खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उनको टिप्पणी छ । उनले आयातमा आधारित भन्सार करका भरमा अर्थतन्त्र चलिरहेको जिकिर गरिन् । त्यस्तै, व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजीबाद फस्टाइरहेको उनले बताइन् । राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको उनकाे भनाइ छ । उनले भनिन्, ‘हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । आयातमा आधारित भन्सारमा चलिरहेको छ । त्यसले व्यापार सन्तुलन भइरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो ।’ पूर्वराष्ट्रपति भण्डारीले युवाहरुलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताइन्। नवपुस्ताहरुको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्नेमा उनले जाेड दिइन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत लिन आदेश दिन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गर्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उनले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएका छन् । जनता समाजवादी पार्टी, नेपालले ३२ असार २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सो निर्णयको एक महिना बितिसक्दा पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अदालतमा निवेदन पर्न गएको हो । नेपालको संविधानको धारा १०० अनुसार समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । त्यस्तै, उपधारा ३ अनुसार विश्वासको मत सदनको बहुमतले पारित गर्न नसके प्रधानमन्त्री पदमुक्त हुने प्रावधान छ ।
नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङको बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा ग्राहकले अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । भदौ २ गते सम्पन्न सम्झौतामा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र अस्पतालको तर्फबाट निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका थिए ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले लामो समयदेखि छलफलमा रहेको विधेयक पारित गरेको हो । यसअघि विधेयकमा समावेश केही प्रावधानबारे सरोकारवालाहरूले असहमति जनाउँदै आएका थिए । त्यसकै कारण पटक–पटक उपसमिति बनाएर प्रतिवेदन तयार पारिए पनि विधेयक अघि बढ्न सकेको थिएन । शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजदेखि आन्दोलन समेत सुरु गरेका छन् ।
एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि सुरु हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल २०२५ को दोस्रो सिजन नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने जनाएको छ । यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको क्यानले जनाएको छ । तर प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।
नेपालगन्जका सहकारी बन्द, बचतकर्ताको सपना चकनाचुर
नेपालगन्ज । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिदै हिडन बाँध्य भएका छन् । पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थामा बचत गरेको पैसा फिर्ता नपाउदा नेपालगन्जकी माया पासी अझै भौतारिदै हिडीरहेकी छन् । 'मैले अर्काको भाडा माझेर, लुगा धोएर जम्मा गरेको पैसा अहिलेसम्म फिर्ता पाएको छैन' उनले भनिन् । पासीले बचत गरेको पैसाका लागि सिडीओ कार्यालयलगायतका विभिन्न निकायमा पुगेर पनि कुनै सुनुवाई नभएको उल्लेख गर्दै बचत भएको रकम फिर्ताका लागि पहल गरिदिन आग्रह गरिन् । 'मैले विश्वासका आधारमा सहकारीमा पैसा राखेको थियो तर यस्तो होला भन्ने कुनै कल्पना गरेको थिइन', उनले भनिन् । तत्कालिन वित्तिय विकास सहकारीमा तीन लाख २८ हजार रुपैयाँ उनले बचतका लागि राखेकी थिइन् । अहिले सो सहकारी बन्द अवस्थामा रहेको छ । पासीले छोरीको विवाहलगायतका कुनै खास कामका लागि भन्दै सो सहकारीमा पैसा बचत गरेकी थिइन् । उनको जस्तै समस्या छ, सावित्रीदेवीको पनि । उनले पनि सो सहकारीमा छ लाख रुपैयाँ बचत गरेको बताउँछिन् । 