विकासन्युज

आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

काठमाडौं । सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौं उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।   कर्मचारी तन्त्रका प्रमुख र चारवटै सुरक्षा निकायका प्रमुखले आज संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन् ।   उनीहरुले वर्तमान विषम परिस्थितिमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल गरेका छन् ।   नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त रुपमा उक्त अपिल गरेका हुन् ।   सोमबारदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनीहरुले त्यसबाट ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।  

जेनजीले घरमै कुटे देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । मंगलबार जेनजीहरूले देउवाकै निवास पुगेर गेट फुटाएर घरभित्र प्रवेश गरेका थिए । सोही क्रममा जेनजीहरूले उनीमाथि हातपात गरेका थिए ।  प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

नख्खु कारागारबाट निस्के रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्किएका छन् । नख्खु कारागारमा रहेका उनलाई निकालेर बाहिर निकालिएको हो । लामिछाने निस्केको दीपक बोहराले जानकारी दिए ।

जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनूस्, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुहोला

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन् , ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’ बालेनले देशको जनधनको क्षति हाम्रै भएकाले संयमित हुन जरुरी भएको बताएका हुन्। साथै उनले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुन आग्रह गरेका छन् ।  

सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी

काठमाडौं । जेनजीले सुदूरपश्चिम प्रदेशसभाको भवनमा आगजनी गरेको छ । सोमबारको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू सडकमा उत्रिएका थिए । त्यसैक्रममा उनीहरूले सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी गरेका हुन् । 

माओवादी केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पनि आगजनी भएको छ । मंगलबार प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय जलाएका हुन् । जेनजी युवाहरुले गरेको आन्दोन चर्केको अवस्था छ । अहिले संसद् भवन, सिंहदरबारदेखि धेरै ठाउँका भवन, पार्टी कार्यालयमा तोडफोड आगजानी भइसकेका छन् । 

जेनजीले जलाए पूर्वराष्ट्रपति भण्डारीको घर

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएका छन् ।  बुढानीलकण्ठस्थित भङ्गलामा रहेको घरमा प्रदर्शनकारीहरूले तोडफोड गर्दै घरभित्र छिरेर आगजनी गरेका हुन् ।  जेनजीहरूले पार्टी कार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरिरहेका छन् । 

राप्रपाका सबै सांसदले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सबै सांसदले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका गरी ४२ सांसदले सामूहिक राजीनामा दिएका हुन् । 'देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ,' प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।