विकासन्युज

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

काठमाडौं । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा तीन सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  हिजो मङ्गलबार एक तोला सुन एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा क्रयविक्रय भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

कृषि विकास बैंकको अध्यक्षमा डिम पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका उनलाई बुधबार बसेको समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक समेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहु राष्ट्रिय कम्पनीमा नेतृत्व गरेको अनुभव छ ।  त्यस्तै उनले चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाको सफल नेतृत्व गरिसकेका छन् । उनी बैंकको अध्यक्षमा नियुक्त भइसकेपनि नेपाल राष्ट्र बैंकका गभर्नरबाट सपथ लिन भने बाँकी रहेको छ ।

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । गए राति  सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।  

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबीच सम्झौता

बनेपा । नेपाल बैंक लिमिटेड र माउन्टेन भिस्टा रिट्रिटबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले रिसोर्टका विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ मा अवस्थित माउन्टेन भिस्टा रिट्रिटले आफ्ना सेवा प्रयोग गर्ने नेपाल बैंकसँग सम्बन्धित व्यक्तिहरूलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटका निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए । पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने रु ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, रु २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र रु एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

दमौली । एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ । अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताए । कार्यालयका लागि आव २०८१/८२ मा पुँजीगततर्फ रु ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा रु ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ ।

झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुक लागि बिक्री खुला गर्ने भएको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

२० प्रतिशत नगद लाभांश बाँड्ने ग्लोबल आइएमईको घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज १ गते होटल ले हिमालय लाजिम्पाट काठमाडौंमा दिउँसो साढे ४ बजे १८औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।  यस्तै, सञ्चालक समितिको विसं २०८१ पुस १६ गते बसेको बैठकबाट स्वतन्त्र सञ्चालकमा नियुक्ति भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।