दुई संसदीय समितिको बैठक बस्दै, भूमिसम्बन्धी ऐनमा सरोकारवालासँग छलफल गर्ने
काठमाडौं । सङ्घीय संसदका दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएकाे हाे । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । सो समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने सूचनामा उल्लेख छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुनेछ । यस्तै, महालक्ष्मी स्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल, सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको अवस्था र निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल गर्ने सूची छ ।
त्रियुगा गाईघाट र मोदी बेनीमा जल सतह बढ्दै, कोशी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौं । उदयपुरको त्रियुगा गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा सावधानी अपनाउन समेत विभागले आग्रह गरेको छ । यसैगरी, पर्वत जिल्ला स्थित कालीगण्डकी नदी, मोदी बेनी जल मापन केन्द्रमा जल सतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भू-भागका धेरै स्थान तथा बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेसलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
१ हजार २ सय ट्युबवेल बाँड्दै सरकार, खडेरीको मारमा परेका किसानको घुइँचो
काठमाडौं । मधेस प्रदेश सरकारले सुख्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि १८ करोड रुपैयाँ लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत प्रदेशका ८ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा १ हजार २ सय स्यालो ट्युबवेल वितरण गरिने उनले बताए । एउटा स्यालो ट्युबवेल जडान गर्न १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म खर्च हुने प्रवक्ता चौधरीले बताए । सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा पानीको सतह (गहिराइ) कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ छ । सूचना जारी भएसँगै अहिले कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको घुइँचो लागेको छ । केन्द्रका कृषि प्राविधिक गणेश अधिकारीले शुक्रबारसम्म १ हजार १ सय भन्दा बढी आवेदन प्राप्त भएको उनले बताए । निवेदन बुझाउने समय आजसम्म रहेकाले यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ । प्राविधिक अधिकारीले कार्यालयले उपलब्ध गराउने स्यालो ट्युबवेलभन्दा बढी सङ्ख्यामा निवेदन प्राप्त भइरहेको बताए । ‘कार्यालयसँग दुई सयको हाराहारीमा स्यालो ट्युबवेल जडान गर्ने बजेट छ । तर निवेदन त्यसको दोब्बर प्राप्त भएको छ,’ उनले भने । प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाइने अधिकारीले बताए । यस वर्ष पर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको हो । शुक्रबार आवेदन दिन आएका क्षीरेश्वरनाथ नगरपालिका-९ दिगम्बरपुरका रामबाबु महतोले लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ रोकिएको बताए । ‘यस वर्ष समयमा पानी परेन, खेत सबै सुक्खा छ,’ उनले भने । कृषि ज्ञान केन्द्र धनुषाले यही साउन १२ गते सूचना प्रकाशित गरेर सात दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । आवेदन पेस गर्न किसानसँग नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि, जडान गर्ने कित्ताको प्रमाणित नक्सालगायत कागजात माग गरेको छ । एउटा स्यालो ट्युबवेल लिन दुई बिघा खेती युक्त जमिनको प्रमाणित लालपूर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने प्रावधान छ ।
देशका केही स्थानमा वर्षा, यी जिल्लाका खोलामा जल सतह सतर्कता तह पार गर्दै
काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जल सतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जल मापन केन्द्रको जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ । रुकुम पश्चिमको ठूलो भेरी, रिम्ना जल मापन केन्द्रको जल सतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ ।
फुटबलर साम्बालाई हेटौँडामा सम्मान
