विकासन्युज

पोखरामा १० वटा प्रोटोन इमास ७ एकैपटक हस्तान्तरण

पोखरा । नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा १० वटा प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी ग्राहकलाई सामूहिक रूपमा हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ । विशेष समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा देखिएको सहभागिता र उत्साहले प्रोटोनको विद्युतीय सवारीसाधनप्रति ग्राहकको विश्वास र चासो झल्काएको कम्पनीले जनाएको छ । सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटवालले भने, 'आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो । पोखरावासीहरूले स्वच्छ र स्मार्ट यातायातलाई अँगालेका छन् । हरित नेपालतर्फको यात्रामा प्रोटोन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ ।' प्रोटोन इमास ७ मा १६० किलोवाट क्षमताको मोटर, विशाल केबिन, उन्नत सुरक्षा प्रविधि र उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीजस्ता प्रिमियम विशेषता समावेश छन् । यी कारणले गर्दा उक्त इलेक्ट्रिक एसयूभी देशभरका ग्राहकबीच लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । यस सामूहिक हस्तान्तरणले प्रोटोनको ग्राहक–केन्द्रित पहललाई पनि प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ । आकर्षक फाइनान्सिङ योजना, भरपर्दो ‘आफ्टर सेल्स’ सेवा र सहज स्वामित्व अनुभवमार्फत प्रोटोनले विद्युतीय सवारीलाई अझ सुलभ बनाउने लक्ष्य लिएको छ । प्रोटोन नेपालले देशभर आफ्नो शोरूम र सेवा सञ्जाल विस्तारलाई तीव्रता दिँदै आएको छ । कम्पनीको भनाइअनुसार, यस कदमले अझ धेरै नेपाली परिवार र व्यवसायलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

घट्यो सेयर बजार, ५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ । आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको २० करोड, बलेफी हाइड्रोको १४ करोड, बुटवल पावरको १३ करोड र हिमालयन डिस्टीलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशतले बढेको छ । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रहेका छन् । बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशतले घटेको छ । आज विकास हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।  

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे । 'वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ', सम्झौतापत्रमा उल्लेख छ । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा रहेका तीन सय १० वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।   

एनआइटीमार्फत नेपालमा इग्नुका शैक्षिक कार्यक्रमहरूको विस्तार

काठमाडौं । नेपालमा इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (इग्नु) का कार्यक्रमहरू सन् २००८ देखि सफलतापूर्वक सञ्चालन गर्दै आएको नेपाल इन्फर्मेशन टेक्नोलोजी (एनआइटी) ले हजारौं नेपाली विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गरेको छ । खुला तथा दूर शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन एनआइटीले काउन्सिलिङ कक्षा, पुस्तक वितरण र आफ्नै व्यवस्थापनमार्फत अध्ययन–अध्यापनलाई सहज बनाउँदै आएको छ । हाल एनआइटीले नेपालमा इग्नुका एमबीए, बीसीए, बीए र बीकमजस्ता गुणस्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमले देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्ने अवसर दिएका छन् । भर्खरै लागू गरिएका सुधारअनुसार विद्यार्थीहरूले इज्ञानकोष र स्वाएम जस्ता डिजिटल प्लेटफर्ममार्फत अध्ययन सामग्री डाउनलोड गर्न सक्ने भएका छन् । साथै असफल विषयमा अर्को सेसनमै पुनः परीक्षा दिन पाउने, डिजिटल आईडी र प्रमाणपत्र अन्तर्राष्ट्रियस्तरमै सजिलै प्रमाणीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । हाल परीक्षा केन्द्र काठमाडौंमा मात्र भए पनि एनआइटीले निकट भविष्यमा अन्य शहर र प्रदेशसम्म विस्तार गर्ने योजना बनाएको छ । यसले ग्रामीण तथा टाढा क्षेत्रका विद्यार्थीलाई आफ्नै स्थानमै शिक्षा हासिल गर्ने अवसर दिनेछ । एनआइटीले शुल्क भुक्तानीमा किस्ताबन्दीको व्यवस्था गरेको छ, जसले आर्थिक अवस्था कमजोर विद्यार्थीलाई समेत सहज बनाएको छ । १८ वर्षमाथिका जुनसुकै उमेरका व्यक्तिले कार्यक्रममा सहभागिता जनाउन सक्ने सुविधा छ । हालै केही वरिष्ठ नागरिक र महिलाले डिग्री पूरा गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।

अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं । मुलुकमा दुई ठूला दलहरुको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ । स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरुले पुष्टी गरेका छन् ।  पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आंतक चलेको छ । एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा यतिबेला अर्थका अधिकारीहरु पुगेका छन् । अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले व्यापक रुपमा ध्यान केन्द्रित गराएका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक साता नबिन्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गरेका छन् । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उहाँको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको छ । कोईराला त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत थिए । मन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तानेका छन् । मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा  अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका थिए ।  मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बताएका छन् ।  पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए । निरौलालाई तत्कालिन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएन । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।  मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् ।   भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभूवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।  वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिएका छन् । यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल थिए ।  यसरी बजेट कार्यान्वयनको शुरुवातमै कर्मचारीतन्त्रमा अस्थीरता चरम रुपमा बढ्दा कार्यान्वयनमा धक्का पुग्ने खतरा बढेको छ । बरम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरु कार्यान्वयनमा समेत ठूलो असर पर्नसक्ने जानकारहरुको बुझाइ छ । 

