नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढीबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढी, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोषकुमार भण्डारी र द रुबस होटेलका प्रबन्ध निर्देशक प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
ग्लोबल आइएमई बैंकको अफर : वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्कलगायत आईएलटीएस, टफेललगायतका विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ । अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ मा हुने
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ । प्रतिनिधि सभाको बुधवारको सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् । सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए । उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरे ।
अमेरिकी इस्पात भन्सार शुल्कबाट मुक्त नहुनु ‘खेदजनक’ : जापान
टोकियो । जापानले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र एल्युमिनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’ भएको बताएको छ । जापानले प्रतिशोधात्मक उपायहरूबारे विचार गरिरहेको छ कि भनेर सोधिएको प्रश्नमा शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले दुई राष्ट्रले अमेरिकी समयानुसार मध्यरात (०४०० जिएमटी बुधबार) मा लागू भएको भन्सार शुल्कको विवरण छलफल गर्न जारी राख्ने बताए । ‘व्यापार सीमित गर्ने व्यापक उपायहरूले जापान–अमेरिका आर्थिक सम्बन्धका साथै विश्व अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्ने जोखिम रहन्छ’, हयासीले पत्रकारहरूलाई भने, ‘जापानलाई अतिरिक्त भन्सार लगाउनबाट बाहिर नराखिएकामा खेदजनक छ ।’ सन् २०२४ मा जापानले तीन करोड १४ लाख टन इस्पात निर्यात गरेको थियो । सोमध्ये ११ लाख टन अमेरिकामा गएको थियो । वासिङ्टनका अनुसार यो देशको इस्पात आयातको चार प्रतिशत हो । ‘जापानी इस्पात र एल्युमिनियम उत्पादनहरूको आयातले अमेरिकी राष्ट्रिय सुरक्षालाई हानी गर्दैन, बरु, हाम्रा उच्च गुणस्तरका उत्पादनहरू प्रतिस्थापन गर्न कठिन छ र अमेरिकी निर्माण उद्योगको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन आवश्यक छ’, हयासीले भने । अर्थव्यवस्था, व्यापार र उद्योगमन्त्री योजी मुटोले यस हप्ता वासिङ्टनमा अमेरिकी अधिकारीहरूलाई जापानलाई धातु र आगामी सवारी भन्सार शुल्कबाट छुट दिन आग्रह गरेका थिए । ‘मन्त्री मुटोको अमेरिकी भ्रमणका क्रममा वासिङ्टनले जापानसँगको आफ्नो सम्बन्धलाई प्राथमिकताका रूपमा लिएको र संयुक्त राज्य अमेरिकामा जापानको लगानीका साथै अमेरिकी अर्थतन्त्रमा रोजगारीका माध्यमबाट खेलेको भूमिकालाई मूल्यवान ठानेको आफ्नो स्थिति व्यक्त गरेको थियो’, हयासीले भने । ‘संयुक्त राज्य अमेरिकामा इस्पात र एल्युमिनियमको जापानी निर्यातको अनुपात… धेरै सानो छ, त्यसैले जापानी कम्पनीहरूमा प्रत्यक्ष प्रभाव त्यति ठूलो हुनेछैन’, जापान बिजनेस फेडरेसनका अध्यक्ष मासाकाजु टोकुराले यस हप्ताको सुरुमा भनेका थिए । यद्यपि विशेष गरी धेरै जापानी कम्पनीहरू मेक्सिको र क्यानाडामा विस्तार भएका छन् र त्यहाँबाट संयुक्त राज्य अमेरिकामा निर्यात गरिरहेकाले अटोमोबाइलहरूमा लगाइएको भन्सार शुल्कले