विकासन्युज

कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहने जनाएको छ । विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

१ लाख पर्यटक आउने छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

काठमाडौं । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । समुन्द्री सतहबाट २ हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा पर्यटकीय गतिविधि बढाउन र यहाँका स्थानीयवासीको आर्थिकस्तर उकास्ने उद्देश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो । आँबुखैरेनी गाउँपालिका-५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक १ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यहाँ आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरी धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेर काम अगाडि बढाइएको जानकारी दिए । ‘हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ,’ उनले भने, ‘गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकास योजना अगाडि बढाएका छौँ । यसमा सङ्घीय, प्रदेश, स्थानीय तहको सरकारको साझेदारी, आमजनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरेका छौँ ।’ अध्यक्ष चुमानले छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल टावर नभएका जस्ता समस्या क्रमशः निराकरण हुँदै जाने र सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको बताए । यस्तै, खानेपानीको बजेट स्रोत सुनिश्चित भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । अध्यक्ष चुमानले भने, ‘वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन डिपिआर भइरहेको छ । त्यो काम सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।’ खानेपानीका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै, छिम्केश्वरीमा टेलिकमको टावर नहुँदा सञ्चार सम्पर्कमा समस्या हुँदै आएकाले त्यसको समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग र विद्युत् पहुँच नपुग्दा सोलारबाट काम चलाउनुपर्ने अवस्था अन्त्यका लागि विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ । यहाँ पर्यटकीय क्रियाकलाप बढाउन मन्दिर नजिकै बूढीमाईमा ध्यानगृह बनाउने लक्ष्यसमेत राखिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले यी सबै योजना सम्पन्न भएमा हाल वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यो सङ्ख्या निकै बढ्ने विश्वास व्यक्त गरे । यहाँ रहेको छिम्केश्वरी मन्दिर गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीको पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यसै क्षेत्रमा अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । यसका साथै यस स्थानबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछाप्च्छ्रे लगायत हिमाल हेर्न सकिन्छ । यस मन्दिरमा पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार ७०६ रुपैयाँको लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न गरिएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ३५ लाख ९९ हजार १४१ रुपैयाँको लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न गरिएको थियो ।

