अब कांग्रेस, एमाले र माओवादी एकापसमा मिल्नुको विकल्प छैन : तारामान स्वार
राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । यो पाँच वर्ष राष्ट्रियसभामा रहेर काम गर्दैगर्दा धेरै कुराको अनुभव लिने अवसर मिल्यो । संसद् भनेको कानुन निर्माणसँगै जनताका सवाललाई उठाउने थलो हो । तर सांसदहरु संविधानअनुरुप कानुन निर्माण गर्नेभन्दा पनि आपसी आरोप-प्रत्यारोपमा केन्द्रित भएको देखिन्छ । संसद्मा जनताका सवाल जति उठ्नुपर्ने हो, त्यति स्थान पाएको देखिँदैन । संसद् मुख्यत सरकार बनाउने र ढाल्ने खेलमै केन्द्रित भएको जस्तो देखिन्छ । हामी सांसद भनेको जनप्रतिनिधि हो । जनताको आवाजलाई संसद्मार्फत सरकारसम्म पुर्याउनुपर्ने हो । तर सांसदहरुले राजनीतिक खिचातानीमै व्यस्त भएको देखिन्छ । अर्को कुरा, संविधान जारी भएको करिब एक दशक भएको छ । जुन गतिमा संविधानको मर्मअनुरुप कानुन निर्माण हुनुपर्ने हो, त्यो भएको छैन । संविधानको मौलिक हकमा रहेको व्यवस्थाको कानुन बनाउने कुरा अझै पनि पूरा भएको छैन । नीति तथा कार्यक्रम र बजेटबाहेक अन्य नीति संसद्मा पेस हुँदैन । सांसदहरु पनि विकासे कार्यकर्ताको रुपमा मात्रै देखा परेका छन् । संविधानमा रहेका केही प्रावधान कार्यान्वयन भएका छन् । तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । संविधानअनुसार अझै ४० वटा कानुन बन्न सकेको छैन । जति राष्ट्रियसभाले छिटोछिटो कानुन पारित गरेको हुन्छ, त्यहीअनुरुप प्रतिनिधिसभाले गर्न सकेको छैन । राष्ट्रियसभाबाट पारित भएका धेरै विधेयक प्रतिनिधिसभामा गएर अड्किएका छन् । अहिले संविधान संशोधनको बहस चलेको छ । संविधान संशोधन गर्नै नहुने भन्ने होइन । समयअनुरुप संशोधन हुनुपर्छ । संविधान संशोधन हचुवाको भरमा गर्न हुँदैन । सबैभन्दा पहिला संविधान कुन–कुन विषयमा संशोधन गर्ने हो त्यसबारेमा सरकार प्रष्ट हुनुपर्छ । राजनीतिक दल र सांसदहरु प्रष्ट हुनुपर्छ । संविधान संशोधनको विषयमा पर्याप्त छलफल गर्नुपर्छ । संशोधन जनताको पक्षमा हुनुपर्छ । संशोधन कुनै राजनीतिक पार्टीको स्वार्थको लागिभन्दा पनि आवश्यकताको आधारमा हुनुपर्छ । संविधान संशोधनको नाममा दलित, महिला, आदिवासी जनजाति, मधेसीलगायत उत्पीडित समुदायको अधिकार कटौती हुनुहुँदैन । बरु उनीहरुको अधिकार थप गर्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । संशोधनमा आमजनताको भावना बुझ्नुपर्छ । सङ्घीयतालाई थप मजबुत बनाउन र निर्वाचन प्रणालीमा सुधार गर्नका लागि संशोधन गर्नुपर्छ । मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्थाको निम्ति संविधान संशोधन गर्न सकिन्छ । मुलुकमा सुशासन कायम गर्नका निम्ति सबैभन्दा पहिला सरकारले भ्रष्टाचारको अन्त्य गर्र्नुपर्छ । राजनीतिक दल र दलका नेता सुध्रिनुपर्छ । उनीहरु पारदर्शी हुनुपर्छ । जुनसुकै पार्टीको सरकार भए पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनेभन्दा पनि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सरकार र राजनीतिक पार्टी वा नेताहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन । आफ्नै नेता÷कार्यकर्ता भए पनि भ्रष्टाचारमा संलग्न छन् भने पार्टीले कारबाही गर्न सक्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महङ्गो भएको छ । एउटा निर्वाचनमा चारपाँच करोडसम्म खर्च गर्ने प्रचलन बढेको छ । निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ । त्यो निर्वाचनमा लागेको खर्च निकाल्नका लागि नेताहरु भ्रष्टाचारमा तल्लीन हुने गरेको आरोप छ । नेताहरु जनताप्रति उत्तरदायी नदेखिनु विडम्बना हो । हाम्रो देशमा सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । सङ्घीय सरकारले संविधानअनुरुप प्रदेश सरकारलाई अधिकार दिनुपर्ने हो । तर अधिकार दिएको छैन । अधिकार नदिएका कारणले प्रदेश र स्थानीय सरकारले सोचेअनुरुप काम गर्न सकेको छैन । जस्तै, प्रहरी ऐन, निजामती सेवा ऐन अहिलेसम्म पनि बन्न सकेका छैनन् । यी ऐनलाई जतिसक्दो चाँडो ल्याउन कुनै पनि सरकारको तत्परता देखिँदैन । सङ्घीय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार नदिएपछि प्रदेश सरकार घाँडोजस्तै बनाइएको छ । हाम्रो सङ्घीयता भनेको सहकार्यको सङ्घीयता हो । समावेशी सङ्घीयता हो । तर तीन सरकारबीच सहकार्य, समन्वय देखा परेको छैन । सङ्घीय सरकारले प्रदेश सरकारबाट रायसल्लाह लिने वा दिने काम भएको छैन । सङ्घीयता सबलीकरणको निम्ति सङ्घीयतालाई ठीक ढङ्गले बुझ्न जरुरी छ । सङ्घीयता मात्रै भन्ने तर सबै अधिकार सङ्घमा राख्ने गर्नुहुँदैन । बजेटमा पनि प्रदेश सरकारलाई प्राथमिकता दिएको देखिँदैन । एक/दुई