विकासन्युज

एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई राजधानीस्थित र्‍याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता बैंक र होटलबीच सम्पन्न भएको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले होटलको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित र्‍याडिसन होटलमा खाना तथा पेय पदार्थ र फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एयरपोर्ट लाउन्ज, रेस्टुरेन्ट तथा ट्राङ्क्विलिटी स्पामा १५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ । ग्राहकले यो सुविधाको उपभोग गर्न एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

दशैँमा भाडा नबढाउन मन्त्री र सचिवको निर्देशन, बुकिङ नखोल्ने व्यवसायीको चेतावनी

काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं आउन अब एक महिना मात्रै बाँकी छ । अहिले देशका विभिन्न सहरमा बसेकाहरू आफ्नो गाउँघर फर्किने तरखरमा छन् । हरेक वर्ष दशैंको समयमा लाखाैं यात्रुहरूले काठमाडाैं उपत्यका छाड्छन् ।  दशैंको बेला हरेक वर्ष सवारी व्यवस्थापनमा समस्या हुने गरेको छ । यस वर्ष पनि विगतमा जस्तै दशैं नजाकिँदै गर्दा सार्वजनिक यातायातको भाडा दर र टिकट बुकिङलाई लिएर सर्वसाधारणमा अन्योलता सिर्जना भएको छ ।  सरकारले यसवर्ष दशैंमा सार्वजनिक यातायातको भाडा नबढाउने निर्णय गरेको छ भने यातायात व्यवसायीहरूले लामो समयदेखि हुन नसकेको भाडा समायोजन हुनुपर्ने माग राखेका छन् ।  भाडा समायोजनमा सरकार र यातायात व्यवसायीबीच तालमेल मिल्दैन । हालसम्म गाडीको टिकट खुलाउनेबारे सरकार र व्यवसायीहरूबीच कुनै छलफल भएको छैन । सरकार र व्यवसायीबीच भाडा समायोजनको विषयलाई लिएर आ-आफ्ना अडान राख्दा अग्रिम टिकट बुकिङ कहिले खुल्छ भन्ने विषय अनिश्चित बनेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश भट्टराईका अनुसार भाडा दर नबढाउने मन्त्रीस्तरीय निर्णय भइसकेको छ । ‘भाडा नबढ्ने भनेर मन्त्रीज्यू र सचिवज्यूबाट निर्देशन आएको छ, दशैं र चाडपर्वपछि मात्रै यसबारे थप छलफल होला,’ उनले भने ।  दशैंका लागि टिकट बुकिङ खुला तथा यसबारे यातायात व्यवसायीहरूसँग निर्णय गर्ने तयारी भइरहेको उनको भनाइ छ । तर, यातायात व्यवसायीहरू भने सरकारको भाडा दर नबढाउने निर्णयप्रति असन्तुष्ट देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले ऐन, नियम र कानुन अनुसार नै भाडा समायोजन हुनुपर्ने बताए । ‘भाडा समायोजन गर्नुपर्ने समय भएको धेरै भइसक्यो । सरकार दशैंको बेलामा मात्र तात्ने तर अरू बेला वास्ता नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘हामीले आफै भाडा बढाउने होइन, तर सरकारले नीतिगत रूपमा समायोजन गर्नुपर्छ । टिकट बुकिङ कहिले ? भाडा दरको टुंगो नलाग्नु र तयारी पूरा नहुनुले अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।’ व्यवसायीहरूका अनुसार सडकको अवस्था, सवारी साधनको व्यवस्थापन र भाडा दरबारे सरकारसँग निर्णायक छलफलपछि मात्र बुकिङ खुला गरिनेछ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट खोल्नुभन्दा मुख्य कुरा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु रहेको बताउँछन् । उनका अनुसार सरकारसँग छलफल नभई बुकिङ खुल्दैन। सिटौलाका अनुसार सवारीसाधन पर्याप्त छन्, तर सडकको अवस्था खराब छ । तर दशैंमा यात्रुको चाप थेग्न सवारीसाधन पर्याप्त छन् वा छैनन् भन्नेमा व्यवसायीको मत बाझिएको छ ।  सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलनाथ खनालले देशभर करिब साढे चार लाख सार्वजनिक सवारीसाधन रहेको र यात्रुका लागि पर्याप्त हुने दाबी गर्छन् । यद्यपि अन्य व्यवसायीहरू भने दशैंको चापलाई धान्न जहिले पनि सवारीसाधन अपुग हुने गरेको बताउँदै आएका छन् ।  अध्यक्ष खनालका अनुसार सवारीसाधनको संख्याभन्दा पनि सडकको दुरावस्था मुख्य चुनौती छ । उनले हाल देशभरको सडक सञ्जालको अवस्था भद्रगोल भएको बताए । ‘गाडी पर्याप्त भए पनि बाटो सहज नहुँदा समयमा आवतजावत हुन सक्दैन, जसले गर्दा व्यवस्थापनमा समस्या आउँछ,’ उनले भने, ‘सरकारले समयमै सडक मर्मत र सुधार गर्नुपर्छ ।’  दशैंको समयमा व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको गुनासो हरेक वर्ष आउने गर्छ । तर, व्यवसायीहरू यस आरोपको खण्डन गर्छन् ।  ‘सरकारले तोकेको भन्दा एक रुपैयाँ बढी भाडा लिने काम हुँदैन । यो एउटा आरोप मात्र हो,’ अध्यक्ष डोलनाथ खनालले भने ।  सरकार र यातायात व्यवसायीबीच भाडा दरमा सहमति जुट्न नसक्दा र सडकको अवस्थाबारे स्पष्ट नहुँदा यो वर्षको दशैं यात्रा पनि अन्यौलपूर्ण बन्ने देखिन्छ ।

