गृहमन्त्री गुरुङले पेस गरे दुई अध्यादेश
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिहीबारको प्रतिनिधि सभामा दुई अध्यादेश प्रस्ताव पेस गरेका छन् । उनले मतदाता नियमावली ऐन, २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्ने अध्यादेश पेस गरेका हुन् । उक्त संशोधनमार्फत मतदाता नामावली व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउने लक्ष्य लिइएको गुरुङले बताए । यसैगरी, गृहमन्त्री गुरुङले नेपाल विशेष सेवा ऐन संशोधन गर्नेसम्बन्धी अर्को अध्यादेश पनि बैठकमा पेस गरेका छन् । राष्ट्रिय सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थालाई अद्यावधिक गर्न उक्त संशोधन आवश्यक रहेको सरकारको दाबी छ । दुवै अध्यादेशमाथि संसदमा थप छलफलपछि अघि बढाइनेछ ।
मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
काठमाडाैं । मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ। त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ। साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ। यी हुन् पक्राउ भएका व्यक्तिहरु १. जिल्ला चितवन कालिका नगरपालिका ९ बस्ने वर्ष ५० को डीलबहादुर भण्डारी (9845954864-अन्जना भट्टराई भूसेवा केन्द्र भरतपुर १२) २. जिल्ला चितवन भरतपुर महानगरपालिका १० बस्ने वर्ष ४३ को काशीराम वाग्ले (9855062717-सत्यम भूसेवा केन्द्र) ३. जिल्ला चितवन भरतपुर महानगरपालिका ६ गीतानगर बस्ने वर्ष ५९ को विष्णुप्रसाद शर्मा (9845053936-विष्णुप्रसाद शर्मा भुसेवा केन्द्र) ४. जिल्ला चितवन भरतपुर महानगरपालिका १२ बस्ने वर्ष ४१ को रामकृष्ण घिमिरे (9844966985 -रामकृष्ण घिमिरे भूसेवा केन्द्र) ५. जिल्ला चितवन कालिका नगरपालिका ६ बस्ने वर्ष ४९ को टेकनाथ वाग्ले (9845078064-टेकनाथ वाग्ले भु सेवा केन्द्र) ६. जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने वर्ष ४९ को कमलराज ढुङ्गाना (9845081654 -माधव पौडेल भूसेवा केन्द्र) ७. जिल्ला चितवन भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ४२ को रघुनाथ पौडेल (9845634662 -दिलबहादुर राणाभाट भुसेवा केन्द्र ८. जिल्ला चितवन रत्ननगर नगरपालिका १५ बस्ने वर्ष ३६ को दिवस बुढाथोकी (9842611008 -डिलबहादुर बुढाथोकी भूसेवा केन्द्र) ९. जिल्ला चितवन भरतपुर महानगरपालिका ८ बस्ने वर्ष ३८ बासुदेव आचार्य (9851207728 -काशीराम वाग्ले भूसेवा केन्द्र) १०. जिल्ला चितवन रत्ननगर १० बस्ने वर्ष ४४ को कान्छा महतो (९८४५११७३६८ -हरि आचार्य भूसेवा केन्द्र) ११. जिल्ला चितवन खैरहनी नपा ४ बस्ने वर्ष २२ को गणेश बहादुर नेपाली (9761622035 -हरि आचार्य भूसेवा केन्द्र) १२. जिल्ला चितवन भरतपुर महानगरपालिका २३ बस्ने वर्ष ५८ को सुभाष पौडेल (9845176899 -सुभाष पौडेल भूसेवा केन्द्र) १३. जिल्ला चितवन भरतपुर महानगरपालिका ९ बस्ने वर्ष ६० को हरेराम पन्त (9845144183 -गुणराज भुसेवा केन्द्र) १४. जिल्ला चितवन भरतपुर महानगरपालिका १५ बस्ने वर्ष ४३ को राम अधिकारी (9845052164-दिननाथ इडनी भूसेवा केन्द्र) १५. जिल्ला चितवन भरतपुर महानगरपालिका १२ बस्ने वर्ष ५२ को कृष्णप्रसाद रेग्मी (9860902323 -आर.बी नव-बुद्ध भोसेवा केन्द्र) १६. जिल्ला चितवन रत्ननगर नगरपालिका ८ बस्ने वर्ष ३५ को रोहित महतो (9845221163 -हरिकृष्ण गौतम भुसेवा केन्द्र)
विदेशी मुद्रा सञ्चिति ३४ खर्ब रुपैयाँ नाघ्यो, २१ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३४ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । चालु आवको असारको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । २०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स, फागुनमा मात्रै १ खर्ब ८८ अर्ब
