नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अध्यक्षमा पंज्ञानी नियुक्त भएका हुन् । साथै उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसकेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थमन्त्रालयमा प्रशासन विभागमा सहसचिव पनि हुन् । यसअघि अध्यक्ष रहेका डा चन्द्रबहादुर अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका हुन् । तर, उनी सञ्चालक भने कायम रहेका छन् । अधिकारीमाथि बैंकले प्रवाह गर्ने कर्जामा कमिसन लिएको आरोपमा अख्तियारमा छानबिन भइरहेको छ ।
स्वास्थ्यमन्त्रीको अभिव्यक्तिले अस्पताल तरङ्गित, धमाधम रोक्दै स्वास्थ्य बीमा
काठमाडौं । स्वास्थ्य बीमालाई १ लाख बाट ५ लाखमा पुर्याउने जोडबल गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब स्वास्थ्य बीमा नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै दिएको अभिव्यक्ति यतिखेर चर्चामा छ । मन्त्री पौडेलले केही दिनअघि बोलेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो भिडियोलाई लिएर स्वास्थ्य बीमाको भविश्यमाथि नै प्रश्न उठिरहेको छ । भिडियोमा उनले उपभोक्ता र अस्पताल दुवैको लापरवाहीले बीमा रकम भुक्तानीमा समस्या आएको बताएका छन् । उनले भनेका छन्, ‘अब बीमाको भुक्तानी हुँदैन, भुक्तानी सम्भव छैन, राज्यले प्रतिवद्धता गरेको कति हो, साढे ७ अर्ब होइन ? कति खर्च भएको छ ? यो वर्षको बजेटमा हुँदै नभएको शीर्षक अघिल्लो वर्षको बक्यौता भनेर कसरी तिर्ने ?’ मन्त्री पौडेलले आफू आइसकेपछि यो वर्ष जति पाउने थियो त्यो सबै भुक्तानी भइसकेको भिडियोमा भनेका छन् । ‘बीमाको पैसा खानामा राखेको अचारजस्तो यति पनि पुग्दैन रहेछ, यहाँ पनि बीमा लागू छ भनिएको छ, त्यहाँ पनि बीमा लागू भएको भनिएको छ, नागरिकले मेरो पैसा हो भनेर टेस्ट नै नगर्नुपर्ने टेस्ट गरिएको छ किन्नै नपर्ने औषधी किन्यो भनेर पैसा सकाएको छ,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘यस्तो बीमा पनि कसरी चल्छ ? यस्तै हो भने यो वर्ष ४० अर्ब पुग्छ, मैले तिर्छु भनेर गफ दिएर ताली बजाएर हुँदैन ।’ नियुक्त हुँदा ताका स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उद्घोष गरिरहेका उनी आफैले अब स्वास्थ्य बीमाको भविश्यमाथि नै प्रश्न उठाएका छन् । ‘कुल साढे ७ अर्ब त्यो पनि सकिसक्यो, अर्थ मन्त्रालयले २५ प्रतिशत बजेट कटौती गर भनेर लेखेरै पठाइसक्यो,’ उनले भनेका छन्,‘ बन्द गर्ने भनेर बन्द गर्न त मिल्दैन । तर, चल्दै नचलेपछि त आफै बन्द हुन्छ ।’ कतिपय सरकारी फार्मेसीले बीमाबाट औषधी दिन छोडिसकेको बताउँदै मन्त्री पौडेलले बीमामा अस्पतालको लापरवाही पनि उत्तिकै रहेको बताएका छन् । ‘नगद तिर्यो भने रजिष्ट्रेशन ५० रुपैयाँमा हुन्छ, बीमाको रजिष्ट्रेशन ८० रुपैयाँमा हुन्छ, क्यास पैसा तिरेर बेडमा गयो भने तीन सय रुपैयाँ, बिमाबाट गर्यो दुई हजार रुपैयाँ, उपभोक्ताले पनि मेरो जाने होइन जति लिएपनि मतलब नगर्दा यस्तो समस्या आयो,’ उनले भनेका छन् । मन्त्री पौडेलको यस्तो भनाइले अहिले धेरै अस्पताल अन्योलमा परेका छन् । उनीहरूले पाउनु पर्ने रकम नै नपाएको बताउँदै सेवा सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा अधिकांश् अस्पताल दुविधामा छन् । तर, मन्त्रीको सचिवालयले भने मन्त्रीको भिडियोको एउटा क्लिपमात्रै राखेर गलत प्रचार गरिएको बताएको छ । बीमाको पछिल्लो विकृतिका उदाहरण दिँदै बोलेको प्रसंगमा सबै भिडियो नसुनेर क्लिपमात्र सुनेर प्रतिक्रिया दिएको भन्दै उनको सचिालयले आपत्ति जनाएको छ । यो विषयमा सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्कने क्रममा समेत मन्त्री पौडेलले गलत प्रचार गरिएको बताएका छन् । उनले बीमालाई व्यवस्थित गर्न आवश्यक रहेको सुनाए । बीमाभित्र थुप्रै विकृति रहेको बताउँदै त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘बीमालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइसकेको छ, सुधारका लागि सुझाव कार्यदल गठन गरेर सुझाव पनि पाइसकेका छौं,’ उनले भने । मन्त्री पौडेलले यस्सो बताइरहँदा उनको भिडियो सुनेपछि धेरै अस्पताल भने अन्योलमा परेका छन् । उनीहरूले मन्त्रीको नै यस्तो भनाइ बाहिर आउँदा अब सेवा के गर्ने भन्ने अन्योल बढेको बताएका छन् । अन्योलमा अस्पताल दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा कटौतीको सूचना नै निकालेको छ । स्वास्थ्य बीमा बापतको ११ करोडको भुक्तानी नपाएको भन्दै अस्पतालले सूचना निकालेर सेवा कटौती गरेको जानकारी दिएको छ । अस्पतालले बीमामा आवद्ध बिरामीलाई तीन महिनासम्म दिँदै आएको औषधी सुविधा अब एक सातासम्मका लागि मात्र उपलब्ध गराउने बताएको छ भने प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरू स्थगित गरेको छ । अस्पतालको फागुन ९ गतेको निर्णयले सेवा कटौती गरेको जनाइएको छ । बिरामीलाई दिनहुँ औषधी वितरण गर्नुपर्ने तर रकम नभएकाले सेवा दिन कठिन भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराज गञ्जले केही समयअघि स्वास्थ्य बिमा कार्यक्रम नै स्थगित गरेको थियो । अस्पतालले ६९ करोड रकम नपाउँदा कार्यक्रम नै स्थगित गरेपछि सरकारले २ करोड ५१ लाख रकम दिएर कार्यक्रम स्थगित नगर्न अनुरोध गरेको थियो । स्वास्थ्यमन्त्रीको अनुरोध र २ करोड ५१ लाख पाएपछि अस्पतालले गत माघ ९ गतेदेखि फेरि स्वास्थ्य बिमाका कार्यक्रम सुरु गरेको छ । तर, अवस्था अहिले पनि जटिल नै रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराले भुक्तानी नपाउँदा बीमाबाट सेवा लिने बिरामीलाई सेवा दिन समस्या भएको बताए । ‘बाहिर जिल्लामा रोग निको नहुँदा आशा बोकेर बिरामी हामी कहाँ आइपुग्छन्, ७७ वटै जिल्लाका बिरामीको आशाको केन्द्र रहेको अस्पतालमा बोर्डले पैसा नदिँदा यसको असर बिरामीलाई पर्न थाल्यो,’ उनले भने । उनी बिमा सेवाको असर जनरल बिरामीलाई समेत पर्न थालेको बताउँछन् । ‘यो अस्पताल सरकारी अस्पताल भनेर चिनिन्छ । तर, सकारले हामीलाई दिने वार्षिक बजेट भनेको १० करोडमात्र हो,’ उनी भन्छन्, ‘बाँकी सबै रकम अस्पताल आफैले व्यवस्थापन गर्छ, यस्तो अवस्थामा ७७ वटै जिल्लाका बीमित बिरामी यहाँ आउँदा हामीलाई सेवा दिन समस्या भएको छ ।’ देशकै पुरानो वीर अस्पतालको अवस्था पनि उस्तै छ । वीर अस्पतालले पनि १२ करोड रकम पाउन सकेको छैन । अब पनि रकम नपाउने हो भने कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था नरहेको वीर अस्पतालले जानकारी दिएको छ । ‘हामीले पनि औषधी ल्याउनुपर्छ, उपकरणहरू किन्नुपर्छ, हामीले भएको औषधी दिँदै गर्ने किन्न पैसा नहुने हो भने सेवा दिन सकिँदैन,’ अस्पतालका एक चिकित्सकले भने । उनले पटक–पटक यो विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत पैसा पाउन नसकेको गुनासो गरे । अस्पताल र उपभोक्ता दुवै उस्तै स्वास्थ्य मन्त्रीले बीमाबाट सेवा लिने र दिने दुवै संस्था र व्यक्ति जिम्मेवार नभएको दाबी गरेका छन् । सरकारले दिने पैसा हो भन्दै अस्पतालले दोब्बर रकम लिने र आफ्नो पैसा तिरेको भन्दै जबरजस्ती रोग नलागेपनि जाँच गर्ने परम्पराले भुक्तानी समस्या भएको उनको भनाइ छ । उनले यो विषयमा नागरिक र संस्था दुवै सच्चिनुपर्ने धारणा राखेका छन् । स्वास्थ्य बीमा बोर्डले भने मन्त्रीले रकम दिँदैन भन्दैमा अस्पतालले रकम नपाउने कुरा नभएको बताएको छ । नाम नबताउने सर्तमा बोर्डका एक पदाधिकारीले अस्पतालको दाबी र बोर्डले दिने रकममै कुरा नमिलेको बताएका छन् । शिक्षण अस्पतालका सूचना अधिकारी रोस्यारा अस्पताल पुग्ने हरेक बिमित बिरामी आफ्नो पैसा कति वाँकी छ भन्दै सोध्दै सेवा लिने गरेको बताउँछन् । बोर्डलाई वार्षिक ७ अर्ब बजेट सरकारले स्वास्थ्य बीमा बोर्डलाई वार्षिक साढे ७ अर्ब बजेट दिने गरेको छ भने बिमित व्यक्तिबाट वार्षिक ३ देखि ४ अर्ब रुपैयाँ उठ्ने गरेको छ । यो रकम पनि पुरानो रकम तिर्दैमा ठिक्क हुने गरेको राष्ट्रिय बीमा बोर्डले जानकारी दिएको छ । बोर्डका सूचना अधिकारी विकास मल्लका अनुसार बोर्डले अस्पताललाई दिनुपर्ने रकम १६ अर्व बढी छ । बोर्ड सदस्य डा. मुक्ति श्रेष्ठ अझै सकारले पैसा नदिँदा अस्पातललाई रकम दिन नसकेको बताउँछन् । उनका अनुासर सरकारले करिब १७/१८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उनी भन्छन्, ‘हामीलाई रकम उपलब्ध गराउने सरकारले हो, सरकारले हामीलाई नै उपलब्ध नगराउँदा हामीले अस्पताललाई दिन सकिरहेका छैनौं ।’ उनी ढिलो चाँडो भएपनि बोर्डले रकम अस्पताललाई उपलब्ध गराउने स्पष्ट पारेका छन् । ‘बोर्डले सरकारी र निजी संस्थासँग सहकार्य गरेको छ । त्योअनुसार बार्डले भुक्तानी गर्छ,’ उनी भन्छन्, ‘स्रोत सुनिश्चितता नहुँदा केही समय लागेको हो, पैसा तिर्नुपर्छ मन्त्रीले रकम तिर्न सकिँदैन भन्ने कुरा बाहिर आएको छ, त्यो कुन प्रसंगमा भन्नुभयो मलाई थाहा भएन । तर, बोर्डको स्पष्ट धारणा हामीले अस्पतालसँग सम्झौता गरेका छौँ, त्यो सम्झौता राज्यको हो, समय लाग्न सक्छ । तर, पैसा चाहिँ तिर्नुपर्छ ।’
सानिमा रिलायन्स इन्स्योरेन्सले ९.२४ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.२४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाषणा गरेको हो । जसमध्येमा १.२४ बोनस सेयर वितरण गर्ने घाषणा गरेको भएको छ भने ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस सेयर वितरण गरिनेछ ।
एनसेलले ल्यायो ‘रिन्युअल प्याक सधैँ अन’
