विकासन्युज

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा सुरु

काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए । यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिंदै आए पनि दुवै सिफ्टमा अपरेशन बल्ल सुरु गरेको हो । अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरु भएका छन्, उनले भने, विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ । आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए । दुवै सिफ्टमा हुने अपरेशनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए । डा. गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए ।

लघुवित्तको एनपीएल सुधारको बाटोमा, ३१ संस्थाले घटाए

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) साढे ६ प्रतिशत बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ६.६८ प्रतिशत बढेर औसत ६.१९ प्रतिशत बिन्दुमा पुगेको हो । गत आवको पुसमा लघुवित्तहरूको औसत खराब कर्जा ६.६३ प्रतिशत थियो । ५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये समीक्षा अवधिमा २१ वटा लघुवित्त संस्थाहरूको खराब कर्जा बढेको देखिन्छ भने ३० वटा लघुवित्तले खराब कर्जा घटाएका छन् । यस अवधिमा वीन नेपाल लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै बढेको छ । गत पुससम्म वीन नेपाल लघुवित्तको खराब कर्जा १३८.६९ प्रतिशत बढेर ६.२३ प्रतिशत बिन्दुमा पुगेको हो । जबकि गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा २.६१ प्रतिशत बिन्दुमात्रै थियो । यस्तै, स्वस्तिक लघुवित्तको १३२.८७ प्रतिशत बढेर ८.५ प्रतिशत बिन्दु, इन्फिनिटी लघुवित्तको ९८.९८ प्रतिशत बढेर ९.८५ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको ६१.२९ प्रतिशत बढेर १६ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको ५६.५४ प्रतिशत बढेर ५.६२ प्रतिशत बिन्दु, फस्र्ट माइक्रोफानान्स लघुवित्तको ५४.७० प्रतिशत बढेर ४.४४ प्रतिशत बिन्दु, जीवन विकास लघुवित्तको ५४.५७ प्रतिशत बढेर ४.५६ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, आरएसडीसी लघुवित्तको ४८.९० प्रतिशत बढेर २.७१ प्रतिशत बिन्दु, उपकार लघुवित्तको ४६.०९ प्रतिशत बढेर ४.१२ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको ३८.७६ प्रतिशत बढेर १६.६१ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको ३०.०६ प्रतिशत बढेर ७.८३ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको २९.४३ प्रतिशत बढेर ९.६३ प्रतिशत बिन्दु, साना किसान विकास लघुवित्तको १३.५ प्रतिशत बढेर २.२७ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १२.९८ प्रतिशत बढेर १.७४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको तथ्याङ्क छ । पुससम्मको तथ्याङ्क अनुसार धौलागिरी लघुवित्तको ११.५६ प्रतिशत बढेर ५.५ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको १०.६७ प्रतिशत बढेर ३.४२ प्रतिशत बिन्दु, मिथिला लघुवित्तको ८.५० प्रतिशत बढेर ४.८५ प्रतिशत बिन्दु, विजय लघुवित्तको ५.६९ प्रतिशत बढेर ८.३५ प्रतिशत बिन्दु, महुली लघुवित्तको ५.३८ प्रतिशत बढेर ४.८९ प्रतिशत बिन्दु, आत्मनिर्भर लघुवित्तको ४.५७ प्रतिशत बढेर १५.०९ प्रतिशत बिन्दु र समाज लघुवित्तको १.६५ प्रतिशत बढेर ४.९ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको हो । ३१ लघुवित्तले घटाए खराब कर्जा समीक्षा अवधिमा ३१ वटा लघुवित्त संस्थाहरूले भने खराब कर्जा घटाएका छन् । जसमध्ये सामुदायिक लघुवित्तको खराब कर्जा ६६.६२ प्रतिशत घटेर ४.८९ प्रतिशत बिन्दुमा झरेको छ । जबकी गत वर्षको पुसमा लघुवित्तको खराब कर्जा १४.६५ प्रतिशत बिन्दुमा थियो । यस्तै, महिला लघुवित्तको ६२.४२ प्रतिशत घटेर १.८६ प्रतिशत बिन्दु, सीर्जनशील लघुवित्तको ६१.५७ प्रतिशत घटेर ६.९७ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ४६.९९ प्रतिशत घटेर ४.१५ प्रतिशत बिन्दु, अभियान लघुवित्तको ४२.२५ प्रतिशत घटेर ४.१४ प्रतिशत बिन्दु, डिप्रोक्स लघुवित्तको ४१.४९ प्रतिशत घटेर ६.०९ प्रतिशत बिन्दुमा खराब कर्जा झरेको छ । पुससम्मको तथ्याङ्क अनुसार आरम्भ चौतारी लघुवित्तको ३७.२८ प्रतिशत घटेर २.९१ प्रतिशत बिन्दु, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३०.६० प्रतिशत घटेर ५.३५ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको २७.११ प्रतिशत घटेर ८.२८ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको २५.९४ प्रतिशत घटेर ५.८५ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको २५.८८ प्रतिशत घटेर ५.४४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । गुराँस लघुवित्तको २५.८५ प्रतिशत घटेर २.७८ प्रतिशत बिन्दु, जनउत्थान सामुदायिक लघुवित्तको २५.७९ प्रतिशत घटेर ५.८४ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको २४.०७ प्रतिशत घटेर ५.९६ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको १९.६७ प्रतिशत घटेर ८ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको १९.६५ प्रतिशत घटेर ९.४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । यस्तै, नेशनल लघुवित्तको १८.७१ प्रतिशत घटेर ३.०४ प्रतिशत बिन्दु, उन्नति सहकार्य लघुवित्तको १५.८५ प्रतिशत घटेर ४.८३ प्रतिशत बिन्दु, स्वरोजागर लघुवित्तको १४.४३ प्रतिशत घटेर ५.०४ प्रतिशत बिन्दु, लक्ष्मी लघुवित्तको १२.०४ प्रतिशत घटेर ८.४७ प्रतिशत बिन्दु, गणपति लघुवित्तको ११.३७ प्रतिशत घटेर ४.१३ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका छन् । सीवाईसी नेपाल लघुवित्तको ८.८० प्रतिशत घटेर ४.३५ प्रतिशत बिन्दु, छिमेक लघुवित्तको ७.७९ प्रतिशत घटेर २.७२ प्रतिशत बिन्दु, नेरुडे मिर्मिरे लघुवित्तको ४.०७ प्रतिशत घटेर ८.४७ प्रतिशत बिन्दु, कालिका लघुवित्तको ३.११ प्रतिशत घटेर ४.६७ प्रतिशत बिन्दु, एनआईसी एशिया लघुवित्तको २.८३ प्रतिशत घटेर १३.३७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको २.६१ प्रतिशत घटेर ४.१ प्रतिशत बिन्दुमा एनपीएल रहेको तथ्याङ्क छ । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १.१४ प्रतिशत घटेर ७.७८ प्रतिशत बिन्दु, सम्पदा लघुवित्तको ०.८६ प्रतिशत घटेर ४.५६ प्रतिशत बिन्दु, आशा लघुवित्तको ०.२० प्रतिशत घटेर ४.९२ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । नेपाल राष्ट्र बैंकले खराब कर्जा बढी भएका संस्थालाई निरन्तर निरीक्षण गरिरहेको हुन्छ । खराब कर्जा बढी भएका संस्थालाई राष्ट्र बैंकले नजिकबाट निरीक्षण गरिरहेको हुन्छ । जुन संस्थाको खराब कर्जा बढी छ, त्यो संस्थालाई भन्दा पनि बढी चिन्ता चासो हुने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । खराब कर्जाको सीमा नतोकेको भएपनि शीघ्र सुधारात्मक कारवाही (पीसीए)का आधारमा कारवाहीमा पर्ने गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेल बताउँछन् । खराब कर्जा १० प्रतिशत भएपनि अन्य सूचकमा संस्था राम्रोसँग सञ्चालन भइरहेको छ भने त्यस्ता संस्थालाई कारवाही हुँदैन । तर, विशेष कारणले असुल नभएर केही समयमा कर्जा असुली हुने देखिन्छ भने संस्थालाई समस्या भएको मानिँदैन ।

