एआई प्रविधिमा अगाडि बढ्दै ‘एनथ्रपिक’, १३ अर्ब डलर लगानी संकलन
काठमाडौं । अमेरिकी कृत्रिम बाैद्धिकता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो । कम्पनीको पछिल्लो मूल्यांकन १८३ अर्ब डलर पुगेको छ । ‘एनथ्रपिक’ एक अमेरिकी एआई प्रविधि कम्पनी हो, जसले सुरक्षित, पारदर्शी र उत्तरदायी एआई प्रणालीहरू विकास गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा पूर्व ओपनएआई अनुसन्धानकर्ताहरूले स्थापना गरेको यो कम्पनी विशेषगरी ‘क्लोड’ नामक उन्नत भाषा मोडेलहरू निर्माण गरेर चर्चित भएको हो । एनथ्रपिकको मुख्य उद्देश्य मानवीय मूल्यसँग मेल खाने र दीर्घकालीन रूपमा सुरक्षित रहने एआई प्रविधि तयार गर्नु हो । यस कम्पनीले व्यवसायिक प्रयोगका लागि भरपर्दो एआई समाधानहरू प्रदान गर्दैछ, जसमा भाषा प्रशोधन, ज्ञान सहायता र निर्णय समर्थन प्रणालीहरू पर्छन् । यस लगानी चरणमा फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्च कम्पनी र लाइटस्पिड भेन्चर पार्टनर्सले पनि सह–नेतृत्व गरेका छन् । कम्पनीका अनुसार, यो लगानीले व्यवसायिक माग पुरा गर्न क्षमता विस्तार, सुरक्षा अनुसन्धानमा गहिराइ ल्याउन तथा अन्तर्राष्ट्रिय विस्तारमा सहयोग पुर्याउनेछ । 'हाम्रो सम्पूर्ण ग्राहक समूहमा माग तीव्र रूपमा बढिरहेको छ,' एनथ्रपिकका आर्थिक प्रमुख (सीएफओ) कृष्ण रावले बताए । यसअघि मार्च महिनामा, कम्पनीले सिरिज ई चरणमा ३.५ अर्ब डलर जुटाउँदै ६१.५ अर्ब डलरको मूल्यांकन प्राप्त गरेको थियो । कम्पनीका अनुसार, २०२३ को मार्चमा क्लोड नामक एआई मोडेल सार्वजनिक गरेपछि एनथ्रपिकको विकास दर निकै तीव्र भएको हो । रासस
आइतबार राति हुने पूर्ण चन्द्रग्रहणमा देखिनेछ ‘ब्लड मुन’
काठमाडौं । खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ । जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसलाई डरलाग्दो गाढा रातो रङमा देखाउँछ । यो अद्भुत दृश्यले सहस्राब्दीयौँदेखि मानिसलाई आकर्षित गर्दै आएको छ । भारत र चीनसहित एसियाका मानिसहरू यस ग्रहण अवलोकनका लागि सबैभन्दा अनुकूल स्थानमा हुनेछन् । साथै, अफ्रिकाको पूर्वी किनार र पश्चिमी अस्ट्रेलियामा पनि ब्लड मुन देखिनेछ । पूर्ण चन्द्रग्रहण १७ः३० जिएमटीदेखि १८ः५२ जिएमटीसम्म रहनेछ । युरोप र अफ्रिकाका खगोलविद्हरूले चन्द्रमाको उदयसँगै आंशिक ग्रहण देख्ने मौका पाउनेछन् । तर अमेरिकाका दर्शकहरूले भने यसपटक ग्रहण गुमाउनेछन् । उत्तरी आयरल्यान्डको क्विन्स युनिभर्सिटी बेलफास्टका खगोलशास्त्री रायन मिलिगनका अनुसार चन्द्र ग्रहणको समयमा चन्द्रमा रातो देखिनुको कारण पृथ्वीको वायुमण्डल हो । उनले भने, 'सूर्यको प्रकाश वायुमण्डलमा प्रतिबिम्बित र छरिएको हुन्छ । नीलो तरङ्ग आयाम छोटो भएकाले सजिलै फैलिन्छ, तर रातो तरङ्ग आयाम लामो भएकाले चन्द्रमा पुग्छ र यसलाई रक्तिम रङ दिन्छ ।' सूर्य ग्रहणजस्तो चश्मा वा पिनहोल प्रोजेक्टरको आवश्यकता नपर्ने भएकाले चन्द्र ग्रहण हेर्न सजिलो हुन्छ । स्पष्ट मौसम र उपयुक्त स्थान भए पर्याप्त हुन्छ । यसअघि यस वर्ष मार्चमा पूर्ण चन्द्रग्रहण भएको थियो । त्यसअघि सन् २०२२ मा भएको थियो । आफूलाई ‘सूर्य ग्रहण चेजर’ भनी चिनाउने मिलिगनले आइतबारको घटना आउँदो वर्ष हुने ‘ठूलो घटना’ को प्रस्तावना भएको बताए । सन् २०२६ अगस्ट १२ मा युरोपको केही भागमा दुर्लभ पूर्ण सूर्यग्रहण देखिनेछ । त्यसबेला चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ । मिलिगनले पछिल्ला एक दशकमा संसारभर १२ वटा पूर्ण सूर्यग्रहणको अवलोकन गरेका छन् । आउँदो वर्षको पूर्ण ग्रहण स्पेन र आइसल्यान्डमा देखिनेछ । यो सन् २००६ पछि मुख्यभूमि युरोपमा पहिलो हुनेछ । अन्य मुलुकहरूले आंशिक ग्रहण देख्न सक्नेछन् । स्पेनमा, मेड्रिड र बार्सिलोना बीचको करिब एक सय ६० किलोमिटर ९एक सय माइल० लामो क्षेत्रमा समग्रता देखिनेछ । तर यी दुवै सहरले पूर्ण घटना अवलोकन गर्न नपाउने मिलिगनले बताए । सन् २०२४ अप्रिलमा उत्तर अमेरिकामा भएको पूर्ण सूर्य ग्रहणपछि यो पहिलो पूर्ण सूर्य ग्रहण हुनेछ । रासस
एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक र धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच विशेष छुट सुविधा उपलब्ध गराउने समझदारी सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहकले विभिन्न सेवा लिँदा छुट सुविधा उपयोग गर्न सक्नेछन् । छुट पाउनका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यो सहकार्यले स्वास्थ्य उपचारमा सहजता दिलाउने र देशमा डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको जनाएको छ ।
भारत–चीन व्यापार सम्झौतापछि ओलीको दिल्ली यात्रा अनिश्चित
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर महिनाभित्र भारत भ्रमण गर्ने सम्भावना न्यून रहेको भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’ ले जनाएको छ । ओली सत्तामा आएदेखि अहिलेसम्म भारतको आधिकारिक भ्रमण गरेका छैनन् । उनी विसं २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । स्रोतहरूले द प्रिन्टलाई दिएको जानकारीअनुसार नेपाली मिडियाले पहिलो पटक उल्लेख गरेअनुसार १५ सेप्टेम्बरमा भ्रमण हुने सम्भावना छैन । भ्रमणको समयतालिकासँगै समस्या रहेको उनीहरूको भनाइ छ । यसै साताको सुरुतिर चीनको तिआनजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच छोटो भेट भएको थियो । ‘तिआनजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीसँग भेट्दा खुसी लाग्यो । भारत–नेपाल सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका थिए । हालैका दिनमा काठमाडौंले भारत र चीनबीच लिपुलेक नाकामार्फत व्यापार पुनः सुरु गर्ने तयारीबारे कडा आपत्ति जनाउँदै आएको छ । यो नयाँ दिल्लीका लागि सहज विषय नभएको बताइएको छ । सन् २०२० मा नेपालले संविधान संशोधनमार्फत नक्सा परिमार्जन गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको भू-भागमा समावेश गरेको थियो । भारतले भने ती दाबी अस्वीकार गर्दै आएको छ । गत शनिबार ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नाकामार्फत भारत–चीन व्यापारको विषय उठाउँदै उक्त क्षेत्रलाई नेपालको भू-भागका रूपमा मान्यता दिन आग्रह गरेका थिए । यसअघि २० अगस्टमा नेपालका परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भारतलाई ‘सडक निर्माण/विस्तार तथा सीमापार व्यापारजस्ता गतिविधि नगर्न’ अनुरोध गरेको थियो । तर नयाँ दिल्लीले उक्त विज्ञप्ति अस्वीकार गर्दै भन्यो, ‘यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् ।’ सोही दिनमै भारत र चीनबीच विशेष प्रतिनिधिहरूको बैठकमा लिपुलेक, नाथु ला र शिप्कि ला नाकामार्फत व्यापार पुनः सुरु गर्ने समझदारी भएको थियो । सीमापार व्यापार कोभिड–१९ महामारीपछि र २०२० को गलवान संघर्षपछि बन्द भएको थियो । तर पछिल्ला हप्तामा नयाँ दिल्ली र बेइजिङबीच सम्बन्ध सुधारका लागि विश्वास निर्माण गर्ने उपायहरूमा ध्यान दिइएको छ । यसअघि अगस्ट महिनामा भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले काठमाडौं भ्रमण गर्दै चिकित्सा तथा सैनिक सामग्री प्रदान गरेका थिए, जसलाई दुई देशबीच निरन्तर सम्पर्कको संकेतका रूपमा लिइएको थियो । नेपाल–भारतबीचको परम्परागत नजिकको सम्बन्धलाई दृष्टिगत गर्दा ओलीको अहिलेसम्मको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीले पदभार सम्हालेपछि चीन दुई पटक भ्रमण गरिसकेका छन् । सन् २०२४ डिसेम्बरको आधिकारिक भ्रमणसँगै ३० अगस्टदेखि ३ सेप्टेम्बरसम्म तिआनजिन र बेइजिङको भ्रमण गरेर उनले एससीओ प्लस सम्मेलनमा भाग लिएका थिए र जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध युद्धको ८०औं विजय दिवस कार्यक्रममा समेत सहभागी भएका थिए । प्रधानमन्त्री मोदीले गत अप्रिलमा बैंककमा सम्पन्न बिम्स्टेक सम्मेलनको अवसरमा ओलीसँग द्विपक्षीय भेट गरेका थिए । दुबै नेताहरू २०२४ मा न्युयोर्कमा सम्पन्न ‘युनाइटेड नेशन्स समिट अफ द फ्युचर’ को अवसरमा पनि भेटेका थिए । गत मार्चमा ओली देशभर फैलिएका राजतन्त्र समर्थक प्रदर्शनका कारण दबाबमा परेका थिए, जसले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउने माग गरेको थियो । त्यतिबेला मिडियामा आएको समाचारअनुसार प्रधानमन्त्री ओलीले ती प्रदर्शनलाई भारतले समर्थन गरेको आशंका गरेका थिए । तर बैंककमा भएको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालमा लोकतन्त्रलाई समर्थन गर्ने नयाँ दिल्लीको प्रतिबद्धता स्पष्ट गरेका थिए । (भारतीय मिडिया द प्रिन्टबाट अनुदित तथा सम्पादित) सान्दर्भिक सामग्री : चीनको सैन्य परेडमा विश्वको नजर, अमेरिकासँग झन् बढ्दै तनाव हाँसोभित्र लुकेको कुटनीति : पुटिन, मोदी र सी जिनपिङको तिआनजिन संवाद ‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन
महालक्ष्मी विकास बैंकको योजना : क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने सुविधा
काठमाडौं । महालक्ष्मी विकास बैंकले चाडपर्वलाई लक्षित गर्दै ग्राहकका लागि क्रेडिट कार्डमार्फत टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने नयाँ सुविधा सुरु गरेको छ । नेपालीहरू चाडपर्वका समयमा विभिन्न देश भ्रमण गर्ने परम्परालाई ध्यानमा राखी बैंकले यो योजना सार्वजनिक गरेको हो । यसका लागि बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीसँग व्यावसायिक सहकार्यसमेत गरेको छ । प्रारम्भिक चरणमा गुरु ट्राभल्स (दरबारमार्ग) र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स (उत्तरढोका, काठमाडौं) मार्फत यो सुविधा लिन सकिनेछ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका क्रेडिट कार्डधारकहरूले यी एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा आफ्नो खरिद रकमलाई ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । साथै, यस प्रक्रियामा बैंकले कुनै पनि ईएमआई प्रोसेसिङ शुल्क लिने छैन । बैंकले यस पहलले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र चाडपर्वलाई अझ उत्साहमय तथा अर्थपूर्ण बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।
इन्भेष्टमेण्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच सम्झौता, विभिन्न सेवामा छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महिला उद्यमी महासंघका सम्पूर्ण सदस्यहरूले बैंकमार्फत विशेष वित्तीय सुविधा तथा छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलाहरूलाई छुटसहितको कर्जा प्रवाहमा प्राथमिकता दिइनेछ । साथै, वित्तीय साक्षरतासम्बन्धी सेवा पनि २७५ शाखामार्फत उपलब्ध गराइनेछ । सम्झौताबाट महिला उद्यमी महासंघका सदस्यहरू प्रत्यक्ष लाभान्वित हुने र महिला उद्यमशीलतालाई थप प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीले गर्यो आग्रह : अनावश्यक नखोकौं, कुकरमा राति सिटी नलगाऔँ
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गर्दै ध्वनि प्रदूषण नियन्त्रणका लागि नागरिकलाई अनुरोध गरेको छ । बुधबार सुरु गरिएको अभियान अन्तर्गत प्रहरीले पाँच बुँदा तथा उपबुँदासहितका आग्रह सार्वजनिक गरेको हो । त्यसमा राति अबेर वा बिहान सबेरै शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन र कुकरमा सिटी नलगाउन अनुरोध गरिएको छ । त्यस्तै राति अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगर्न, ढोका ढकढक्याउने वा बेल बजाउने सट्टा आवश्यक परे फोनमार्फत ढोका खोलाउन आग्रह गरिएको छ । प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले विशेषगरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक जीवनमा नकारात्मक असर पार्ने बताइएको छ । यस्तो छ प्रहरीको अनुरोध
एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनएमबि बैंकका कर्मचारी, परिवार र ग्राहकहरूले अब बुटवल हस्पिटल प्रालिबाट उपचार सेवा लिँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । एनएमबि बैंक र बुटवल हस्पिटलबीच भएको सम्झौतापछि यो सुविधा लागू हुने भएको हो । सम्झौता अनुसार बैंकका कर्मचारी/परिवार तथा ग्राहकहरूले हस्पिटलको बेड चार्ज, ल्याब परीक्षण, अपरेशन चार्ज, युएसजी/इसीजी/ईको/एक्स–रे, फिजियोथेरापी र औषधि खरिदमा ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्। सम्झौताले उपचार खर्चमा राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए । छुट पाउनका लागि ग्राहकहरूले एनएमबि बैंकको खाताबाट भुक्तानी गर्नुपर्नेछ । यसका लागि बैंकका एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपीएस र क्यूआर कोड प्रयोग गर्नुपर्नेछ ।