काठमाडौं । अर्थमन्त्रालयले अर्थतन्त्र सुधारको दिशामा रहेको बताएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले अर्थतन्त्र गत आर्थिक वर्षको तुलनामा सुधार भएको बताएको हो । अर्थतन्त्रको सूचकहरु पनि सुधार हुँदै गएको मन्त्रालयको दाबी छ ।
मन्त्रालयले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको र आयात यो ७.१ प्रतिशतले बढेको बताएको हो । यो अवधिमा कुल निर्यात ९८ अर्ब ७९ करोडको निर्यात र ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको जानकारी दिएको छ ।
चालु आव पहिलो ६ महिनामा आयात-निर्यात अनुपात ८.३ः१ रहेको र कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड अमेरिकी डलर रहेको बताएको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ भने भने खर्च १७.८ प्रतिशतको वृद्धि भएको छ । यो अवधिमा निक्षेप संकलन ३.३ प्रतिशतले बढेको बताएको छ । यो अवधिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा २ खर्ब २८ अर्ब रुपैयाँ रहेको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा कुल कर्जा वृद्धि भने ४.४१ प्रतिशत रहेको जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको बताएको छ । जुन वार्षिक लक्ष्यको ४० प्रतिशत हो । सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ कुल राजस्व असुल गर्ने लक्ष्य लिएको छ ।
कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेटको हालसम्म ६ खर्ब ६७ अर्ब ६० करोड खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । जुन कुल बजेटको ३५.९ प्रतिशत मात्र हो ।
पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको बताए । उनले अर्थमन्त्रालयले तथ्यांक तोडमोड गर्नेभन्दा पनि यथार्थ तथ्यांक सार्वजनिक गर्ने गरेको बताए ।
‘अर्थमन्त्रालयले तथ्यांकमा खेल्दैन, चिटिङ गर्दैन । तथ्य जे हो त्यही सार्वजनिक गर्छौं, वर्तमान सरकार आएपछि अर्थतन्त्र सुधार भएको छ, अर्थतन्त्रका परिसूचकहरुलाई सकारात्मक बनाउने प्रयास गरेका छौं, प्रतिकुल अवस्थाबाट हामी अहिले यहाँसम्म आइपुगेका छौं । अर्थतन्त्रलाई नकारात्मक हुनबाट जोगाएर सकारात्मक बाटोमा लैजाने प्रयास गरेका छौं,’ उनले भने ।