद गरेका बीमितले ८० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । सोही बीमालेख २५ देखि २९ वर्ष अवधिकालागि खरिद गर्दा ६५ रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ । यसैगरी, सामूहिक सावधिक बीमालेख ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि खरिद गर्ने बीमितले ७५ रुपैयाँ र सोही बीमालेख २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ७० रुपैयाँ बोनस पाउने जनाइएको छ । यस्तै, सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा वाल सावधिक बीमालेख ३० वर्ष वा सोभन्दा बढी अवधिकालागि खरिद गर्ने बीमितले पनि ७० रुपैयाँ बोनस पाउनेछन् भने २५ देखि २९ वर्षसम्मका लागि खरिद गर्दा ६७ रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । कुन बीमालेखमा कति बोनस ?
मधेसका वित्तीय संस्थाले औद्योगिक क्षेत्रका लागि गरे कर्जा प्रवाहमा वृद्धि
वीरगञ्ज । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश)अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले मधेसका औद्योगिक क्षेत्रमा ११ दशमलव दुई प्रतिशतले कर्जा प्रवाह बढाएका छन् । बैंक तथा वित्तीय संस्थाले आव २०७९/८० मा यहाँका औद्योगिक क्षेत्रमा रु एक खर्ब नौ अर्ब ५९ करोड कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३ दशमलव ६८ प्रतिशत रहेको छ । त्यसैगरी कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३४ दशमलव ५५ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामानको उत्पादनतर्फ चार दशमलव ४७ प्रतिशत रहेको छ । त्यसैगरी, निर्माण उद्योगतर्फ पाँच दशमलव ६७ प्रतिशत, खानी उद्योगतर्फ एक दशमलव २५ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ४६ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आव २०८०/८१ म मधेस प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सामा ६३ दशमलव ४९ प्रतिशत अर्थात् ७७ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै उद्योग पर्सामा रहेकाले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह पनि पर्सामा भएको देखिन्छ । यस्तै, दोस्रो धेरै औद्योगिक कर्जा प्रवाह हुने जिल्ला धनुषा रहेको छ । सो जिल्लामा नौ दशमलव ४४ प्रतिशत अर्थात् ११ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । बारा जिल्लामा सात अर्ब ३१ अर्ब रुपैयाँ, सिराहामा ६ अर्ब १० करोड रुपैयाँ, सर्लाहीमा ६ करोड ४८ करोड रुपैयाँ, महोत्तरीमा रु पाँच अर्ब ५१ करोड, रौतहटमा चार अर्ब ५८ करोड रुपैयाँ र सप्तरीमा भने सबैभन्दा कम अर्थात् दुई अर्ब ९८ करोड रुपैयाँ रकम औद्योगिक क्षेत्रमा कर्जा प्रवाह भएको छ ।
माघ ८ गते प्रधानमन्त्री ओलीले पूजा गरी सिद्धबाबा सुरुङमार्गको ‘ब्रेकथ्रु’ गर्ने
