क्यानडाको पीआर दिने भन्दै करोडौं ठग्ने दुई भारतीय पक्राउ
काठमाडौं । भारतमा बसेर ‘बिजनेस स्टार्टअप भिसा’मा नेपालीलाई क्यानडा लैजाने भन्दै ठगी गर्ने दुईजना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शनिबार काठमाडौंबाट २६ वर्षीय अमित कुमार र ३९ वर्षीय राहुल कुमार पक्राउ परेका हुन् । उनीहरूले बिजनेस स्टार्टअप भिसामा क्यानडा लाने भन्दै एक व्यक्तिबाट ८० हजार अमेरिकी डलर उठाउने गरेका थिए । डब्ल्यूसीएस इमिग्रिसेन सर्भिस नेपाल नामको कार्यालय सञ्चालन गरी ठग्दै आएका हुन् । कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट चार जनालाई ठगी गरेको खुलेको छ । उनीहरूले विभिन्न व्यक्तिबाट १ करोड ५७ लाख ६५ हजार चार सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न देशमा कार्यालय रहेको भनी पीडितहरूबाट भिसा अप्लाई गर्न भनेर अमेरिकी डलर दश हजार लिने गरेका थिए । त्यसैगरी, विभिन्न बहानामा पटक-पटक रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रोजगारीका लागि क्यानडा पुगेर वर्क परमिटमा उल्लेखित अस्पताल नभेटिएकाले पीडितहरु फर्केर आएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार नेपाली नागरिकको नाममा कार्यालय दर्ता गरेको खुलेको छ । यद्यपि कार्यालय प्रमुखसहित अधिकांश कर्मचारी भारतीय नागरिक रहेका थिए । दर्तावाला सञ्चालक भारतमा बसेर काठमाडौंमा कार्यालय सञ्चालन गर्दै आएका थिए । डब्ल्यूसीएस इमिग्रिसेन सर्भिस नेपालले कोही कसैलाई ठगी गरेको भएमा जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा सम्पर्क गर्न प्रमुख खड्काले अनुरोध गरेका छन् ।
भारत भ्रमणमा जाँदै रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुईदिने भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । आगामी जेठ १८ गतेदेखि उनी भारत भ्रमणमा जान लागेको रास्वपाका एक नेताले जानकारी दिए । रास्वपा स्रोतका अनुसार भ्रमण नयाँ दिल्लीकेन्द्रित हुनेछ । भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटको तयारी भइरहेको जनाइएको छ । भ्रमण भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको एक नेताले जानकारी दिए । पछिल्लो समय नेपाल–भारत सम्बन्ध लिपुलेक विवाद, व्यापारिक चासो र उच्चस्तरीय भ्रमण स्थगितजस्ता घटनाले केही असहज बनेको पृष्ठभूमिमा लामिछानेको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । भारतीय सञ्चारमाध्यमहरूले समेत यसलाई काठमाडौं–दिल्ली सम्बन्ध सुधारको संकेतका रूपमा विश्लेषण गरेका छन् । यसैबीच सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने लामिछानेको भ्रमणलाई प्रधानमन्त्रीस्तरीय औपचारिक कूटनीतिक भ्रमणसँग जोडेर नहेर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री वालेन्द्र साहको भारत भ्रमण उपयुक्त समयमा हुने पनि बताए ।
आयकरको सीमा ३० प्रतिशत कायम गरौं, कर्पोरेट कर २५ प्रतिशतमा झारौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विभिन्न सुझावहरु दिएको छ । महासंघले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले समक्ष तीन महले सुझाव प्रस्तुत गर्दै आयकरको सीम घटाउन सुझाव दिएको हो । महासंघले व्यक्तिगत आयकर छुटको सीमा व्यक्तिको हकम ८ लाख र दम्पतिको १० लाखको सीमा कायम गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, व्यक्तिगत तर्पmको हालको ३९ प्रतिशतको दरलाई आर्थिक बर्ष २०७६ अघिको जस्तै आयकरको अधिकतम दर ३० प्रतिशत कायम हुनुपर्ने सुझाव दिएको छ । यस्तै, वार्षिक रु २ करोडसम्मको कारोबारमा कारोबारमा आधारित कर लगाउनुपर्ने र करको दर आधा घटाउनु पर्ने, उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई क्रमशः घटाइ पाँच बर्षमा ५ प्रतिशत बिन्दुले कम गर्ने र बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूरसंचार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) पंूजीबजार, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी प्mयूचर मार्केट, धितोपत्र लगायतका व्यवसायमा यसै बर्ष कर योग्य आयमा २५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो । हाल बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूरसंचार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) पूँजीबजार, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्यूचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसायको कर योग्य आयमा ३० प्रतिशतका दरले कर लाग्ने छ । अन्य व्यवसायलाई २५ प्रतिशत र प्राथमिकता प्राप्त उद्योगमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था छ । यस्तै, करदाताले विवरण दर्ता गराएको तीन वर्षभित्र कर परीक्षण नभएमा सो अवधिको स्वयं कर निर्धारण अन्तिम भएको मानिने कानूनी व्यवस्था गरिनु पर्ने, सम्वन्धित कानुनमा आवश्यक संशोधन गरी पोर्टफोलियोको निश्चित प्रतिशत (५–१०%) सम्म यस्ता कोषहरूमा लगानी गर्न अनुमति दिने व्यवस्था गरिनु पर्ने सुझाव दिएको छ । महासंघले साना व्यवसायीको सहजताको लागि मूल्य अभिवृद्धि करको थ्रेशहोल्ड वस्तुको हकमा एक करोड रूपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा पचास लाख रूपैयाँ कायम हुनु पर्ने, मूल्य अभिवृृद्धि कर नियमावली नियमा ६गः मा रहेको ठेक्का वा करार अन्तर्गत वस्तु वा सेवा आपूर्ति बापतको कर भुक्तानी सबन्धी विशेष ब्यवस्था खारेज गर्नुपर्ने सुझाव पनि दिएको छ । एअरलाईन्स कम्पनीले विदेशी पर्यटकलाई विदेशी मुद्रामा भुक्तानी हुने गरी टिकट जारी गरिएको सेवामा मूअक छुट हुने व्यवस्था हुनुपर्ने, घर बहाल कर व्यक्ति र निकायले छुट्टाछुट्टै स्थानमा तिर्नु पर्ने प्रचलित व्यबस्थालाई एउटै विन्दुमा तिर्ने व्यवस्था हुनु पर्ने तथा खनिज तथा खानीजन्य कानुन अनुसार लाग्दै प्रचलित रोयल्टी तथा शुल्कहरु बढी भएकोले पुनरावलोकन गरिनुपर्ने सुझाव दिएको छ । यस्तै, व्यावसायिक उपार्जनमा प्रयोग हुने सक्रिय सम्पत्तिमा पनि सम्पत्ति कर लाग्ने व्यवस्था खारेज गरिनु पर्ने, गैरकरका दर सम्वन्धि सीमा र संख्या घटाई विद्यमान गैरकर संरचनालाई सरलीकृत गर्नु पर्ने सुझाव राखेको छ । महासंघले वैदेशिक रोजगारीमा जानेले वैध माध्यमबाट रेमिट्यान्स पठाएमा नेपालमा रहेको निजको आश्रित परिवारलाई सहुलियत दरमा विशेष उद्यमी कर्जा उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने, बैंकहरूलाई आफ्नो नियामकीय पूँजीको निश्चित प्रतिशत (५–१०% कुल पूँजी कोषको) सम्म पीईभीसी कोषमा कोर क्यापिटल नघटाई लगानी गर्न अनुमति दिने व्यवस्था हुनु पर्ने सुझाव पनि दिएको छ । अन्तर्राष्ट्रियस्तरमा गुमेको वित्तीय विस्वसनीयता फर्काई वैदेशिक लगानीको वातावरण बनाउन मुलुकलाई ग्रे–लिष्टबाट मुक्त गर्न आवश्यक कदमहरु चालिनु पर्ने सुुझाव पनि महासंघले दिएको छ । यस्तै, साना मझौला उद्यमी व्यवसायीलाई सरकार, कर्जा सुरक्षण निगम, र विकास साझेदारहरु समेतले जोखिम बेहोर्ने गरि एक करोड रुपंैयासम्मको कर्जा, परियोजना धितोमा उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने सुझाव महासंघले दिएको छ । साना उद्यमीका उत्पादन अनलाइन मार्पmत बजार खोज्न सहयोग पुग्ने गरि साना उद्यमी पोर्टल संचालन गरि त्यस्ता उत्पादन बिक्रिका लागि ई-कमर्श प्लाटफर्मलाई प्रोत्साहित गरिनु पर्ने, एक जिल्ला एक औद्योगिक ग्राम वा व्यवसायिक गतिविधी हेरी केही पालिकाको केन्द्र पारेर घरेलु तथा साना उद्योग सञ्चालन गर्न औद्योगिक ग्राम निर्माण र सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ ।
एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी सुविधा विस्तार
काठमाडौं । एनआईसी एशिया बैंकले सुर्खेतको एक विद्यालयमा खानेपानी सुविधा विस्तार गरेको छ । बैंकले वीरेन्द्रनगर–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको हो । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै शैक्षिक तथा स्वास्थ्यअनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ । १६७ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले जेठ ८ गते आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई पानी ट्यांकी तथा मोटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले उपलब्ध गराएको उक्त सहयोगबाट विद्यालयमा स्वच्छ खानेपानीको पहुँच सहज हुने र विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य र पठनपाठन वातावरणमा सुधार आउने विश्वास लिएको छ ।