महत्त्वपूर्ण प्रभाव पार्नेछ । ‘सबैभन्दा ठूलो समस्या भनेको व्यापारको पूर्वानुमान क्षमतामा आएको गिरावट हो, जसले कम्पनीहरूलाई लगानी गर्न हिचकिचाउने बनाउन सक्छ’, टोकुराले भने । जापान विश्वको सबैभन्दा धेरै बिक्री हुने कार निर्माता टोयोटाको घर हो र अटो उद्योगको स्वास्थ्यले पार्ट्स निर्माणदेखि इस्पात र माइक्रोचिपसम्म धेरै क्षेत्रहरूलाई असर गर्छ । सन् २०२४ मा देशको २१३ खर्ब येन (एक खर्ब ४५ अर्ब डलर) अमेरिकी निर्यातमा कार र अन्य सवारी साधनको हिस्सा लगभग एक तिहाइ थियो । रासस
कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेजबीच सम्झौता
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेजबीच सम्झौता भएको छ । साना तथा मझौला उद्यमअन्तर्गत यातायात सेवासम्बन्धी व्यवसाय र कृषि कर्जा कार्यक्रमअन्तर्गत कृषि औजार, यन्त्रमा प्रदान गरेको कर्जा सुरक्षण गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र अग्नि हायरको तर्फबाट महाप्रबन्धक अरुणराज उपाध्यायले हस्ताक्षर गरे । यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अग्नि हायर पर्चेजले स्वरोजगार तथा व्यवसाय प्रवद्र्धनका लागि यातायात खरिदमा प्रवाह गरेको अधिकतम तीन करोड साथै व्यावसायीक कृषि प्रवर्द्धनका लागि कृषि औजार तथा उपकरण खरिदमा प्रदान गरेको अधिकतम तीन करोड सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा अग्नि हायर पर्चेजले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले अधिकतम असी प्रतिशतसम्म भुक्तानी दिनेछ । यस सम्झौता भएसँगै कोषले आफ्नो व्यवसाय विस्तारलाई नयाँ शिराबाट अगाडि बढाएको जनाएको छ । यसले हायर पर्चेज कम्पनी समेत अन्य बैंक तथा वित्तीय संस्थाहरू जस्तै व्यवसाय विस्तारमा उत्प्रेरित हुने साथै कृषि तथा यातायात क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विकास गर्न चाहने युवा उद्यमीले सहज रुपमा कर्जा प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छुट्टै शीर्षक वा उपशीर्षकअन्तर्गतको कर्जा सुरक्षण गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र अग्नि हायर पर्चेजको कर्जा तथा असूली विभागको विभागीय प्रमुख प्रबन्धक विराट काजी राउतको उपस्थिति रहेको थियो ।
पोर्शेले मार्जिन जोगाउन कारको मूल्य बढाउने र लागत कटौती गर्ने सम्भावना
काठमाडौं । पोर्शेले कम बिक्री, उच्च लागत र व्यापार सम्बन्धी चिन्ताले सन् २०२५ को आम्दानीलाई असर गर्ने चेतावनी दिएको छ । कम्पनीले अमेरिकाद्वारा यूरोपियन युनियन (ईयू) आयातमा सम्भावित ट्यारिफ वृद्धिभन्दा अगाडि नै असर गर्ने चेतावनी दिएको हो । यसले पोर्शेलाई युरोपको प्रमुख स्टक सूचकांकमा सबैभन्दा ठूलो प्रतिशत गिरावट भोग्नुपर्ने स्थिति बनाएको छ । कार निर्माता कम्पनीले सम्भावित २५ प्रतिशत ट्यारिफ लागत उपभोक्ताहरूमा कसरी हस्तान्तरण गर्ने भन्ने मूल्याङ्कन गर्दै थियो । मूल्यांकनले मार्जिनमा दबाब नदिई बिक्री एकाइमा हुने गिरावटलाई सन्तुलित गर्न मूल्यवृद्धिको संकेत ग¥यो । आफ्नो अभिभावक कम्पनी फक्सवागनजस्तै पोर्शे पनि लागत कटौतीको अभियानमा छ । कम्पनीले करिब ४ हजार जागिर घटाउने र थप कटौतीको योजना बनाउँदैछ । पोर्शेले गत महिनामा चेतावनी दिएको थियो कि नयाँ आन्तरिक दहन इन्जिन र हाइब्रिड मोडेलहरूमा ८०० मिलियन यूरो (८७२.