देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
तनहुँ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ । ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिए । ‘त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । वैकल्पिक मार्गका रूपमा बेणीमा प्रशस्तमात्रामा डुङ्गाहरूको व्यवस्था गरिएको छ’, उनले भने । डुङ्गा, र्याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताए । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ । पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ । तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्याइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए । ‘बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ’, निर्देशक बरालले भने, ‘सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट दुई/दुई वटा उद्धार र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।’ सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई १०, मोटरसाइकल रु २०, कार/जिप, भ्यान तथा हल्का सवारीलाई ५० तथा बस ट्रकसहित भारी सवारीसाधनर्ला एक सय निर्धारण गरिएको समितिले जनाएको छ । देवघाट गाउँपालिका-५ का अध्यक्ष पूर्णबहादुर कुँवरले विगतका कमीकमजोरी सच्याउँदै यसपटक मेलालाई व्यवस्थित बनाइएको बताए । रासस
नेपाल लाइफको वार्षिक साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले माघ २८ गतेका लागि पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद (कर समेत) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ एजेण्डा रहेको छ । यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ। त्यसैगरी सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
प्रभु बैंकमा ६ जना सञ्चालक निर्वाचित, नयाँ लगानीकर्ताले नयाँ सञ्चालक चुने
काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृषबहादुर बस्नेत निर्वाचित भएका छन् । सर्वसाधारण समूहतर्फ सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की निर्वाचित भएको बैंकले जनाएको छ । विगतमा यस बैंकको प्रमोटर सेयर कारोबार उच्च देखिएको थियो । त्यसको असर निर्वाचन परिणाममा पनि आएको छ । अंगिरमान सिंह, किशोरजङ्ग कार्की र बृषबहादुर बस्नेत यसअघि पनि सञ्चालक समितिमा थिए भने अरु तीन जना नयाँ सञ्चालक हुन् । निर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी चार वर्षको हुनेछ । सञ्चालक समितिबाट अध्यक्षको चयन र स्वतन्त्र सञ्चालक नियुक्ती हुन बाँकी रहेको छ । बैंकको २३ औं वार्षिक साधारणसभा पुस २९ गते बैंककै केन्द्रीय कार्यालयको सभाहलमा भएको थियो । साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्ताव पारित भएको बैंकले जनाएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौला पेस गरेका सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु सभासतबाट पारित भएको छ । यस वर्ष बैंकले सेयरधनीलाई लाभांश प्रस्ताव नगरेको बैंकले जनाएको छ । प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ७९ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २८६ वटा एटिएम तथा ३११ वटा शाखा कार्यालयहरुसहित देशभर फैलिएको आप्mनो बैंकिङ्ग सञ्जालको माध्यमबाट ३५ लाख भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फका २५ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको समितिले जनाएको छ ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि हुने
काठमाडौं । यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत ७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा चैत ७ गतबाट हुने जनाएको हो । परीक्षाको २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यलयले जनाएको छ ।
राजस्व संकलन १३ प्रतिशतले वृद्धि, ६ महिनामा ५ खर्ब ५९ अर्ब उठ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो । चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताए । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारेपनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको बताए ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । आज अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो हालसम्मकै उच्च दर हो । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ आठ पैसा कायम भएको छ। केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ५२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा तय भएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।
सार्वजनिक निष्काशनलाई परिमार्जन गर्न समिति गठन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनलाई थप समयानुकुल परिमार्जन गर्नु पर्ने भन्दै अध्ययन समिति गठन गरेको छ। बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको बोर्डले जनाएको छ। धितोपत्र निष्कासन सहजीकरणको लागि अहिले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले काम गर्दै आइरहेको छ। सोही नियमावलीमा टेकेर प्राथमिक निष्कासन,ऋणपत्र तथा डिबेञ्चर, हकप्रद,प्रिमियममा धितोपत्र निष्काशन,बुक बिल्डिङ्ग लगायत विधिबाट सार्वजनिक निष्कासन अनुमति दिने गरिएको छ। तर पछिल्लो समय भने उक्त नियममा टेकेर निष्कासन अनुमति दिइँदै आएको भएपनि प्रमियममा शेयर निष्कासन अनुमति र बुक बिल्डिङ बिधिमा प्रश्न उठ्न थालेको छ। सोही अवस्थामा के कसरी अघि बढ्न सकिन्छ भनेर अध्ययन समितिले प्रतिवेदन लेख्नु पर्ने छ। सोही प्रतिवेदनको आधारमा बोर्डले आउने दिनमा निर्णय गर्ने व्यवस्था मिलाउने बताइएको छ।