विकासन्युज

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । 'अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ', भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, 'पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।' यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ ।  प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतो बताउँछन् । 'खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगीजस्तो तीन दिनको वर्षाले निकै राहत दियो', महतो भन्छन्, 'खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारीबालीलाई अमृत बर्सेजस्तै भयो ।' लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् । पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनको पनि भनाइ छ । 'लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्,' उनले भने । यो वर्षाले धानबाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ । धानको रोपोमा भने गर्‍हामा  भरिनेगरी पानी चाहिएको किसान बताउँछन् । पछिल्लो वर्षा महोत्तरीका सबै भेगमा धेरथोर परेको छ । यद्यपि दक्षिणतिरभन्दा उत्तरतर्फ बढी पानी परेको सर्वसाधारणसँगको कुराकानीबाट बुझिएको छ । पछिल्लो वर्षाले प्रचण्ड गर्मीको रापबाट राहत मिलेको सर्वसाधारणले बताएका छन् । यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ । जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ । तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपाइँ थप बढाउने गरी पानी  पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव बताउँछन् । रासस

अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु

काठमाडौं । अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो ।  कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए । अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको बताए । अमलेखगञ्ज-लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको जानकारी दिए ।  उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए ।   

भोजपुर खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । विद्युत् विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए । 'यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ' उनले भने, 'यहाँ शून्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पुर्‍याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।' केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखीको टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए । पुस्तौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । 'हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ' उनले भने, 'विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।' दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ । 'विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ', उनले भने, 'विद्युत् विस्तारपछि हामी धेरै खुसी छौँ । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।'

डोङफेङ नामीको चाडपर्व अघि नै अफर सार्वजनिक, ८० हजारसम्मको छुट पाइने

काठमाडौं । चाडपर्वको माहोल सुरु हुनु अघि नै विद्युतीय गाडी निर्माता डोङफेङ नामीले ‘अर्ली फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय प्रिमियम इलेक्ट्रिक ह्याचब्याक ‘नामी’ मा ८० हजार रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको हो । अहिले ग्राहकहरूले नामी ईभीलाई रु ३४ लाख ७९ हजारको साटो रु ३३ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । ‘व्हाई वेट फर द फेस्टिभल’  भन्ने नारासहित ल्याइएको यस अफरमार्फत ग्राहकहरूले चाडपर्वको भीड र पर्खाइबिना नै समयमै उत्सवको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि मोटर्सका अनुसार, नामी ईभी छोटो समयमा नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको छ । सेग्मेन्ट–फर्स्ट फिचरहरू, भरपर्दो रेन्ज, उत्कृष्ट मूल्य र लक्जरी अनुभवका कारण यो ह्याचब्याकले नयाँ पुस्ताका लागि आधुनिक र स्मार्ट रोजाइको रूपमा आफूलाई स्थापित गरिसकेको कम्पनीको दाबी छ । नामी ईभीमा बोल्ड डिजाइन, सुविधायुक्त इन्टेरियर, स्मार्ट प्रविधि र प्रयोगकर्ता मैत्री अनुभव रहेको छ, जसले यसलाई फाइभ–स्टार लक्जरी ईभीको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ । यस अफरमार्फत डोङफेङ नामीले विद्युतीय सवारी साधनलाई अझ धेरै नेपाली उपभोक्तासम्म पुर्‍याउने र चाडपर्वको अवसरमा ग्राहकहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारीको नेतृत्वमा एक दर्जन बैंकको लगानी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका-४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि शनिबार कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सह नेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, साङ्‌ग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसि फाइनान्स सहितको सह वित्तीय व्यवस्थापन भएको छ । एक समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरे । ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने छ । सो आयोजना अर्ध जलाशय युक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४.१  घनमिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड  ७३५.ट मिटर रहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ । आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए । आयोजनाबाट वार्षिक एक हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् आयोजना स्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ करोड रूपैयाँ हुनेछ । आयोजनाको ३० प्रतिशत स्व पुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जल विद्युत् विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।

एक सय २५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

ढोरपाटन । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्य बताउँछन् । आचार्यले भने, 'अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरेका गर्नुभएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जाने छौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।' धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाकालको रोग लाग्न सक्ने उनको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले सुझाए । सबैभन्दा बढी कोलिफर्म दिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले मुहान सरसफाइ र संरक्षणमा लागेको बताए । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ । पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्मा बताउँछन् । रासस