गर्मी बढेसँगै नागरिक चिन्तित, उखु जुस व्यापारी उत्साहित

काठमाडौं । तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन् । गौशाला-५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउँछन् । ‘अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ,’ बर्दिबासचोक र आसपास ठेलामा घुमन्ते व्यापार गर्दै आएका उनले भने, ‘मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन् । चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेच्ने गरेको छु ।’ धेरै जाँगर र आँट चल्ने युवा उमेर विदेशमा बिताएका ४० वर्षीय साबिरले उखुको जुस बेच्न थालेको एक वर्षमात्र भयो । यसै अवधिमा जहान परिवार, चार छोराछोरीको शिक्षादीक्षासहित विदेश जाँदा लागेको ३ लाख रुपैयाँभन्दा बढी ऋण तिरेको उनले सुनाए । ‘गर्नेलाई त यही ठाउँ रहेछ नि ! के गर्नु पहिले विदेश गएर के के न गरौँला भन्ने लाग्यो, तीनपटक गरेर १२ वर्ष मलेसिया र कत्तारमा बिताइयो । ऋणको भारी बोकियो,’ साबिर भन्छन्, ‘उता हण्डरठक्कर खाएपछि, ठगिएपछि बल्ल यहाँ केही गर्ने होस खुल्यो । अहिले यहाँको मेहनतबाट प्राप्त उपलब्धिले पहिले नै किन बुद्धि आएन छ भन्ने सोच्छु । राम्रै भइरहेको छ ।’ उखुको जुसको व्यापारबाट महिनामा करिब ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनको भनाइ छ । बर्दिबास चोकबजार क्षेत्रमा हाल साबिरजस्ता १५/१६ जनाले यस्तै व्यापर गर्न थालेका छन् । जसमा विदेश गएर फर्किएकाहरू नै बढी छन् । तीमध्येका एक हुन् धनुषाको मिथिला नगरपालिकाका पञ्चलाल साह । बर्दिबासचोकमा जुस बेच्ने गरेका उनले भने, ‘दलालको पछि लागेर विदेश गइयो, ऋणले थिच्यो, उता भनेको काम पाइएन । यहाँ फर्किएपछि यही काम गरिरहेको छु । अबभने आफ्नो ठाउँ छोडेर कतै जाने सोच छैन ।’ पछिल्ला २ वर्षदेखि यही काम गरिरहेको बताउने साहले ६ जनाको परिवारको लालनपालनसहित मासिक ३० हजार रुपैयाँसम्म बचाइने गरेको बताए । आफ्नो ठाउँमा सानो लगानीमा सुरु गर्न सकिने उद्यम छाडेर विदेश धाएको विगत सम्झेर अचेल पछुतो मात्रै लाग्ने गरेको उनको भनाइ छ । गर्मी बढेसँगै बर्दिबासमात्र नभएर जिल्लाका गौशाला, रामगोपालपुर, औरही र सदरमुकाम जलेश्वरमा पनि उखुको जुसको व्यापार फस्टाउँदो छ । यस्तो व्यापारमा लागेकाहरू आफ्नो गाउँठाउँभन्दा छिमेकका बजारमा रमाउने गरेका छन् । ‘छन् त हाम्रै ईश्वरपुर र लालबन्दीमा पनि जुसको राम्रो व्यापार छ तर आफूलाई चिनेको क्षेत्रमा भन्दा अलि पर काम गर्दा खुलेर गर्न पाइँदो रहेछ,’ सर्लाहीको ईश्वरपुर नगरपालिकाको श्रीनगरका २१ वर्षीय विक्कीकुमार साह भन्छन्, ‘आफ्नो ठाउँमा सघाउनेभन्दा टिप्पणी गर्ने बढी हुन्छन्, त्यसैले घरबाट १५/१६ किलोमिटर यता बर्दिबास रोजेको हुँ ।’ विदेश जान राहदानी ठिक्क पारिसकेका उहाँ कसैले ऋण नपत्याएपछि यस काममा लागेको र हाल यसैमा सन्तुष्ट रहेको सुनाउँछन् । ‘मलाई कसैले ऋण नपत्याएर ठिकै भएछ, पत्याएको भए त खै कुन देशमा कस्तो अवस्थामा हुन्थे १ अचेल आफ्नै देशमा रमाइरहेको छु । ऋणको भारले थिचिनु परेको छैन, आम्दानी पनि ठिकै छ,’ साहले खुसी व्यक्त गरे । औरही बजारमा व्यापार गर्ने भङ्गाहा–३ का समिम कवारी पनि गर्मी बढेसँगै व्यापारसमेत बढ्ने भन्दै खुसी छन् । ‘उखुको व्यापार राम्रै हुन्छ तर गर्मी बढेपछि झनै माग बढ्छ । गर्मी भोग्दा त समस्या नै हुन्छ तर व्यापार पनि हुने भएकाले हाम्रा लागि त यो अवसरका रूपमा आउँछ । यसबाट हुने कमाईसँगै परिवारसँग बसेर खुसी साट्न पाउँला निकै रमाइलो लाग्छ,’ उनले भने । ठेला र मोटर जडानमा रु दुई लाख जति लगानी गरेमा आफ्नै व्यापार गर्न पाइने भन्दै यसमा लागेका प्रायः सबैजसो व्यापारीहरू खुसी व्यक्त गर्छन् । त्यसैमा उधारोमा उखु किनेर जुसबाट भएको आम्दानीबाट त्यसको मूल्य चुक्ता गर्न पाइने हुँदा पनि यो व्यवसाय थप सहज हुने गरेको छ । यहाँ १ हजार रुपैयाँमा प्रतिक्विन्टलमा उखु पाइने गरेको छ । प्रतिक्विन्टल १०० रुपैयाँ उखु छिल्न खर्च हुने गरेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चा पदार्थ (उखु) खोज्न भौँतारिनु नपर्ने भएकाले पनि आफूहरू सहज हुने गरेको व्यापारीहरूको भनाइ छ । उखुको रस स्वास्थ्यका लागि पनि गुणकारी र कुनै अखाद्य वस्तुको मिसावट नहुने भएकाले पनि गर्मीयाममा यसको माग बढ्ने गरेको छ । बजारमा पाइने अन्य पेयपदार्थभन्दा उखुको जुसको स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने हुँदा तराई मधेसमा उपभोक्ताको रोजाइमा पर्ने गरेको बर्दिबास नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान बताउँछन् ।

समयमा सम्पन्न नहुँदा कष्टपूर्ण यात्रा, दिउँसै लाइट बाल्नुपर्ने, यात्रु भोकभोकै बस्नुपर्ने