बीवाईडीको समर्थनमा ‘काठमाडौं क्रोनिकल्स’ सम्पन्न

काठमाडौं । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौं क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको छ । संस्कृति, सहकार्य र अन्वेषणलाई जीवन्त उत्सवका रूपमा प्रस्तुत गरिएको यस कार्यक्रमले सहभागीहरूलाई काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदामाझ अनुभव दिलाएको छ । मेरिएटको मआइसीइ ग्राहकहरूलाई लक्षित गरी डिजाइन गरिएको यस कार्यक्रममा सहभागीहरूले बीवाईडी कारमार्फत दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथलगायत सम्पदास्थलहरूको भ्रमण गरे । ट्रेजर हन्ट शैलीमा तयार गरिएको यस यात्रामा टोलीहरूले रिडल हल गर्ने, सांस्कृतिक चुनौती पूरा गर्ने र काठमाडौंको इतिहाससँग जोडिएका कथाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाए । एमक्यूबले परम्परागत बैठकको दायराबाट बाहिर निकाल्दै साहसिकता, संस्कृति र सहकार्यलाई जोड्ने नविन प्रयास गरेको छ । कार्यक्रममा सहभागीहरूले नेपाललाई केवल बैठक स्थल मात्र नभई व्यापार, संस्कृति र अन्वेषणको गन्तव्यका रूपमा पनि चिन्ने अवसर पाएका थिए । कार्यक्रमको समापन फेयरफिल्ड बाइ मेरिएट काठमाडौंमा भव्य उत्सव र सम्मान समारोहसँगै भयो । विजेता टोलीलाई ‘काठमाडौं एक्सपर्ट्स’ को उपाधि प्रदान गरिएको थियो । मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले भने, 'काठमाडौं क्रोनिकल्स ले शहरको सम्पदा र संस्कृतिलाई बैठकभन्दा बेग्लै, एकदमै अर्थपूर्ण अनुभवका रूपमा प्रस्तुत गर्यो । हस्पिटालिटीको वास्तविक अर्थ नै अर्थपूर्ण अनुभव सिर्जना गर्नु हो भन्नेमा हाम्रो विश्वासलाई यस कार्यक्रमले मजबुत बनाएको छ ।' एमक्यूब, बीवाईडी र मेरिएटबीचको सहकार्यले इनोभेसन, हस्पिटालिटी र सम्पदालाई एउटै अनुभवमा जोड्दै मआइसीइ उद्योगमा नयाँ आयाम प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले १ अर्ब रकम संकलन गर्न सफल

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रवर्द्धन र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले निर्धारित १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो फण्ड, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य नवीकरणीय स्रोतमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा योगदान पु‍र्‍याउने उद्देश्य यस फण्डले लिएको छ । लक्ष्मी सनराइज क्यापिटलले फण्डप्रति देखाइएको विश्वास र निरन्तर समर्थनका लागि सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गरेको छ ।