८० मिलियन) खर्चका कारण नाफामा असर पर्नेछ । पोर्शेको बिक्री गत वर्ष ३ प्रतिशतले घटेको थियो र यस वर्ष अझ कम बिक्रीको अपेक्षा गरिएको छ । पछिल्ला लगानीहरूका कारण मूल्यह्रासले यसको मार्जिनलाई केवल १०-१२ प्रतिशतमा झार्ने अनुमान गरिएको छ । यसले आफ्नो मध्यावधि नाफा मार्जिन लक्ष्य पनि घटाएको छ । जुन दशकको अन्त्यतिर मात्र पुग्ने अपेक्षा गरिएको छ । बिहान पोर्शेको सेयरहरू ४.५ प्रतिशतले घटे । जर्मनीको डीएएक्स सूचकांकमा प्रतिशतको हिसाबले सबैभन्दा ठूलो गिरावट देखाइरहेको थियो । विश्लेषकहरूले पोर्शेले बिक्रीमा आएको गिरावटलाई उच्च मूल्य निर्धारणद्वारा सन्तुलित गर्न नसक्ने जनाएका छन् । चीनमा सङ्घर्ष पोर्शे स्टक बजारमा प्रवेश गरेपछि आफ्नो गरिमा गुमाउँदै आएको छ । विशेष गरी चीनमा पोर्शेले चीनमा निकै संघर्ष गरिरहेको छ । यहाँ २०२४ मा बिक्री २८ प्रतिशतले घटेको छ । चिनियाँहरू एक रियल स्टेट संकटले हल्लाएका कारण विलासी सामानहरूमा खर्च गर्न अनिच्छुक छन् । सस्तो देखिने उस्तै खालका उत्पादनहरूको वृद्धि, जस्तै शाओमीको एसयू सेभेनले जर्मन कार निर्माताहरूका सम्भावनाहरूलाई अझ कमजोर बनाएको छ । अडी, मर्सिडिज बेन्ज र बीएमडब्ल्यूले पनि चीनमा तीव्र बिक्री गिरावट दर्ता गरेका छन् । पोर्शेले आफ्नो सफ्टवेयर सुधार गर्ने योजना बनाइरहेको छ र आफ्नो विरासत डिजाइनलाई अघि बढाउन ग्राहकहरूलाई पुनः जित्ने प्रयास गर्ने कम्पनीले जनाएको छ । पोर्शेले कम बिक्री मात्रा हुँदाहुँदै पनि मार्जिन जोगाउन आफ्नो डिलर नेटवर्क र आफ्नै अपरेसनमा थप लागत कटौती गर्ने जनाइएको छ । ग्लोबल अपरेटिङ नाफा २०२४ मा २२.६ प्रतिशतले घटेर ५.६ अर्ब यूरोमा झरेको छ। (एजेन्सीहरूको सहयोगमा) हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
जाँदा जाँदै आफ्नो हस्ताक्षरका प्रयाप्त नोट बजारमा पठाएर बाहिरिँदै गभर्नर, प्रिन्टिङका लागि यी ६ कम्पनी छनोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली चलनचल्तीका नोट छाप्न ६ वटा कम्पनीलाई छनोट गरेको छ । राष्ट्र बैंकले बुधबार सूचना सार्वजनिक गर्दै नोट छनप्नका लागि ६ वटा कम्पनी छनोट भएको जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डी ला रुउ इन्टरनेसनल लिमिटेड, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ वक्र्सलाई नोट छाप्नका लागि छनोट गरेको हो । छनोट भएका ६ वटै कम्पनीले दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेन्डर) मा प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी चैतमा राष्ट्र बैंकबाट बाहिरिँदैछन् । उनी बाहिरिँदै गर्दा नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएका हुन् । अहिले गभर्नर अधिकारीको हस्ताक्षर रहेका नोट बजारमा सीमितमात्रै देखिन्छन् । यसअघिका गभर्नर चिरञ्जिवी नेपालले हस्ताक्षर गरेका नोट बजारमा भेटिन्छन् ।
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
काठमाडौं । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ । कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुवईबाट आएको फ्लाइ दुवई, भैरहवाबाट आएको फ्लाइ दुवई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिविलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।