काठमाडौं । नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड-खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो । यात्रु जीवन ढकालले भने, ‘दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न ४ घण्टा लाग्यो ।’ दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जङ्गल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने सडकको दुर्गति देखेर गाडी चालकहरू पनि हैरान छन् । ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ । चालक वसन्त खनाल भन्छन्, ‘१४ किलोमिटरको बाटो पार गर्न २÷३ घण्टा लाग्छ । लगातार धुलो खेप्नुपर्ने, गाडी हल्लिने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । प्रायः सङ्घीय राजधानी काठमाडौंबाट आउने र मुलुकका अन्य स्थानबाट काठमाडौं जाने सवारीसाधन मध्यरातमा यहाँ पुग्दछन् । यो समयमा यात्रु र चालकले भोग्नुपर्ने सास्ती थप कष्ट पूर्ण हुने गरेको छ । बाटो नदेखिने गरी उड्ने धुलोका कारण दुर्घटनाको जोखिम पनि उस्तै छ ।’ इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामी पनि समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको सुनाए । ‘दाउन्ने खण्डको सडक साँघुरो, उकालो–ओरालो, घुमाउरो मोड, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौँ जाम हुन्छ,’ उनले भने, ‘भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न पनि समय लाग्ने हुँदा जामको समस्या बढी हुने गरेको छ । हामीलाई पनि ट्राफिक व्यवस्थापनमा उत्तिकै समस्या छ ।’ यस खण्डमा हाल सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् । एकतर्फी बाटोमा मालवाहक सवारीसाधन बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको प्रहरी नायब निरीक्षक तनगामीले बताए । ‘नारायणगढ बुटवल सडकखण्डको बढी जोखिमपूर्ण मानिने दाउन्ने क्षेत्रमा पनि घ्यू खोला र ८३ मोड बढी दुर्घटना हुने क्षेत्र मानिन्छन् । हिजोआज यो खण्डमा सानोठूला सवारी दुर्घटना हुने क्रम पनि बढेको छ,’ उनले भने । नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ । कल्भर्ट तथा बाँकी पुलको निर्माण, १३ स्थानमा बेस तथा सब–बेसका कामहरू भइरहेका छन् । दाउन्ने क्षेत्र पहाड भएकाले कटानको काम चलिरहेकाले यात्रा कष्टपूर्ण नै छ । योजनाअन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति ५७.७ प्रतिशत रहेको उनले जानकारी दिए । निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले सवारी आवागमनमा अवरोध कम गर्ने गरी निर्माण कार्य गरिएको दाबी गरे । ‘हाल सडक विस्तारका लागि ६५० भन्दा बढी कामदार परिचालन गरेर काम भइरहेको छ । सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने क्षेत्रको सबैभन्दा कठिन पहाडी चट्टान कटान गसिकेका छौँ,’ उनले भने । उनका अनुसार नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । १७ अर्ब रुपैयाँ लागतमा निर्माण सुरु भएको यस आयोजनामा समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ । तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ ।

मनाङको सदरमुकाम चामेमा बस पुग्यो, नयाँ वर्षदेखि नियमित सञ्चालन गर्ने

काठमाडौं । बेँसीसहर-चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्‍याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो । सफल रूपमा बस चामे पुगेपछि मनाङबासीमा खुसी छाएको छ । आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्‍याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए। उनका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो । ‘सुरुमा यात्रु लिएर मनाङ जाने प्रस्ताव आउँदा जाने कि नजाने अन्योल थियो । मनाङमा निर्माणाधीन मनाङ-मर्स्याङ्दी जलविद्युत्का सामान लिएर १० चक्के ट्रकसमेत सहज रूपमा पुग्ने गरेका पाएपछि यात्रुसहित बस लैजान सकिन्छ भन्ने लागेर पठाका थियौँ । जाँदाआउँदा कुनै समस्या भएन,’ उनले भने । घिमिरेका अनुसार चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पुर्‍याएर फर्किएका छन् । मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उनले बताए । सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङबासीको साथ पाए आफूले नियमित रूपमा बेँसीसहर-चामे खण्डमा यात्रुवाहक बस सञ्चालन गर्न सकिने धारणा राखे । ‘हामीले सडकको अवस्था हेरेका छौँ । अहिले परीक्षणका क्रममा अनुभव पनि भयो । अब नियमित बस सञ्चालन गर्न समस्या छैन, अनुमति पाए बस सञ्चालन गर्न सकिन्छ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयले जिल्लामा यात्रुवाहक बस सञ्चालनको तयारी थालेको छ । गत फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वयात्मक बैठकले बेँसीसहरबाट चामेसम्म आगामी वैशाख १ गते नयाँ वर्षदेखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । यसका लागि स्थानीय प्रशासनले डुम्रे-बेँसीसहर-चामे सडक आयोजना र अन्य सरोकार भएका निकायसँग छलफल गरी लाई आवश्यक निर्देशन जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । डुम्रे-बेँसीसहर-चामे आयोजनाका प्रमुख इञ्जिनीयर सतिश सुवेदीले सडकमा ट्राफिक सङ्केत राख्न प्रशासनबाट अनुरोध आएपछि आवश्यक सङ्केत निर्माणका लागि ठेकेदारलाई काममा लगाइएको बताउँदै केही समयमा ती सङ्केत तयार भई सडक छेउमा गाडिने जानकारी दिए । डेढ दशकअघि मोटर सञ्चालन हुन थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन् । बेँसीसहरबाट चामेसम्मको करिब ६४ किलोमिटर सडकमा यात्रा गर्न अहिले बोलेरोले प्रतियात्रु १ हजार २५० रुपैयाँ भाडा लिने गर्दछन् । ५ जना यात्रु अट्ने जीपले १०/१५ जनासम्म यात्रु र मालसामन बोक्दा यात्रा जोखिमपूर्ण बन्ने गरेको स्थानीय बताउँछन् । बस सञ्चालनमा ल्याउन सकिएमा स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । साथै महँगो भाडाको मारमा परेका स्थानीय र पर्यटकलाई आर्थिक भार कम हुनेछ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको ७ किलोमिटर सडक कालोपत्र भएको छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकामा साँघुरा घुम्तीमा मर्मत गरी बस सञ्चालनको तयारी गरिएको मनाङ प्रशासनले जनाएको छ ।

दोस्रो चौमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि, बैंकिङ ६.६ प्रतिशत र घरजग्गा ३.१ प्रतिशतले बढ्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो । दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजनपछिको जिडिपी वृद्धिदर भने २.२ प्रतिशत रहेको कार्यालयले जनाएको छ । ‘दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्,’ कार्यालयले भनेको छ, ‘खासगरी यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।’ मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये दुईओटामा ऋणात्मक वृद्धिको अनुमान गरिएको छ । विद्युत् तथा ग्यास क्षेत्रमा ४.८ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा २.७ प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ । मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४.२ प्रतिशत वृद्धिदर रहेको छ भने खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ । यसैगरी, निर्माण सामग्रीहरूको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । उत्पादनमूलक उद्योगको वृद्धिदर ७.४ प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ६.६ प्रतिशत हुने अनुमान गरिएको छ । व्यापार क्षेत्रको वृद्धिदर ६.१ र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । मुलुकको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्‍याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । ‘धानको उत्पादनमा भएको वृद्धिका साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ,’ सार्वजनिक विवरणमा भनिएको छ । अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण केही विस्तार देखिएको जनाइएको छ । यस्तै, औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ । दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा २.२, स्वास्थ्य ३.१, घरजग्गा कारोबार ३.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

८ महिनामा ८ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

काठमाडौं । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ८ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा १ प्रतिशतले कम हो । कार्यालयलाई ८ अर्ब ४० करोड १७ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकोमा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ । तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी-व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।

कुलमानले ‘फेक प्रोफिट’ देखाएको भन्दै श्वेतपत्र जारी गर्ने प्राधिकरणको निर्णय, पीपीए पनि खुल्ला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्य पदभार ग्रहण गरेकै दिन सञ्चालक समितिको बैठक बसेर मुख्य दुइटा निर्णय गरेको बुझिएको छ । प्राधिकरण स्रोतका अनुसार अबको एक महिनाभित्र प्राधिकरणले श्वेतपत्र जारी गर्ने निर्णय भएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले फेक वित्तीय विवरण तयार पार्न लगाएर देखाएर आम्दानी र नाफा बढी देखाएको भन्दै अब सबै विवरण छर्लङ्ग पार्न श्वेतपत्र जारी गर्ने निर्णय बैठकले गरेको हो । यस्तै, नदी प्रवाहमा आधारित (आरओआर)मा जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय बैठकले गरेको प्राधिकरण स्रोतको भनाइ छ ।