विकासन्युज

प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै

काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा इजलास सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणकोमा प्रकाशन गर्नसमेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ४१ पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १०४ रूपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।  यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्रीदर १९ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३७ पैसा र बिक्रीदर २० रूपैयाँ ४६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तिते करेला प्रतिकिलो १२० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १७०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १६०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् । फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन् । ‘फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,’ फेसबुकमा प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !’

नेपाली चलचित्रका लागि अमेरिका, अस्ट्रेलियाबाट लगानी ल्याउन सकिन्छ: निर्देशक रौनियार

काठमाडौं । नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचय बनाएका निर्देशकमध्येका एक हुन्, दीपक रौनियार । उनले विसं २०७० मा निर्देशन गरेको पहिलो चलचित्र ‘हाइवे’ बर्लिन अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘प्रिमियर’ हुने पहिलो चलचित्र बन्यो । निर्देशक रौनियारले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुका साथै ‘अन्तरराष्ट्रिय प्लेटफर्म’मा प्रवेश दिलाउन नेपाली चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यसै सन्दर्भमा पछिल्ला दिनमा छोटा चलचित्र, वृत्तचित्र तथा चलचित्रहरूले अन्तरराष्ट्रिय महोत्सवमा स्थान पाउने गरेका छन् भने कैयौँ नेपाली चलचित्र अब्बल सावित हुन सफल भएका पनि छन् । यद्यपि यतिमै खुसी हुनुपर्ने अवस्था नरहेको निर्देशक रौनियार बताउँछन् । ‘हामीले विश्वका अधिकांश चलचित्र महोत्सवमा नेपाली झण्डा फरफराइ रहेका छौँ । चलचित्रमार्फत पनि हामीले देशसँगै कला र संस्कृतिलाई चिनाउने काम गरेका हुन्छौँ । तर, हामी अब त्योभन्दा अगाडि बढ्नुपर्छ, यो विन्दुमा अलमल गर्नुहुँदैन,’ उनले भने । विसं २०७० पछि नेपाली चलचित्र बनाउन विदेशी सहायता पनि जोडिएको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत चलचित्र निर्माणका लागि प्राप्त हुने सहयोगका लागि सोही देशका चलचित्रकर्मी निर्माताका रुपमा जोडिएका हुन्छन् । चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि रहेको ‘चलचित्र ऐन’ नयाँ नआउँदासम्म कठिनाइको सामना गर्नुपरेको निर्देशक रौनियारले बताए । ‘हामीले आफ्ना चलचित्रलाई विदेशीमाझ पुर्‍याउन सफल भएका छौँ, पुरस्कार पनि जितिरहेका छौँ । तर, उनीहरुको लगानी नेपाल ल्याउन मौजुदा कानुनले रोकेको छ, त्यसलाई संशोधन गरेर चलचित्रकर्मीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । किनकी हामीले अहिले जे जस्तो उपलब्धि हासिल गरेका छौँ, त्यसका लागि हाम्रो प्रयास, लगनशीलता र मेहनत जोडिएको छ, तर हामीले चाहेको उपलब्धि हासिल गर्न राज्यको भूमिका र सहयोग आवश्यक छ,’ उनले भने । उनले सर्वोच्च शिखर ‘सगरमाथा’ र ‘खेलकुद’ विधाले जस्तै ‘चलचित्र’ क्षेत्रले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत गरेको छ भन्ने तत्थ्यलाई हामी सबैले मनन गरी सोहीअनुसार यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । आफू सम्बद्ध चलचित्र ‘सेतो सूर्य’ संसारकै सबैभन्दा पुरानो भेनिस अन्तररष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर ‘इन्टरफिल अवार्ड’ जित्न सफल भएपछि विश्वका चलचित्रसम्बन्धी आयोजना हुने धेरै मेला महोत्सवमा पुगेका निर्देशक रौनियार आवश्यक नीतिगत सहयोग, आर्थिक लगानी र अनुकूल वातावरण बनाएर चलचित्रकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताउँछन् । ‘मसँगै धेरै चलचित्रकर्मी अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पुगिरहनुभएको छ । हाम्रो काम देखेर लगानी गर्न खोज्ने धेरै छन्, हामीले अहिले नेपाली चलचित्रको राम्रो बजार बनिरहेको संयुक्तराज्य अमेरिका, अस्ट्रेलियालगायतका देशबाट लगानी ल्याउन सक्छौँ । तर, नीतिगत कठिनाइ छ, रचनात्मक स्वतन्त्रता पनि कम छ । यसले हामी जस्ता चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सकेको छैन,’ निर्देशक रौनियारले भने । उनले निर्देशन गरेको पछिल्लो चलचित्र हो, ‘राजागञ्ज’ । उक्त चलचित्रले समाजलाई प्रश्न गर्ने, छलफल गराउने र बाटो देखाउने काम गर्ने उनको भनाइ छ । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि समेटिएको चलचित्रले उठाएको विषयले माथि उल्लेखित तथ्यलाई समेटेको उनले बताए । ‘खेलकुद झैँ चलचित्रले पनि समाजलाई जोड्ने काम गर्छ । हामी चलचित्रकर्मीले आफ्नो दायित्व बोध गरेर त्यस किसिमका विषयवस्तुमा आधारित चलचित्र ल्याइरहेका हुन्छौँ, हामीले गल्तीबाट नै सिक्ने हो । चलचित्रमा पनि गलत गर्नु हुन्न् भन्ने देखाउन गलत देखाएर त्यसले दिएको नकारात्मक परिणामले गरिरहेको असर देखाउँदै सही बाटो रोज्न प्रेरित गर्ने हो । एउटा चलचित्रकर्मीका रुपमा मैले आफ्नो दायित्व बोध गरेको छु,’ निर्देशक रौनियारले भने । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्रले पुरस्कार जिते पनि घरेलु व्यापारमा भने त्यस प्रकारको सफलता निर्देशक रौनियारले निर्देशन गर्नुभएको चलचित्रले पाउन सकेको छैन । उनले निर्देशन गर्नुभएको ‘हाइवे’ र ‘सेतो सूर्य’ युट्युबमा सार्वजनिक हुँदा राम्रो प्रतिक्रिया आए पनि चलचित्र भवनमा दर्शकको उपस्थिति नगन्य थियो । घरेलु बजारमा कलात्मक चलचित्र कमजोर हुनुलाई जानकारी सम्प्रेषणमा देखिएको कठिनाइ रहेको उनको बुझाइ छ । ‘हामी कहाँ महोत्सवमा छानिएका चलचित्र बुझ्नै कठिन हुन्छ भन्ने भाष्य बनेको छ, त्यो गलत हो । महोत्सवमा पठाउन र चलचित्र भवनमा चलाउन दुई किसिमबाट सम्पादन गरेका हुन्छौँ, साथै उक्त चलचित्रमा गाउँ, समाजकै कथा हुने भएकाले बुझ्न नसकिने वा गाह्रो केही हुँदैन । चलचित्र भवनसम्म आएर हेर्नुभयो भने उस्तै मनोरञ्जन पाउनुहुनेछ, तर यस्ता चलचित्र विषय प्रधान हुन्छन्,’ निर्देशक रौनियारले स्पष्ट गरे । उनले नेपालमा आगामी चैत १ गतेदेखि सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर प्रदर्शन भइसकेको जानकारी पनि दिए ।

