एनआईसी एशिया बैंकको 'साथी घर कर्जा योजना' सार्वजनिक, ३ करोडसम्म कर्जा सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, पुनःनिर्माण र घडेरी खरिद गर्न सक्ने उद्देश्यसहित नयाँ घर कर्जा योजना सार्वजनिक गरेको छ । 'एनआईसी एशिया साथी घर कर्जा' नाम दिइएको यस योजनाअन्तर्गत ग्राहकले न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्मको कर्जा सहज प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। ‘सपना तपाईंको, साथ हाम्रो' भन्ने नारासहित सार्वजनिक गरिएको यो योजना आकर्षक ब्याजदर र अन्य सेवासहित उपलब्ध हुनेछ । यस कर्जाको अवधि अधिकतम २५ वर्ष रहने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकलाई अधिकतम ८० प्रतिशतसम्म धितो सुरक्षणको आधारमा कर्जा उपलब्ध हुनेछ भने अन्य अवस्थामा अधिकतम ७० प्रतिशतसम्मको धितो सुरक्षणअनुसार कर्जा प्रदान गरिनेछ ।
१० ठूला बैंकको लेखापरीक्षण गर्न बङ्गलादेशको हाउल्याडरले साढे ६२ लाख रुपैयाँ लिने
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न नेपाल राष्ट्र बैंकले बङ्गलादेशको लेखापरीक्षक कम्पनीसँग सम्झौता गरेको छ । १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले बङ्गलादेशको हाउल्याडर युनुस एन्ड कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । राष्ट्र बैंकका अनुसार हाउल्याडर युनुस एन्ड कम्पनीले १० ठूला बैंकको लेखापरीक्षण गरेबापत ६२ लाख ५४ हजार ९१२ रुपैयाँ (२ लाख ७१ हजार ६७० अमेरिकी डलर) शुल्क लिने भएको छ । उक्त रकम भ्याट बाहेक रहेको जनाएको छ । यससँगै हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० बैंकको सम्पत्ति गुणस्तर गर्नेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उक्त कम्पनी छनोट गरेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् । बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डाटा प्लान खरिद गर्न सक्नेछन् । विदेश जाने बित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले बताए । साथै उनले एपबाटै सजिलै आफू अनुकुलको डाटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए । यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ । बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशका लागि मान्य हुन्छ । बैंकका ग्राहकले यसका लागि एपमार्फत १० मिनेटभित्रै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो अनुमति पत्र लिनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गर्नुपर्नेछ । यो माध्यमबाट अनुमति लिँदा परीक्षा दिन पर्दैन भने २४ घण्टामा विद्युतीय अनुमतिपत्र उपलब्ध हुन्छ । यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिने जनाइएको छ । निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वास व्यक्त गरे । निम्बज एक अग्रणी सुपरएप हो जसमा च्याट तथा भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा एकीकृत गरिएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९औं वर्षमा प्रवेश
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवस अवसरमा आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले जीवन बीमा कारोबारको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक र जनजागरण कार्यक्रमहरू आयोजना गरेको हो । वार्षिकोत्सवमा महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरूमा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दरबजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा, इलाम शाखाहरूबाट विद्यालयलाई शैक्षिक सामग्री, वृद्धाश्रममा खाद्यान्न वितरण तथा सरसफाइ कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय, ज्ञानेश्वरबाट कर्मचारी र एडभाइजरहरूको सहभागितामा प्रभातफेरी समेत गरिएको थियो । सो प्रभातफेरि ज्ञानेश्वर–मैतीदेवी–डिल्लीबजार–पुतलीसडक–कृष्ण पाउरोटी हुँदै पुनः कार्यालयमा समापन गरिएको थियो । रिलायवल नेपाल लाइफले करिब ७० लाख बीमित, नियमनकारी निकाय, सेयरधनी, एडभाइजर, कर्मचारी तथा पत्रकार लगायत सबै सरोकारवालाप्रति आभार प्रकट गरेको छ । कम्पनीले ग्राहकमैत्री सेवा विस्तार गर्दै उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड पुगेको छ भने कुल लगानी करिब २० अर्बमा पुगेको छ । सोही अवधिमा कम्पनीले १ अर्ब ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।
गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाकै प्रतिष्ठित इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्समा उत्कृष्ट प्रदर्शन गर्दै ‘द बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको छ । बैंकले ‘बेस्ट एआईरएमएल इम्प्लिमेन्टेसन’ विधामा समेत उत्कृष्ट अवार्ड जित्नुका साथै ‘बेस्ट एमएसएमई एण्ड एक्सेलेरेसन’ विधामा रनरअप बन्न सफल भएको हो । इण्डियन च्याम्बर अफ कमर्शले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंकलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो । गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए । यसअघि सन् २०२४ मा सम्पन्न दोस्रो संस्करणमा पनि बैंकले बेस्ट एसेट म्यानेजमेन्ट विधामा रनरअप अवार्ड प्राप्त गरेको थियो । हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएम र अत्याधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत सेवा प्रवाह गरिरहेको छ ।
माघभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण सुरु हुने सञ्चारमन्त्री गुरुङको दावी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् । चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषदबाट पारित भई कार्यान्वयनमा जाने उनको भनाइ छ । मन्त्री गुरुङले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापन लगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार सरकारको तयारी रहेको बताए । उनले कृत्रिम बौद्धिकत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत बताए । उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे । आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे । सातवटै प्रदेशमा आईटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न लागि समेत सरकार लागि परेको मन्त्री गुरुङको भनाइ छ । बैंकिङ ठगीका मुद्दाहरू बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि आवश्यक कानून निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताए ।
एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई राजधानीस्थित र्याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता बैंक र होटलबीच सम्पन्न भएको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले होटलको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित र्याडिसन होटलमा खाना तथा पेय पदार्थ र फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एयरपोर्ट लाउन्ज, रेस्टुरेन्ट तथा ट्राङ्क्विलिटी स्पामा १५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ । ग्राहकले यो सुविधाको उपभोग गर्न एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।
दशैँमा भाडा नबढाउन मन्त्री र सचिवको निर्देशन, बुकिङ नखोल्ने व्यवसायीको चेतावनी
काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं आउन अब एक महिना मात्रै बाँकी छ । अहिले देशका विभिन्न सहरमा बसेकाहरू आफ्नो गाउँघर फर्किने तरखरमा छन् । हरेक वर्ष दशैंको समयमा लाखाैं यात्रुहरूले काठमाडाैं उपत्यका छाड्छन् । दशैंको बेला हरेक वर्ष सवारी व्यवस्थापनमा समस्या हुने गरेको छ । यस वर्ष पनि विगतमा जस्तै दशैं नजाकिँदै गर्दा सार्वजनिक यातायातको भाडा दर र टिकट बुकिङलाई लिएर सर्वसाधारणमा अन्योलता सिर्जना भएको छ । सरकारले यसवर्ष दशैंमा सार्वजनिक यातायातको भाडा नबढाउने निर्णय गरेको छ भने यातायात व्यवसायीहरूले लामो समयदेखि हुन नसकेको भाडा समायोजन हुनुपर्ने माग राखेका छन् । भाडा समायोजनमा सरकार र यातायात व्यवसायीबीच तालमेल मिल्दैन । हालसम्म गाडीको टिकट खुलाउनेबारे सरकार र व्यवसायीहरूबीच कुनै छलफल भएको छैन । सरकार र व्यवसायीबीच भाडा समायोजनको विषयलाई लिएर आ-आफ्ना अडान राख्दा अग्रिम टिकट बुकिङ कहिले खुल्छ भन्ने विषय अनिश्चित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश भट्टराईका अनुसार भाडा दर नबढाउने मन्त्रीस्तरीय निर्णय भइसकेको छ । ‘भाडा नबढ्ने भनेर मन्त्रीज्यू र सचिवज्यूबाट निर्देशन आएको छ, दशैं र चाडपर्वपछि मात्रै यसबारे थप छलफल होला,’ उनले भने । दशैंका लागि टिकट बुकिङ खुला तथा यसबारे यातायात व्यवसायीहरूसँग निर्णय गर्ने तयारी भइरहेको उनको भनाइ छ । तर, यातायात व्यवसायीहरू भने सरकारको भाडा दर नबढाउने निर्णयप्रति असन्तुष्ट देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले ऐन, नियम र कानुन अनुसार नै भाडा समायोजन हुनुपर्ने बताए । ‘भाडा समायोजन गर्नुपर्ने समय भएको धेरै भइसक्यो । सरकार दशैंको बेलामा मात्र तात्ने तर अरू बेला वास्ता नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘हामीले आफै भाडा बढाउने होइन, तर सरकारले नीतिगत रूपमा समायोजन गर्नुपर्छ । टिकट बुकिङ कहिले ? भाडा दरको टुंगो नलाग्नु र तयारी पूरा नहुनुले अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।’ व्यवसायीहरूका अनुसार सडकको अवस्था, सवारी साधनको व्यवस्थापन र भाडा दरबारे सरकारसँग निर्णायक छलफलपछि मात्र बुकिङ खुला गरिनेछ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट खोल्नुभन्दा मुख्य कुरा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु रहेको बताउँछन् । उनका अनुसार सरकारसँग छलफल नभई बुकिङ खुल्दैन। सिटौलाका अनुसार सवारीसाधन पर्याप्त छन्, तर सडकको अवस्था खराब छ । तर दशैंमा यात्रुको चाप थेग्न सवारीसाधन पर्याप्त छन् वा छैनन् भन्नेमा व्यवसायीको मत बाझिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलनाथ खनालले देशभर करिब साढे चार लाख सार्वजनिक सवारीसाधन रहेको र यात्रुका लागि पर्याप्त हुने दाबी गर्छन् । यद्यपि अन्य व्यवसायीहरू भने दशैंको चापलाई धान्न जहिले पनि सवारीसाधन अपुग हुने गरेको बताउँदै आएका छन् । अध्यक्ष खनालका अनुसार सवारीसाधनको संख्याभन्दा पनि सडकको दुरावस्था मुख्य चुनौती छ । उनले हाल देशभरको सडक सञ्जालको अवस्था भद्रगोल भएको बताए । ‘गाडी पर्याप्त भए पनि बाटो सहज नहुँदा समयमा आवतजावत हुन सक्दैन, जसले गर्दा व्यवस्थापनमा समस्या आउँछ,’ उनले भने, ‘सरकारले समयमै सडक मर्मत र सुधार गर्नुपर्छ ।’ दशैंको समयमा व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको गुनासो हरेक वर्ष आउने गर्छ । तर, व्यवसायीहरू यस आरोपको खण्डन गर्छन् । ‘सरकारले तोकेको भन्दा एक रुपैयाँ बढी भाडा लिने काम हुँदैन । यो एउटा आरोप मात्र हो,’ अध्यक्ष डोलनाथ खनालले भने । सरकार र यातायात व्यवसायीबीच भाडा दरमा सहमति जुट्न नसक्दा र सडकको अवस्थाबारे स्पष्ट नहुँदा यो वर्षको दशैं यात्रा पनि अन्यौलपूर्ण बन्ने देखिन्छ ।