पुरानो ठूलो शक्ति बेरोजगार भएकै कारण वैदेशिक रोजगारको तत्काल अन्त्य गर्न कठिन : खतिवडा

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अप्ठ्यारो स्थिति रहेको बताएका हुन् । सोमवारबाट संघीय राजधानीमा सुरु भएको रोजगार मेलालाई सम्बोधन उनले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि रहेको बताएका हुन् । खतिवडाका अनुसार अहिले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, सम्मानित बनाउने, प्रतिफल युक्त बनाउने, वैदेशिक रोजगारीबाट फर्केकालाई श्रमबजारमा फेरि आवद्ध गर्ने, उनीहरुले ल्याएको आर्जनलाई स्वरोजगारी र कामको अवसर सिर्जना गर्नेमा काममा लगाउन सक्नुपर्छ । श्रम मन्त्रालयले श्रम सम्झौताहरु गर्दा विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षा ख्याल गर्नुपर्छ । नेपालमा रहँदा नेपाल सरकारले विदेशमा जाँदा त्यही रोजगारदाताले सामाजिक सुरक्षा दिने प्रत्याभुति गराएर वैदेशिक रोजगारीमा लैजाने अवस्थाको सिर्जना गर्नुपर्ने उनले बताए । आगामी एक दशक रोजगार दशक मनाइरहँदा एकदकपछि वैदेशिक रोजगारीमा कोही पनि जानुनपर्ने हामीले सिर्जना गर्नुपर्ने बताउँदै खतिवडाले त्यसका लागि केही सर्तहरू रहेको बताए । खतिवडाका अनुसार श्रमिकहरूको ज्याल दरहरू अहिले कम छन् । अहिलेको स्थितिमा एउटा श्रमिकले वर्षको ३ लाख ५० हजार आम्दानी उसको भएन भने गाह्रो छ । खतिवडाकाअनुसार कम ज्याला, कम उत्पादत्वलाई बढाउनका लागि प्रविधि, सीप, कमका शैलिमा परिवर्तन गराउन सक्नुपर्छ । ज्यालामा वृद्धि गरेर पनि व्यवसाय प्रतिस्पर्धी हुनसक्ने खतिवडाले बताए । सरकारले आफ्नो तवरबाट न्यूनतम ज्यालाहरू निरन्तर वृद्धि गरिएको उनको भनाइ छ ।