काठमाडौं । देशमा बनेका नागढुंगा-सिस्नेखोला र सुनकोशी-मरिण डाइभर्सनको सुरुङ छिचोलिएसँगै अबको पालो सिद्धबाबा सुरुङमार्गको हो । पश्चिम नेपालको प्रमुख सहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ ब्रेकथ्रुले पूर्वाधारको क्षेत्रमा आशाको किरण जगाएको छ । सुरुङमार्ग खन्ने काम अन्तिम चरणमा पुगेको छ । पहाडलाई तराईसँग सिद्धबाबा जोड्नेछ । पाल्पाको सिद्धार्थ राजमार्गमा पर्ने उक्त सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेकथ्रु (दायाँबायाँ छेडेर जोड्ने काम) माघ ८ गते हुने सिद्धबाबा सुरुङ आयोजनाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूजाआजा गरी माघ ८ गतेका दिन यो सुरुङमार्ग अन्तर्गतको मुख्य टनेलको अन्तिम ब्रेकथ्रु गर्ने कार्यक्रम तय भएको छ । माघ २ गते अन्तिम ब्रेकथ्रु गर्ने भनिएको थियो । तर प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण माघ ८ मा ब्रेकथ्रु गर्न लागिएको हो । सिद्धबाबा सुरुङ आयोजनाका अनुसार निर्माण थालेको ११ महिनाभित्रै ‘टनेल’ को ब्रेकथ्रु गर्ने तयारी छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार त्यो दिन ब्लास्टिङ र ड्रिलिङ (एनएटीएम) प्रविधिमार्फत मुख्य टनेलमा खन्न बाँकी रहेको करिब २ मिटरको दूरी ब्रेकथ्रु गरी छिचोल्ने कार्यक्रम छ। गत वर्ष माघ ४ गतेबाट मुख्य सुरुङ खन्न थालिएको थियो । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै बन्दै गरेको बहुचर्चित सुरुङ छिचोलिन अब जम्मा ६० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । ‘माघ ८ गते प्रधानमन्त्रीज्यूबाट अन्तिम ब्रेकथ्रु गर्ने कार्यक्रम तय भएको छ,’ आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले भने,‘अहिले हामी त्यहीं कार्यक्रमको लागि पूर्वतयारीमा जुटेका छौं ।’ सिद्धबाबा क्षेत्रमा सुक्खा र वर्षात सिजनमा ढुंगासहितको ठूला पहिरो गएर सवारीसाधनका साथै जनधनमा ठूलो क्षति गर्दै आएकाले सरकारले दीर्घकालीन रूपमा उक्त समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गरिएको हो । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा सुरुङमार्ग निर्माण भएको हो ।
सिमेन्टको मूल्य बढेदेखि निर्माण कार्य ठप्प रहेको व्यवसायीको गुनासो, राष्ट्र बैंकको सुविधा पनि कटौती
काठमाडौं । निमार्ण व्यवसायी महासंघले निर्माण उद्योग ठूलो मारमा परेको बताउँदै आएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट मात्रै नभएर समग्र निर्माण क्षेत्रमै समस्या परेको बताए । उनले सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी, भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापन लगायतका विषयमा देशभरका निर्माण व्यवसायीहरू एकपछि अर्को समस्यामा परिरहेको जानकारी दिए । उनले भने, ‘सिमेन्टको मूल्य बढेको दिनदेखि निर्माण कार्य ठप्प छ । हामीले निर्माण कार्यलाई बढाउन सकिरहेका छैनौं । सिमेन्टको मूल्य घटाउनुपर्छ भनेर सरकारलाई आग्रह गर्दै आइरहेका छौं । तर सरकार यो विषयमा उदासीन देखिएको छ ।’ अध्यक्ष सिंहले सरकारले यस विषयमा खासै चासो नदिएको आक्रोश व्यक्त गरे । ‘निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने बक्यौता रहेको अझै पनि भुक्तानी गर्न सकिरहेको छैन । जसका कारण निर्माण उद्योग संकटमा परेको छ,’ उनले भने । यस्तै, शनिबार निर्माण व्यवसायको भेला बसेको र भेलामा नौ बुँदे कार्यपत्र पेश गरेको जनाएको छ । महासंघकाले सार्वजनिक खरिद नियमावलीको तेह्रौं संशोधनबाट सिर्जित म्याद थपको समस्या अन्त्य हुनुपर्ने, विभिन्न कारणले रुग्ण