लाखसम्मका योजना पनि सङ्घले नै बजेटमार्फत दिने गरेको देखिन्छ । यसको अन्त्य हुन जरुरी छ । अबको बजेट युवाकेन्द्रित हुनुपर्छ । रोजगारी सिर्जना गर्ने गरी सरकारले बजेट ल्याउनुपर्छ । देशभित्र पर्याप्त रोजगारी नभएका कारण धेरै युवा विदेशिने क्रम बढ्दै गएको छ । ती युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । संविधानअनुरुपको अर्थ प्रणालीलाई अगाडि बढाउन समाजवादोन्मुख अर्थनीति बनाउनुपर्छ । समाजवादोन्मुख भन्ने तर सबै निजीकरण गर्ने भन्ने हुँदैन । युवाको विदेश पलायन रोक्नका लागि शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ । बन्द भएका कारखाना, उद्योग सरकारले सञ्चालनमा ल्याउनुपर्छ । मुलुकको समृद्धि र परिवर्तनका लागि सङ्घर्ष गरेका मुख्य ठूला तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकापसमा मिल्नुको विकल्प छैन । यी दलहरुबीच आरोप-प्रत्यारोपले राज्यप्रणालीलाई नै कमजोर बनाउँछ । लोकतन्त्रमा यस्तो हुनु भनेको विडम्बना नै हो । जनताको अवस्था सुधारको निम्ति पनि यी तीन शक्ति एकआपसमा मिलेर अगाडि बढ्नुको विकल्प छैन । (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तारामान स्वार राष्ट्रियसभा सदस्य हुन् । सांसद स्वार २०७६ सालमा राष्ट्रिय सभामा प्रवेश गरेका हुन् ।) रासस
एसियामा ४८ प्रतिशत होटल निर्माण, उत्कृष्ट विमानस्थल पनि एसियामै
काठमाडौं । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा नयाँपन र सृजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएका निकायका विज्ञहरूले बताएका छन् । काठमाडौंमा आयोजित ‘चेन्जिङ ट्रेन्ड्सः रिथिङ्किङ नेपाल्स टुरिजम’ विषयक कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रमा सृजनात्मकता र नयाँपन जोड्न सके यो व्यवसाय फस्टाउने धारणा राखेका हुन् । विश्वप्रसिद्ध हङ्कङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोनले नयाँपन र सृर्जनाले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुँदै आर्थिक गतिविधि चलायमान बन्ने बताए । सृजनात्मक गतिविधिले पर्यटकलाई थप आकर्षक गर्न सकिने भन्दै यसबाट रोजगारीका अवसर पनि सृजना हुने उनको धारणा छ । प्रोफेसर चोनले विश्वमा पर्यटन व्यवसायको शैली बढ्न थालेको भन्दै सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर प्रस्तुतिकरण दिएका थिए । विश्व पर्यटनको रुपान्तरण केन्द्र युरोपबाट भएको स्मरण गर्दै उनले संसारभर पर्यटनको शैलीको सुरुआत अन्तरदेशीय ट्राभलबाट हुन थालेको उल्लेख गरे । पर्यटन विकासको सुरुआत विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीव्र रूपमा विकास भएको तथ्याङ्कले देखाएको उनीद्वारा जारी प्रस्तुतिकरणमा उल्लेख गरिएको छ । ‘पर्यटनको महत्त्वपूर्ण अङ्ग मानिने होटलको विकासमा समेत विश्वभरको होटल निर्माणमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटल निर्माण भएका छन्,’ प्रोफेसर चोनले प्रास्तुत गरेको विवरणमा उल्लेख छ । पर्यटन विकासमा एसिया क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ । विश्वमा पर्यटन विकासमा होटलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामा छन् । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एण्ड युनिक’ भएको दाबी गरे । विश्वमा अहिलेसम्म निलो समुद्र नै धेरै चल्ने पर्यटनको गन्तव्यका रूपमा विश्वभरि परिचित भइरहेको भन्दै यसलाई नयाँपन र सृजना दिन सकिएको अवस्थामा मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका पर्यटनले खेल्न सक्ने पनि चोनले उल्लेख गरे । उनले भोलिको भविष्य आज देखिन सक्ने भएकाले अबको आवश्यकता ‘डिजिटल ट्रान्सफर्मेसन’ हो भन्दै यसका लागि प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती बढेको व्याख्या गरे । आतिथ्यता क्षेत्रमा पछिल्लो चुनौती मानव संशाधनको अभाव भएको उल्लेख गर्दै उजले ‘वर्क लाइफ’को सन्तुलन मिलाउनु महत्त्वपूर्ण भएको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभवन उल्लेख्य भएको बताए । आन्तरिक र अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि बोर्डले सरकारी र निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लैजाने उनले विश्वास व्यक्त गरे ।
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुगेका हुन् । आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए । गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।
सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ मर्जरमा जाने, जोडि खोज्दै
