मार्जिन कर्जा नीतिमा पुनरावलोकन हुने
काठमाडौं । धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन हुने भएको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम तय गर्दै धितोपत्र कारोबारको लागि धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन गरी सुधार गर्ने भएको हो । बोर्डकाअनुसार चालु वर्षमा पुँजी बजारको विकास विस्तारका लागि क्षेत्रगत औजारगत विविधता ल्याउनुका साथै नयाँ धितोपत्र औजारको तथा विकास तथा विस्तार गर्न गरिँदैछ । त्यसका लागि धितोपत्र बोर्डले सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने भएको छ । सरकारी संस्थानहरुमा सरकारले ऋणपत्रमार्फत लगानीको लागि वित्तीय साधन परिचालन गर्ने सहजीकरण गर्नेछ । त्यस्तै इन्ट्रा डे कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङ्ग सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था गर्ने, अक्सन मार्केटको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने, धितोपत्रको दोस्रो बजारमा कारोबारयोग्य औजारहरूको विविधिकरणका लागि डेरिभिट्भ्स औजारहरूको सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने योजना बोर्डले बनाएको छ । इक्युटी डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउनुका साथै कारोबार व्यवस्था मिलाउन सहजीकरण गर्दैछ । यस्तै बोर्डले चालु आर्थिक वर्षमा धितोपत्र बजारमा प्रणालीगत जोखिम न्युनीकरण गर्दै लगानीकर्ताको हित प्रवद्धर्न गरी धितोपत्र बजारमा जन विश्वास बढाउने नीति लिएको छ । जसअनुसार मर्चेण्ट बैंङ्कर, धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, सूचीकृत संगिठत संस्थाहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने, धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङ्ग लि. बाट एपीआई लिइ आवेदकको आवेदन तत्कालै सिस्टम भेरिफिकेसन हुनु व्यवस्था गर्दैछ । यसबाट आवेदन रकम रोक्का हुने वा सोहीअनुसार धितोपत्र बाँडफाट पश्चात फुकुवा हुने व्यवस्था मिलाइँदैछ । यस्तै, दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने नीति बोर्डले लिएको छ । त्यसका लागि लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि आवश्यक समन्वयात्मक कार्य गर्ने, सूचीकृत कम्पनीहरू वर्गीकरण व्यवस्थालाई सुधार गरी समसामयिक बनाउन विद्यमान कानूनी व्यवस्थालाई सुधार गर्न आवश्यक व्यवस्था गर्ने, सार्वजनिक निष्काशन गरी संकलन गरिएको रकम निष्काशनको उद्देश्य बमोजिम परिचालन भए/नभएको सम्बन्धमा अनुगमन गर्ने वार्षिक योजना धितोपत्र बोर्डले बनाएको छ । त्यस्तै, धितोपत्र कारोबार गर्दा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण व्याकअपको प्रभावकारी व्यवस्था भए नभएको सम्बन्धी अनुगमनको व्यवस्था गर्ने योजना छ । यस्तै, नियमित रुपमा बोर्डले धितोपत्र तथा वस्तु विनिमय वजार सम्वन्धी प्रचलित कानुन बमोजिम धितोपत्र बजार, वस्तु विनिमय बजार, केन्द्रिय निक्षेप सेवा, धितोपत्र व्यापारी, धितोपत्र दलाल, मर्चेन्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, निक्षेप सदस्य, आस्वा सदस्य, क्रेडिट रेटिङ्ग संस्था, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, सामुहिक लगानी कोष सुपरीवेक्षक, योग्य संस्थागत लगानीकर्ता लगायत धितोपत्र व्यवसाय गर्न अनुमतिपत्ररदर्ता प्रमाणपत्र प्रदान गर्ने तथा नवीकरण गर्ने योजना बोर्डको छ । धितोपत्र सम्वन्धी प्रचलित कानून बमोजिम धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तार र आधिकारिक प्रतिनिधि नियुक्त गर्न स्वीकृति प्रदान गर्ने योजना समेत बोर्डले बनाएको छ ।
सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो । आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ । साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र जनजिविकासँग प्रत्यक्ष सरोकार रहने आयोडिनयुक्त नुनको आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था देखिएको आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, 'तत्काल ऐन लागू नगर्दा कसैलाई अपूरणीय क्षति पुग्नसक्ने अवस्था नदेखिएको र प्रस्तुत विषयवस्तुको प्रकृतिबाट रिट निवेदनको अन्तिम किनारा लाग्दाका बखत नै निरुपण हुन मनासिब हुँदा प्रस्तुत रिट निवेदनमा अन्तिम किनारा लाग्दाका बखत ठहरे बमोजिम हुने गरी हाललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०८२ साउन १ गतेदेखि आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५ प्रारम्भ हुने गरी नेपाल राजपत्रमा प्रकाशित सूचना कार्यन्वयन नगर्नु नगराउनु ।' आदेशमा आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ को व्यवस्था कार्यान्वयन गर्नका लागि नियमावली जारी नगरेकाले उक्त ऐन कार्यान्वयनमा रोक लगाइएको उल्लेख छ । अधिवक्ता शिलत महर्जनले २५ वर्षअघि बनेको ‘आयोडियनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५’ लाई जगाइ आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोडिनसम्बन्धी नुनलाई निजी क्षेत्रबाट आयात र वितरण गर्ने योजना प्रत्यक्ष देखिएकाले उक्त ऐन लागू हुँदा मानव स्वास्थ्यमा दीर्घकालीनरुपमा गम्भीर असर पर्ने उक्त ऐन बदर गर्न माग गरेका थिए ।
४ कम्पनीमा सकारात्मक सर्किट, १८ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७७ करोड रुपेयाँ बराबरको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ७१ करोड, ग्रीन भ्यान्चरको ६६ करोड, लुम्बिनी विकास बैंकको ५४ करोड र हिमालयन रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको करोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वीट गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन, दुई वर्षमा १ सय कामदार पनि पठाउन सकेनन्
काठमाडौं । वैदेशिक रोजगार विभागले कामदार पठाउन असफल रहेका ३२६ म्यानपावर कम्पनीहरूको इजाजतपत्र निलम्बन गरेको छ । विभागका अनुसार ती कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ मा वार्षिक न्यूनतम १ सय कामदार विदेश पठाउन नसकेपछि कारबाहीमा परेका हुन् । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार लगातार दुई वर्षसम्म न्यूनतम १ सय कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीहरूको इजाजतपत्र स्वतः रद्द हुने कानुनी प्रावधान छ । यही व्यवस्थाअनुसार विभागले असार मसान्तसम्म इजाजत नवीकरण नगरेका कम्पनीहरूको अनुमति स्वतः निलम्बनमा पारेको हो । यो कानुनी व्यवस्था २०७५ सालमा संशोधनसहित लागू गरिएको थियो । तर, व्यवसायीहरू भने उक्त प्रावधान खारेज गर्न राजनीतिक लबिङ गर्दै आएका थिए । विभागका अनुसार यस्तो कारबाहीले म्यानपावर क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। यसले गैरसक्रिय वा केवल इजाजतपत्र ‘होल्ड’ गरेर बसेका कम्पनीहरूलाई छाँटकाँट गर्ने सरकारको संकेतसमेत दिन्छ । सरकारले वैदेशिक रोजगार बजारलाई व्यवस्थित गर्न चाल्ने यस्ता कदमले आगामी दिनमा गुणस्तरीय म्यानपावर कम्पनीको छनोटलाई प्राथमिकता दिने नीति देखिन्छ ।
साढे ६ अर्बमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने
काठमाडौं । नेपाल आयल निगमले ६ अर्ब ५० करोड रुपैयाँ लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो । त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आज निगमलाई हस्तान्तरण गरेको छ । सिनामङ्गलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राडा सुरज लामिछाने र सहप्राध्यापक नारयण गौतमले सिनामङ्गलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरे । उक्त प्रतिवेदनमा कुल छ अर्ब ५४ करोड २९ लाख रुपैयाँको लागतमा डिपो स्थान्तरण गरिने उल्लेख छ । अब बन्ने डिपोमा पेट्रोलियमसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डको पूरा पालना गरिने छ । नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डको हुने निगमले जनाएको छ । डिपो स्थानान्तरणसम्बन्धी प्रतिवेदन तयार गर्न निमगले गत मङ्सिर ५ गते त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएको थियो । सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामङ्गलस्थित हवाई इन्धन डिपो गुह्वेश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । नयाँ बन्ने डिपोमा इन्धन भण्डारणका लागि तीन हजार किलोलिटरका पाँच वटा भर्टिकल टयाङ्क