यौनधन्दाको ट्रान्जिट बन्दै ठमेल, एक सातामै २१ विदेशी समातिए
काठमाडौं । ठमेलमा आएर यौनधन्दाको बार्गेनिङ गर्ने थप ५ जना विदेशी महिला शनिबार पक्राउ परेका छन् । यससँगै एक सातामा २१ जना विदेशी महिला पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । परिसरका अनुसार बिहीबार ९ जना, शुक्रबार ७ जना र शनिबार ५ जना पक्राउ परेका हुन् । उनीहरूमाथि जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूले बाटामा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप गर्ने गरेका थिए । यौनधन्दाका लागि मोलमोलाई गरेर दुःख हैरानी दिने र प्रहरी टोलीले सम्झाई बुझाई गर्दा ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूमाथि अपशब्द प्रयोग गर्ने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए। उनका अनुसार गालीगलौज गर्ने र प्रहरीलाई धक्कामक्का गर्ने गरेका थिए । प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । यसअघि पनि ठमेलबाट १६ जना विदेशी महिला पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । केही महिनाअघि ठमेलबाट युगाण्डियन महिलाहरू समेत पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल आउन नपाउने गरेर स्वदेश फिर्ता गरिसकेको छ । जरिवाना बुझाएर रिहा हुनेहरूलाई अध्यागमन विभागले स्वदेश पठाउने गरेको छ । जरिवाना बुझाउन नसक्नेहरू कारागार चलान हुने गरेका छन् ।
यी हुन् मन्त्रिपरिषद बैठकका चार निर्णयहरू
काठमाडौं । सरकारले विभिन्न चारवटा निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषदको बैठकले चारवटा निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ । त्यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत भएको छ। त्यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । प्रवक्ता पोखरेलका अनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको हो । त्यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ ।
अस्पताल जोड्ने सडक असहज : सेवाग्राहीलाई समस्या
मुस्ताङ । जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि यहाँको प्रदेश अस्पताल आवतजावत गर्न कठिनाइ भएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिए । अस्पताल जोड्ने सडकको तीन वटा विकल्प प्रस्तुत गरिएको भए पनि हालसम्म समाधान निस्कन सकेको छैन । पहिलो विकल्प मुख्य राजमार्ग सडक उकासेर अस्पताल सडक सहज बनाउने, दोस्रो विकल्प आयोजनाको योजनाअनुसार व्यक्तिको घर अगाडिबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्प हाल प्रयोग भइरहेको सडकलाई फराकिलो बनाएर सडक सहज बनाउने विकल्प प्रस्तुत गरिएका थिए । सडक सञ्चालन गर्ने तीन विकल्पमध्ये कुनै पनि विकल्प कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश अस्पताल जाने सडकको विषयमा स्थानीय प्रशासन, गाउँपालिका र अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाहरुको पटक/पटक वार्ता र संवाद भए पनि कुनै सहमति हुन नसकेको प्रदेश अस्पतालले जनाएको छ ।
हाम्रो कार्यव्यस्तता धेरै छ, त्यसैले प्रधानमन्त्रीको भ्रमण नभएको हो : पोखरेल
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेपश्चात पत्रकारहरूसँगको प्रतिक्रियाको क्रममा प्रवक्ता पोखरेलले यस्तो बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत जाने वा अन्य कुनै पनि देश जाने समय जतिखेर आउँछ, त्यतिबेला भ्रमण हुन्छ ।’ प्रवक्ता पोखरेलले पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै भएकाले प्रधानमन्त्रीको भ्रमण नभएको पनि बताए । ‘अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै छ । सुरुमा हामी सबै काममा अलि बढी केन्द्रित छौं । त्यसैले अहिले प्रधानमन्त्रीज्यूको भ्रमण नभएको हो,’ उनले भने । सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’ रहेको जानकारी दिए । उनले भने, ‘सिंहदरबार भित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको हो । सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको हो ।’