'छोरीको विवाहका लागि भनेर बचत गरेको थिए तर सबै सपना चकनाचुर भयो', उनले भनिन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सहकारीले आफ्ना मान्यता विपरित बैङ्कीङ प्रणालीमा जस्तो काम गरेकाले समस्या उत्पन्न भएको उल्लेख गर्दै नेपालगन्जका सहकारीलाई नियमन गर्न खोजिएको बताए । उनले साना बचतकर्ताको पैसा कसरी फिर्ता दिने भन्ने विषयमा पनि छलफल आवश्यक भएकोमा जोड दिँदै सहकारीको वित्तिय अवस्था र उत्तरदायित्वका विषयमा नियमन गर्न जनशक्ति अभाव भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ऋण लगानी गर्न नमिल्ने ठाउँमा ऋण लगानी भएकाले कानुनी कैफियत देखिएको उल्लेख गर्दै यसका कारणले सहकारीमाथि प्रश्न आएको बताए । सहकारी प्रशिक्षणालय, बाँकेका निमित्त प्रार्चाय आलोक ओझाले सहकारीको मूल सिद्धान्त र मर्म विपरितका कामले सहकारीमा समस्या देखिएको उल्लेख गर्दै सहकारी बचत सङुकलनका लागि नभएको बताए । नेपालगन्ज उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख प्रविण थापाले सहकारीमा बचत फिर्ता र ऋण असुलीको प्रमुख समस्या रहेको बताउँदै नेपालगन्जमा सहकारी मर्ज गरेर पाँच वटा सहकारी बनाउन आग्रह गरे । जिल्ला सहकारी सङ्घ, बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीको अनुगमन, नियमन गर्नका लागि नयाँ कार्यविधि ल्याइएको जानकारी दिए । नेपालगन्जमा रहेका करिव पाँच सहकारी अहिलेपनि समस्याग्रस्त अवस्थामा रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । रासस
सौर्यमण्डलमा रहस्यमय घुसपेठिया, चमक देखेर हैरान भए खगोलविद्
काठमाडौं । वैज्ञानिकहरूले सौर्यमण्डलमा एक बाह्य घुसपेठिया पत्ता लगाएका छन्, जो सूर्यतिर तीव्र गतिमा बढ्दैछ । यस वर्षको सुरुवातमा पहिलोपटक फेला परेको यस पिण्डलाई खगोलविद्‌हरूले थ्रीआई एटएलस नाम दिएका छन् । अमेरिकाको म्यानह्याट्टन सहर जतिको आकार भएको यो इन्टरस्टेलर पिण्ड हो । इन्टरस्टेलर पिण्ड भनेको ती वस्तुहरूलाई भनिन्छ जुन एक सोलार सिस्टमबाट अर्कोमा स्वतन्त्र रूपमा घुम्छन् । यसभन्दा अगि सन् २०१७ र २०१९ मा पनि यस्तै इन्टरस्टेलर पिण्ड देखिएका थिए । हबल अन्तरिक्ष दूरबीनले यस पिण्डको तस्बिर खिचेपछि खगोलविद्हरूको उत्साह बढेको छ । वैज्ञानिकहरूले यसको आकार र रासायनिक संरचनाको विश्लेषण गर्ने दुर्लभ अवसर पाएका छन् । सिड्नी विश्वविद्यालयकी रेडियो खगोलशास्त्री डा. लारा ड्रिसेन भन्छिन्, ‘हामीलाई सही रूपमा थाहा छैन यो कहाँबाट आएको हो, तर निश्चित रूपमा यो सौर्यमण्डल बाहिरबाट आएको हो ।’ यसको नाम आई इन्टरस्टेलरको पहिलो अक्षरबाट राखिएको हो । थ्री भनेको खोजिएको तेस्रो यस्ता वस्तु हो । एटलस ती दूरबीनहरूको नेटवर्कबाट लिइएको हो जसले यसको पहिचान गरेको थियो । २१ जुलाईमा हबल अन्तरिक्ष दूरबीनले यस पिण्डको तस्बिर खिच्दा यो सूर्यतिर चम्किरहेको देखियो । यो चमक फैलिएको नभई केन्द्रित थियो, जसले वैज्ञानिकहरूलाई अचम्ममा पार्‍यो, किनभने उनीहरूले यसलाई सामान्य धूमकेतु जस्तो हुने आशा गरेका थिए । यस चमकले विभिन्न आशंकाहरू जन्माएको छ । जस्तै, प्रकाशलाई कुन स्रोतबाट ऊर्जा प्राप्त भइरहेको छ । केहीले यसलाई एलियनसँग जोडिरहेका छन् । डेली मेलअनुसार लोएबले एक बयानमा भनेका छन् कि यो परमाणु ऊर्जाद्वारा सञ्चालित अन्तरिक्षयान हुन सक्छ । यसका अगाडिको सतहबाट निस्कने धूलो अन्तरतारकीय यात्रामा सतहमा जम्मा भएको धूलो हुन सक्छ । यद्यपि उनीहरू मान्छन् कि यी दुवै धारणाहरू असम्भव छन्, तर उनका अनुसार अझै यो धारणा खारेज गर्न सकिँदैन । अनुसन्धानकर्ताहरूले हबलको तस्बिर प्रयोग गरेर अनुमान गरेका छन् कि थ्रीआईरएटलसको व्यास ५।६ किमीभन्दा कम र सम्भवतस् ३२० मिटर जति सानो हुन सक्छ । स्विनबर्न स्पेस टेक्नोलोजी एण्ड इण्डस्ट्री इन्स्टिट्युटकी सह-निदेशक रेबेका एलेन भन्छिन् कि यो पिण्ड प्रति घण्टा २ लाख किमीभन्दा बढीको गतिमा यात्रा गर्दैछ । यो आन्तरिक सौर्यमण्डलमा मंगल र पृथ्वीको कक्षबीचबाट गुज्रनेछ र सूर्यको नजिक हुँदै जानेछ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले धनगढीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार, बैंकका ग्राहकले हस्पिटलमा उपलब्ध विभिन्न सेवामा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत योगदान पुर्याउनेछ । नगदरहित कारोबारलाई अघि बढाउँदै, यस कदमले डिजिटल वित्तीय कारोबारको संस्कृति विस्तार गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।