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौंडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिवार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उनलाई सम्मान गरिएको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवं हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सम्मानपछि बोल्दै खेलाडी भण्डारीले आफूले धेरै मेहनत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् । मोजाको भकुण्डोबाट आफ्नो फुटबल करियर शुरु भएको स्मरण गर्दै अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताए । कप्तान भण्डारीले मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको बताए । कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरे । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनको भनाई थियो । फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उनले बताए । सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उनले प्रतिवद्धता जनाए । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राखे ।
अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्न सक्ने
काठमाडौं । अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्न सक्ने व्यवस्था कानुनी रूपमा स्थापित भएको छ । संघीय संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेसँगै यस्तो अधिकार मन्त्रिपरिषद्को जिम्मामा गएको हो । प्रमाणीकरण भएसँगै ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक र सेवा–सुविधा सम्बन्धी ऐन, २०४९’ मा संशोधन भएको छ । संशोधित व्यवस्थाअनुसार अब नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तोक्न सक्नेछ । २०४९ मा बनेको मूल ऐनअनुसार प्रधानमन्त्रीको मासिक तलब ९ हजार रुपैयाँ तोकिएको थियो । उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायक मन्त्रीको ५ हजार ८ सय तोकिएको थियो । समयानुकूल नबन्दा सरकारले विगतमा कार्यसञ्चालन निर्देशिका मार्फत पारिश्रमिक र सुविधा पुनरावलोकन गर्दै आएको थियो। २०७७ माघ २२ मा पारित आठौं संस्करणमा प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मका तलब–सुविधा अद्यावधिक गरिएको थियो । तर अब यो प्रक्रिया पूर्ण रूपमा कार्यपालिका-मन्त्रिपरिषद्‌कै निर्णयमा आधारित हुनेछ । सरकारले जुनसुकै बेला मन्त्रिपरिषद्बाट निर्णय गरेर तलब वृद्धि वा संशोधन गर्न सक्ने कानुनी अधिकार पाएको हो ।
अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वामलोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे । कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।
अमेरिकी कर नीति र रोजगारीको घट्दो दरले बजारमा नकारात्मक असर
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै देशहरूमा नयाँ भन्सार कर लगाउने निर्णय गरेका छन् । त्यसैगरी, अमेरिकामा रोजगारीको संख्या अपेक्षा भन्दा कम देखिएपछि चिन्ता थपिएको छ । यी दुई कारणले गर्दा शुक्रबार विश्वका प्रमुख सेयर बजारहरूमा उल्लेखनीय गिरावट आएको छ । अमेरिकी डाउ जोन्स सूचकांक १.२ प्रतिशतभन्दा बढीले घटेर खुलेको छ भने पेरिस र फ्राङ्कफर्टका सेयर बजार दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् । अमेरिकी डलरले पनि प्रमुख मुद्राहरूको तुलनामा आफ्नो पहिलाको लाभ गुमाएको छ । ट्रम्पले अगस्ट १ को म्याद अगाडि नयाँ शुल्कको घोषणा गरे, जसले विभिन्न देशलाई सम्झौतामा आउन दबाब दिएको थियो । कमजोर रोजगारी तथ्यांकले बजारमा झनै दबाब अमेरिकी श्रम विभागका अनुसार, जुलाई महिनामा केवल ७३ हजार नयाँ रोजगारी सिर्जना भएको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा निकै कम हो । साथै, मे र जुन महिनाको रोजगार तथ्यांकलाई पनि घटाएर संशोधन गरिएको छ । ट्रेडिङ समूहकी अनुसन्धान निर्देशक क्याथलीन ब्रुक्सले भने, 'अब रोजगारीको तथ्यांकले बजारको ध्यान पुरै तानेको छ । ट्रम्पका भन्सार शुल्कभन्दा पनि यो समाचार प्रभावशाली भएको छ ।' स्विट्जरल्यान्ड र क्यानडा प्रमुख निशानामा ट्रम्प प्रशासनले ७० देशमाथि नयाँ शुल्क लगाएको छ, जसमा क्यानडामाथि ३५ प्रतिशत र स्विट्जरल्यान्डमाथि ३९ प्रतिशत शुल्क प्रस्ताव गरिएको छ । स्विस सरकारले त्यसविरुद्ध अमेरिकासँग वार्ता गर्ने तयारी गरिरहेको जनाएको छ । केही देशहरू बेलायत, युरोपेली संघ, जापान र दक्षिण कोरियाले शुल्कबाट बच्न अमेरिका सँग सम्झौता गरिसकेका छन् । चीन भने वार्ताको प्रक्रियामा छ । फार्मा र प्रविधि कम्पनीमाथि असर ट्रम्पले अमेरिकी बजारमा औषधिको मूल्य नघटाएमा कडा कदम चाल्ने चेतावनी दिएपछि युरोपेली औषधि कम्पनीहरूको सेयर मूल्य घटेको छ । यता, प्रविधि कम्पनीहरूले राम्रा आर्थिक नतिजा देखाए पनि बजारमा अनिश्चितताले ती परिणामहरू ओझेलमा परेका छन् ।