मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक छ : घिसिङ
काठमाडौं । विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक सम्पतीमा क्षती नपुर्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै घिसिङले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका हुन् । उनले लेखेका छन्,‘सुशासन, जवाफदेहिता र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन माग राखेर गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बरतापूर्वक दमन गर्दा उत्पन्न दुखद परिस्थिति हामी सबैका माझमा छर्लङ्ग छ, सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण आज जुन खालको परिस्थिति सिर्जित भएको छ, यसबाट हामी सबै दुखित छौं ।’ प्रधानमन्त्रीको राजिनामा समेत स्वीकृत भैसकेको अवस्थामा अब संयमित हुने समय आएको बताउँदै सार्वजनिक सम्पति तोडफोड नगर्न आग्रह गरेका छन् । उनले थप भनेका छन्,‘ सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुन्छ, अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो । हामी सम्पूर्ण नागरिक, विशेषतः आन्दोलनमा सहभागी युवापुस्ता, संलग्न संस्थाहरूलगायत सबैलाई यो संवेदनशील घडीमा धैर्य, आत्म मूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्न हार्दिक आह्वान गर्दछौं।’ घिसिङले जेन जी सहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक भएको बताएका छन् ।
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
काठमाडौं । कैलाली कारागार कब्जा भएपछि त्यहाँ रहेका सबै कैदीबन्दी बाहिरिएका छन् । ‘जेनजी’ आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले मंगलबार कारागार परिसरमै कब्जा जमाएपछि कैदीबन्दीहरू निस्किएका हुन् । प्रदर्शन उग्र बन्दै गएपछि देशभर विभिन्न सरकारी निकाय र संरचनाहरू प्रदर्शनकारीको निशानामा परिरहेका छन् ।
बालेनले भने- प्लिज जेनजी, अब घर फर्कनूहोस्
काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बोलन शाहले आन्दोलन गरिरहेका जेनजीहरूलाई घर फर्किन आग्रह गरेका छन् । उनले भने, ‘प्लिज जेनजी, देश तपाईंहरूकै हातमा हो, तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो ।’
जेनजीलाई संयमित हुन डा. रुइतको आग्रह
काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रदर्शनमा रहेका जेनजीलाई संयमित हुन आग्रह गरिएको छ । सार्वजनिक सम्पत्ति तोडफोडमा उत्रिएका जेनजीहरूलाई असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले संयम हुन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा विशेष अनुरोध गर्दै डा. रुइतले युवाहरूलाई आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू तपाइले देखाउनुभएको आदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीति नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पतीमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’ डा. रुइतले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएकाले सार्वजनिक सम्पत्तिको नोक्सानी नगर्न आग्रह गरेका हुन् ।
जेन जीलाई संयमित हुन डा. रुइतको आग्रह
काठमाडौं । डाक्टर सन्दुक रुइतले प्रदर्शनमा रहेका जेन जीलाई संयमित हुन आग्रह गरिएको छ । सार्वजनिक सम्पती तोडफोडमा उत्रिएका जेनजीहरूलाई असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडी हटिसकेकाले संयम हुन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा बिशेष अनुरोध गर्दै डा. रुइतले युवाहरूलाई आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू तपाइले देखाउनुभएको आदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीतिनेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पतीमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’ डा. रुइतले सार्वजनिक सम्पतीको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएकाले सार्वजनिक सम्पतीको नोक्सानी नगर्न आग्रह गरेका हुन् ।
प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो । प्रदर्शनका क्रममा भएको मानव अधिकारको उल्लङ्घनको अनुसन्धानका लागि आयोगले आज आयोगका सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको जनाएको छ ।
जेनजीले प्रकाशमान सिंहको घरसहित ६ वटा गाडी जलाए
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा जेनजीले आगजनी गरेका छन् । जेनजीले सिंहको निवास र ६ वटा गाडी जलाएका हुन् । नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । सिंह नेपाली सेनाको सुरक्षामा छन् । आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि जेनजीले सिंह निवासमा आगो लगाएका थिए ।
भाटभटेनी सपिङ सेन्टरमा आगजनी
काठमाडाै । भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरिएको छ। मंगलबार प्रर्दशनकारीहरुले नक्सालस्थित भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरेका हुन् । जेनजी युवा पुस्ताले गरेको प्रर्दशनमा सरकारी कार्यालयदेखि धेरै सम्पतिमा क्षति पुगेको छ ।