विकासन्युज

ट्रम्पले आयातमा कडाइ गरेपछि दक्षिण कोरियाका व्यापारी प्रभावित, सरकारसँग गएर गुहारे

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी इस्पात र एल्युमिनियममा लगाइएको भन्सार शुल्कबाट सिओल प्रभावित भएपछि दक्षिण कोरियाले ‘अनुचित व्यापार अभ्यासहरू’ अझ बढी सामान्य हुने अपेक्षा गरेको व्यापार, उद्योग र ऊर्जामन्त्री आन डक–गेउनले बिहीबार बताएका छन् । उनले यसले दृढ कारबाही आवश्यक पर्ने बताएका हुन् । सिओलको प्रयासका बावजुद कुनै छुट नदिइकन यी धातुहरूमा अमेरिकाको तीव्र २५ प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागू भएको छ । गत वर्ष दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकामा तीन अर्ब २० करोड अर्ब डलरको इस्पात ढुवानी गरेको थियो । यो अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनको तथ्याङ्कअनुसार समग्रमा छैटौँ स्थानमा रहेको थियो । मुलुकको ६० करोड डलरको एल्युमिनियम निर्यातले देशलाई अमेरिकी आपूर्तिकर्ताहरूमध्ये चौथो स्थानमा राखेको थियो । ‘अनुचित व्यापार अभ्यासहरू बारम्बार हुने अपेक्षा गरिएको छ र सरकारले दृढतापूर्वक प्रतिक्रिया दिनेछ,’ मन्त्री आनले प्रमुख इस्पात कम्पनीहरूसँगको बैठकमा भने, ‘हामीले डम्पिङ र इस्पात आयातको अनुगमनसहित व्यापार रक्षा प्रणालीहरू सुदृढ गर्न काम गरिरहेका छौँ ।’ ‘उच्च स्तरको अनिश्चिततालाई ध्यानमा राख्दै, म तपाईंलाई उच्च–मूल्य–थपिएका उत्पादनहरूमा केन्द्रित अग्रगामी लगानी र निर्यात रणनीतिहरू विचार गर्न आग्रह गर्दछु, आनले कम्पनीहरूलाई आफ्ना रणनीतिहरू परिवर्तन गर्न आग्रह गर्दै भने, ‘सरकारले पनि यस दिशामा आफ्नो समर्थन केन्द्रित गर्नेछ ।’ दक्षिण कोरियाको व्यापार मन्त्रालयले ‘अनुचित इस्पात आयात र व्यापार मुद्दाहरूलाई सम्बोधन गर्ने’ रणनीति मार्चमा विकास गरी अन्तिम रूप दिइने बताएको छ । सिओलका अर्का व्यापारमन्त्री बिहीबार वासिङ्टन गए र उनले ‘देशमाथिको आर्थिक प्रतिबन्धहरू कम गर्न वार्ता गर्ने’ बताए । ‘दक्षिण कोरिया संयुक्त राज्य अमेरिकाको आर्थिक सुरक्षा नीतिहरूसँग सबैभन्दा संलग्न साझेदारहरू मध्ये एक हो भन्ने कुरामा जोड दिने योजना थियो, चेओङ इन–क्योले प्रस्थान गर्नुअघि बिहीबार पत्रकारहरूलाई भने । गत हप्ता ट्रम्पले अन्य देशहरूसँगै दक्षिण कोरियालाई ‘अनुचित’ अभ्यासहरूका लागि आलोचना गर्दै सियोलको ‘औसत भन्सार शुल्क अमेरिकी आयात करको तुलनामा चार गुणा बढी’ रहेको बताएका थिए । उनले वासिङ्टनले आणविक–सशस्त्र उत्तर कोरियाविरुद्ध आंशिक रूपमा सुरक्षा दिन त्यहाँ तैनाथ अमेरिकी सैनिकहरूको दशौँ हजारको उल्लेख गर्दै दक्षिण कोरियालाई ‘सैन्य रूपमा यति धेरै मद्दत’ दिएको भनेर गुनासो गरे । ट्रम्पको सम्बोधनको केही घण्टापछि, दक्षिण कोरियाको व्यापार मन्त्रालयले द्विपक्षीय मुक्त–व्यापार सम्झौताका कारणले ‘संयुक्त राज्य अमेरिकाबाट दक्षिण कोरियामा आयातमा भन्सार शुल्क प्रभावकारी रूपमा शून्य प्रतिशतको नजिक छ’ शीर्षकसहितको विज्ञप्ति जारी गरेको थियो । वासिङ्टनका अनुसार सन् २०२४ मा दक्षिण कोरियामा अमेरिकी निर्यात ६५ अर्ब ५० करोड डलर थियो । यो अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले बढेको छ भने आयात १३.३ प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ५० करोड अर्ब डलर पुगेको छ । कार र अटोमोबाइल पाट्र्सले संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको निर्यातको लगभग एक तिहाइ हिस्सा बनाउँछ भने पेट्रोलियम र धातुहरू देशबाट सबैभन्दा ठूलो आयात हुन् । एजेन्सी

होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

काठमाडौं । काठमाडौं उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ । उनले भने, ‘हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर गाडी रोकेर राखिन्छ ।’ त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उनले बताए । प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ । त्यसैगरी काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ । आज काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिननै होली खेलिन्छ ।

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौं ।  राजधानीमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।  सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ । केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो । रासस

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

काठमाडौं । मंगलबार भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको १९ मा गर्ने भनिएको विशेष महाधिवेशन तयारी नपुग्ने निष्कर्ष निकालिएको छ । काठमाडौंमा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्रि केसीले राष्ट्रिय समन्वय समितिहरुको अधिवेशन नगरी महाधिवेशन गर्न नसकिने र मे महिनामा विशेष महाधिवेशन गर्न तयारी पनि नपुग्ने भएकाले आगामी अक्टोबरमा तय भएको महाधिवेशनलाई नै विशेष अधिवेशन बनाएर जान सकिने सुझाव आएको बताए । मंगलबारको बैठकमा सहभागी सबै पुर्वअध्यक्षहरुले, राष्ट्रिय समन्वय समितिहरुका प्रमुख र पदाधिकारीहरुले संस्थाको नियमित महाधिवेशन र विशेष महाधिवेशन एकसाथ गर्नेगरी तयारी गर्नुपर्ने सुझाव दिएको पनि अध्यक्ष केसीले जानकारी दिए । सर्वोच्च अदालतको दुवै फैसलालाई सम्मान गर्दै कार्यान्वयन गर्न र परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्न सबै जिम्मेवार हुन र आवश्यक सबै काम वर्तमान कार्यसमितिले गर्नुपर्ने सुझाव आएको पनि अध्यक्ष केसीले बताए । गैरआवासीय नेपाली संघको एकताको अधिवेशन गर्न गठित उच्चस्तरिय समितिले तोकेको विशेष महाधिवेशनको मे १९ को मिति सार्न सर्वोच्च अदालतसँग छलफल गर्न लागिएको पनि अध्यक्ष केसीले जानकारी दिए । सर्वोच्च अदालतको नियमावली २०७४ को नियम १३४ अनुसार फैसला कार्यन्वयन गर्ने समयावधि सार्न निवेदन दिन सकिने व्यवस्था भएकोले मे १९ मा तोकिएको विशेष अधिवेशन अक्टोबरमा सार्न गृहकार्य थालेको अध्यक्ष केसीले बताए । अध्यक्ष केसीले अक्टोबर अगाडी मे महिनामा महाधिवेशन गर्दा संस्थाको विधानले पनि नदिने खुलासा गरे । विधानमा राष्ट्रिय समन्वय समितिहरुको अधिवेशन गरेर प्रतिनिधिहरु निर्वाचीत गरेर पठाएपछि मात्र महाधिवेशनको व्यवस्था गरिएको बताए । राष्ट्रिय समन्वय समितिहरुको अधिवेशन आगामी जुलाई महिनामा हुने अहिले त्यसको लागि सदस्यता वितरण र नविकरणको प्रक्रिया सुरु भएको अध्यक्ष केसीले बताए । मंगलबारको भर्चुअल बैठकले एकताको विशेष महाधिवेशन र नियमित महाधिवेशन एकसाथ गर्नेगरी तयारी गर्न कार्यसमितिलाई म्याण्डेट दिएको जानकारी दिए । सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम १३४ मा सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्न समयावधि बढाउन निवेदन दिनसक्ने व्यवस्था छ । यसै नियमलाई टेकेर गैरआवासीय नेपाली संघले महान्याधिवक्तामार्फत सर्वोच्च अदालतका मुख्य रजिस्टारलाई फैसला कार्यन्वयन गर्न समयावधि बढाउन निवेदन दिने भएको हो । निवेदनलाई इजलासमा प्रश्तुत गरेर मे महिनाको समयलाई अक्टोबर महिनासम्म सार्न संघ अघि सरेको छ । गैरआवासीय नेपाली संघले १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । वर्तमान कार्यसमिति वैध र अवैध भन्दै परेको फरक-फरक मुद्दामा सर्वोच्च अदालतले फरक-फरक फैसला दिएपछि गैरआवासीय नेपाली संघमा निरन्तर विवाद र किचलो छ ।  

