विकासन्युज

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, ३ सय बढी कम्पनीको १५० बढी स्टल

काठमाडौं । १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गरेका थिए। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा यो प्रदर्शनीको आयोजना गरेका हुन् ।प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी कम्पनीहरूको १५० बढी स्टल राखिएको छ । प्रदर्शनीमा निर्माण व्यवसायसम्बन्धी उत्पादन र नवीनतम प्रविधि राखिएको छ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु गरिएको हो । ‘कन्स्ट्रक्सन मेटेरियल्स’, ‘कन्स्ट्रक्सन मेसिनरी’, ‘प्रिफ्याब स्ट्रक्चर’, ‘युपिभिसी विन्डोज मेसिनरी’, ‘युपिभिसी प्रोफाइल’, ‘डोर्स एन्ड विन्डोज’, ‘आर्किटेक्चर हार्डवेयर’, ‘बाथरुम फिटिङ्स’, ‘पाइप, टायल्स एन्ड स्यानिटरी वायर’, ‘रफिङ’, ‘प्री इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स’, ‘विन्डोज’लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी फागुन ११ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । ४० देखि ४५ हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने विश्वास आयोजकको छ ।

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याकहरु संचालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकहरूलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् । कर सहित रु ९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।  यो अफर विषेशत छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो । ग्राहकहरूले एनसेल एपमार्फत वा १२३४ १४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाधरुपमा इन्टरनेट सेवा प्रदान गर्दछ । यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम कर सहित मात्र रु. ५० मा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ । ग्राहकहरूले एनसेल एपबाट वा १२३४ १४#  डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजालिने लगायतका कार्यका लागि उपयुक्त छ । विषेशगरी छोटो छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकहरुका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकहरुका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।

बाइनान्सविरुद्ध नाइजेरियाले गर्‍यो ८१.५ अर्ब डलरको मुद्दा दायर, अनुमति नलिई कारोबार गरेको आरोप

काठमाडौं । नाइजेरियाले क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइनान्स’विरुद्ध ७९.५ अर्ब डलरको आर्थिक क्षतिपूर्ति र २ अर्ब डलरको कर बक्यौता माग गर्दै मुद्दा दायर गरेको छ । बुधबार सार्वजनिक अदालतका कागजातअनुसार बाइनान्सको गतिविधिले देशको अर्थतन्त्रमा ठूलो असर पुर्‍याएको नाइजेरियाको दाबी छ । बाइनान्समाथि नाइजेरियाको आरोप देशको मुद्रा (नाइरा)को अवमूल्यन गरेको दोष बाइनान्सलाई दिइएको छ । सन् २०२४ मा बाइनान्सका दुई कार्यकारीहरू पक्राउ परेका थिए । क्रिप्टोकरेन्सी वेबसाइटहरूले कारोबार गर्ने प्रमुख माध्यम स्थानीय मुद्रा नाइरा बनेपछि सरकारले हस्तक्षेप गरेको हो । बाइनान्सले यसबारेमा कुनै टिप्पणी गरेको छैन । यो नाइजेरियामा आधिकारिक रूपमा दर्ता छैन । कम्पनीले पहिल्यै नाइजेरियाको संघीय राजस्व सेवा (एफआईआरएस) सँग कर मुद्दा समाधान गर्न सहकार्य गरिरहेको बताएको थियो। कर बक्यौता र थप जरिवाना माग एफआईआरएसका अनुसार बाइनान्सले देशमा ‘ठूलो आर्थिक उपस्थिति’ राखेकाले कर्पोरेट कर तिर्नुपर्ने हुन्छ । बाइनान्सले २०२२ र २०२३ को आयकर तिर्नुपर्ने अदालतमा दाबी गरिएको छ । तिर्न बाँकी रकममा वार्षिक १० प्रतिशत जरिवाना थप गर्ने माग गरिएको छ । केन्द्रीय बैंकको उधारो दरअनुसार २६.७५ प्रतिशत ब्याज पनि थप गरिनेछ । नाइजेरियाले कर छलीका चार आरोपहरू लगाएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने, कम्पनी आयकर नतिर्ने, कर विवरण दाखिला नगर्ने र ग्राहकहरूलाई कर छल्न मद्दत गर्नेजस्ता आरोप लगाएको हो । बाइनान्सले २०२३ मा नाइजेरियामा नाइरा कारोबार रोक्ने घोषणा गरेको थियो । कम्पनीले सम्पत्ति शुद्धीकरणको आरोप अस्वीकार गरेको छ । बाइनान्समाथि धेरै देशमा नियम उल्लङ्घन गरेको आरोप बाइनान्समाथि धेरै देशहरूमा नियम उल्लङ्घन गरेको आरोप लागेको छ । २०२३ मा अमेरिकी सरकारले बाइनान्सविरुद्ध सम्पत्ति शुद्धीकरण र अवैध कारोबारको आरोपमा मुद्दा चलाएको थियो । बाइनान्स संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज हो, जसले डिजिटल मुद्राहरू (जस्तैः बिटकोइन, इथेरियम, यूएसडीटी आदि) किनबेच गर्न सुविधा दिन्छ। यसको स्थापनाः २०१७ मा चांगपेंग झाओले गरेका थिए । यो विश्वभर करिब १०० भन्दा बढी देशहरूमा उपलब्ध छ । कम्पनी अझै पनि संसारभर क्रिप्टोकरेन्सी एक्सचेन्जमा नम्बर १ छ । कानुनी समस्याहरू भए पनि बाइनान्सको ट्रेडिङ भोल्युम अरू सबै एक्सचेन्जभन्दा धेरै छ । (एजेन्सीहरूको सहयाेगमा)