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उदेश्य सहित नयाँ प्रिपेड सेवा ‘सधैँ अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार सधैँ अन प्याकको सफलतापछि सञ्चालनमा ल्याईएका रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा लिन सक्छन् ।रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो । यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । यसको अर्थ त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधाहरुमा थप हुने व्यवस्था रहेको छ । यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स९ह्यास डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नवीकरण हुने यी प्याकहरुमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकहरूमा यूट्युबमा अनलिमिट्ड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरु डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ र केही प्याकहरुमा ग्राहकहरुले आफ्ना परिवारजन, साथीभाइ, र सहकर्मीहरूसँग महिनाभर जतिपनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन् । एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, ‘आजको डिजिटल परिप्रेक्ष्यमा, सहज कनेक्टिभिटी कार्यलयदेखि व्यक्तिगत कार्यहरु, शिक्षा, मनोरञ्जन र सोसल मिडियामा अन्तरक्रियालगायतका लागि अत्यन्त आवश्यक रहेको छ । सधैं अन रिन्यूअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले ध्यानपूर्वक डिजाइन गरिएको छ, जसले ग्राहकहरूलाई कुनै पनि अवरोध बिना कनेक्टेड रहन सहयोग गर्दछ ।’ रिन्यूअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्यूअल गरि तीन प्रकारका प्याकहरू संचालनमा ल्याएको छ । पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक रु ३९९, रु ४९९, र रु ५९९ का प्याकहरु रहेका छन् । यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन् । प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याक अन्तर्गत कर सहित रु ७९९, रु ९९९, र रु १,४९९ का प्याकहरु समावेश रहेका छन् । यी प्याकहरुमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् । त्यसैगरी तेस्रो रिन्यूअल सेवा अन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरु रहेका छन् । उदाहरणका लागि एनसेलका रु १९९ देखि रु ४४९ सम्मका लोकप्रिय भ्वाइसहरु रहेका छन् । त्यसैगरी डेटामा रु २९९ बाट शुरु हुने प्याकहरु समावेश छन् ।
एनआरएन इन्फ्राइट्रक्चरले खरिद गर्याे एलआईसी नेपालको ४ लाख ७५ हजार कित्ता सेयर
काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)को सेयर खरिद गरेको छ । कम्पनीले एलआईसी नेपालको ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको हो । एलआईसी नेपालले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गरेको थियो । जसमध्ये एनआरएन इन्फ्राइट्रक्चरले सर्वसाधारण समूहतर्फको ४ लाख ७५ हजार कित्ता सेयर खरिद गरेको हो । एनआरएन इन्फ्राइट्रक्चरले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने सूचीकृत कम्पनी हो । पछिल्ला दिनहरूमा कम्पनी आक्रमक रूपमा लगानी परिचालन गर्दै आएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघलाई मुक्तिनाथ विकास बैंकको ५१ हजार सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सघाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरणमा सघाउने विश्वास बैंकले गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका पदाधिकारी, तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागितामा बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले चेक हस्तान्तरण गरेका हुन् ।