काठमाडौं नेशनल मेडिकल कलेज पुन: सञ्चालनमा, प्राइभेटभन्दा सस्तो सेवा दिने दावी

काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले  उक्त अस्पतालको उद्घाटन गरे । उनले  स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदम रहेको बताए।  ८ वर्षअघि नै अध्यापनको लागि सम्बन्ध पाएको यो कलेजले सेवा दिन पाएको थिएन । अहिले एक सय शैयाको स्वीकृति लिएर अस्पताल सञ्चालन भएको हो ।  कलेजले अबको केही वर्षमा पाँच सय शैयाको अस्पतालसहित एमबीबीएस तथा एमडी कोर्ष गर्ने लक्ष्य लिएको छ।  निजी मेडिकल कलेज संघका पूर्वअध्यक्षसमेत रहेका बसुरुद्दिन अन्सारीले २०६८ सालदेखिको प्रयासपछि कलेज अस्पताल सञ्चालनमा ल्याउँदा खुसी भएको बताए ।  उनले अब गुणस्तरमा कुनै पनि हामी कम्प्रोमाइज नहुने दाबी गरे ।  ‘हाम्रो सिद्धान्त नागरिकले सस्तो, राम्रो, बलियो, भरपर्दो सेवा पाउन् भन्ने हो,’ उनी भन्छन्, ‘अब कुनै हालतमा क्वालिटीमा कम्प्रोमाइज हुनेवाला छैन । पैसाको कुरा गर्नुहुन्छ भने हामीले सबैभन्दा सस्तो सरकारीभन्दा १० प्रतिशत बढी र  प्राइभेटभन्दा धेरै सस्तो सेवा दिनेछौं।’  अन्सारीले गरिब निमुखा र असहायको लागि पनि अस्पतालमा विशेष व्यवस्था गरिएको पनि दाबी गरेका छन् ।  उनले यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मुल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु भएको बताए । आजदेखि सञ्चालनमा आएको नेशनल मेडिकल कलेजमा अनुभव टोली छ । नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन ल्याएको हो । ओपीडी निःशुल्क काठमाडौं नेशनल मेडिकल कलेज फेरि सञ्चालन गरेको अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ ।  अर्को सूचना जारी नहुँदासम्म निरन्तर उपलव्ध हुने जनाइएको छ ।  अस्पतालले अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको जनाएको छ ।  केही दिनसम्म विशेषज्ञ सेवाअन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोनी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ ।  अबदेखि अस्पतालमा एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड एक्सरे र फिजियोथेरापी सेवामा पनि छुट दिइने छ भने आपतकालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहने छ ।  फार्मेसी सेवा भने अस्पताल परिसरमै उपलब्ध गराइने छ । बसुरुद्धिनले स्वास्थ्य मन्त्रालयबाट कुनै अनुमति नलिइ अवैध रूपमा सञ्चालन भएको थाहा भएपछि यो अस्पताल बन्द गराइएको थियो । तर बसुरुद्धिन अवैध नभइ विशेष कारणवश गोविन्द केसीको अनसनबाट  बन्द गर्नु परेको बताउँछन् । ‘पहिले केही प्राविधिक समस्याहरू थिए, चलिसकेको अस्पताल रोक्नुपर्‍यो, फेरि चिकित्सा शिक्षा आयोगले अर्कै बार लगाइदियो र हामी बीचमा हराएजस्तै भयौं । अब हामी गुणस्तरीय र सस्तो सुलभ सेवा प्रदान गर्नेछौं,’ उनले भने ।  उनले अब सबै सरकारी प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याएको बताए।

एलएस अटोका २ नयाँ कार नेपालमा

काठमाडौं । एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएको छ ।  एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचब्याक र अलह्वील ड्राइभका दुई मोडल नेपाल आइपुगेका हुन् ।  आगामी साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा एलईभी ०५ र एलईभी एक्स प्रदर्शन हुनेछ ।  एलईभी ०५ एक प्रिमियम ह्याचब्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दावी गरेको छ ।  त्यस्तै, एलईभी एक्स एक अलह्वील ड्राइभ क्रसओभर एसयूभी हो ।  यसअघि नेपालमा बिक्री भईरहेको एलईभी वानको अलह्वील ड्राइभ भर्सन एलईभी एक्समा ७७ किलोवाट आवरको व्याट्रीप्याक र १९८ किलोवाटको मोटर रहेको छ ।  यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ । सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्वील ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरूमा समेत आरामले चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलईभी वानमा भन्दा अलह्वील ड्राइभ एलईभी एक्समा क्याविनका केही फिचरहरू समेत अपडेट भएका छन् ।  यी कारको मूल्य भने नाइमा मोबिलिटी शोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ ।