एनआईसी एशिया बैंकको सहयोगमा सिद्धार्थ माविको पुस्तकालय भवनको उद्घाटन
काठमाडौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय भवन समुद्घाटन गरेको छ । विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैंकको सहयोगमा विद्यालयसँगको सहकार्यमा पुस्तकालय भवन निर्माण गरिएको हो । चैत १२ गते सम्पन्न उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, बैंकका मधेश प्रदेश प्रमुख अमित केसी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । पुस्तकालय सञ्चालनमा आएसँगै झन्डै १५०० विद्यार्थी र शिक्षकहरूले आधुनिक पुस्तकालय सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले शैक्षिक गुणस्तर सुधार्न पुस्तकालयको महत्वलाई प्राथमिकतामा राख्दै आएको छ । यसअघि बैंकले बागमती प्रदेशको चितवन जिल्लाको राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपियामा अवस्थित पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय सञ्चालनमा आईसकेका छन् । एनआईसी एशिया बैंकले देशभरका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ। बैंकका अनुसार, ११,००० भन्दा बढी विद्यार्थीहरूले यी पुस्तकालय सुविधाबाट प्रत्यक्ष रूपमा लाभ लिनेछन् । पुस्तकालय स्थापना कार्यक्रममार्फत विद्यार्थीहरूलाई ज्ञानमा पहुँच पुर्याई उनीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने र व्यक्तित्व विकासमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो कर्मचारीको तलब, यस्तो भयो सहमति
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ । विगत चार दिनदेखि आन्दोलतरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग आज सहमति गर्दै कम्पनीले सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो । कम्पनीको प्रतिबद्धता अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीको तलब तथा अतिरिक्त सुविधाहरू समान हुने छन् । सहमति अनुसार एकरूपता कायम गरिएको सेवा सुविधा गएको फागुन महिनादेखिनै लागू हुने छ । दुई पक्षबीच आज भएको सहमतिमा लेखिएको छ, ‘आयोजना सञ्चालक समितिको आगामी बस्ने पहिलो बैठकमा मिति २०८१ फागुन महिनादेखि कार्यान्वयन हुनेगरी २०८१ चैत महिनाको तलबमा समावेश गराउन सहमति भयो ।’ यसअघि कम्पनीले जिल्लाबाहिरकालाई ७५ र दोलखाकालाई ५० प्रतिशत सुविधा दिँदै आएको थियो । यो सहमति कार्यान्वयन भएपछि उक्त सेवामा एकरूपता आउने भएको छ । त्यसबाट जिल्लावासी कर्मचारीहरूको तलब समेत बढ्ने निश्चित भएको छ । कर्मचारीहरूले गत असोज ६ गते नै आयोजना व्यवस्थापनसँग सहमति गरी गत माघ मसान्तसम्म यस्तो सुविधामा एकरूपता गर्ने सहमति गरेका थिए । तर आयोजनाले सहमति कार्यान्वयनमा ढिलाइ गरेपछि चैत १० गतेदेखि उनीहरू आन्दोलित बनेका थिए । आज भएको वार्ता तथा छलफलमा यसअघिको सहमति समयमै कार्यान्वयन गर्न नसकिएकोमा आयोजनाले माफी मागेको छ । सहमति पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतम, आयोजना प्रमुख मनोज ताम्राकार, केन्द्र प्रमुख पूर्णगोपाल रञ्जित, अर्थ महाशाखा प्रमुख सुरेश राज खकुरेल, प्रशासन महाशाखा प्रमुख अनिता बजगाईं र उप–निर्देशक (प्रशासन) मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् । यसैगरी, दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिको तर्फबाट संयोजक रामबहादुर खड्का तथा सदस्यद्वय नवराज खड्का र सुनतारा तामाङले हस्ताक्षर गरेका छन् । यस्तै तिलक तामाङ, शेषनारायण श्रेष्ठ, विजय पाठक र राजकुमार श्रेष्ठले आमन्त्रित सदस्यका रूपमा सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै कर्मचारीहरूले संघर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् भने भोलिदेखि नियमित काममा फर्किने भएका छन् । यसैबीच माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा हप्ताको चार दिन दैनिक ज्यालादारीमा कार्यरत चार जना कर्मचारीलाई महिनाको ३० दिनसम्म अनिवार्य काममा लगाउने व्यवस्था मिलाउने, हाल जलविद्युत् केन्द्रमा दुई जना प्रशासन सेवाका कर्मचारीहरूलाई प्राविधिक सेवा, इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको कर्मचारीलाई इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको प्राविधिक सेवाका कर्मचारीलाई इलेक्ट्रिकल समूहको प्राविधिक सेवामा निजहरूको तालिम, योग्यता अनुसार पद समायोजन गर्ने तथा २०८० माघ १५ गतेदेखि कम्पनीमा करार सेवामा नियुक्त भएका कर्मचारीहरूको करारनामा भएको व्यवस्थाका लागि आवश्यक छलफल गरी कम्पनी व्यवस्थापनले उपयुक्त निर्णय लिने सहमति भएको पनि संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् । परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए । उनले गतिशिल समय र तीब्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिए । उनले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको भन्दै देश हामीले बनाउने हो, हामीले बनाउँछौं भन्ने सन्देश युवाहरुमा पुर्याउन उद्यमीहरुलाई आग्रह गरे । अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए । उनले सरकारले विगतदेखिका समस्या गर्न, निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । हाल सुधार गरिएको कानुनमा सुधार मात्रै रहेको उनले बताए । सुधारको काम, अनुकूल व्यवसायिक वातावरण थप बढाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरुलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उनले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउन समेत आग्रह गरे ।उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण योगदान गरेको बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवाहरुलाई धन्यवाद व्यक्त गरे । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सक्ने भन्नुहुँदै युवाहरुलाई प्रोत्साहनका खाँचो रहेको बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल-बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
भद्रपुर । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रूपैयाँ बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार रूपैयाँ बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रूपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् । काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रूपैयाँ को खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।
एउटा भुइँकटहरको २०० रुपैयाँ, सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १०० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु १००, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो रु ६० तथा भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ९०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु २५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १३०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।
भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सबै सरकारी सेवामा बञ्चित
काठमाडौं । मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ र ४ मा अवस्थित २ वटा सवारी व्यवस्थापन गर्ने बसपार्क सञ्चालनको ठेक्का लिएर बीचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुर उपर गर्नुपर्ने रकम पूरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ-४ जोमसोमका स्थानीय सुरेश शेरचनविरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले मुस्ताङका सबै निकायमा सरकारी सेवा सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारबाही प्रक्रियाअघि बढाएको छ । गाउँपालिकालाई असुल उपर नभएसम्म बसपार्क ठेक्का लिएका उनलाई गाउँपालिका, वडा कार्यालयलगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदानलगायत सबै किसिमका सरकारी सेवा लिन नपाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । गाउँपालिका प्रथम पक्षले लगाएको बसपार्क ठेक्का रद्द भइसकेकाले नयाँ ठेक्का लगाउने गरी गृहकार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘पुरानो बसपार्क ठेक्का भङ्ग भएको र नयाँ ठेक्का लगाउने तयारी हुँदैछ । बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८० लाई संशोधन गरी नयाँ कार्यविधि-२०८१ जारी भइसकेको छ,’ उनले भने । गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि गर्ने र मुस्ताङ सदरमुकाम जोमसोमलाई व्यवस्थित रूपमा सवारी पार्किङ गर्नेगरी मुकामको सौन्दर्यता जोगाउन गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । घरपझोङ गाउँपालिकाअन्तर्गत रहेका दई वटा बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाले गत वर्ष दरभाउ पत्रको सूचना प्रकाशित गरेको थियो । प्रकाशित सूचनाअनुसार मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक २० लाख २५ हजार रुपैयाँ भाडा गाउँपालिकालाई बुझाउने सर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि-२०८० अनुसार विसं २०८० चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाइएको थियो । गाउँपालिका प्रथम पक्षसँग बसपार्क ठेक्का लिएका दोस्रो पक्ष स्थानीय शेरचनले ठेक्का सम्झौताका सर्त र प्रावधानअनुसार सुरुआती तीन महिनाको अग्रिम भाडा धरौटी ५ लाख ५ हजार २२५ रुपैयाँ र सम्झौता अवधि २ वर्षको भाडाको ५ प्रतिशत हुन आउने रकम २ लाख २ हजार ५ सय रुपैयाँ गरी कूल ७ लाख ८ हजार ७५० रुपैयाँ गाउँपालिकालाई बुुझाएका थिए । गाउँपालिका प्रथम पक्ष र बसपार्कका व्यवसायी दोस्रो पक्षबीच घरपझोङका दुई बसपार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले दुई पार्कको थप स्तरोन्नति, विद्युत्, इन्टरनेट खानेपानी, टिकट बुकिङ क्वान्टर, बसपार्क गेट निर्माणसहित बसपार्क क्षेत्रमा सिसी टिभी क्यामेरा जडान गरेको थियो । गाउँपालिकाले बसपार्क चलाउन स्थानीय प्रशासन, सुरक्षाकर्मीलगायत सबै सरोकारवालासँग चरणबद्ध छलफल गरेको थियो । गाउँपालिकाले बसपार्क व्यवस्थापनका लागि तीन जना पालिका प्रहरीसमेत करारमा नियुक्ति गरेको थियो । स्थानीय शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिका, प्रशासन र सुरक्षा निकाय लगायतले असहयोग गरेको भन्दै दुई वर्षको बसपार्क ठेक्का एकपक्षीय रुपमा ठेक्का भङ्ग गरेको पत्र गाउँपालिकामा पठाएका थिए । गतवर्षको १५ चैतमा कार्यान्वयन गर्ने बसपार्क ठेक्का लिएका शेरचनले बसपार्क सञ्चालन गर्नेतर्फ ध्यान नदिएको र बसपार्कको भाडा क्रमशः बुझाउँदै जानुपर्नेमा नबुझाएको भन्दै बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८० अनुसार गाउँ कार्यपालिकाको बैठकले शेरचनसँग २०८१ असोज २१ गते ठेक्का सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।
२ कम्पनीले गरे ५ करोड राजस्व चुहावट
काठमाडौं । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ५ करोड ७ लाख ९४ हजार ९८२ रुपैयाँ राजस्व चुहावटको माग दाबीसहित २ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको होे । अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर-७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ १ करोड ६५ लाख ६० हजार ५९३ रुपैयाँ र मूल्यअभिवृद्धि करतर्फ ५८ लाख ३७ हजार ६८३ रुपैयाँ गरी कूल २ करोड २३ लाख ९८ हजार २७६ रुपैयाँ बिगो कायम गरिएको उनले जानकारी दिए । उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने ४ करोड ४७ लाख ९६ हजार ५५३ रुपैयाँ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो । यसैगरी वीरगञ्ज महानगर-१६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ १९ लाख ६० हजार १५१ रुपैयाँ र मूल्यअभिवृद्धिकरतर्फ बिगो १० लाख ३९ हजार ६३ रुपैयाँ गरी २९ लाख ९९ हजार २१४ को शतप्रतिशत जरिवाना गरी ५९ लाख ९८ हजार ४२८ रुपैयाँ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ । अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी ८ वटा मुद्दा दर्ता भएका छन् ।
नेको इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज चैत १४ गते अन्तिम दिन रहेको छ । फागुन ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रदमा आज खरिद गर्ने अन्तिम दिन हो । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनस्को हकप्रद सेयमार आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले सेयरमा आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।