इन्द्रेणी व्याङक्वेट, थकाली भान्सा घरसहित ३ वटा होटललाई नगद जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटललाई कूल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार रुपैयाँ, पाककला प्रालिलाई १० हजार रुपैयाँ र इन्द्रेणी फुड वर्ल्ड एन्ड व्याङक्वेटलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसार कारबाही गरेको हो । यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र ३ वटालाई नगद जरिवाना गरेको हो ।
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने, ३ लाख ९६ हजार थान छपाइ
काठमाडौं । राहदानी विभागले अब २ कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।
समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा हुलाक टिकट लोकार्पण
काठमाडौं । नेपाल सरकार अन्तर्गतको हुलाक सेवा विभागले समाजसेवी तथा उद्योगी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा १० रुपैयाँ अंकित हुलाक टिकटको प्रथम आवरणमा टाँचा प्रदान गरी लोकार्पण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच गोयलले नेपाली समाजमा पुर्याएको योगदानको कदर गर्दै यो टिकट सार्वजनिक गरिएको हो । कार्यक्रममा गोयल फाउन्डेसनका अध्यक्ष तथा स्वर्गीय ओमप्रकाश गोयलका सुपुत्र कैलाशचन्द्र गोयलले आफ्नो पिताको संघर्ष र समाजसेवाप्रतिको समर्पणको स्मरण गरे । उनले भने, ‘मेरा पिता एक साधारण परिवारबाट उठेर भारतको हरियाणादेखि नेपालको भद्रपुर हुँदै काठमाडौंसम्म आफ्नो कर्मक्षेत्र बनाए । आफ्नो कमाइको केही हिस्सा समाजसेवामा लगाउनु भन्ने उहाँको प्रेरणाले हामीलाई सधैं दिशानिर्देश गर्यो ।’ कैलाशचन्द्र गोयलले आफ्नो पिताले खानेपानी, स्वास्थ्य, शिक्षा, गौशाला निर्माण र मठमन्दिर स्थापना जस्ता अनगिन्ती सामाजिक कार्यमा जीवनभर सक्रिय रहेको बताए। उनले भने, ‘बुवाले सुरु गर्नुभएका सामाजिक कार्यलाई निरन्तरता दिन र उहाँको सपनालाई जीवित राख्न हामीले गोयल फाउन्डेसन स्थापना गरेका हौं ।’ कैलाशचन्द्रले आफ्नो पिताको निधनको १८ वर्षपछि सरकारले हुलाक टिकट प्रकाशन गरेर गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै गोयल परिवार सधैं सरकार र हुलाक सेवा विभागप्रति ऋणी रहने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले भौतिक शरीर नष्ट भए पनि असल कर्मले मानिसलाई युगौंसम्म अमर बनाउने बताए । उनले भने, ‘आज ओमप्रकाश गोयलजी हुलाक टिकटमा टाँसिनुभएको छ । उहाँ आफ्नो भौतिक शरीरले हामी माझ हुनुहुन्न, तर उहाँले समाजका लागि गर्नुभएको कामले उहाँलाई अमर बनाएको छ। मान्छे साच्चिकै मर्दैन, कर्मले अमर रहन्छ ।’ उनले देशको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाप्रति उद्योगी(व्यवसायीमा रहेको चिन्तालाई स्वीकार गर्दै अब विवेकपूर्ण निर्णय लिने समय आएको पनि बताए । उनले भदो २३ र २४ गते आन्दोलनमा सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त देशको सपना देखेर ज्यान दिने युवाहरूको बलिदानले वर्तमान सरकार बनेको स्मरण गराए। समारोहमा उद्घोषकले गोयलको परोपकारी भावनालाई एक मार्मिक कथामार्फत प्रस्तुत गरेका थिए । हुलाक सेवा विभागको आयोजना र गोयल फाउन्डेसनको सह-आयोजनामा सम्पन्न उक्त समारोहमा उपसभामुख इन्दिरा राना मगरलगायत सरकारी अधिकारीहरू, उद्योगी-व्यवसायी तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