कोटेश्वरमा सुरुङमार्ग र दुई फ्लाईओभर बन्ने निश्चित, जापानसँग ३० अर्ब ऋण लिइने

काठमाडौं ।  काठमाडौं उपत्यकाको सबैभन्दा बढी ट्राफिक जाम हुने कोटेश्वर चोकमा अब सुरुङमार्ग (कट एन्ड कभर) र दुईवटा फ्लाईओभर निर्माण हुने निश्चित भएको छ ।  सरकारले ‘कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना’ कार्यान्वयनका लागि जापान सरकारसँग करिब ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेसँगै यो परियोजना कार्यान्वयनको बाटो खुलेको हो ।  भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले जापानसँग ३४ अर्ब ४९ करोड येन ऋण लिने निर्णय गरेको हो ।  नागढुंगा सुरुङमार्गपछिको नेपालको यो अर्को ठूलो पूर्वाधार परियोजनाले कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लालाई जोड्ने मुख्य बिन्दु भएकाले कोटेश्वर चोकमा सवारीको चाप अत्यधिक हुने गरेको छ ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा तयार पारिएको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार तीनकुनेदेखि जडीबुटीसम्मको क्षेत्रमा विभिन्न संरचना निर्माण हुनेछन् । यद्यपि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै संरचनाको अन्तिम टुङ्गो लाग्ने सडक विभागले जनाएको छ । जाइकाको प्रारम्भिक अध्ययनले प्रस्ताव गरेका मुख्य संरचनाहरूमा तिनकुनेदेखि विमानस्थलसम्म ६६४ मिटर लामो फ्लाइओभर बन्नेछ भने विमानस्थल परिसरभित्र ७०० मिटर लामो ‘कट-एन्ड-कभर’ प्रकारको सुरुङमार्ग बन्ने तथा विमानस्थलदेखि जडिबुटीसम्म २३८ मिटर लामो अर्को फ्लाइओभर बन्ने विभागले जनाएको छ ।  सडक विभागले काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लालाई असर गर्ने र ट्राफिकको चाप अत्यधिक भएकाले यो परियोजना प्राथमिकतामा पर्नु स्वाभाविक भएको जनाएको छ ।  ‘त्यहाँ ट्राफिक धेरै छ, त्यसैले यो प्राथमिकतामा परेको हो,’ विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन अर्यालले भने ।  यद्यपि उनले सरकारले ऋण लिन सैद्धान्तिक निर्णय गरे पनि प्रक्रिया भर्खरै सुरु भएको बताए ।  ‘अहिलेसम्म हामीलाई पनि पत्रिकामार्फत थाहा भएजति नै जानकारी छ । अब दुई देशबीच ऋण सम्झौता भएर आधिकारिक रूपमा आएपछि विस्तृत काम अघि बढ्छ,’ उनले भने ।  विभागका अनुसार अहिले प्रस्ताव गरिएका संरचनाहरू ‘थ्योरेटिकल’ अर्थात् अवधारणागत मात्रै हुन् । अब विस्तृत सर्भे र डिजाइनको काम सुरु गरिनेछ । ‘अब सर्भे डिजाइन गरेर बल्ल फाइनल रूप दिन्छौं अनि मात्र निर्माण सुरु हुन्छ,’ उनले भने ।  आयोजनाको डिजाइन, निर्माण र कार्यान्वयनको सम्पूर्ण जिम्मा सडक विभागले नै लिनेछ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (फिजिबिलिटी स्टडी) भए पनि विस्तृत वातावरणीय अध्ययन हुन बाँकी रहेको विभागले जनाएको छ ।  यस्तै, जापानसँग ऋण लिने विषयमा अर्थमन्त्रालयमा सम्पर्क गर्दा प्रवक्ता, सूचना अधिकारी लगायत अर्थमन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले यसबारे जानकारी नभएको बताएको छ ।  जाइकाको अध्ययनअनुसार आयोजनाको अनुमानित समयरेखा ऋण सम्झौता सन् २०२५ को  सेप्टेम्बर रहेको छ । विस्तृत डिजाइन र टेन्डरको  तयारी २०२६ जुनदेखि २०२७ मेसम्म गरिने सडक विभागले जनाएको छ ।  यस्तै, निर्माण कम्पनीसँग सम्झौता २०२८ को अप्रिल गर्ने तथा निर्माण सम्पन्न हुने लक्ष्य २०३३, अगस्टसम्मको लिएको सडक विभागले जनाएको छ ।  यो आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकाको मुख्य पूर्व-पश्चिम यातायात प्रवाह थप प्रभावकारी हुने र विशेष गरी अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ट्राफिक जाम न्यूनीकरणमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ ।