रहेका ठेक्काहरू सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, निर्माण व्यवसायीमाथिको प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको कारबाही अन्त्य हुनुपर्ने, निर्माण उद्योगको समस्या समाधानका लागि सार्वजनिक खरीद ऐन तथा नियमावली तत्काल पुनर्लेखन गर्नुपर्ने, सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, निर्माण सम्बन्धी उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग अघि सारेको छ । भेलाका सहभागीहरूले महासंघको नौ बुँदे कार्यपत्रमाथि ऐक्यवद्धता जनाउँदै सबै खाले निर्माण व्यवसायीहरू एकजुट भएर समस्या समाधानतर्फ अघि बढ्नुपर्ने धारणा राखेका थिए। भेलामा प्रस्तुत विचारहरूलाई लिपिवद्ध गरी नौ बुँदे माग कार्यान्वयनका लागि महासंघले छिट्टै चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने महासंघले बताएको छ । अध्यक्ष सिंहले उद्योगमन्त्री दामोदर भण्डारीले बोलाएको तर बैठक बोलाएर निर्णयमा नपुगेको बताए । उनले भने,‘ शनिबार उद्योगमन्त्रीले बोलाउनुभएको थियो । हाम्रो त्यहीं दिन भेला थियो । म जान सकिनँ । महासंघको तर्फबाट प्रतिनिधिका रूपमा पूर्वअध्यक्ष रमेश शर्मालाई पठाएको थिए । उहाँहरू त्यहाँ पुग्दा मन्त्रीज्यू बिजी हुनुहुँदो रहेछ । त्यसपछि हाल बोलाएको छैन ।’ अध्यक्ष सिंहले सरकार यसबारे मौन रहेको गुनासो गरे । उनले भने,‘उद्योगमन्त्रीको रोहोबरमा सिमेन्ट उद्योगीहरूले हामीलाई प्रस्ताव पेस गर्ने त्यो प्रस्ताव हामी स्वीर्कानुपर्ने अनि त्यो कार्यान्वयन एक महिनासम्म पनि नहुने ? यस्तो विजोग छ ।’ उनले आफै निर्णय गर्ने आफै कार्यान्वयन नगर्ने भन्दै आक्रोश पोखें । वाणिज्य उपभोक्ता संरक्षण विभागको रोहोबरमा भएको सहमतिसमेत सरकारले नै कार्यान्वयन गर्न नसकेको उनको आरोप छ । सरकारले नै दिन लब्याइरहेको बताए । उनले सरकारले यसबारे जुन नियमन लागु गर्नुपर्ने हो त्यो नगरेको बताउँछन् । अध्यक्ष सिंहले सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्यमा दुरुपयोग गरेको भन्दै यो सरासर कालोबजारी भएको सुनाए । अध्यक्ष सिंहले आगामी माघ २ गते फेरि पत्रकार सम्मेलन गर्नुपरेको जानकारी दिए । पत्रकार सम्मेलनमा आगामी कार्यक्रमको सबै मोडालिटी बनिसकेको र त्यो सबै पत्रकार सम्मेनमार्फत सार्वजनिक गरिने बताए । उनले राजनीतिक नेतृत्व तथा कर्मचारीतन्त्रको मनोमानीका कारण निर्माण उद्योगहरू हाल मारमा परेको दाबी गरे । यता सिमेन्ट उद्योगीहरूले पनि उद्योगमन्त्रीले बैठक बोलाएको तर कहिले बस्ने टुङ्गो नभएको समेन्ट उत्पादक संघका अध्यक्ष रघु मारुले बताए । उनले भने, ‘मन्त्रीको रोहोबरमा बस्ने कुरा छ । छिट्टै बस्छौं भन्नुभएको छ । अब कहिले बस्छ ठ्याक्के भन्न सकिन्नँ । बैठकमा आफ्ना सम्स्याहरू राख्दै वर्तमान सिमेन्टको मूल्यबारे छलफल हुनेछ ।’
बेजोस, ब्लू ओरिजिन र ट्रम्प-मस्क सम्बन्ध
