एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह बुधबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधारका कामहरू अगाडि बढिरहेको जानकारी दिए । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले समारोहमा ग्यास उद्योगले सामना गर्दै आएका व्यवहारिक समस्या र चुनौतीहरूबारे स्पष्ट धारणा राखे । साथै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा संघको तर्फबाट निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको जानकारी दिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण वस्तुगत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई निर्वाचनमा सक्रिय सहयोग गर्न हार्दिक अपिल गरे । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहेको स्पष्ट पारे । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज, नियमित र व्यवस्थित बनाउन निगम निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो । सो अवसरमा नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट एलपी ग्यास आयातलाई दीर्घकालीन, सुरक्षित र लागत प्रभावी बनाउने उपायका रूपमा पाइपलाइन विस्तार आवश्यक रहेकोमा जोड दिए । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगको संस्थागत सुदृढीकरण, आपूर्ति प्रणालीको सुधार तथा निजी क्षेत्रको जिम्मेवार भूमिकाका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
माघ ११ को राष्ट्रियसभा निर्वाचन : सात प्रदेशमा निर्वाचन अधिकृत तोकिए
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ । आगामी फागुन २० गतेदेखि रिक्त १९ पदमा निर्वाचन हुँदैछ । निर्वाचन कार्यक्रमअनुसा यही पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २३ गते बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०ः०० बजेदेखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्बन्धित मतदान केन्द्रमा बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ ।
एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचएलका पूर्व तथा वर्तमान अध्यक्ष र सञ्चालकहरूका साथै अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय, अध्यागमन विभाग, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी सेवा अपरेटर (पीएसओ)का प्रमुखहरूको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ साल पौष ८ गते स्थापना भएको एनसीएचएलले नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग तथा सेटलमेन्ट प्रणाली विकास गर्दै आएको छ । प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङ्गलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न २०६८ सालमा एनसीएचएल–ईसीसी सञ्चालनमा ल्याएको संस्थाले नेपाल राष्ट्र बैंकको रणनीति अनुरूप आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू क्रमशः सञ्चालनमा ल्याउँदै आएको छ । वार्षिकोत्सव समारोहमा एनसीएचएलले कम्पनीमा १० वर्ष सेवा पूरा गरेका हेड–पेमेन्ट सिस्टम छवि सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । साथै, संस्थाका पूर्व अध्यक्ष अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई एनसीएचएलको स्थापना र विकासमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा एनसीएचएलले विभिन्न नवीन डिजिटल प्रोडक्ट तथा सोलुसनको अनावरणसमेत गरेको छ । सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँगको सहकार्यमा कर्पोरेट पे २.०, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्ड सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टीज नेट सेटलमेन्ट सार्वजनिक गरिएको हो । एनसीएचएलले वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर–बैंक संस्थालाई १३ विधामा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीतर्फ क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन ईएफटी कार्ड सर्भिसेस्’, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ र नबिल बैंकलाई ‘एक्सिलेन्स इन डिजिटाइजिङ बिजनेस विथ कर्पोरेटपे’ अवार्ड प्रदान गरिएको छ । नेपाल सरकारको खर्च तथा राजस्व कारोबार डिजिटाइज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई विशेष सम्मान गरिएको छ भने ई–भिसाको अनलाइन भुक्तानीका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे सक्षम बनाउन योगदान पुर्याएको भन्दै गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागलाई समेत सम्मान गरिएको छ । हाल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजत प्राप्त एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा तथा १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। एनसीएचएलका प्रणालीमार्फत गत आर्थिक वर्ष १८६ खर्ब रुपैयाँभन्दा बढीको २१ करोड १२ लाखभन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भएको छ । अघिल्लो वर्षको तुलनामा कारोबार संख्या ६७ प्रतिशत र कारोबार रकम १९ प्रतिशतले वृद्धि भएको एनसीएचएलले जनाएको छ ।
टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक भएको छ । टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमार्फत प्रदान गर्दै आएको इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिको राउटर (सीपीई) तथा एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको हाे । यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने नेपाल टेलिकमले जनाएको छ । यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत ल्याएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या कम हुनुका साथै इन्टरनेट स्पिडमा समेत उल्लेखनीय सुधार आउने टेलिकमको दाबी छ । वाइफाई ६ प्रविधिले एकैसाथ धेरै डिभाइस कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई पूर्ण स्पिडमा इन्टरनेट उपलब्ध गराउन, डाटा ट्रान्सफर छिटो गर्न तथा डिभाइसको ब्याट्री लाइफ बढाउन सहयोग गर्ने बताइएको छ । साथै, यो प्रविधि सुरक्षित र भरपर्दो इन्टरनेट सेवाका लागि पनि प्रभावकारी मानिन्छ । ग्राहकहरूका लागि नेपाल टेलिकमले वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराएको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट तथा टेलिफोन प्याकेज, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन प्याकेज र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन प्याकेजमध्ये कुनै एक छनोट गर्न सकिने छ । त्यस्तै, प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज मात्र, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट तथा प्रिमियम एनटीटीभी प्याकेजमध्ये कुनै एक रोज्न सकिने व्यवस्था गरिएको छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइल डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ । वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचका नयाँ दररेट तथा अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने छ । साथै १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट पनि थप जानकारी लिन सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन् ।
एसियाको वर्ष समीक्षा : २०२५ मा कसको अवस्था सबैभन्दा राम्रो र कसको सबैभन्दा खराब ?