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

इटहरी । विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा पाउनै मुस्किल छ । पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हराउँदै गएको छ । व्यापारिक सहरको छवि बनाएको इटहरीमा प्यास लाग्दा पानी पाउन कठिन छ । दैनिक सयौँ यात्रु यही बाटो हुँदै यात्रा गर्छन् । व्यापारिक ‘ट्रन्जिट प्वाइन्ट’ इटहरीमा रोकिएका यात्रुलाई प्यास लागे सार्वजनिक धारा भेटिँदैन । प्यास मेटाउन होटलभित्र छिर्नुपर्छ कि त पसलबाट न्यूनतम २० खर्च गर्नुपर्छ । क्याफेमा २५ देखि ५० सम्म तिर्नुपर्छ । इटहरीको मुख्य बजार क्षेत्रमा भेटिएका वडा नं १० का स्थानीय बासिन्दा प्रमोद चौधरी सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता भएको बताउँछन् । चौधरीले भने, ‘प्यास लागे अर्काको घर छिर्नु भएन, पालिकाले कतै सार्वजनिक धारा राखिदिएको छैन, पानी किनेर खानुको विकल्प छैन ।’ वडा नं ३ बाट घर बाटोको सिफारिस लिन उपमहानगरपालिकाको कार्यालय, आएकी कमलादेवी तामाङले पनि प्यास लागे पानी किनेर नै खाएको बताइन् । दिनानु दिनगर्मी बढ्दै छ । सहरमा सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा चालक, सफारी चालक, यात्रागर्ने बटुवा वा अन्य सर्वसाधरणलाई पानी खान समस्या हुने गरेको छ । विसं २०६६ अघि भने इटहरीका विभिन्न सार्वजनिक स्थानमा ८४ वटा सार्वजनिक धारा थिए । खाने पानीबाट जोडिएका यी सार्वजनिक धाराबाट सिधैँ पानी पिउन सकिन्थ्यो । यसले गर्दा बटुवा वा यात्रीलाई सहज थियो । तर इटहरी खाने पानी उपभोक्ता संस्थाले सार्वजनिक धारा हटाउने नीति लियो । धारा धेरै बिग्रेको र खर्च धेरै आएका कारण सबै धारा कटौती गरिएको इटहरी खाने पानी उपभोक्ता संस्थाका व्यवस्थापक हरिबहादु कटुवालले बताए । ‘संस्थाले सार्वजनिक स्थानमा धारा नराख्ने नीति नै लिएको छ’, उनले भने, ‘सार्वजनिक स्थानमा धारा हुँदा चरम दुरूपयोग भएका कारण कार्यालयले नराख्ने निर्णय गरेको हो ।’ इटहरी खाने पानी उपभोक्ता संस्थाअन्तर्गत हाल तीन वटा पानीका ट्याङकी रहेका छन् । दैनिक दुई करोड १६ लाख पानी प्रशोधन गर्ने क्षमता रहेको यस कार्यालयले इटहरी उपमहानगरका–२० वडामध्ये १२ वटा वडा लाई मात्र पानीको आपूर्ति गर्दै आएको छ । इटहरी उपमहानगरपालिकाले पनि सार्वजनिक स्थानमा पानी पिउने व्यवस्था गरेको छैन । दैनिक हजारौँ व्यक्ति यात्राका दौरान, आर्थिक तथा व्यवसायी कारोबार वा अन्य कामका लागि इटहरी आउँछन् । यस्तो व्यस्त सहरमा सर्वसाधारणलाई पानी पिउन भने समस्या भोग्दै आउनुपरेको छ । रासस

रवि लामिछाने उच्च अदालत तुलसीपुरमा, साधारण तारेखको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरमा निवेदन दिएका छन् । जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै सभापति लामिछानेले उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा आइतबार निवेदन दिएका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो । फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएका हुन् ।

विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान दिऔं : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताए । प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् । सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे । अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’ कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।

गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला : ४ लाखको सिस्नो र २ लाखको गुन्द्रुक बिक्री

बागलुङ । जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् ।  बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरू अहिले आर्थिक रूपमा सवल बनेका छन् । जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् । स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताइन् । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उनको भनाइ छ । तालिमले यहाँका महिलालाई व्यवसायिक बनाएको पुनले बताइन् । उनले भनिन्, ‘बाँको त हाम्रो जङ्गलमा जति पनि पाइन्छ, सिस्नोले बारी नै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरू अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।’ आफूहरूले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उनको भनाइ छ। मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताइन् । गत वर्ष चार लाखको सिस्नोको पाउडर, दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उनले जानकारी दिइन् । जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताए । नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उनको भनाइ छ। महिलाले सुरुमा करिब २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरूको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन् । रासस