काठमाडौं । सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मर्जरमा जाने भएको छ । कम्पनीले कुनै उपयुक्त बीमा कम्पनीसँग मर्ज हुने प्रस्ताव अघि सारेको हो । कम्पनीको सञ्चालक समितिले चैत ११ गते विराटनगरको होटल एयरपोर्टमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा गार्डियन माइक्रो लाइफ र अन्य कुनै इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज हुन आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०÷०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरूको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा बढाउने र सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको खर्च अनुमोदन गर्नेछ । कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं २०७९ पुस ११ गते दर्ता भई गार्डियन माइक्रो लाइफले बीमा ऐन, २०७९ बमोजिम मिती चैत २७ गते लघु जीवन बिमा व्यवसाय गर्ने इजाजत पत्र प्राप्त गरेको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ्गको विराटनगर महानगरपालिका–७ मा रहेको छ ।
पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो । ‘मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ,’ क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले भन्नुभयो, ‘यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।’ पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वाससमेत लिइएको छ । मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकाली मन्दिरसम्म पु¥याउनका पदयात्राको महत्व रहेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए । उक्त पदमार्गमा नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्ध लखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलोमा काउँले भङ्गार, कुहिरे भिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ । ‘देशभरीका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ । हामीले गोरखा भ्रमण बर्षको घोषणा गरेर गोरखामा पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ,’ उनले भने । मनकामना मन्दिर र गोरखकाली मन्दिरको ऐतिहासिक र धार्मिक सम्बन्ध भएपनि एकआपसमा जोडेर पर्यटन प्रवर्द्धन गर्न नसकिएको नगरप्रमुख रानामगरको भनाइ छ । पदयात्रामा निस्किएको टोली शनिबार गोरखा सदरमुकामस्थित गोरखकाली मन्दिरमा आइपुग्नेछ । ‘यी दुई मन्दिरका बीच दिदीबहिनीको सम्बन्ध रहेको पाइन्छ,’ नगरप्रमुख रानामगरले भने, ‘मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे चाहेको सबै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहदैँ आएको छ ।
ढोरपाटनमा वर्षासँगै हिमपातहुँदा जनजीवन प्रभावित, किसान भने हर्षित
कठमाडौं । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका-६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका-९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए । शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताए । बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकी नै प्रभावित बनेको उनी बताउँछन् । ‘एक/दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो,’ उनले भने । लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ । उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उनको भनाइ छ ।
देशका अधिकांश भागमा मौसम सफा रहने, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ । आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० व्यक्तिको उद्धार
काठमाडौं । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, ‘सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन्। उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन्।’ प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए । ‘मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ, प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग भने । यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले भने, ‘तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,’ बीआरओका कार्यकारी इञ्जिनियरले भने । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत-तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए । उनले भने, ‘चमोली जिल्लाको माना गाउँ नजिकै बीआरओले गरिरहेको निर्माण कार्यको क्रममा धेरै कामदारहरू हिमपहिरोमा फसेको दुःखद खबर प्राप्त भएको थियो, आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेका छन्।’ बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो । एजेन्सी