काठमाडौं । अमेजनका फाउन्डर तथा अर्बपति जेफ बेजोसले स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निकट सम्बन्धले आफ्नो अन्तरिक्ष कम्पनी ‘ब्लू ओरिजिन’लाई कमजोर नबनाउने उल्लेख गरेका छन् । आइतबार समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उनले नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे आफू ‘धेरै आशावादी’ रहेको पनि बताए । बेजोसले भने, ‘एलनले यो काम सार्वजनिक हितका लागि गरिरहेको र व्यक्तिगत फाइदाका लागि होइन भन्ने स्पष्ट पारेका छन् । म उनलाई यसै रूपमा लिन्छु ।’ ब्लू ओरिजिनका संस्थापक बेजोसको कम्पनी अन्तरिक्ष उद्योगमा स्पेसएक्ससँग प्रतिस्पर्धा गर्छ । फ्लोरिडाको केप क्यानाभेरलमा ब्लू ओरिजिनको ३० तले रकेटको पहिलो प्रक्षेपणको तयारी भइरहेको छ । यो रकेटले स्पेसएक्सको बजार प्रभुत्वलाई चुनौती दिने र ब्लू ओरिजिनको उपग्रह प्रक्षेपण व्यवसायमा लामो समयदेखि प्रतीक्षित प्रवेशलाई सुरु गर्ने अपेक्षा गरिएको छ । मस्कले ट्रम्पलाई जिताउन चुनावको बेला २५ करोड डलरभन्दा बढी खर्च गरेका छन् र अन्तरिक्षसम्बन्धी मामिलामा निर्वाचित राष्ट्रपतिको ध्यान आकर्षित गरेका छन् । गत महिना उनले चन्द्रमामा जानेभन्दा सिधै मंगल ग्रहमा मिसन पठाउनुपर्ने बताएका थिए, जसले नासाको अन्तरिक्ष अन्वेषण कार्यक्रममा ठूलो परिवर्तनको चिन्ता बढाएको छ । बेजोस चन्द्रमा र मंगल ग्रह दुबैमा जानुपर्ने विचार राख्छन् । उनले भने, ‘मेरो आफ्नै विचारमा हामीले दुवै गर्नुपर्छ- हामी चन्द्रमामा जानुपर्छ र मंगल ग्रहमा पनि जानुपर्छ ।’ नासाको मुन प्रोग्रामको परिवर्तनको सम्भावनाबारे सोध्दा बेजोसले भने, ‘हामीले सुरु गरिसकेपछि रोक्ने काम गर्नु हुँदैन । हामीले मुन प्रोग्रामलाई जारी नै राख्नुपर्छ ।’ ट्रम्पको दोस्रो कार्यकालमा नासाको मुन प्रोग्राममा व्यापक परिवर्तन गर्ने र मंगल ग्रहमा मिसन पठाउनमा बढी ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ । बेजोसको ब्लू ओरिजिनले नासासँग चन्द्रमामा अवतरण गर्ने ठूला सम्झौताहरू पाएको छ, जसले स्पेसएक्ससँगको प्रतिस्पर्धामा थप बलियो बनाउँछ । यसैबीच, अमेजनले ट्रम्पको उद्घाटन समारोहलाई आर्थिक सहयोग गरेको छ र प्राइम भिडियोमा यसको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको छ । अन्तरिक्ष उद्योगमा बेजोस र मस्कबीचको प्रतिस्पर्धा बढ्दै गएको छ, जसले नयाँ प्रविधि र अन्वेषणका लागि मार्ग प्रशस्त गरिरहेको छ। बेजोस मस्क-ट्रम्प सम्बन्धलाई आफ्नो कम्पनीका लागि खतरा देख्दैनन् र नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे आशावादी छन् । यो प्रतिस्पर्धाले अन्तरिक्ष अन्वेषणमा नयाँ युगको सुरुवात गरेको छ, जहाँ निजी कम्पनीहरूको भूमिका बढ्दै गएको छ । यसले भविष्यमा अन्तरिक्षमा नयाँ उपलब्धिहरूको सम्भावनालाई उजागर गर्नसक्छ । सान्दर्भिक सामग्री स्पेसएक्सको वृद्धि अधिक विस्फोटक, टेस्लालाई पछि पार्ने स्टारलिंकलाई चुनौती दिँदै चिनियाँ स्याटेलाइट प्रोजेक्ट, अरू पनि प्रतिस्पर्धामा
माघे संक्रान्तिमा शितलनिवासमा नेताहरूको जमघट (तस्बिरहरू)
काठमाडौं । माघे संक्रान्तिको अवसरमा नेताहरू शितल निवासमा भेला भएका छन् । सो अवसरमा मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभाकामना व्यक्त गरे । शितल निवासमा आज माघे संक्रान्तीको अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ । माघी पर्वको अवसरमा आज शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