काठमाडौं । ८ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आयमा ९.५ प्रतिशत वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको फागुन महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा आधारमा पनि विप्रेषण आय ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशत थियो । यसै अवधिमा खुद ट्रान्सफर १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा यो रकम ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुनः स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ नेपालीले स्वीकृति लिएका थिए ।
नयाँ वर्षदेखि काठमाडौंमा नाइट बस चल्ने
काठमाडौं । आगामी २०८३ वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बेलुका ८ बजेपछि यातायातको विकल्प नहुँदा सर्वसाधारणले भोग्नुपरेको महँगो र असुरक्षित यात्राको अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको हो । रात्रिकालीन बस बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । महानगरले पूर्वपश्चिम र उत्तर दक्षिण गरी दुई रुटमा रात्री बस सञ्चालन गर्ने भएको हो । महानगरका अनुसार उत्तर-दक्षिण रुट अन्तर्गत ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ । यो रुटको लम्बाइ १६ किलोमिटरको रहेको छ । त्यस्तै, पूर्व-पश्चिम रुट अन्तर्गत थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्री बस सञ्चालन हुनेछ । यो रुटको लम्बाइ दुरी २० किलोमिटर रहेको छ । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी राखिने छ । कार्यवाहक प्रमुख डंगोलले बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारणलाई असहज भइरहेकाले सुविधाका लागि रात्रि बस सञ्चालन गर्न लागिएको जानकारी दिइन् । ‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नुपर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौं,’ उनले भनिन् । उनले रातिको समयमा सार्वजनिक सवारी नहुँदा सबैले समस्या भोग्नुपरिरहेको बताइन् । ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशोरी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौं,’ उनले भनिन् । सार्वजनिक यातायात सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य रहेको उनले बताइन् । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको उनको भनाइ छ ।
म नेता होइन, शिक्षा सुधार्न आएको समाजसेवी हुँ : सांसद महावीर पुन
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफू कुनै पनि राजनीतिक गुटबन्दीमा नफस्ने बताएका छन् । सांसद पुनले आफ्नो राजनीतिक यात्रा परम्परागत शैलीको नहुने संकेत दिएका हुन् । ‘म अचम्मको मान्छे हुँ, म कसैसँग मिल्दिनँ,’ उनले भने, ‘संसदमा मेरो उपस्थिति पक्ष वा विपक्षमा भन्दा पनि सधैं निष्पक्ष आवाजका रूपमा रहनेछ । ’ उनले आफूलाई नेता भन्दा पनि समाजसेवीका रूपमा चिन्न आग्रह गरे । लामो समयदेखि प्रविधि र अनुसन्धानमा सक्रिय पुनले आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य शिक्षा क्षेत्रको आमूल परिवर्तन रहेको बताए । चुनावमा होमिनुको मुख्य कारण नै शिक्षा सुधार रहेको उल्लेख गर्दै उनले भने, ‘म नेता बन्न आएको होइन, शिक्षामा सुधार गर्न आएको हुँ । मेरो सम्पूर्ण ध्यान र प्रयास देशको शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछ ।’
अन्तर्राष्ट्रिय आरोग्य दिवसको तयारी तीव्र, देशभर ७५३ स्थानीय तहमा एकैसाथ मनाइने
काठमाडौं । आगामी अप्रिल १५ मा पहिलोपटक मनाइने अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको तयारीलाई तीव्र बनाइएको छ । जस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति बैठकले अप्रिल १५ (२०८३ वैशाख २ गते) देशभरका ७५३ वटै स्थानीय तह र सातै वटै प्रदेशमा प्रभावकारी, सहभागितामुलक र दीर्घकालीन प्रभाव पार्ने गरी मनाउने निर्णय गरेको छ । बैठकमा सहभागीहरूले आरोग्य दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले आरोग्यलाई राष्ट्रिय गौरव, जनजीवनका र दीर्घकालीन विकाससँग जोड्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले योग र ध्यानका गुरु भगवान शिव भएको उल्लेख गर्दै योग परम्परासँग जोडिएको पवित्र स्थल पशुपतिनाथको सन्दर्भ उठाउँदै वेलनेसलाई केवल प्रचारमा सीमित नराखी जनजीविकासँग जोड्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकमा बढ्दो निराशा अन्त्य गर्न र राष्ट्रिय गौरव जोगाउन वेलनेस आवश्यक छ । हामीले वेलनेस पर्यटन अरूलाई बेच्नुअघि आफ्नै मूल्य चिन्नुपर्छ । यो सुरुवात मात्र हो, लामो यात्रा बाँकी छ– तर आधारभूत संरचना, मौलिकता र हाम्रो पहिचान जोगाउँदै अघि बढ्न सके वेलनेस नेपालको समृद्धिको नयाँ आधार बन्नेछ ।’ प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले वेलनेसलाई नेपालको आध्यात्मिक परम्परा र सांस्कृतिक मौलिकतासँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन परम्परागत सोचभन्दा फरक र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । निरोगी जीवन र स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने वेलनेसलाई दीर्घकालीन रूपमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने उनको धारणा थियो । उनले थपे, ‘वेलनेसलाई व्यवहारमा उतार्न हामीले क्षेत्रगत ढाँचामा काम गर्नुपर्छ । विद्यालयमा ध्यान अभ्यास, होटल क्षेत्रमा स्वस्थ खानपान, र हिमाली क्षेत्रमा माइन्डफुलनेससँग जोडिएका गतिविधिले छोटो समयमा नै व्यापक सन्देश दिन सक्छन् ।’ त्यसैगरी मन्त्रालय सचिव मुकुन्द प्रसाद निरौलाले आरोग्यलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै भने, 'यो केवल एक दिवस होइन, नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभर फैलाउने ऐतिहासिक अवसर हो । आजको बैठकमार्फत जिम्मेवारी बाँडफाँट गर्दै कार्यान्वयनलाई स्पष्ट बनाइएको छ ।' नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले वेलनेस पर्यटन नेपालको प्रमुख सम्भावना भएको उल्लेख गर्दै भने, “नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाले हामीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको छ । अब वेलनेस पर्यटन उत्पादन विकास, प्याकेजिङ र प्रवद्र्धनलाई सशक्त बनाउँदै नेपालको आम्दानीको मुख्य धारा बनाउने समय आएको छ । त्यसका लागि हामीले देशभित्र र बाहिर यस दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आजको आवश्यकता हो ।” वेलनेस पर्यटनका सम्भावना र अवसरबारे प्रस्तुति दिँदै सुदिप बैजुले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गरे । उनले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्न सकिने बताए । जीवन विज्ञानका संस्थापक सदस्य एलपी भानुले वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै विश्वले खोजेको र नेपालले दिन सक्ने मुख्य विषय भएको उल्लेख गरे । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । जुन नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ । यस निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ को अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउने टेवा पु¥याउनेछ । नेपालको पर्यटन आम्दानी ६१२ मिलियन अमेरिकी डलर रहेकोमा वेलनेस पर्यटनको हिस्सा २५ मिलियन (करिब ४ प्रतिशत) रहेको छ ।
बैठक ढिला सुरु भएकोमा आपत्ति जनाउँदै हर्कले भने– प्रत्येक मिनेटको महत्त्व बुझौं
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो प्रतिनिधि सभा बैठक ढिला गरी सुरु भएकोमा आपत्ति जनाएका छन् । बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला सुरु उनको भनाइ छ । ‘शपथ ग्रहणको दिन पनि हामी १२ मिनेट ४६ सेकेन्ड ढिला भएका थियौं । आज १६ मिनेट ५५ सेकेन्ड ढिला भएका छौं । जनताले हामीलाई ढिला गर भनेर पठाएको होइन । त्यसो हुनाले प्रत्येक मिनेटको महत्त्व सबैले बुझौं,’ उनले भने । साम्पाङले नेपाली समय हो भन्दै ढिला जाँदा पनि हुन्छ भन्ने भाष्यले देशले उन्नति गर्न नसकेको पनि बताए । उनले यसरी अबका दिनमा ढिला नगर्न अनुरोधसमेत गरे ।