काठमाडौं । कस्तो वर्ष रह्यो त यो ? धेरैका लागि त यो सकेसम्म छिटो सकियोस् भन्ने चाहना स्वाभाविक नै थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ नीतिहरूको प्रभावदेखि एसियाभरि भएका प्राकृतिक तथा मानव निर्मित विपत्तिसम्म । नयाँ नेताहरूले ऐतिहासिक ‘ग्लास सिलिङ’ तोडेकोदेखि पुराना नेताहरूलाई अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) सम्म पुर्याइने वा अनुपस्थितिमै मृत्युदण्ड सुनाइने घटनासम्म । सीमापार क्षेप्यास्त्र प्रहार । दक्षिण एसिया र प्रशान्त क्षेत्रमा आतंकवादी आक्रमण । दीर्घकालीन भ्रष्टाचारका चुनौती र रियल इस्टेट क्षेत्रका समस्या । साथै ठगीमा परेका र दास बनाइएका मानिसहरू । २०२५ अन्त्यतिर आइपुग्दा हामी फर्केर हेर्छौ– कसको वर्ष खराब रह्यो र कसको राम्रो । सबैभन्दा खराब वर्ष : एसियाका साइबर ठगी पीडितहरू यो वर्ष दक्षिणपूर्वी एसियाबाट उत्पन्न हुँदै विश्वभर फैलिएको साइबर अपराधको बढ्दो तुफान देखियो । म्यानमार, लाओस र कम्बोडियाबाट मुख्यतः सञ्चालन हुने आपराधिक गिरोहहरूले विश्वभरका पीडितबाट अर्बौं डलर ठगे। यहाँ अपराधी स्वयं पनि पीडित नै छन् । नक्कली रोजगारीका प्रस्तावमा फसाइएर ती देशहरूमा लगिएका थिए । सयौं हजार मानिसहरू इच्छाविपरीत थुनिए, जहाँ उनीहरूलाई ठगी केन्द्रहरूमा काम गर्न बाध्य पारियो । उनीहरूमध्ये धेरैजसो थाइल्यान्ड हुँदै गएका थिए। जनवरी २०२५ मा चिनियाँ अभिनेता वाङ सिङलाई नक्कली अभिनयको कामको प्रलोभन देखाएर अपहरण गरी एउटा ठगी केन्द्रमा काम गर्न बाध्य पारिएको घटनाले विश्वको ध्यान खिच्यो । ट्रम्प प्रशासनले समेत यसमा चासो देखायो । अमेरिकी अभियोजक जेनिन पिरोले भनिन्, ‘यी ठगी केन्द्रहरूले मेन स्ट्रिट अमेरिकाबाट चिनियाँ संगठित अपराधको खल्तीमा पुस्तान्तरणीय सम्पत्ति सारिरहेका छन् ।’ कमजोर सरकार र व्यापक भ्रष्टाचारका कारण दक्षिणपूर्वी एसियामा अर्बौं डलरका यस्ता आपराधिक सञ्जालहरू लगभग दण्डहीन रूपमा सञ्चालन भइरहेका छन् । कैदीहरू मुक्त गर्ने र केन्द्रहरू बन्द गर्ने प्रयास हुँदाहुँदै पनि यस्ता खालका घटनाहरू भइरहेका हुन् । यदि यी रोकिएनन् भने यी सञ्जालहरूले एआई र डीपफेक प्रयोग गर्दै अझै परिष्कृत अपराध गर्नेछन् । त्यसैले भाग्ने र उद्धार हुने आशा अत्यन्तै कम भएका एसियाका साइबर ठगीमा दास बनाइएका पीडितहरूले २०२५ मा एसियाको सबैभन्दा खराब वर्ष भोग्ने दुर्भाग्यपूर्ण उपाधि पाएका छन् । खराब वर्ष : माटो, हावा, पानी र आगोका सिकार वर्षको अन्त्यतिर एसियाका विशाल भूभागमा मृतक संख्या झनै बढेको देखियो । २०२५ भरि नै भूकम्प, आँधी, बाढी जस्ता प्राकृतिक विपत्तिका कारण अत्यधिक मानिसहरूले ज्यान गुमाए, जसलाई मानव भ्रष्टाचार र अकुशलताले अझै गम्भीर बनाएको देखियो । मार्च २८ मा म्यानमारमा गएको भूकम्पले ३ हजार ६०० भन्दा बढीको ज्यान लियो, करिब २ लाख मानिस विस्थापित भए र टाढाको बैंककसम्म निर्माणाधीन गगनचुम्बी भवन ढल्दा दर्जनौंको मृत्यु भयो । श्रीलंका, थाइल्यान्ड, इन्डोनेसिया, भियतनाम, मलेसिया र फिलिपिन्समा बाढी, पहिरो र आँधीले लाखौंलाई प्रभावित गर्यो र १ हजार ६०० भन्दा बढीको ज्यान गयो । यसमा आगलागी पनि थपियो । वर्षको अन्त्यतिर हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट अपार्टमेन्टमा भएको भयावह आगलागीले संसारभर टेलिभिजन पर्दामा डरलाग्दा दृश्य देखायो । काम नगर्ने फायर अलार्म र कमजोर निर्माण सामग्रीले कम्तीमा १६० जनाको ज्यान गएको यो घटनालाई सहरकै सबैभन्दा घातक आगलागीमध्ये एक बनायो । मिश्रित वर्ष : जेनजी आन्दोलन मीम, ह्यासट्याग र रिल्ससहित जापानी एनिमे तथा मंगा शृंखला ‘वन पिस’ बाट चर्चित ‘जोली रोजर’ झन्डा फहराउँदै परिवर्तनको चाहना बोकेका जेनजी युवाहरूका लागि २०२५ मिश्रित रह्यो । १९९७ देखि २०१२ बीच जन्मिएका यी युवाहरू नेपाल, इन्डोनेसिया, फिलिपिन्स, माल्दिभ्स र नयाँ आसियान सदस्य राष्ट्र तिमोर–लेस्टेसम्म सडकमा उत्रिए, जहाँ भ्रष्टाचार, नातावाद र आर्थिक असमानताविरुद्ध प्रदर्शन भए । नतिजा भने मिश्रित नै रहे यद्यपि एसियाभर उनीहरूको असन्तोष साझा थियो । जेनजीले नेपालमा सरकार ढाल्न सफल भए । अघिल्लो वर्ष बंगलादेशमा पनि यही पुस्ताले सरकार पतनमा मुख्य भूमिका खेलेको थियो । अन्य देशमा २०२५ मा साना–साना सहमति हासिल भए । तर वर्षको अन्त्यसम्म आइपुग्दा प्रश्न उही रह्यो— इन्टरनेट युगमै हुर्किएको पहिलो पुस्ता जेनजीले यो ऊर्जा कायम राखेर रचनात्मक परिवर्तनका लागि दिगो आन्दोलन बनाउन सक्छ कि सक्दैन ? भ्रष्टाचार जरा गाडिएका प्रणाली सुधार्ने, यथास्थितिप्रतिको युवाको गहिरो निराशा कम गर्ने र थप आर्थिक अवसर सिर्जना गर्ने राजनीतिक शक्तिको आशा अझै बाँकी छ । ‘वन पिस’ का पात्र मन्की डी. लुफीको भनाइ सापटी लिँदै– ‘जोखिम नलिए भविष्य निर्माण गर्न सकिँदैन ।’ राम्रो वर्ष : एसियाको ‘बाँसजस्तो आर्थिक रणनीति’ वर्षको अन्त्यतिर सुस्त भए पनि बढ्दै गरेका एसियाली अर्थतन्त्रहरूमा लचिलोपन देखियो । ट्रम्पका ‘लिबरेसन डे’ ट्यारिफहरू सामना गर्न क्षेत्रका नेताहरूले उच्च हावामा झुक्ने बाँसजस्तै लचकदार रणनीति अपनाए । यसले ‘बाँसजस्तो आर्थिक रणनीति’ लाई सफल बनायो । व्यावहारिकताका लागि परिचित एसियाली देशहरूले नयाँ विश्व आर्थिक यथार्थलाई व्यवस्थापन गर्न सके । परिणामस्वरूप अमेरिकी ट्यारिफहरू प्रारम्भिक प्रस्तावभन्दा घटे, व्यापार संरचना पुनर्संयोजन भए र नयाँ आर्थिक रणनीतिहरू विकसित भए । यसको उदाहरण भारत, क्यानडा र अस्ट्रेलियाबीच प्रविधि र नवप्रवर्तनमा भएको सहकार्य सम्झौता हो, जसले एसियाली देशहरूको आफ्नै ‘आर्ट अफ द डिल’ झल्काउँछ । एशियाली विकास बैंकका अनुसार आर्थिक पुनःसमायोजनले विकासशील एसियालाई करिब ५ प्रतिशतको वृद्धिदर कायम राख्न सहयोग गर्यो । यसले एसियालाई विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने क्षेत्रको रूपमा कायम राख्यो । सबैभन्दा राम्रो वर्ष : चिनियाँ ‘सफ्ट पावर’ यदि प्रविधि र सिर्जनात्मक सामग्री नै नयाँ सफ्ट पावर हुन् भने २०२५ ले ‘मेड इन चाइना’ पनि यस दौडमा बलियो प्रतिस्पर्धी हुन सक्ने देखायो । बेइजिङले अमेरिका र कोरियासँगै सफ्ट पावर महाशक्तिको सूचीमा स्थान बनायो । वर्षको सुरुवात जनवरीको अप्रत्याशित घटनाबाट भयो( कम लागतको एआई मोडल ‘डीपसिक’ सार्वजनिक । जसले च्याटजिपिटी र अमेरिकी प्रविधि प्रभुत्वमा मोहित संसारलाई चकित पार्यो । वर्षको अन्त्यतिर ‘लाबुबु’ ले विश्वभर तहल्का मच्चायो, यहाँसम्म कि न्यूयोर्कको प्रसिद्ध मेसी’ज थ्यांक्सगिभिङ डे परेडमा समेत देखियो । लाबुबु हङकङका कलाकार तथा लेखक कासिङ लुङद्वारा सिर्जित ‘द मन्स्टर्स’ समूहको पात्र हो । यसैगरी, बीवाइडी विद्युतीय सवारीदेखि अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने एनिमेटेड फिल्म ‘ने झा २’ (करिब २ अर्ब डलर कमाइ), एनबीए कोर्टमा देखिएका ली–निङ जुत्ता र एसिया तथा अमेरिकाभर तीव्र गतिमा खुलिरहेका लकइन कफी पसलसम्म २०२५ मा चिनियाँ सफ्ट पावरले आफ्नो अद्भूत क्षमता देखायो । त्यसैले यसले एसियामा सबैभन्दा राम्रो वर्षको उपाधि पाएको छ । २०२६ सबैका लागि अझ राम्रो, सुरक्षित र शान्तिपूर्ण रहोस् । (सीएनबीसीबाट अनुदूति तथा सम्पादित)
नेपालको पहिलो वृहत कस्मेटिक ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुँदै
काठमाडौं । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो तथा एकमात्र वृहत ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ । यही डिसेम्बर २६ देखि २८ सम्म (पुस ११, १२ र १३ गते) काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेट सेन्टरमा यो प्रदर्शनी सञ्चालन हुन लागेको हो । हाउस अफ राजकर्निकारद्वारा सञ्चालन हुने यो एक्स्पो नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोगमा आयोजना हुन लागेको हो । एक्स्पोमा वाव म्यागजिन मिडिया पार्टनर, वेवसर्फ़र आईएसपी पार्टनर र सागर आर्ट सर्भिस प्रिन्ट पार्टनरका रूपमा रहेका छन् । कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता र व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य लिएको छ । बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैलीको प्रदर्शन गरिने आयोजकले जनाएको छ । एक्स्पोमा कस्मेटिक ब्रान्डहरू, स्किनकेयर तथा हेयरकेयर कम्पनी, पर्सनल केयर र वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक टेक्नोलोजी निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहनेछ । त्यस्तै, आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन र कस्मेटिक डेन्टिस्ट सहभागी हुनेछन् । कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनी मात्र नभई सौन्दर्य र वेलनेस क्षेत्रको उत्सवका रूपमा आयोजना गरिनेछ । कार्यक्रम अवधिभर कस्मेटिक्स, सौन्दर्य र वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलालाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल र स्याम्पल वितरण, सेल्फी कियोस्क, ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार तथा विज्ञसँग प्रत्यक्ष परामर्शको व्यवस्था रहनेछ । वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्युटीका प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ । पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार तीव्र रूपमा विस्तार हुँदै आएको छ । जीवनशैली, सामाजिक मूल्य र ट्रेन्डमा आएको परिवर्तनका कारण उपभोक्ताहरू व्यक्तिगत हेरचाह, स्वास्थ्य र आत्मविश्वाससँग सम्बन्धित उत्पादन तथा सेवाप्रति बढी सचेत बन्दै गएका छन् । सामाजिक तथा डिजिटल प्लेटफर्ममा बढ्दो सक्रियताका कारण मानिसहरूले आफ्नो रूप–रंग र प्रस्तुतीकरणमा विशेष ध्यान दिन थालेका छन् । हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब २३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने सन् २०२५ सम्म यसको आयात २० अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उद्योगका विज्ञहरूका अनुसार यो बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ । निरन्तर विस्तारोन्मुख यस बजारमा आफ्नो उपस्थिति मजबुत बनाउन उत्पादक, वितरक र व्यवसायीहरूका लागि कस्मेटिका २०२५ महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ ।
सुनचाँदीको मूल्य हालसम्मको उच्च, तोलामा कति पुग्यो ?
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । बुधबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा र चाँदी चार हजार १०५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार ७०० सय रुपैयाँ पुग्यो भने चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २०० रुपैयाँ र चाँदी चार हजार २५५ रुपैयाँमा किनबेच भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा बुधबार एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि १६ दिनका लागि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।