मानव मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गिरोह पक्राउ

काठमाडौं । मानव अंग मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार भारतको नयाँ दिल्लीमा बसेर गैरकानूनी रूपमा मिर्गौला प्रत्यारोपणमा संलग्न सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनका सहयोगी सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरिएको हो । सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङलगायतका जिल्लाका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली पुर्‍याई मिर्गौला झिक्ने र बिक्री गर्ने कार्य गर्दै आएको प्रहरीले जनाएको छ । यसअघि गत साउन २० गते यसै प्रकरणमा ३ जना पक्राउ परिसकेका थिए । हालसम्म ५ जना पीडितले जाहेरी दिइसकेका छन् । अनुसन्धानमा यो गिरोहले संगठित रूपमा नेपालका विभिन्न जिल्लाका आर्थिक रूपले कमजोर नागरिकलाई लोभ देखाई भारतमा लैजाने र त्यहाँ गैरकानूनी रूपमा मिर्गौला प्रत्यारोपण गर्ने कार्य गर्दै आएको पाइएको छ । प्रहरीले ‘अपरेसन शिल्ड’ नामक अभियानमार्फत अनुसन्धान अघि बढाएको छ । हालसम्म ४ वटा मुद्दा दर्ता भइसकेका छन् र संगठित अपराध ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान जारी राखिएको छ । एसएसपी पंगेनीका अनुसार संगठित अपराध ऐनअन्तर्गत मानव बेचबिखन वा गैरकानूनी रूपमा अंग बेचबिखनमा संलग्न दोषीलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । पक्राउ परेका अभियुक्तहरूमाथि सोही प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

माघभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण सुरु हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएका छन् । चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने उनको भनाइ छ । उनले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनलगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार गर्ने सरकारको तयारी रहेको बताए । कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत जानकारी दिए । उनीले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे । आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे । सातवटै प्रदेशमा आईटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न सरकार लागेको मन्त्री गुरुङको भनाइ छ । उनले भने, 'हामी डिजिटल नेपालको फ्रेमवर्क बनाउँदैछौं । त्यो नीति अब क्याबिनेटबाट पास भएर कार्यान्वयनमा आउँछ । हामी त्यसको अन्तिम चरणमा छौं । अब टुरिज्म, एजुकेसन, गभर्नेन्स तथा डिजास्टर म्यानेजमेन्टलगायत आठ वटा क्षेत्रमा त्यसले काम गर्छ । त्यसले इन्टरनेटको प्रयोगलाई सहयोग गर्ने र एआईको प्रयोगमा पनि टेवा पुर्‍याउने विश्वास लिएका छौं ।' बैंकिङ ठगीका मुद्दा बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि आवश्यक कानून निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताए ।

एशियन थाई फुड्सले ल्यायो 'डेभील्स हट चिकेन नुडल्स'

काठमाडौं । पाँच वर्षदेखि लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता तथा २५ वर्षको सफल इतिहास बोकेको एशियन थाई फुड्सले नयाँ उत्पादन 'डेभील्स हट चिकेन नुडल्स' सार्वजनिक गरेको छ । ३० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको कम्पनीले मसालाको सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरी भदौ १६ गतेदेखि देशभर उपलब्ध हुने गरी यो नयाँ नुडल्स बजारमा ल्याएको हो । 'नेपालकै सबैभन्दा मिठो स्वादा, यो डेभिलीसिअस छ' भन्ने ट्यागलाइनसहित सार्वजनिक गरिएको नुडल्सले उपभोक्तालाई सन्तुलित मसालेदार स्वादको नयाँ अनुभव दिने कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक आशिष जाजुले यो साधारण तत्कालीन नुडल्स मात्र ‍नभई स्वाद खोज्ने साहसी उपभोक्ताका लागि यो एक रोमाञ्चक स्वाद चुनौती पनि रहेको बताए । व्यवस्थापकीय निर्देशक महेश जाजुले निजी लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा रूपान्तरण  भएको र आगामी आईपीओ तयारीको क्रममा रहेको जानकारी दिए । कम्पनीका अनुसार ५० रुपैयाँमा उपलब्ध यो नुडल्सको पाँच प्याकको फ्यामिली प्याक २५० मा पाइनेछ । प्रत्येक प्याकमा चकलेट वेफर समेत थपिएको छ, जसले तातो स्वादपछि मिठासको अनुभव दिनेछ । यो उत्पादन भाटभटेनीलगायत प्रमुख खुद्रा पसलहरूमा तथा दराजजस्ता अनलाइन प्लेटफर्ममार्फत नेपालका ठूला सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

प्रभावकारी इन्भेस्टमेण्ट कम्पनी खोल्दै घरजग्गा व्यवसायी, सुरुवाती पुँजी ५ अर्ब रुपैयाँ