आज फागु पूर्णिमा हर्षोल्लासपूर्वक मनाइँदै, आज पहाडी र भोलि तराईका जिल्लामा होली

काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

जनता भड्काउने काम भइरहेको छ, व्यवस्था फेर्ने नाममा समय खेर नफालौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था परिवर्तनका नाममा जनतालाई भड्काउनेभन्दा सबै मिलेर अवस्था परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा नेपाली कांग्रेस क्षेत्र नं २ (क) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालसम्म भएका उपलब्धि र कमजोरीको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । ‘हामी सबैले आ-आफ्ना कमजोरी र गल्तीलाई सुधार्ने हो । दशकौँको सङ्घर्षपछि प्राप्त व्यवस्थाबाटै जनअपेक्षाअनुसार काम गर्ने थुप्रै सम्भावना छन् तर व्यवस्था फेर्ने नाममा समय खेर नफालौँ । लामो संघर्षपछि आएको संविधानमा भएका विभिन्न व्यवस्थालाई सुधार्दै, हाम्रा कमजोरी केलाउँदै अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले भने । उनले हाल जनता भड्काउने काम भइरहेको भन्दै त्यसलाई असल काम र आवश्यक संवादमार्फत रोक्नुपर्ने धारणा राखे । ‘हाल विविध कारणले रिसाएका नागरिकलाई थप भड्काउने प्रयत्न भइरहेको छ । कतिपय हाम्रै कारणले पनि त्यसमा मलजल पुगिरहेको छ । त्यसमा सचेत हुनैपर्छ । सुधारका लागि काम गर्नैपर्छ । नागरिकले सुशासन, विकास, हाम्रो राजनीतिक चालचलनबारे उठाइरहेका प्रश्नको सम्बोधन गर्नुपर्छ,’ महामन्त्रत्री थापाको भनाइ छ । उनले प्रदेशमा दुई /तीनवटा मन्त्री भए काम चल्ने अवस्थामा धेरै मन्त्री आवश्यक नरहेका र केन्द्रमा सरकार बदल्ने वित्तिकै प्रदेशको मुख्यमन्त्री फेर्ने काम रोक्न आवश्यक रहेको बताए ।

