विकासन्युज

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्न नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्‌ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मसिर २८ गते बैठकवाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागत योग्य रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका थिए । सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका- २०८१ जारी गरेको हो । सरकारको यो निर्णयवाट स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आफ्‌ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको छ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने महासंघको विश्वास रहेको समेत अध्यक्ष ढकालले बताए ।

होटल बराही काठमाडौंलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र

काठमाडौं । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले होटल बाराही काठमाडौंलाई ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र प्रदान गरेको छ । पर्यावरणीय सन्तुलन कायम गर्दै दिगो विकासमा असल अभ्यास तथा सामाजिक पक्षलाई प्रभावकारी रुपमा समावेश गरेको उल्लेख गर्दै बाराही काठमाडौंलाई उक्त प्रमाणपत्र उपलब्ध गराइएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । विभिन्न मापदण्डमा आधारित भई गरिएको मूल्याङ्कपछि होटलले उक्त प्रमाणपत्र प्राप्त गरेको बाराही होटलका महाप्रबन्धक रोशन सापकोटाले बताए । उनका अनुसार टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको हो । टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चार वटा मापदण्ड समावेश गरेको थियो । रेटिङमा होटलको वातावरणीय प्रभावलाई माध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरुप नै भएको उल्लेख गरेको छ । होटलका कर्पोरेट निर्देशक योगेन्द्र विक्रम थापाले बाराही होटल दिगो विकासमा सधैँ चिन्तित रहेको र संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मेहनत र साथले यो उपलब्धि हासिल भएको बताए । कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले बाराही होटलको उदाहरणीय अभ्यासलाई सिङ्गो होटल तथा रेष्टुरेन्ट व्यवसाय र समग्र पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष सागर पाण्डेले होटलहरुले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल ट्राभल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गर्दै यसप्रकारको अभ्यास सामान्य जीवनयापनमा लागू गर्न सबै जना सचेत हुनुपर्नेमा जोड दिइन् । होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाडौंले दिगो विकासमा दिएको योगदानमा खुसी व्यक्त गर्दै सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन विभागमा पहल गर्ने बताए । स्कल नेपालका अध्यक्ष महेन्द्र पौडेलले बाराही होटलको यो प्रयासलाई पर्यटकले लामो समयसम्म सम्झिरहने विश्वास व्यक्त गरे । टफ्ट टाइगरको चार मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत वातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतमा होटलले गरेको गतिविधिलाई आधार मानेको थियो । पानीको संरक्षण, सदुपयोग, फोहर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षा मापदण्डका साथै आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, स्थानीय सीप र खानाको प्रवद्र्धन रहेको छ । साथै सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रवद्र्धन गरेको सहयोगलाई आधार बनाइएको थियो । मूल्याङ्कनका क्रममा फोहर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानुनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रवद्र्धन, अपाङ्गता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, मन्दिरसरसफाइ शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्याङ्कनमा समावेश गरिएको संस्थाले विप्तिमार्फत जनाएको छ । बाराही हस्पिटालिटीअन्तर्गत रहेको होटल बाराही काठमाडौं सन् २०२३ जुलाइदेखि सञ्चालनमा आएको हो । बाराही काठमाडौं होटलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्वोत्कृष्ट प्राप्त गरेको छ । साथै नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्डअनुसार ‘ए’ श्रेणी प्राप्त गरेको छ ।

ट्रम्पको क्रिप्टो टोकनले मच्चायो हलचल, सार्वजनिक भएको २४ घण्टा नपुग्दै मार्केट क्याप १३ अर्ब बढी

  काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार नयाँ क्रिप्टो टोकन $TRUMP लन्च गरेका छन्, जसले क्रिप्टो बजारमा तहल्का मच्चाएको छ । लन्च भएको केही घण्टामै यसको मूल्यमा करिब ८ हजार प्रतिशतले वृद्धि भएको छ र यसको बजार पूँजीकरण १३ अर्ब डलर नाघेको छ । यस क्रिप्टो टोकनको पुँजीकरण आक्रामक हिसाबले बढ्ने विश्लेषण गरिएको छ । यसैबीच, सोलाना क्रिप्टोकरन्सीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । शनिबार यसको मूल्यमा २० प्रतिशतभन्दा बढीको वृद्धि भएको हो । हाल सोलानाको मूल्य २७९.१८ डलर प्रति टोकन पुगेको छ, जुन यसको नयाँ सर्वाधिक उच्च मूल्य हो । एक वर्षमा दोब्बरभन्दा बढी प्रतिफल यो क्रिप्टोकरेन्सीले एक वर्षमा लगानीकर्ताहरूलाई १५० प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ । यदि तपाईंले एक वर्ष पहिले यसमा १ लाख रुपैयाँ लगानी गर्नुभएको भए आज यो रकम बढेर २.५० लाख रुपैयाँभन्दा बढी हुने थियो । यसको अर्थ तपाईंले एक वर्षमा १ लाख रुपैयाँको लगानीमा १.५० लाख रुपैयाँ नाफा कमाउनुहुन्थ्यो । एक लाखबाट ३ करोड रुपैयाँ यो क्रिप्टोकरेन्सीले दीर्घकालीन रूपमा लगानीकर्ताहरूलाई ठूलो फाइदा दिएको छ । यसले लगभग ५ वर्षमा ३० हजार प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ । यदि तपाईंले ५ वर्ष अगाडि यसमा १ लाख रुपैयाँ लगानी गर्नुभएको भए आज तपाईंसँग ३ करोड रुपैयाँ हुन्थ्यो । अर्थात् यसले ५ वर्षमा १ लाख रुपैयाँलाई लगभग ३ करोड रुपैयाँमा परिणत गर्‍यो । के हो ट्रम्प कोइन ? डोनाल्ड ट्रम्पले आफ्नै $TRUMP मीम सिक्का लन्च गरेका छन् । यो सोलानामा आधारित मीम सिक्का ट्रम्पको सामाजिक सञ्जाल खाता ट्रुथ सोसल र एक्समा पोस्टहरूबाट सुरु भएको थियो । $TRUMP को बजार पूँजीकरण तीन घण्टाभन्दा कम समयमा ८ अर्ब डलर पुगेको थियो । एक व्यापारीले एक घण्टाभन्दा कम समयमा २० लाख डलर नाफा कमाए । सुरुवातमा यसको मूल्य ०.१८ थियो, जुन केही घण्टामै ७ हजार ७९० प्रतिशतले बढेर १५.१३ डलर पुग्यो । यो सिक्का ट्रम्पको विषयवस्तु ‘फाइट, फाइट, फाइट’ बाट प्रेरित छ । यो मीम सिक्का २० करोड सिक्काको साथ लन्च गरिएको थियो ।

नेपाल एसबिआई बैंकले पुस्तकालयलाई दियो ३ लाख रुपैयाँ

काठमाडौं । नेपाल एसबिआई बैंकले नेपाल भारत मैत्री पुस्तकालयलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाको कास्कीमा रहेको नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन बहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

अर्थतन्त्र लयमा फर्किएको अर्थमन्त्रालयको दाबी, अर्थमन्त्री भन्छन् : बिग्रिसकेको अर्थतन्त्र सुधारेँ

काठमाडौं । अर्थमन्त्रालयले अर्थतन्त्र सुधारको दिशामा रहेको बताएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले अर्थतन्त्र गत आर्थिक वर्षको तुलनामा सुधार भएको बताएको हो । अर्थतन्त्रको सूचकहरु पनि सुधार हुँदै गएको मन्त्रालयको दाबी छ । मन्त्रालयले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको र आयात यो ७.१ प्रतिशतले बढेको बताएको हो । यो अवधिमा कुल निर्यात ९८ अर्ब ७९ करोडको निर्यात र ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको जानकारी दिएको छ । चालु आव पहिलो ६ महिनामा आयात-निर्यात अनुपात ८.३ः१ रहेको र कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड अमेरिकी डलर रहेको बताएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ भने भने खर्च १७.८ प्रतिशतको वृद्धि भएको छ । यो अवधिमा निक्षेप संकलन ३.३ प्रतिशतले बढेको बताएको छ । यो अवधिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा २ खर्ब २८ अर्ब रुपैयाँ रहेको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा कुल कर्जा वृद्धि भने ४.४१ प्रतिशत रहेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको बताएको छ । जुन वार्षिक लक्ष्यको ४० प्रतिशत हो । सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ कुल राजस्व असुल गर्ने लक्ष्य लिएको छ । कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेटको हालसम्म ६ खर्ब ६७ अर्ब ६० करोड खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । जुन कुल बजेटको ३५.९ प्रतिशत मात्र हो । पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको बताए । उनले अर्थमन्त्रालयले तथ्यांक तोडमोड गर्नेभन्दा पनि यथार्थ तथ्यांक सार्वजनिक गर्ने गरेको बताए । ‘अर्थमन्त्रालयले तथ्यांकमा खेल्दैन, चिटिङ गर्दैन । तथ्य जे हो त्यही सार्वजनिक गर्छौं, वर्तमान सरकार आएपछि अर्थतन्त्र सुधार भएको छ, अर्थतन्त्रका परिसूचकहरुलाई सकारात्मक बनाउने प्रयास गरेका छौं, प्रतिकुल अवस्थाबाट हामी अहिले यहाँसम्म आइपुगेका छौं । अर्थतन्त्रलाई नकारात्मक हुनबाट जोगाएर सकारात्मक बाटोमा लैजाने प्रयास गरेका छौं,’ उनले भने ।

एक घण्टामै न्युयोर्कदेखि लन्डन पुग्न सकिने सुरुङ बनाउन तम्सिए मस्क, खर्च मात्र २० अर्ब डलर

काठमाडौं । जुन काम असम्भव हुन्छ, त्यसलाई पूरा गर्न तम्सिन्छन् टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क । चाहे ड्राइभरविहीन कारको कुरा होस् वा लन्च गरेपछि रकेटलाई फिर्ता लन्च प्याडमा ल्याउने काम । उनी सफल पनि भएका छन् । मस्कले त्यस्तै एउटा लगभग असम्भवजस्तो लाग्ने कामलाई पूरा गर्ने प्रस्ताव दिएका छन् । यो प्रस्ताव हो- ट्रान्स अटलान्टिक सुरुङ । करिब ५ हजार किलोमिटर लामो यो सुरुङ न्युयोर्कदेखि लन्डनको बीचमा समुद्रमुनि बनाउने प्रस्ताव छ । विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले आफ्नो बोरिङ कम्पनीले यो सुरुङ बनाउने काम पूरा गर्न सक्ने दावी गरेका हुन् । बेन्जिङगाको एक रिपोर्टअनुसार मस्कले भनेका छन् कि उनले यो काम अनुमानित खर्च (२० लाख करोड डलर) को तुलनामा १ हजार गुणा कम मूल्यमा गर्न सक्छन् । यस हिसाबले मस्कले यो सुरुङको निर्माण मात्र २० अर्ब डलरमा गर्न सक्छन् । के हो ट्रान्स अटलान्टिक सुरुङ ? यो सुरुङ अटलान्टिक महासागरमुनि बनाउने चर्चा पछिल्ला धेरै वर्षदेखि चल्दै आएको छ । यो सुरुङ बनाउनुको उद्देश्य दुई देशबीचको आवातजावत छिटो गराउनु हाे । खासमा यो सुरुङको निर्माण हाइपरलूप रेल सुरु गर्नका लागि गर्ने कुरा चलिरहेको छ । हाइपरलूप एक उच्चगतिको रेल हो, जुन ट्युबभित्र भ्याकुममा चल्छ । यसको प्रस्ताव पनि मस्कले नै ल्याएका थिए । हाइपरलूप रेलका धेरै मोडेलहरू आइसकेका छन्, तर अहिलेसम्म कुनै पनि हाइपरलूप उच्चगतिको रेल सुरु भएको छैन । मानिएको छ कि यो सुरुङ बनेर यहाँ हाइपरलूप रेल सुरु भएपछि न्युयोर्कदेखि लन्डनसम्मको करिब ५ हजार किलोमिटरको दूरी मात्र एक घण्टामै पूरा हुनेछ । धेरै चुनौती ट्रान्स अटलान्टिक सुरुङ बनाउन धेरै चुनौतीहरू देखिएका छन् । पहिले पनि लागत र अन्य कारणले यो सुरुङ बनाउने काम सुरु हुन सकेको छैन । बेन्जिङगाका अनुसार यो सुरुङ बनाउन उच्च प्रविधिको आवश्यकता पर्नेछ । मस्कले सुरुङ बनाउने जिम्मेवारी लिए पनि अहिलेसम्म यो सुरुङका लागि कुनै ठोस योजना, सरकारी स्वीकृति वा रकम छुट्याइएको छैन । के मस्कले बनाउनलान् त सुरुङ ? मस्कले धेरै वर्षअघि हाइपरलूप रेलको अवधारणा प्रस्तुत गरेका थिए । उनले भनेका थिए कि यी रेलहरूमार्फत लामोदेखि लामो दूरी अति कम समयमा पूरा गर्न सकिन्छ । मस्कको हाइपरलूप अवधारणा आएको दश वर्षभन्दा बढी भइसक्यो र कुनै पनि रेल सुरु हुन सकेको छैन । के मस्क यसमा पनि सफल हुन सक्लान् ?

नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । आइतबार कम्पनीको १८ दशलमव ३८११ प्रतिशतका दरले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाबाट भएको उक्त बोनस सेयर सूचिकृत भएको हो ।

सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनमा चल्यो डोजर

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन सुरु गरेको छ । आइतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन सुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ । सो क्रममा स्थानीयहरुले केही बेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । धोविखोला र वागमती नदी किनारमा करिव ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।