फोटोन नेपालको सर्भिस नेटवर्क पार्टनर बैठक सम्पन्न
काठमाडौं । चिनियाँ सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक फोटोन नेपालले नेपालका १७ सर्भिस नेटवर्क पार्टनरहरूको बैठक सम्पन्न गरेको छ । नेपालमा ट्रक, पिकअप र विद्युतीय सवारी साधनको कारोबार गर्दै आएको फोटोन नेपालले गत वर्षको कार्यसम्पादन मूल्यांकन गर्दै भविष्यमा गर्न सकिने सहकार्यबारे समीक्षा गरेको थियो । ‘अ रिलायबल आफ्टर सेल सर्भिस’ नाराका साथ नयाँ सेवा प्रविधि र सेवामा उत्कृष्टता बढाउने विषयमा छलफल भएको थियो । फोटोन नेपालले आफ्ना सबै ग्राहकलाई सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितता समेत व्यक्त गरेको छ ।
साइमेक्स इंकद्वारा ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजनाको घोषणा
काठमाडौं । नेपालको विद्युतीय मोबिलिटी र अत्याधुनिक प्रविधिमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यका साथ बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । द एभरेष्ट होटलमा फेब्रुअरी २७ देखि मार्च ४ सम्म आयोजना हुन लागेको यस इभेन्टले इलेक्ट्रिक भेइकल, एआई इन्टिग्रेसन र नयाँ उर्जा सोलुसनका आधुनिक सुविधाहरूलाई एकै ठाउँमा समेट्ने उद्देश्य राखेको छ । कम्पनीकाअनुसार यस इभेन्टमा उपस्थित हुने आगन्तुकहरूले उच्च–टेक इन्टर्याक्टिभ जोनमार्फत बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.० लगायतका अत्याधुनिक प्रविधिहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । साथै, नेक्स्ट–जेन भेइकल शोकेसमा बीवाईडीका पछिल्ला मोडल र चाँडै आउने नयाँ मोडलको प्रदर्शनी हुने भएकोले अटोमोटिभ क्षेत्रका व्यवसायी, प्रविधि उत्साही र साधारण प्रयोगकर्ताले भविष्यको स्मार्ट मोबिलिटीको झलक पाउनेछन् । रियल–टाइम टेक्नोलोजी डेमो, विशेषज्ञ टक र प्यानल डिस्कसनमार्फत नेपालमा ईभी ट्रेन्ड र नविन इनोभेसनका बारेमा महत्वपूर्ण जानकारी साटासाट हुनेछ । इभेन्टले परिवारिक क्रियाकलाप र रमाइला कार्यक्रमहरूको आयोजना पनि गरेकोले सबै उमेरका दर्शकहरूका लागि यो एक अनुपम अनुभव बन्ने अपेक्षा गरिएको छ । कम्पनीकाअनुसार टिकट खरिद ई-सेवामा उपलब्ध गराइएको छ भने विद्यार्थीहरूलाई परिचय पत्र देखाउँदा निःशुल्क प्रवेशको सुविधा प्रदान गरिनेछ । यस इभेन्टले नेपालमा इलेक्ट्रिक मोबिलिटी र सस्टेनेबल प्रविधिको क्षेत्रमा नयाँ सोच र उर्जा प्रवाह गर्ने विश्वास गरिएको छ । सहभागीहरूले आधुनिक प्रविधिका नविन प्रयोगहरू प्रत्यक्ष अवलोकन गर्दै स्मार्ट मोबिलिटीको भविष्यमा आफ्नो योगदान पुर्याउने सुनौलो अवसर प्राप्त गर्नेछन् । बीवाईडी हाई–टेक विक २०२५ ले नेपाली अटोमोटिभ उद्योगमा नयाँ अध्याय सुरु गर्दै, प्रविधि र उर्जामा आधारित समाधानहरूद्वारा दैनिक जीवनमा सहजता र उन्नत सेवा प्रदान गर्ने दिशा तय गरेको कम्पनीले जनाएकाे छ ।