मर्सिडिजले चीनको हेसेईसँग मिलेर स्मार्ट कार बनाउने

काठमाडौं । मर्सिडिज बेन्जले चीनको हेसेईको लिडारसँग मिली विश्वव्यापी बजारका लागि स्मार्ट ड्राइभिङ कार बनाउने भएको छ । विदेशी कार निर्माताले चीन बाहिर बिक्री हुने मोडेलहरूमा यस्तो चिनियाँ प्रविधि प्रयोग गर्ने निर्णय गरेको यो यो पहिलो पटक हो । मर्सिडिज बेन्जले हेसेईका लिडार सेन्सरहरू आफ्ना नयाँ स्मार्ट कारहरूमा जडान गर्ने भएको हो । यसले मर्सिडिजका कारहरूलाई थप स्मार्ट र सुरक्षित बनाउनेछ । उदाहरणका लागि यदि कार अटोमेटिक ब्रेकिङ सिस्टम वा लेन परिवर्तन सहायता जस्ता सुविधाहरू प्रयोग गर्छ भने हेसेईको लिडारले कारलाई वरपरको वातावरण तुरुन्तै बुझ्न मदत गर्छ । मर्सिडिजका केही मोडेलहरूमा पहिले नै स्मार्ट ड्राइभिङ सुविधा छन्, तर अहिले चीनको हेसेईसँग मिलेर कम लागतमा अझ प्रभावकारी लिडार प्रविधि प्रयोग गर्ने तयारीमा छ । स्रोतका अनुसार मर्सिडिजले कानुनी र भू-राजनीतिक जोखिमहरूका कारण महिनौंसम्म निर्णयमा छलफल गरेको थियो । अन्ततः मर्सिडिजले कम लागत र ठूलो मात्रामा उत्पादन गर्ने क्षमताका कारण चीनको सबैभन्दा ठूलो लिडार निर्माता हेसेईलाई रोजेको हो । हेसेई जसको प्रतिस्पर्धीमा अमेरिकी कम्पनी लुमिनार पनि पर्छ । यस कम्पनीले सोमबार ’विशेष बहुवर्षीय’ सम्झौतामार्फत आफ्ना लिडार उत्पादनहरू एक अग्रणी युरोपेली अटोमेकरलाई आपूर्ति गर्ने घोषणा गरेको छ तर नाम भने खुलाएको छैन । लिडार र व्यावसायीक निर्णय लिडारले लेजरको प्रयोग गर्छ । यो सेन्सर धेरैजसो स्वचालित प्रणालीहरूको कम्पोनेन्ट हो, जुन अटोमेकरहरूले विकास गरिरहेका छन् । हेसेईको लिडार सेन्सर स्वचालित वा स्मार्ट कारहरूमा प्रयोग गरिन्छ, जसले कारको वरपरको क्षेत्रको त्रि-आयामिक (थ्रीडी) नक्सा बनाउँछ, जसले कारलाई बाधा, बाटो, गाडी, पैदलयात्री, र अन्य वस्तुहरू चिन्ने र जोगिन मद्दत गर्छ । हेसेईका प्रमुख वित्तीय अधिकारी एन्ड्रयू फ्यानले मंगलबार यो साझेदारद्वारा गरिएको व्यावसायिक निर्णय भएको बताए । तर उनले कम्पनीको नाम खुलाएनन् । उनका अनुसार युरोपेली निर्माताहरूले चीनमा बिक्री हुने आफ्ना मोडेलहरूका लागि हेसेईलाई लिडार आपूर्तिकर्ताका रूपमा प्रयोग गरेका छन् । फ्यानका अनुसार हेसेईले चीनमा दुई उत्पादन लाइनहरू विस्तार गरिरहेको छ । बढ्दो मागलाई मध्यनजर गरी यस वर्ष वार्षिक रूपमा २० लाखभन्दा बढी युनिट उत्पादन क्षमता हासिल गर्न खोजिरहेको छ । चीनको अत्यधिक प्रतिस्पर्धात्मक बजारमा लिडारको माग बढ्दैछ, किनकि अटोमेकरहरूले थप स्मार्ट सुविधाहरू किफायती मोडेलहरूमा प्रदान गरिरहेका छन् । सोमबार लिपमोटरले आफ्नो बीटेन एसयूभीको बिक्री सुरु गरेको छ । १७ हजार ९५० डलरमा उन्नत स्मार्ट ड्राइभिङ सुविधा छ । फ्यानका अनुसार उक्त कारमा हेसेईको एटीएक्स लिडार जडान गरिएको छ, जसको मूल्य करिब २०० डलर प्रति इकाइ छ, जुन सुरक्षा बेल्ट र एयरब्यागभन्दा सस्तो छ। (एजेन्सीहरूको सहयोगमा) हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै  

वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भीड

काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । बिहीबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

काठमाडौंमा ड्रोनबाट हुँदैछ निगरानी, ९० ठाउँमा चेकजाँच

काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यनी २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकेनन् । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उनी गाउँ फर्किए। यही क्षण उनका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उनी सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल भएका छन् । न्यौपानेले हाल मासिक करिब रु एक लाखसम्म कमाई हुने गरेको सुनाए । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उनी जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उनी अचेल निकै हर्षित छन् । ‘दुई छोराछोरीको पठनपाठनदेखि पवरिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु’, उनले भने । हाल उनले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीएका थिए । आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाएका छन् । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताए । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्छन् । ‘मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु । त्यही मूत्र तरकारीमा प्रयोग गर्छु’, उनले भने, ‘यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।’ माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गरेका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहेको बताए । उनी भन्छन्, ‘मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि ।’ उनले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताए । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाए । चारवटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती गरिरहनुभएका उनले अन्तरबालीका रूपमा बन्दा पनि लगाउँछन् । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताए । यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहनुभएको छ । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ । यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उनको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उनको आग्रह छ ।  रासस