मानसिक स्वास्थ्यलाई सहयोग गर्ने यी पाँच जीवनशैली
काठमाडौं । मानसिक स्वास्थ्य सुधार गर्ने उपाय भनेको स्वस्थ जीवनशैलीका छनोटहरू अपनाउनु हो । दैनिक जीवनमा स्वस्थ बानीहरू विकास गर्दा सकारात्मक सम्बन्ध निर्माण गर्न र चुनौतीहरू सामना गर्न सहयोग पुग्छ । व्यायामले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ । नियमित व्यायाम वा शारीरिक गतिविधिले डिप्रेसन र एन्जायटीका भावना कम गर्न मद्दत गर्छ । यसले निद्राको गुणस्तर सुधार्नुका साथै समग्र भावनात्मक स्वास्थ्य पनि राम्रो बनाउँछ । मानसिक स्वास्थ्यमा सहयोग पु¥याउने शारीरिक गतिविधिहरू केके हुन्, आउनुहोस् यसबारेमा छलफल गरौं । नियमित व्यायाम दौडिनु, पौडी खेल्नु, साइकल चलाउनु, हिँडडुल गर्नु, बगैंचामा काम गर्नु शरीरका लागि फाइदाजनक काम हुन् । यदि समय मिल्यो भने नृत्य गर्दा अझ राम्रो हुन्छ । विशेषज्ञहरूले यसको लाभ महसुस गर्न हप्तामा १५० मिनेट एरोबिक व्यायाम गर्न सिफारिस गर्छन् स्वस्थ आहार स्वस्थ रहने आहार सन्तुलित आहार हो । कहिलेकाहीँ मिठाइँ वा फुर्सदको परिकार खानेले धेरै हानि गर्दैन । तर चिनी र बोसो बढी भएका खानाहरू धेरै मात्रामा खाने हो भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । मेन्टल हेल्थ फाउण्डेशनले विविधतापूर्ण आहार खान सिफारिस गरेको छ । जसमा अन्नका रोटी र दाना, बीज र स–साना दाना (नट्स, सीड) जस्ता खानेकुराहरू खानुपर्छ । गुणस्तरीय निद्रा गुणस्तरीय निद्राले भावनात्मक नियन्त्रण, संज्ञानात्मक क्षमता र मानसिक स्वास्थ्यलाई फाइदा गर्दछ । राम्रो निद्रा लाग्ने बानी विकास गर्दा तपाईंको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । यदि तपाईं हरेक रात ७–८ घण्टा निद्रा पाउन सक्नुहुन्छ भने तपाईंको मन र शरीर दुवैलाई फाइदा हुन्छ । सामाजिक सम्बन्ध मानसिक रूपमा स्वस्थ हुनको लागि सामाजिक सम्बन्ध दृढ हुनुपर्छ । यसबाट धेरै लाभहरू हुन्छन् । परिवार र साथीहरूसँगको सामाजिक सम्बन्धले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । यसले आत्मसम्मान बढाउने र सहानुभूति विकास गर्ने काम गर्छ, सम्बन्धहरूमा विश्वास र सहकार्य बढ्छ । दृढ र सकारात्मक सम्बन्धहरूले तपाईंलाई खुसी र सन्तुष्ट महसुस गराउन सक्छ । माइन्डफुलनेस अभ्यास माइन्डफुलनेस वा ध्यानले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । साथै स्वस्थ बानीहरू विकास गर्न पनि प्रेरित गर्छ । दिनको १० मिनेट मात्र अभ्यास गर्नाले पनि धेरै फाइदा हुन्छ । माइन्डफुलनेसले भावनाहरू व्यवस्थापन गर्न र सकारात्मक दृष्टिकोण निर्माण गर्न पनि सहयोग पुर्याउँछ ।
हुलास वायरको आम्दानी ७.३५ अर्ब, बैंकमा ऋण पनि ७.२९ अर्ब रुपैयाँ
काठमाडौं । करिब पाँच दशकको औद्योगिक विरासत बोकेको हुलास वायर इन्डस्ट्रिजले एकै वर्ष साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । हुलास वायरका अनुसार सन् २०२५ मा ७ अर्ब ३५ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३.३५ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ७० लाख रुपैयाँ कम हो । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । स्वर्गीय महेन्द्रकुमार गोल्छाले सन् १९७९ मा मोरङको बुढीगंगा गाउँपालिकामा हुलास वायर इन्डस्ट्रिज स्थापना गरेका थिए । नेपालकै अग्रणी औद्योगिक संस्थामध्ये एकका रूपमा परिचित हुलास वायर इन्डस्ट्रिजले हाल मोरङ र सुनसरीमा गरी दुईवटा उत्पादन युनिटबाट आईएसओ ९००१ मान्यता प्राप्त विविध स्टिल तथा तारजन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ । बुढीगंगा गाउँपालिका-३, बाँसबारीमा रहेको युनिट-१ बाट जीआई वायर ५५ हजार मेट्रिक टन, ग्याबिन बक्स १४ हजार ४०० मेट्रिक टन, एचबी वायर २ हजार ३७५ मेट्रिक टन, रिब्ड वायर ३ हजार ३०० मेट्रिक टन, बाब्र्ड वायर ४५० मेट्रिक टन, वायर नेल्स १ हजार २०० मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसकासाथै, नन-फेरस धातुअन्तर्गत ब्रास ५ हजार ५६० मेट्रिक टन र कपर सिट २ हजार २०० मेट्रिक टन समेत सोही युनिटमा उत्पादन भइरहेको कम्पनीले जनाएको छ । यस्तै, सुनसरीको इटहरी उप-महानगरपालिका-१३, खनारस्थित युनिट-२ बाट टीएमटी तथा न्यारो स्ट्रिप क्वाइल १ लाख ७२ हजार ८०० मेट्रिक टन, एमएस बिलेट ८६ हजार ४०० मेट्रिक टन र एमएस ब्ल्याक पाइप (६ हजार ००० मेट्रिक टन उत्पादन हुँदै आएको छ । हुलास वायर इन्डस्ट्रिज गोल्छा परिवारका सदस्यहरूद्वारा प्रवर्द्धित कम्पनी हो । कम्पनीको सेयर संरचनाअनुसार पारस एम. गोल्छाको करिब ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको करिब १७ प्रतिशत सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक युक्ति गोल्छाले सम्हाल्दै आएकी छन् । उद्योग क्षेत्रमा एक दशकको अनुभव बोकेकी उनको नेतृत्वमा हुलास वायर इन्डस्ट्रिजले आफ्नो सञ्चालन क्षमता र व्यवस्थापन दक्षता अभिवृद्धि गर्दै आएको कम्पनीले जनाएको छ । उद्योग सञ्चालनका लागि हुलास वायरले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब २९ करोड २७ लाख रुपैयाँ कर्जा लिएको छ । जसमा कम्पनीले २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यस्तो छ उद्योगको आम्दानी उद्योगले सन् २०१७ मा ६ अर्ब ९६ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ७ अर्ब ५१ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । उद्योगले सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ५ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।
बैंकिङ सुधारको रोडम्याप सार्वजनिक : नीति, कर्जा, मर्जरदेखि ग्रे-लिष्टसम्म सिफारिस
काठमाडौं । सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैंकिङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा। रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैंकिङ नीति, नियमन, कर्जा प्रवाह, ग्रामीण अर्थतन्त्र, मर्जर, ग्रे–लिष्ट र पुँजीबजारसम्म फैलिएका सुधारका एजेन्डा अघि सारेको छ । कार्यदलले अर्थतन्त्र पूर्ण चलायमान हुन नसकेको, बैंकिङ क्षेत्रमा लगानी प्रवाह कमजोर रहेको र तरलता निष्क्रिय अवस्थामा थुप्रिँदै गएको पृष्ठभूमिमा संरचनात्मक सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल) बनाउँदै जोखिममा आधारित सुपरिवेक्षणलाई प्रभावकारी बनाउन उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थालाई मापदण्डका आधारमा तीन वर्गमा वर्गीकरण गरी फरक–फरक निर्देशन लागू गर्नुपर्ने सुझाव दिइएको छ । निर्देशित कर्जा नीति पुनरावलोकन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र हरित ९ग्रिन० क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्ने, बैंकिङ सेवाको लागत र ब्याजदर तुलनात्मक रूपमा हेर्न मिल्ने एकीकृत संयन्त्र विकास गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । साथै, लघुवित्त संस्थाको प्रकृति फरक भएकाले बङ्गलादेशजस्तै छुट्टै नियामक निकाय आवश्यक भइसकेको कार्यदलको ठहर छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता गैरबैंकिङ संस्थाको कारोबार बढेकाले तिनको पनि अलग नियामक संरचना आवश्यक रहेको उल्लेख गरिएको छ । कार्यदलले निक्षेपकर्ताको हित नघट्ने गरी कर्जा पुनःसंरचना, सहुलियतपूर्ण कर्जा कार्यक्रम तत्काल सञ्चालन, बन्द वा सानो स्तरमा रहेका व्यवसायलाई पुनर्जीवन दिन थप कर्जा व्यवस्था गर्न सुझाव दिएको छ । ग्रामीण क्षेत्रमा ५ लाख र सहरी क्षेत्रमा रु १० लाखसम्मको व्यवसाय कर्जा सरल रूपमा उपलब्ध गराउने, लघुवित्तमार्फत समूहगत तथा धितोमा आधारित उद्यमशील कर्जाको सीमा बढाउने तथा युवा लक्षित स्टार्टअप र आईटी व्यवसायमा कर्जा प्रोत्साहन गर्नुपर्ने उल्लेख छ। कार्यदलले ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक कार्यक्रम सुरु गर्न सुझाव दिएको छ । गभर्नर स्वयंले प्रत्येक महिना फरक–फरक भौगोलिक क्षेत्रको भ्रमण गरी कर्जा माग, सम्भावना र समस्या बुझेर नीतिगत परिमार्जन गर्नुपर्ने भनिएको छ। इच्छुक पालिकामा व्यवसायी, एनआरएन र बैंकर सम्मिलित वित्तीय गुरु टोली खटाई परम्परागत कृषि बाहिरका सम्भावनायुक्त उद्योग पहिचान गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ । मर्जर तथा एक्विजिसनलाई अत्यन्त सतर्कताका साथ अघि बढाउनुपर्ने भन्दै कार्यदलले हाल मर्जरमा गएका भन्दा नगएका धेरै संस्थाको कार्यसम्पादन राम्रो देखिएको उल्लेख गरेको छ । मानव संसाधन, प्रविधि र सञ्चालनको पूर्ण एकीकरणबिनाको मर्जर दीर्घकालीन रूपमा सफल नहुने चेतावनी प्रतिवेदनमा दिइएको छ । नेपाललाई ग्रे-लिष्टबाट हटाउन केन्द्रीय बैंकले अझ सक्रिय भूमिका खेल्नुपर्ने प्रतिवेदनको जोड छ । आगामी दुई वर्षभित्र आवश्यक सुधारात्मक क्रियाकलाप सम्पन्न गर्न समयबद्ध कार्ययोजना आवश्यक रहेको कार्यदलले औंल्याएको छ । पुँजीबजारसम्बन्धी एजेन्डामा केन्द्रीय बैंकका प्रतिनिधि नेप्सेबाट फिर्ता बोलाउने, मार्जिन कर्जामा विश्व अभ्यास अपनाउने, एनआरएनलाई दोस्रो बजारमा सहजीकरण गर्ने र ग्रिन बण्डसहित बण्ड बजार विकासमा धितोपत्र बोर्डसँग समन्वय गर्न सुझाव दिइएको छ । कार्यदलको प्रतिवेदनले बैंकिङ क्षेत्रको सुधार केवल वित्तीय स्थायित्वका लागि मात्र नभई समग्र अर्थतन्त्रलाई पुनः गति दिन निर्णायक हुने स्पष्ट संकेत गरेको छ ।
तीन जनाको स्थानहद फुकुवा, ओली र लेखकको कायमै
काठमाडौं । जेनजी आन्दोलनको छानबिनका क्रममा बयानका लागि काठमाडौं उपत्यका छोड्न वा विदेश जान रोक लगाइएका तीन जनाको स्थानहद फुकुवा गरिएको छ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथिको रोक हटाइएको हो । जाँचबुझ आयोगले मंगलबार (आज) विज्ञप्ति जारी गर्दै उनीहरूसँग बयान सकिएको र त्यसैले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरिएको जानकारी दिएको छ। अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि मात्र स्थानहद कायम छ ।
पोर्चुगल पठाइदिने भन्दै १० लाख ठगीको अभियोगमा पक्राउ
काठमाडौं । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए । अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु आठ लाख ४० हजार लिएका थिए । उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।