गाउँले परिकारको सहरमा तहल्का, तारे होटलमा प्रिमियम शुल्क
काठमाडौं । कुनै समय गरिबको खानाको रूपमा चिनिने कोदोको ढिँडो अहिले सहर बजारका ठूला तारे होटल तथा रेष्टुरेन्टमा आकर्षक खानाको परिकारको रूपमा चिनिन थालेको छ । होटलहरूमा यसको बढ्दो मागसँगै नेपालको रैथाने बाली कोदोको परिचय नै बदलिएको छ । पहिले चामलको भात खाने हैसियत भएको परिवारलाई धनी वर्गको रूपमा गनिन्थ्यो । आज ठीक विपरीत त्यहीं धनी भन्ने वर्गले नै खोजीखोजी कोदो, मकैलगायतको रैथाने परिकार खान थालेका छन् । पछिल्लो समय नेपाली रैथाने खानाको महत्त्व बढ्दै गएको छ । होटल व्यवसायीहरूका अनुसार अहिले कोदोको ढिँडो होटलहरूमा ‘लक्जरियस फुड’को रूपमा गणना भइसकेको अवस्था छ । यसको अर्थ महँगो शुल्क तिरेरै भएपनि ढिँडो खाने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोदोको ढिँडो एक उदाहरणमात्रै हो । पछिल्लो समय स्थानीय खानाको माग साना होटल तथा रेष्टुरेन्टदेखि ठूला तारे होटलहरूमा बढिरहेको र सोही मागअनुसार होटलमा स्थानीय खानाकाे परिकारलाई प्राथमिकतामा राखिएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य बताउँछन् । उनका अनुसार चारतारे र पाँचतारे होटलहरूले अनिवार्य रूपमै मेनुमा नेपाली खानालाई समावेश गर्नैपर्छ । त्यसबाहेक अन्य होटलहरूले पनि आवश्यकता र मागअनुसार मिलाएर स्थानीय परिकारलाई प्राथामिकतामा राख्ने गरेका छन् । नेपाली खाना भन्नेबित्तिकै दाल,भात, तरकारी, गुन्द्रुक भन्ने धेरैको मानसिकता हुन्छ । तर, नेपाली परिकार त्यतिमा मात्रै सीमित छैन । नेपालमा विभिन्न जातजातिका विभिन्न परिकार उपलब्ध छन् । ती स्थानीय परिकारलाई होटलहरूले अहिले प्राथामिकतामा राखेर पस्किन थालेको महासचिव शाक्यले बताए । उनका अनुसार नेवारी फुडहरू जस्तै- बारा, चटामरी, योमरीजस्ता खानालाई समावेश गर्न थालिएको छ । शाक्य विदेशका होटहलरूमा पनि नेपाली खानाको फेस्टिबल गर्नुपर्यो भनेर माग आइरहेको बताउँछन् । उनले विदेशमा पनि नेपाली खानालाई प्रवर्द्धन गर्ने भनेर लागिरहेका बताए । हान आफैले समयसमयमा नेपाली खानाको प्रवर्द्धनकाे लागि लागिपरेको महासचिव साजन शाक्यले बताए । ‘हामीले भृकुटीमण्डमा रैथाने खानालाई प्रदर्शनमा राख्यौं । यसबाहेक आफ्नै कार्यक्रम हुँदा स्थानीय खानालाई प्रवर्द्धन गरिरहेका हुन्छौें ।’ होटल संघल नेपालले नेपाली खानालाई प्रवर्द्धन गर्नका लागि गत वर्षदेखि अभियान नै थालेको छ । यस वर्षको माघ २ गते सत्कार दिवसको अवसरमा सातै प्रदेशको खानालाई स्टलमा राखिँदै छ । बर्गर, पिजा, स्याण्डविच लगायत सहरिया परिकारलाई अहिले गाउँले ढिडो, कोदो, फापर लगायत परिकारले विस्थापित गर्न थालेका छन् । महँगा रेष्टुरेण्टमा अहिले गाउँले परिकारको शुल्क नै महँगो पर्छ । ग्राहकको माग नै गाउँले परिकार हुने गरेको होटल व्यवसायी बताउँछन् । उच्च प्राथमिकतामा मौलिक खाना होटल हिमालयका फुड एण्ड वेबरेजका म्यानेजर राजेश यादव होटलले कन्टिनेन्टल, ओरिएन्ट, मेरियन्टका खानाका साथै स्थानीय खानालाई मेनुमा उच्च प्राथमिकताका साथ राखेको बताउँछन् । नेपाली खानाको उच्च माग भएसँगै होटलले पनि त्यसलाई प्राथमिकतामा राखेर सेवा प्रवाह हुने गरेको उनले बताए । उनका अनुसार हिमालय होटलकै लगानीमा सञ्चालित पाटन म्युजियम क्याफेमा ९५ प्रतिशत मौलिक नेवारी खानाहरू पस्किने गरिएको छ । यसबाट पनि मौलिक स्थानीय खानाको माग उच्च रहेको उनले बताए । पछिल्लो समय नेपाली खाना र संस्कृतिको झुकाब बढेर गएको यादवको भनाइ छ । उनले भने, ‘आजभन्दा २० वर्षअघि हेला गरिएको कोदो र फापरलाई सुपर फुडको रूपमा गणना गर्न थालिसकेको छ । उदाहरणको लागि लिम्बुले खाने खाना ‘किनेमा’ जुन सोयाबिनबाट बनेको हुन्छ, आज त्यसलाई ‘न्याटो’ भनिने सुपुर फुडको रूपमा राखिएको छ । यादव पछिल्लो समय नेपाली खानाको उच्च माग भएसँगै नेपाली नामबाटै होटलहरू खुल्न थालेको बताउँछन् । साथै पहिले बिदा मनाउन जाँदा पर्यटकको रोजाइमा पिजा, बर्गरजस्ता खाना रोजाइमा हुन्थ्यो भने आज नेपाली खाना हुने गरेको छ । विदेशी पर्यटकमात्रै नभएर आन्तारिक पर्यटकले नेपाली खानालाई महत्त्व दिन थालेको यादवले सुनाए । प्रचारप्रसारले लोकप्रियता बढ्यो आजभन्दा १० वर्षअघि आजजस्तो डिजिटल मिडियाको प्रभावकारिता थिएन । नेपाली खानाप्रति प्रचारप्रसार कम थियो । साथै नेपाली खानासम्बन्धी अनुसन्धान भएपनि बाहिर आउन सकेको थिएन । जसले गर्दा मान्छेहरूमा विशेषगरी विदेशी पर्यटहरूलाई यसले ‘साइड इफेक्ट’ गर्छ कि भन्ने डर थियो । विस्तारै प्रविधिको विकास र नेपाली खानाको प्रचारप्रसार बढ्न थाल्यो । अध्ययन अनुसन्धानबाट पनि यसको महत्त्व जनमानसमा पुग्यो । जसले गर्दा आज नेपाली खानाको माग बढेर गएको हो । नेपाली खानाप्रति आकर्षण आज आएर ह्वात्तै बढेको होइन । पहिले पनि नेपाली खानाप्रति मान्छेहरूको रुचि थियो नै । तर प्रचारप्रसारको कमीको कारण ती कुरा बाहिर नआएको चिफ एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष श्याम लामा बताउँछन्। पछिल्लो समय प्रविधिको विकासले नेपाली खाना र महत्त्वका बारेमा सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन थालेको छ । यसले गर्दा हरेक मान्छेमा स्थानीय खानाबारे जनचेतना बढ्दै गएको छ । जसले नेपाली खानाप्रतिको रुचि बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको लामाले बताए । उनले भने, ‘रैथाने परिकारको लोकप्रियता अहिले मात्रै नभएर विगतमा पनि थियो । मझौला होटल रेष्टुरेन्टले पहिलेदेखि खुवाउने भनेको नेपाली खाना नै हो । तर प्रचार हुन सकेको थिएन । सम्बन्धित सरोकारवाला, सामाजिक सञ्जाल, सञ्चार माध्यमलगायतका क्षेत्रबाट यसको प्रवर्द्धन हुन थालेसँगै अहिले नेपाली खानलाई धेरैले बढावा दिन थालेका हुन् ।’ विगतमा होटल तथा रेष्टुरेन्टले नेपाली खानालाई भन्दा कन्टिनेन्टल, चाइनिज, इन्डियनलगायतलाई मात्रै जोड दिन्थे । तर पछिल्लो समय नेपाली खानालाई मेनुमै समावेश गरेर पस्किन थालेको छ । होटल सोल्टीदेखि विभिन्न तारे होटलमा सेफको रूपमा काम गरिसकेका लामाले आफ्नो अनुभव साझा गर्दै भने, ‘मैले कन्टिनेन्टल खानाबाटै जागिर सुरु गरेको हो । नेपाली खाना त घरमै पाकिहाल्छ नि भन्ने मानसिकताले विदेशी खाना नै प्राथामिकतामा हुन्थ्यो । अहिले तारे होटलहरूले नेपाली खानालाई नै फलो गर्न थालेका छन् । यो पनि नेपाली खानाप्रतिको प्रवर्द्धन हो ।’ यसबाहेक विभिन्न संघसंस्थाले पनि स्थानीय खाना र संस्कृतिलाई प्रचारप्रसार गर्न थालेका छन् । होटल तथा रेष्टुरेन्टहरूले मात्रै नभएर होमस्टेहरूले पनि रैथाने खानालाई प्राथामिकता दिँदै नेपाली खाना पस्किनुपर्छ भनेर अभियान नै सञ्चालन गर्दै आइरहेका छन् । यसले स्थानीय खानाको लोकप्रियता बढ्दै गएको लामाले बताए । पर्यटकहरू जहाँ जान्छन्, त्यहींको संस्कृति र खानालाई फलो गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा अहिले नेपाली खानाभन्दा पनि संस्कृति र ठाउँअनुसारको खानाको माग झन् बढेर गएको उनको तर्क छ । पछिल्लो समय ग्यास्ट्रोनोमी टुरिजमको अवधारणा बढ्दै गएकाले त्यसअनुसार सेफहरूले पनि खानालाई पस्किने गरेको लामाको भनाइ छ । उनका अनुसार सबै विदेशी पर्यटकले नेपाली खानालाई पचाउन नसक्ने हुँदा त्यही नेपाली खानालाई पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर पस्किने गरेको छ । नेपाली खानाको महत्त्व नेपाली खाना स्वादको लागि नभएर स्वास्थ्यकै दृष्टिकोणले फाइदाजनक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । ‘नेपाली खाना पश्चिमेली खानाको तुलनामा बढी पोषक हुन्छ,’ हिमालय होटलका फुड एण्ड बेबरेज म्यानेजर यादवले भने, ‘दाल,भात र तरकारीमा हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, म्याग्नेसियमजस्ता तत्त्व पाइन्छ । स्वादिष्ट मात्रै नभएर पोषक तत्त्वले भरिपूर्ण भएकाले पश्चिममा पनि पूर्वेली खानप्रति आकर्षण बढेर गएको छ ।’ नेपाली खानामा प्रयोग गरिने बेसार, धनियाँ मेथी, जिम्बुलगायत मसाला स्वास्थ्यका लागि सकारात्मक परिणाम दिने भएकाले यसको महत्त्व बढी रहेको यादव बताउँछन्। नेपालमा मात्रै नभएर विदेशमा समेत नेपाली खानाको माग उच्च रहेको छ । होटल हिमालयका फुड एण्ड बेभरेज म्यानेजर यादवका अनुसार विदेशमा नेपाली खानलाई भगवानलाई पुजेसरह मान्यता दिन्छन् । खाडी तथा युरोपियन देशमा छरिएर रहेका नेपालीहरू नेपाली रेष्टुरेन्टमा जान्छन्, यसले नेपाली खाना मात्रै नभएर देशप्रतिको माया पनि विदेशमा उच्च रहेको यादवले बताए । थप प्रवर्द्धनको आवश्यकता विगतको तुलनामा नेपालमा नेपाली खानाको बारेमा प्रचारप्रसार र प्रवर्द्धन बढ्दै गएको छ । तर यो पर्याप्त भने होइन । नेपाली खानालाई नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सबै क्षेत्रबाट उत्तिकै सहयोगको आवश्यकता जरुरी रहेको औल्याउँछन् लामो समय सेफको रूपमा देश तथा विदेशका विभिन्न होटलहरूमा काम गरिसकेका भान्से लक्ष्मण । उनी पछिल्लो समय नेपाली खाना प्रवर्द्धनमा जुटेका छन् । सन् २०१८ मा ग्लोबल नेपाली सेफ संस्था स्थापना गर्नेदखि विभिन्न देशमा च्याप्टरको शुभारम्भ गर्दै उनी अहिले रैथाने नेपाली खानाको खोज, विकास र प्रवर्द्धनमा सक्रिय छन् । भान्से लक्ष्मण नेपालका कैयौं खानाका परिकारहरू प्रवर्द्धनकाे पर्खाइमा रहेको बताउँछन् । उनका अनुसार हाल थकाली खानामात्रै विश्वस्तरमा पुग्न सकेको छ । त्यसबाहेकका कैयौं रैथाने खानालाई हामीले चिन्न र प्रचारप्रसार गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘नेवार, थारु, नेवारी, तामाङ, राईलगायतका जातजाति रैथाने खाना निकै राम्रा छन्, त्यसलाई थप विकास गरी हामीले विश्वस्तरमा यसको प्रवर्द्धन गर्न सक्छौं, फूड टुरिजममार्फत पर्यटकीय गतिविधि पनि बढाउन सक्छौं ।’ नेपाली खानाको विकास र प्रवर्द्धन जति हुनुपर्ने हो, त्यसमा ध्यान दिन नसकेको उनको तर्क छ । उनका अनुसार मिथिला थालीलाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि गर्ने योजना बनाइएको छ । जसका लागि मिथिला थालीको ‘न्युट्रिसन भ्यालु’ समेत निकालेर प्रचारप्रचार गर्ने सोच रहेको उनले बताए । ‘मिथिला थालीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि यसमा कति पौष्टिक तत्त्व छ भन्ने पनि ग्राहकले थाहा पाउनुपर्छ, यो अभ्यास पनि हो । त्यसैले आगामी दिनमा यसको इतिहास, महत्त्व र आवश्यकता बुझाउने गरी प्रचारप्रसारको योजना बनाएका छौं,’ उनले भने ।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा यी दुई जिल्लामा पछिल्लो वर्ष विषादीको खपत तथा प्रयोगमा कमी आएको उल्लेख गरिएको छ । कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको छ । दवाडीद्वारा प्रस्तुत प्रतिवेदनमा आव २०८०/८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलो/दानादार विषादी १० हजार पाँच सय किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो–दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी १० हजार ३० लिटर, झारनाशक धुलो–दानादार तीन हजार पाँच सय किलोग्राम, तरल विषादी चार हजार तीन सय लिटर खपत भएको उल्लेख गरिएको छ । यस्तै जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी दुई सय ५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा भने काभ्रेपलाञ्चोकमा धुलो/दानादार विषादी ५६ हजार एक सय ६० किलोग्राम र तरल विषादी २८ हजार नौ सय ६४ लिटर प्रयोग गरिएको थियो । यसैगरी सिन्धुपाल्चोकमा आव २०८०/८१ मा किटनाशक धुलो/दानादार विषादी चार हजार चार सय पाँच किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो/दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार तीन सय २५ लिटर, झारनाशक धुलो/दानादार आठ सय किलोग्राम, तरल विषादी एक हजार नौ सय २० लिटर विषादी खपत भएको जनाइएको छ । यस्तै जैविक विषादी धुलो/दानादारतर्फ चार सय किलोग्राम, तरल विषादी नौ सय १५ लिटर र अन्य धुलो/दानादार विषादी दुई सय ५० किलोग्राम र तीन सय १२ लिटर तरल विषादी खपत भएको थियो । अघिल्लो आव २०७९/८० मा भने सिन्धुपाल्चोकमा धुलो/दानादार विषादी २३ हजार एक सय ७५ किलोग्राम र तरल विषादी १५ हजार सात सय ७० लिटर खपत भएको थियो । प्रतिवेदनमा अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दुवै जिल्लामा केही मात्रामा झारनाशक धुलो/दानादार विषादी प्रयोग बढेको जनाइएको छ । कार्यालय प्रमुख दवाडीले पछिल्ला केही महिनादेखि तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी दुवै जिल्लाका सरोकारवालासँग संयुक्त छलफल गरेका कारण पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको दाबी गरे । ‘यस्ता छलफललाई निरन्तरता दिँदै गइनेछ, चालु आवमा पनि बितेको आवझै विषादी प्रयोगमा कमी भएको तथ्याङ्क प्रस्तुत गर्न सकियोस् भन्ने अपेक्षा गर्दैछौँ’, उनले भने । रासस