तीन महिनामा आयात हुनुपर्ने सुन माघमै भित्रियो, कसले ल्यायो ३०१ केजी सुन ?

काठमाडौं । माघमा सुनको आयात अस्वाभाविक रूपमा बढेको छ । विगतका महिनाहरूमा मासिक एक सय केजीको हाराहारीमा आयात हुने सुन माघ महिनामा मात्रै ३०१ केजी भित्रिएको हो । भन्सार विभागको तथ्यांकअनुसार माघमा कुल ८८७ केजी सुन आयात भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसबापत सरकारले कुल १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत पुस महिनासम्म भने कुल ५८७ केजी सुन आयात भएको थियो । चालु आवको पुस मसान्तसम्म कुल ६ अर्ब ७१ करोड ६लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा सरकारले कुल ८१ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सात महिनाको अवधिमा भने कुल १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँबराबरको १५०१ केजी सुन आयात भएको थियो । सो बापत सरकारले कुल १ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, गत आवको असार मसान्तसम्म भने कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको २ हजार ६५१ केजी सुन आयात भएको थियो । त्यसबापत सरकारले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा सुनको आयात कम नै भए पनि चालु आवको अघिल्ला महिनाको तुलनामा माघमा सुनको आयात राम्रो भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि आयात बढेको व्यवसायीहरू बताउँछन् । यो विवाहको सिजन भएको कारणले पनि सुनको आयात बढेको हुन सक्ने व्यवसायी र बैंकरहरू बताउँछन् । सरकारले बजेटमार्फत् सुनको भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि माग नै नभएर बैंकले आयात कम गरेका थिए । तर, अहिले १० प्रतिशत भन्सारदर कायम भएपछि मागसँगै आयात पनि बढेको हो । नेपालमा वाणिज्य बैंकहरूले सुन आयात गरी व्यवसायीलाई बिक्री गर्दै आएका छन् । चालु आवको माघसम्म २ अर्ब ७५ करोड ३५ लाख रुपैयाँको चाँदी आयात हुँदा सरकारले ३२ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

महाशिवरात्रीलाई भव्य बनाउन आवश्यक तयारी गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तिब्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुगेका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवीथत गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गरे । उनले महाशिवरात्री नेपालीहरुको महान पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्री भएको उल्लेख गरे । महाशिवरात्रीलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्व बढ्ने बताए । ‘देश विदेशबाट आएका भक्तजनहरु शिवरात्रीमा पशुपतिमा पुगेर जति धेरै खुशी हुन सक्नुभयो, जति धेरै सहजता महशुस गर्न सक्नुभयो, त्यति नै महत्व, महाविशरात्रीको महत्व र देशको महत्व बढ्छ । हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ,’ उनले भने । उनले महाशिवरात्री मुल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिए ।

तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन शुक्रबार एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपाल प्रहरीले माग्यो थप १३ जना प्रहरी निरीक्षक र ६० सहायक निरीक्षक (सुचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा थप पद खुला गरेको छ । गत भदौ २८ गते प्रकाशित विज्ञापनमा तोकिएको संख्यामा संशोधन गर्दै थप माग गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकका लागि ६४ जनाको माग गरिएकोमा थप १३ पद थप गरी कुल ७७ जनाका लागि अवसर खुला गरिएको छ । त्यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाको माग गरिएकोमा ६० जना थप गरी कुल ३१६ पद खुला गरिएको छ । नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई संशोधित सङ्ख्याअनुसार आवेदन दिन आग्रह गरेको छ । थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

