एनसेलले थ्रीजी बन्द गर्ने
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका हुन् । उनले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरु नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताए । नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उनले भने, ’अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकूलनको लागि टुजी र थ्रीजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । हामी २०२५ मा ३ जी बन्द गर्दैछौं र टु जी २०२७ मा बन्द हुन सक्छ ।’ उनले अहिले पनि ३.३ मिलियन टुजी ह्याण्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ती सेटहरू बाधक रहेको बताए ।
उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताएका छन् । मेरो अटोले बुधबार आयोजना गरेको अटोमोटिभ कनक्लेभ–२०८१ को उद्घाटन सत्रमा उनले आर्थिक सुधारका पक्षमा सरकार दृढताका साथ लागिपरेको उल्लेख गर्दै त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको बताएका हुन् । सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको उल्लेख गरे । नयाँ बजेटको छलफल शुभारम्भ भएको जनाउँदै उनले उद्योग मन्त्रालयको नीतिगत सुधारका लागि र निजी क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयबाट बजेट माग गरिने बताए । मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत तथा अन्य विषयमा सुझावका लागि आह्वान गरे । अहिलेका ऐन खण्डीत नहुने गरेर नीतिगत सुधारका लागि उनले सुझाव माग गरे । आफू उद्योगमन्त्रीका रुपमा रहँदासम्म उद्योग क्षेत्रको सुधारका क्षेत्रमा जतिसुकै नकारात्मक आलोचना गरिए पनि बिना कुनै स्वार्थ लागिपर्ने उनले प्रतिबद्धता जनाए । नेपालका उद्योगी तथा व्यवसायीले विभिन्न प्रहार झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । स्वदेशी वस्तु उपभोगको विषय दोहोर्याउँदै उनले नेपाली उत्पादनको प्रयोग नगर्ने प्रवृत्तिले यहाँका उद्योग धराशायी बन्नुपरेको बताए ।
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताए । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानूनी व्यवस्था रहेको उनको भनाइ छ । उनले भने, ‘चेकमा गलत एमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ ।’ उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिबाना गर्ने नगर्ने लगायतका विषयमा कानूनी व्यवस्था भइसकेको जानकारी दिए ।
मासेराटी ब्रान्डको विद्युतीय स्पोर्ट्स कार नआउने
काठमाडौं । मासेराटीले आफ्नो एमसीट्वान्टी स्पोट्र्स कारको विद्युतीय संस्करणको योजना रद्द गरेको छ । यसको अपेक्षित माग कमजोर देखिएकाले योजना रद्द गरेको लक्जरी कार निर्माता कम्पनीले मंगलबार जानकारी दिएको छ । एमसीट्वान्टी फलगोर यस वर्ष सार्वजनिक हुने योजना थियो । मासेराटीले यो निर्णय व्यापारिक सम्भावनाका आधारमा लिएको हो किनकि आगामी वर्षहरूमा थोरै गाडीहरू बिक्री हुने अपेक्षा गरिएको मसारेटीका प्रवक्ताले जानकारी दिए । बजार अनुसन्धान अनुसार एमसीट्वान्टीका ग्राहकहरू शक्तिशाली पेट्रोल इन्जिनहरूलाई प्राथमिकता दिन्छन् र ’छिट्टै बीईभी (ब्याट्री विद्युतीय सवारी) मा रूपान्तरण हुन तयार छैनन्,’ प्रवक्ताले थपे । सन् २०२० मा सुरु गरिएको ६३० हर्सपावरको एमसीट्वान्टी मासेराटीको गृहनगर मोडेना, उत्तरी इटालीमा निर्माण गरिन्छ । यसको सुरुवाती मूल्य करिब २ लाख ४० हजार युरो (२ लाख ६२ हजार डलर) छ । यो खबर स्टेलान्टिसले नोभेम्बरमा युनियनहरूसँगको बैठकमा मसारेटीका पहिले घोषणा गरिएका विद्युतीकरण योजनाहरू पुष्टि गर्न अस्वीकार गरेपछि आएको हो । ब्रान्डले गत वर्ष मात्र ११ हजार ३०० सवारीसाधनहरू बेचेको थियो । २०२३ मा कम्पनीले २६ हजार ६०० बेचेको थियाे । इटालियन स्पोट्र्स कार निर्माता फरारीले अक्टोबरमा आफ्नो पहिलो ईभी सार्वजनिक गर्नेछ, जबकि फक्सवागन समूहको हिस्सा रहेको प्रतिस्पर्धी ल्याम्बोर्घिनीले २०२९ मा आफ्नो पहिलो ईभी ल्याउने योजना बनाएको छ । पोर्शेले २०१९ देखि ईभी मोडेलहरू प्रस्तुत गर्दै आएको छ । (एजेन्सीहरूको सहयोगमा) हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
भारतका अम्बानीद्वारा स्टारलिङ्कका लागि स्पेसएक्ससँग सम्झौता
काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्मले बुधबार एलन मस्कको स्पेसएक्ससँग स्टारलिङ्कको उपग्रह इन्टरनेट सेवा आफ्ना ग्राहकहरूलाई प्रदान गर्न सम्झौता गरेको बताएको छ । प्रतिद्वन्द्वी टेल्को कम्पनी भारती एयरटेलले यस्तै सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि र मस्क र अम्बानीका कम्पनीहरूबीच स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा विवाद भएको केही महिनापछि यो घोषणा आएको हो । कम पृथ्वी कक्ष उपग्रहहरूद्वारा दुर्गम स्थानहरूमा उच्च–गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्कको सम्भावित प्रक्षेपणले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम विनियोजनसम्मका मुद्दाहरूमा तीव्र बहस भएको छ । तर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले बृहत् स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरूको प्रक्षेपणका लागि तयारी गरिरहेको बेला स्पेसएक्स र भारतका टेलिकमहरूले अपनाउन सहयोग गर्न हात मिलाएको देखिन्छ । एक विज्ञप्तिअनुसार यो सम्झौताले जियोले ‘आफ्ना खुद्रा आउटलेटहरूमा स्टारलिङ्क उपकरणहरू’ प्रदान गर्ने र भारतीय कम्पनीले ‘ग्राहक सेवा स्थापना र सक्रियतालाई समर्थन गर्न मद्दत’ गर्ने पनि देखिन्छ । ‘पार्टीहरूले भारतका सबैभन्दा ग्रामीण र दूरदराजका क्षेत्रहरू सहित देशभर विश्वसनीय ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न, डाटा ट्राफिकका हिसाबले विश्वको सबैभन्दा ठूलो मोबाइल अपरेटरका रूपमा जियोको स्थितिको फाइदा उठाउनेछन्’, विज्ञप्तिमा भनिएको छ । जियोले यो सम्झौता ‘स्पेसएक्सले भारतमा स्टारलिङ्क बेच्नका लागि आफ्नै अनुमति प्राप्त गर्ने’ कुरामा निर्भर रहेको बताएको छ । गत महिना स्टारलिङ्कको इजाजतपत्र आवेदन प्रारम्भिक नियामक स्वीकृतिको नजिक पुगेको भारतीय मिडिया रिपोर्टहरूले बताएका थिए । अम्बानीको दूरसञ्चार एकाइले पनि स्याटेलाइट ब्रोडब्यान्ड सेवा प्रदान गर्न छुट्टै काम गरिरहेको छ । जियो प्लेटफर्मले जियोस्टेशनरी र मध्यम पृथ्वी कक्ष उपग्रहहरूको संयोजन प्रयोग गरेर ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न सन् २०२२ मा लक्जमबर्गको एसइएससँग संयुक्त उद्यमको घोषणा गरेको थियो । गत महिना वासिङ्टनमा मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि पनि जियो–स्पेसएक्स सम्झौता आएको हो । प्रविधि उद्यमी मस्कको भारतमा व्यापारिक रुचि हाल सामाजिक मिडिया प्लेटफर्म एक्समा सीमित छ । विद्युतीय सवारी निर्माता टेस्लाले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयारी गरिरहेको छ । टेस्लाले गत महिना नयाँदिल्ली र मुम्बईका लागि स्टोर प्रबन्धक र सेवा प्राविधिकहरूका लागि जागिरको विज्ञापन जारी गर्दै भारतमा भर्ती सुरु गर्न थालेको थियो । रासस
प्रधानमन्त्रीसमक्ष अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर-व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरू बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलगायत सहभागी भेटमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीन वटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी संघीय संसदबाट कानुन निर्माण गर्न पहल गर्ने जनाइएको छ। घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेश सभाका उपसभामुखको भूमिका स्पष्ट गर्न पहल गर्ने प्रतिबद्धता रहेको छ । यस्तै कानुनको कार्यान्वयन मापन एवं उत्तर विधायिकी परीक्षणको कार्य सरकारसँग समन्वय गरी संघ र प्रदेशमा सुरु गर्ने, यसका लागि सम्बन्धित सभाका नियमावलीमा व्यवस्था गर्ने, सरकारले सभामा पेश गर्ने नीति तथा कार्यक्रम सिद्धान्त र प्राथमिकता, पूर्वबजेट छलफल एवं संसदबाट अनुमोदित बजेट, बजेटको खर्च समेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद सदस्यलाई अध्ययन, अनुसन्धानात्मक र प्रशिक्षणात्मक सेवा पु¥याउने विषय घोषणापत्रमा रहेको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले सबै सरकार र संसद्हरूबीच संविधानले गरेका प्रबन्धबमोजिम उचित समन्वय र सहकार्य अझै बढाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारका तर्फबाट हुनुपर्ने समन्वय बढाउने बताए । उनले संसदले सरकारसमक्ष बजेटसम्बन्धी प्रस्ताव गर्दा राज्यको आर्थिक हैसियतलाई विचार गरेर गरिदिनुुपर्ने र सरकारका सम्बन्धित मन्त्रालयले पनि संसदको नेतृत्वले आवश्यकता ठानेर पठाइसकेका प्रस्तावलाई सहजरुपमा अघि बढाउनुपर्ने बताए ।
रसियाको उलान उदे सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध
ललितपुर : ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुबै देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । उनले भने, ‘दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ ।’ ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउँदै उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको बताए । बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिए । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताए । भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रुपमा परियोजनाहरु संचालन गर्ने जानकारी दिए । उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनी सम्बन्धले नेपाल र रुसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन् । समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्गित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण , ग्यालरी र म्यूजियम स्थापनाका , सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ । नगर प्रमुखले प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवम वडा नं.५का वडा अध्यक्ष विकास मान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहदार मुकुन्द विष्ट छन् । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिवार रसिया गएको हो ।
भजनी नगरपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरिदिने
भजनी । कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नं १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो । यसअनुसार वडा नं १ मा २५ वटा र वडा नं ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ । बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन् । वडा नं ८ की सुशीला पाण्डे वर्षौँदेखिको बाढीको पीडाबाट छुटकारा पाउने आशामा छिन् । ‘वर्षात्को समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ । डुबान कम भएर घर फर्किँदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्र बस्न लायक हुन्छ’, उनी भन्छिन्, ‘उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन । सुरक्षित छु भन्ने आभास हुने छ ।’ सोही ठाउँकी शारदाकुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुसी भएकी छिन् । वर्षौँदेखि कच्ची माटोको घरमा बस्दै आएको उनको परिवारले सुरक्षित आवास पाउन लागेको हो । ‘विगतजस्तो समस्या अब आउने छैन । घरको खाद्यान्न बाढीले बगाउने छैन । घरका भाँडाकुँडा सुरक्षित रहनेछन्’, उनी भन्छिन्, ‘बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन् । परिवारले सुरक्षित छु भन्ने आभास गर्नेछ ।’ विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ । आवास निर्माणका लागि प्रतिघर तीन लाख रुपैयाँ नगरपालिकाले व्यहोर्ने छभने दुई लाख ५० हजार रुपैयाँ सहयोगी संस्थाले व्यहोर्ने छ । त्यसमा करिब एक लाख ६५ हजार रुपैयाँ लाभान्वित परिवारले बेहोर्नुपर्ने छ । वडा नं ८ मा निर्माण हुने २० वटाको लागतमा सहयोगी संस्थाले प्रतिघर दुई लाख ६५ हजार रुपैयाँ लागत लाग्ने राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक चक्रबहादुर आग्रीले जानकारी दिए । सुरक्षित आवासअन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहने छन् । बाहिर बरण्डा रहने छभने शौचालय रहने छ । तर वडा नं १ मा निर्माण हुने आवासमा एउटा भान्सा थप हुने कार्यक्रम संयोजक आग्रीले बताए । ‘नगरपालिकाको समन्वयमा यसभन्दा पहिले पनि भजनीमा हामीले २६ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छौँ’, उनले भने, ‘चालु आर्थिक वर्षमा थप ४५ वटा आवासका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ ।’ सम्झौताअनुसार असार २० गतेभित्र सबै घर निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित र एकल महिलालाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगरप्रमुख केवल चौधरीको भनाइ छ । ‘स्थानीय सरकार र गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर कैयौँ विपन्न वर्गका लागि हामीले आवास निर्माण गरेका छौँ र गरिरहेका छौँ ।’ उनी भन्छन्, ‘सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई सरकार छ भन्ने अनुभूतिको प्रयास गरिरहेका छौँ ।’ नेटवर्कले भने कैलालीमा मात्र एक सयभन्दा बढी आवास निर्माणमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिसकेको छ । कैलाली र कञ्चनपुर गरी एक सय ६९ विपन्न परिवारका घर निर्माण भएको कार्यक्रम संयोजक आग्रीको भनाइ छ । उनका अनुसार कैलारी गाउँपालिकामा २७, घोडाघोडी नगरपालिकामा २२ र बर्दगोरिया गाउँपालिकामा १२ घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । रासस