निर्माण हुनेछन् । भविश्यमा भण्डारण टयाङ्क निर्माणका लागि थप जग्गा पनि रहनेछ । प्रमुख यादवले आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्नेगरी नयाँ डिपो निर्माण गरिने जानकारी दिए । डिपो अत्याधुनिक तथा पूर्णरूपमा स्वचालित हुनेछ । हवाई इन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि क्रमशः छ र आठ वटा वे, अन्तरराष्ट्रिय उडानका जहाजमा इन्धन भर्न सात वटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने निमगले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार १०० किलोलिटरका दुई वटा पानी टयाङ्क तथा पूर्णस्वचालित अग्नि नियन्त्रक प्रणाली जडान हुने प्रमुख यादवले जानकारी दिए । नेपाल नागरिक उडड्यन प्राधिकरणले जग्गा व्यवस्थापनको काम सम्पन्न गरिदिएमा आगामी भदौमा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी आगामी मङ्सिरदेखि निर्माण प्रारम्भ गर्ने योजना रहेको उनले बताए । जग्गा व्यवस्थापनको काम अत्यन्त ढिलो गतिमा भइरहेको जानकारी दिँदै उनले प्राधिकरणबाट सहयोगको अपेक्षा गरिएको बताए । निर्माण सुरु भएको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विसं २०८४ मङ्सिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने योजना रहेको प्रमुख यादवले सुनाए । इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको बताए । उनले निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डिपिआर हस्तान्तर गरिएको स्पष्ट पारे ।
थाइल्याण्ड-कम्बोडिया सीमा क्षेत्रमा भएको सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु
काठमाडौं । थाइल्याण्ड-कम्बोडिया सीमा क्षेत्रमा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । थाइल्याण्डका स्वास्थ्यमन्त्रीका अनुसार झडपमा एक जना सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । उनका अनुसार मारिनेहरू ती ३५ जनामध्येका हुन्, जो आक्रमणबाट प्रभावित भएका थिए । थाई अधिकारीहरूको रिपोर्टअनुसार सुरिन प्रान्तमा दुई जना सर्वसाधारणको मृत्यु भएको छ, जसमा एक आठ वर्षीय बालक पनि छन् । उता उबोन रत्चथानी प्रान्तमा एक जनाको ज्यान गएको छ भने श्रीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन् ।
विश्व सम्पदास्थल स्वयम्भूमा एक महिने मेलाको तयारी पूरा
काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरेको छ । श्रावण शुक्ल प्रतिपदा (भोलि)देखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने एक महिने मेलाका अवसरमा महासमितिको अगुवाइमा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो । सरसफाइका क्रममा सङ्कलन भएको फोहरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनःचक्रणका लागि पठाइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए । कुहिने फोहर मात्र ल्यान्डफिल साइट पठाइने उनले बताए । उनका अनुसार प्रत्येक वर्ष लाग्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान गरिएको छ । नेवार समुदायका बौद्ध धर्मावलम्बीले एक महिना मेलाको अवधिमा स्वयम्भू चैत्यको दर्शन गर्न तथा धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने प्रचलन छ । नेपाल संवतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठबास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् ।
करिब ५० जना सवार विमान रुसमा बेपत्ता
काठमाडौं । रुसमा बिहीबार करिब ५० जना यात्रु बोकेको एउटा विमानसँग एयर ट्राफिक कन्ट्रोलको सम्पर्क टुटेको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार यो जानकारी उक्त क्षेत्रका गभर्नरले दिएका हुन् । उनले विमानको खोजी कार्य जारी रहेको पनि बताएका छन् । एजेन्सीका अनुसार स्थानीय आपतकालीन मन्त्रालयले जनाएको छ कि उक्त विमान चीनको सीमामा रहेको अमूर क्षेत्रको टिन्डा शहर नजिक पुग्दा राडारबाट हराएको हो। क्षेत्रीय गभर्नर भासिली ओरलोभले प्रारम्भिक तथ्यांकका आधारमा विमानमा पाँचजना बालबालिकासहित ४३ जना यात्रु र चालक दलका ६ जना सदस्य सवार रहेको बताएका छन् । उनले टेलीग्राममा लेखेका छन्, ‘विमानको खोजीका लागि आवश्यक सबै बल र स्रोत परिचालन गरिएको छ ।’