काठमाडौं । घरजग्गा व्यवसायीहरू एकीकृत भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत लगानी गर्ने भएका छन् । देशभरका व्यवसायीहरू एकजुट भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत देशका मुख्य सहरहरूमा लगानी गर्ने गरी तयारी भइरहेको हो ।  अहिले कम्पनी निर्माणसँगै पुँजी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए । घिमिरेले देशभरका व्यवसायीहरू अहिले एकजुट हुने क्रम सुरु भएको जानकारी दिए ।  उनका अनुसार इन्भेस्टमेन्ट कम्पनी निर्माण भइसकेको छ । अब सोही कम्पनीमार्फत पुँजी संकलन गरिनेछ । सोही पुँजीबाट देशभर हाउजिङदेखि टाउन प्लानिङसम्ममा लगानी गर्ने तयारी छ ।  नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे अध्यक्ष घिमिरेले भने, ‘अहिले देशभरिका व्यवसायीहरू एकजुट भएका छौं । हामी सबै व्यवसायी एक ठाउँमा आएर  काम गर्ने भनेर हामीले एउटा इन्भेस्टमेण्ट कम्पनी पनि खोलिराखेका छौं र त्यसमा हामीले कसले कति सक्छ, सक्ने जतिले त्यहाँ पैसा उठाएर त्यसबाट काम गर्ने भनेर हामी लागिराखेका छौं । यो हिसाबमा सफल हुने योजना छ ।’  उनले ४४–४५ वटा जिल्लामा महासंघका संघसंगठन रहेको बताए ।  ती संस्थामा रहेका व्यवसायीले  ५ लाखदेखि २० लाखसम्म लगानी गर्न भनिएको छ । त्यो अनुसारको  एउटा फण्ड जुटाइँदैछ र त्यो फण्डले चाहिँ प्रदेश सातवटा प्रदेशमा काम गर्ने योजना छ । घिमिरेका अनुसार कुन–कुन सहरमा नयाँ आधुनिक सहर बनाउने भन्नेबारे अहिले अनुसन्धान चलिरहेको छ । लगानी गर्ने सहरमा व्यवसायीहरू मिलेर काम गर्ने योजना छ ।   पाँच अर्ब रुपैयाँबाट काम सुरु गर्ने अध्यक्ष घिमिरेका अनुसार सुरुमा त लगभग पाँच अर्ब जतिबाट काम सुरु गर्ने योजना छ । एकैचोटि धेरै पुँजी नउठ्न पनि सक्छ । थोरै–थोरैबाट काम गर्दै जाने योजना छ । एक ठाउँमा काम गर्दै जाने  र त्यो राम्रो हुँदै गए क्रमशः पुँजी थप संकलनसँगै नयाँ प्रोजेक्टहरु सुरु गर्ने योजना छ ।    घिमिरेले मुख्य–मुख्य सहरहरू अहिले ध्यान केन्द्रित गराउने उल्लेख गर्दै सरकारले बजेटमा पनि सात वटा प्रदेशमा एक लाख वटा घर बनाउने योजना अघि सारेकाले त्यसलाई पूरा गराउन अब व्यवसायीहरू योजनावद्ध तरिकाले लाग्ने बताए । उनले सातवटा प्रदेशमा टाउन प्लानिङ गरेर घरहरू निर्माण हुने जानकारी दिए ।  इन्भेष्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानी गर्न खोजेपनि चुनौतीको चाङ रहेको घिमिरे बताउँछन् । उनका अनुसार अहिले कित्तकाटका कारण समस्या पैदा भइरहेको छ । अहिले राज्यका नीतिहरु स्पष्ट नहुँदा घरजग्गा व्यवसाय प्रभावित बनिरहेको छ भने नागरिकले समेत सास्ती खेप्नुपरेको छ ।   घिमिरेले भने, ‘अहिले स्थानीय तह, वडादेखि नै हाम्रा सरकार सुरु हुन्छ ।  यता  काठमाडौं उपत्यका प्राधिकरण हुन्छ । सहरी मन्त्रालयदेखि लिएर भूमि सुधार मन्त्रालय सबै हुन्छ । यो यस्तो धेरै झन्झट नभइकन एकद्वार प्रणालीबाट काम भयो भने काम गर्न सजिलो हुन्थ्यो । हामीले पटक–पटक माग पनि यही गरेका छौं ।’  उनका अनुसार अब छिट्टै सहरी ऐन आउनुपर्छ । ऐनमा निजी क्षेत्रका कुराहरु समेटिनुपर्छ । विकसित देशहरूमा धेरै काम निजी क्षेत्रले गर्ने भएकाले नेपालमा त्यो अभ्यास कम छ । विदेशमा जस्तै टाउन प्लानिङदेखिका सबै काम निजी क्षेत्रले गर्न पाउने गरी सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ रहेको छ ।