सिटिजन्स बैंकले बागमतीमा नेतृत्व विकास सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले बागमती प्रदेशका प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा कर्मचारीहरूलाई लक्षित गरी 'ईम्पावरिङ्ग लिडरसिप इन बागमतीः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्सिलेन्स' नामक कार्यक्रम सम्पन्न गरेको छ । बैं कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरू समेतको उपस्थिति रहेको सो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि र कार्यक्षमता सुदृढीकरणमा केन्द्रित थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल भएको बैंकले जनाएको छ । यसअघि मधेश प्रदेशमा पनि यस्तै सेमिनार आयोजना भइसकेको र अन्य प्रदेशहरूमा समेत चरणबद्ध रुपमा सञ्चालन गर्ने योजना रहेको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद व्याज आम्दानी लगायतका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको जनाएको छ । समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ११.६९ प्रतिशतले बढ्दै २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । खुद व्याज आम्दानीमा पनि ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । हाल बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशतमा कायम छ, जसले तरलता व्यवस्थापन सन्तुलित रहेको देखाउँछ । त्यस्तै, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

टेस्लाको मोडल वाई एल चीनमा सार्वजनिक, अमेरिकामा भने उत्पादन नहुने संकेत

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीले यसै हप्तादेखि चीनमा बजारमा ल्याएको नयाँ छ-सीटको मोडल वाई भेरियन्ट सायद अमेरिकामा कहिल्यै उत्पादन नहुने बताएका छन् । उनले स्वचालित (सेल्फ-ड्राइभिङ) सवारीसाधनको बढ्दो प्रभावका कारण उत्पादन नहुने बताएका हुन् । शाङ्घाई कारखानामा बनेको मोडल वाई एलमा लामो ह्वीलबेस र तीन पंक्तिको सिट रहेको छ । यसको मूल्य करिब ४७ हजार २०० अमेरिकी डलर तोकिएको छ । यो मंगलबारदेखि चीनमा बिक्रीमा आएको हो, जहाँ टेस्लाले बाईडी र साओमीजस्ता स्थानीय ईभी निर्माताहरूको तीव्र प्रतिस्पर्धा सामना गरिरहेको छ । ‘यो भेरियन्ट अमेरिकामा अर्को वर्षको अन्त्यसम्म उत्पादन सुरु हुँदैन,’ मस्कले सामाजिक सञ्जाल एक्स एक्समा प्रयोगकर्ताको पोस्टको जवाफ दिँदै भनेका छन्। ‘सायद कहिल्यै नहोला किनभने अमेरिकामा सेल्फ-ड्राइभिङ युग सुरु भइसकेको छ ।’ मस्कले स्वचालित सवारीसाधनको बढ्दो प्रभावले किन छ सीटरको आवश्यकता घटाउँछ भन्नेबारे भने खुलाएका छैनन् । तीन पंक्तिसहितका पेट्रोलबाट चल्ने एसयूभीहरू अमेरिकन परिवारहरूमा लामो समयदेखि लोकप्रिय छन् । तर, लाभ कमाउने गरी तीन पंक्तिको इलेक्ट्रिक गाडी बनाउनु अझै पनि गाह्रो मानिन्छ । यसैबीच ट्रम्प प्रशासनका हालैका नीतिगत परिवर्तनहरूले इलेक्ट्रिक गाडीलाई अझै महँगो बनाउने देखिएको छ, जसका कारण अटो कम्पनीहरू साना र सस्ता भेरियन्टतर्फ बढी ध्यान केन्द्रित गरिरहेका छन् । टेस्ला यसै वर्षपछि सस्तो मोडल वाई ल्याउने तयारीमा पनि छ जसमा कम प्रिमियम सुविधाहरू हुने अपेक्षा गरिएको छ । मस्कले यसलाई 'साधारण मोडल वाई' भनेर वर्णन गरेका छन् । अमेरिकामा टेस्लाले आफ्नो ध्यान बिस्तारै रोबोट्याक्सी महत्त्वाकांक्षातर्फ केन्द्रित गरिरहेको छ । कम्पनीले जून महिनामा अष्टिनमा सीमित रोबोट्याक्सी सेवा सुरु गरिसकेको छ र यसै वर्षको अन्त्यसम्म अमेरिकी जनसंख्याको आधाभन्दा बढी क्षेत्रमा विस्तार गर्ने लक्ष्य राखेको छ । मस्कले गत वर्ष लगानीकर्ताहरूसँगको छलफलमा भविष्य स्वचालित बन्ने भएकाले पारम्परिक गाडी बनाउन ‘निरर्थक’ हुने बताएका थिए । आगामी वर्ष टेस्लाले साइबरक्याब नामक दुई सिटे, स्टेयरिङ र पेडल नभएको विशेष रोबोट्याक्सी मोडेलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । बीवाईडी र साओमीसँगको भिडन्तमा टेस्लाको नयाँ हतियार ‘मोडेल वाई एल’