बीमा कम्पनीबाट पौने २७ अर्ब दाबी भुक्तानी हुन सकेन, यस्तो छ पाँच वर्षको ट्रेण्ड

काठमाडौं । विभिन्न जीवन बीमा कम्पनीहरूले पाँच वर्षमा बीमितलाई ६६ अर्बभन्दा बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको ५ वर्षको अवधिमा ६६ अर्ब ५८ करोड रुपैयाँको दाबी भुक्तानी दिएका हुन् । आव २०७६/७७ मा दाबी भुक्तानी संख्या १ लाख ६ हजार २३९ बापत् २२ अर्ब ३२ करोड क्षतिपूर्ति दिएको देखिन्छ । यो संख्या वृद्धि भएर आव २०८०/८१ सम्ममा आइपुग्दा बीमा कम्पनीहरूले २ लाख ८० हजार १५१ बापत ६६ अर्ब ५८ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् । आव २०७७/७८ मा दाबी भुक्तानीको संख्या १ लाख ३६ हजार ४६४ रहेकोमा बीमा कम्पनीले ३६ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी दिएका छन् । त्यस्तै, आव २०७८/७९ मा २ लाख ४० हजार ९६८ र आव २०७९/८० मा २ लाख ५४ हजार ७९८ दाबी भुक्तानीको संख्या रहेको छ । निर्जीवन बीमा कम्पनीले आव २०७८/७९ मा ५३ अर्ब ८५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् भने आव २०७९/८० मा ६४ अर्ब ५६ करोड बीमितलाई दाबी भुक्तानी गरेको देखिन्छ । आव २०७६/७७ मा भुक्तानी हुन बाँकी दाबी संख्या १२ हजार ६३२ रहेकोमा आव २०८०/८१ मा आइपुग्दा ५८ हजार १२५ रहेको छ । आव २०८०/८१ मा भुक्तानी हुन बाँकी दाबी रकम ५ खर्ब ८१ अर्ब रहेको छ । आव आव २०७६/७७ मा भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब ९५ करोड रुपैयाँमात्रै बाँकी थियो । तथ्यांक हेर्दा वार्षिक रूपमा दाबी भुक्तानीको संख्या बढ्दै गएको देखिन्छ भने भुक्तानी रकम पनि बढ्दै गएको छ । साथै भुक्तानी दाबी संख्या पनि बढ्दै गएको छ । जीवन र निर्जीवन कम्पनीबाट कुल २६अर्ब ७९ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी हुन नसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । निर्जीवन बीमाको दाबी भुक्तानी अवस्था निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो पाँच वर्षमा बीमितलाई १ खर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी दिएका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको ५ वर्षको अवधिमा एक खर्ब ७८ अर्ब रूपैयाँ दाबी भुक्तानी दिएका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुबाट आव २०७७/७८ मा एक लाख ४६ हजार ९३१, २०७८/७९ मा १ लाख ४७ हजार ५२४ र आव २०८०/८१ मा एक लाख ५१ हजार ७२३ दाबी भुक्तानी संख्या रहेको देखिन्छ । आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । आव २०८०/८१ मा आइपुग्दा यो रकम बढेर १७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । आव २०७९/८० मा निर्जीवन नीर्जीवन बीमा कम्पनीले सर्वाधिक २४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । आव २०७७/७८ को तथ्यांक हेर्दा निर्जीवन बीमा कम्पनीले बीमितलाई १७ अर्ब ५३ करोड दाबी भुक्तानी दिएका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल दाबी भुक्तानी हुन बाँकी रकम १३ अर्ब २० करोड ७१ लाख रुपैयाँ रहेकोमा आव २०७७/७८ मा बढेर २१ अर्ब ७५ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै आव २०७८/७९ मा २३ अर्ब ४० करोड ३६ लाख रुपैयाँ भुक्तानी दाबी हुन बाँकी रहेकोमा आव २०७९/८० मा २१ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चालु आव २०८१/८२ को पहिलो ६ महिनामा भने ६५ हजार १२० दाबी भुक्तानीको लागि निवदेन पर्दा निर्जीवन जीवन बीमा कम्पनीहरुले १० अर्ब १६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी दिएका छन् ।