सगरमाथा आरोहणका लागि बाटो बनाउन ‘आइसफल डाक्टर’, विदेशी आरोहीबाट ६०० अमेरिकी डलर लिने

काठमाडौं वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले जनाएको छ । एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताए । उनका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढेको छ । टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित ८ जना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गरेका छन् । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपिसिसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भर्‍याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ । परम्परागत विधि र साइत हेर्ने परम्परा सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ । एसपिसिसीका अनुसार आरोहण मार्ग निर्माण कार्य सुरु गर्न बौद्ध परम्पराअनुसार विशेष पूजा गरिन्छ । यस क्रममा स्थानीय लामा गुरुहरूले पूजाआजा गरी पर्वत देवतालाई खुसी पार्ने प्रयास गर्छन् । पर्वत देवताको कृपा प्राप्त गरेपछि मात्र आइसफल क्षेत्रजस्तो जोखिमयुक्त क्षेत्रमा पाइला राख्ने चलन रहेको अध्यक्ष शेर्पाले बताए । मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ । दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ । आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ । सगरमाथा क्षेत्रमा आरोहण मार्ग निर्माण तथा मर्मतका लागि एसपिसिसीले विदेशी आरोहीहरूबाट शुल्क लिँदै आएको छ । प्रत्येक विदेशी आरोहीबाट ६०० अमेरिकी डलर लिने व्यवस्था छ । यो शुल्क मार्ग निर्माण, मर्मत तथा वातावरणीय सरसफाइका लागि प्रयोग गरिन्छ । एसपिसिसीले आरोहण अनुमति जाँच गर्नाका साथै आधार शिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने यी ‘आइसफल डाक्टर’हरूले जोखिम मोलेर हिउँको पुल बनाउने, आरोहीहरूको सुरक्षाका लागि मार्ग पहिल्याउने र अत्यधिक जोखिमपूर्ण क्षेत्रमा आधारभूत संरचना तयार गर्ने काम गर्छन् । ‘उनीहरूबिना आरोहीहरूको सफल यात्रा कल्पनै गर्न सकिँदैन । हामीले बाटो बनाउने र सरसफाइ गर्ने सबै काम गर्छौं । पर्यटन मन्त्रालयसँगको सम्झौताअनुसार हाम्रा दायित्व पूरा गरिरहेका छौँ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही शुल्क हो,’ एसपिसिसी अध्यक्ष शेर्पाले भने । सगरमाथा आरोहणको तयारी तीव्र वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ । आरोहीहरूको सुविधाका लागि आवश्यक सबै कार्य अघि बढाइएको छ भने सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । वातावरण संरक्षणको दृष्टिकोणले समेत एसपिसिसीको टोली सक्रिय रहेको छ । यस वर्ष आरोहण मौसममा कति आरोहीहरू सगरमाथा चढ्नेछन् भन्ने विषयमा अझै निश्चित तथ्याङ्क आइसकेको छैन तर विगतका वर्षहरूसँग तुलना गर्दा ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गरिएको छ । ‘यस वर्ष पनि सगरमाथा आरोहणमा ठूला व्यावसायिक टोलीहरू आउने सम्भावना छ । हामीले आधार शिविरमा पूर्वाधार निर्माण तथा आरोहीहरूको सुरक्षाका लागि आवश्यक तयारी गरिरहेका छौँ । हिमाली पर्यटन नेपालको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण भएकाले हामी सबैसँग समन्वय गरेर सुरक्षित आरोहणको वातावरण सिर्जना गर्नेछौँ,’ अध्यक्ष शेर्पाले भने । यस्तै, पर्यटन व्यवसायी बलबहादुर दर्नाल मौसम अनुकूल रह्यो भने यो सिजन निकै सफल हुने बताउँछन् । ‘हामी यो वर्ष पनि ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गर्दैछौँ । सुरक्षित आरोहणका लागि मार्ग निर्माण, सरसफाइ, वातावरण संरक्षण तथा आवश्यक तयारी गरिरहेका छौँ । यो सिजन पनि सफल हुने विश्वास छ,’ उनले भने । सगरमाथा आरोहणमा संलग्न सबै निकायहरू पूर्ण रूपमा तयारीमा जुटेका छन् । आरोहीहरूको सुविधाका लागि आधार शिविरदेखि माथिल्लो भागसम्म आवश्यक उपकरण, खाद्य सामग्री र सञ्चार सुविधाहरू उपलब्ध गराइँदैछ । स्थानीय शेर्पा गाइडहरूलाई विशेष तालिम प्रदान गरिएको छ भने हिमाली वातावरणको दीर्घकालीन संरक्षणका लागि विभिन्न नीति तथा कार्यान्वयन योजनाहरू अघि सारिएको छ ।