विकासन्युज

जेनजी आन्दोलनपछि सरकारको राष्ट्र पुन:निर्माण महाअभियान

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको धनजनको ठूलो क्षतिपछि सरकारले पुनःनिर्माण र आर्थिक पुनरुत्थानका लागि युद्धस्तरमा काम सुरु गरेको घोषणा गरेको छ ।  यसका लागि सरकारको एक विशेष उच्चस्तरीय समिति गठन गरेको छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन भौतिक पूर्वाधार पुनःनिर्माण कोष समेत स्थापना भएको छ ।  आन्दोलनले भौतिक संरचनाहरूमा आगजनी र तोडफोड गरी अर्बौं रुपैयाँ क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार क्षतिको आकलन पुनःनिर्माण कार्ययोजनाको तर्जुमा र कार्यान्वयनका लागि असोज ५ गतेको बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ जारी गरिएको हो ।  यो समिति अर्थमन्त्रीको अध्यक्षतामा रहने छ भने जसमा गृहमन्त्री, सहरी विकास मन्त्री र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल सदस्य रहनेछन् भने सहरी विकास मन्त्रालयका सचिव सदस्य सचिवको भूमिकामा रहनेछन् ।  समितिको मुख्य जिम्मेवारीमा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्ने, कोषबाट खर्च हुने कार्यक्रमहरू अनुमोदन गर्ने र कार्यक्रमहरूको नियमित अनुगमन तथा सूचना सम्प्रेषण गर्ने रहेको मन्त्रालयले जनाएको छ । यसको सचिवालय सहरी विकास मन्त्रालयमा रहने बताएको छ ।  यसका साथै पुनःनिर्माण आर्थिक पुनरुत्थान र राहतका लागि भौतिक पूर्वाधार पुनःनिर्माण कोष समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले बुधबार नै यसको जानकारी गराइसकेको छ । राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारस्थित खाता नम्बर १९६० १०० १० २० ७०० ४ ७०००४ मा सिधै वा क्यूआर कोड मार्फत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।  नेपाल सरकार भौतिक पूर्वाधार पुन:निर्माण समितिले विश्व समुदाय समक्ष कल फर ग्लोबल सपोर्ट तथा अपील फर द रेस्टोरेशन एन्ड रिकन्स्ट्रक्सन अफ नेपाल पब्लिक एसेट्स भन्दै सहयोगको लागि विशेष आह्वान गरेको छ ।  नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई राष्ट्र निर्माणको यस महाअभियानमा हातेमालो गर्न अनुरोध गरिएको छ ।  कोषमा जम्मा हुने रकम पूर्ण पारदर्शिताका साथ खर्च गरिने प्रतिबद्धता समेत जनाइएको छ । अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माणको काम कोषमा पैसा आउला भनेर नपर्खिकन पहिले नै सुरु भइसकेको पारे । ‘पुनःनिर्माण सरकार र राज्यको प्राथमिकता हो,’ उनले भने, ‘हामीले अनुपयुक्त र अनुत्पादक आयोजनाहरूको खर्च कटौती गरेर स्रोत व्यवस्थापन गरेका छौं ।’  प्रहरी कार्यालय र अदालतजस्ता तत्काल आवश्यक संरचनाको मर्मत आफ्नै बजेटबाट भइरहेको र अपुग भएमा अर्थ मन्त्रालयले थप बजेट दिन सक्ने जनाइएको छ । सेवाग्राहीले सरकारी कार्यालयमा भोग्नुपर्ने ढिलासुस्ती, मोलमोलाइ, घूसखोरी र अपमानजनक व्यवहारविरुद्ध गुनासो गर्न विशेष व्यवस्था मिलाइएको छ । ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि छुट्टाछुट्टै इमेल र टेलिफोन नम्बरहरू उपलब्ध गराइएका छन् ।  अर्थमन्त्री खनालका अनुसार कार्यान्वयन विधि भनेको इमानदारिता हो । गुनासो प्राप्त हुनेबित्तिकै शतप्रतिशत कारबाही गरिने र धेरै गुनासाहरू विकासमुखी सुझावका रूपमा आउने गरेको उनले बताए ।  आन्दोलनबाट भएको क्षतिको विवरण देशभरिबाट मूल्यांकनकै चरणमा रहेको र प्रारम्भिक अनुमानअनुसार एक अर्बभन्दा बढीको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बताए ।  उनका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डमा गएको ठूलो पहिरोले समस्या पारेको छ । मन्त्रीले पर्याप्त उपकरण प्रयोग गरिए पनि निरन्तर पहिरो खस्ने र राति काम गर्न नसकिने चुनौती रहेको बताए । पहिरो पन्छाउने काम राती समेत जारी रहेको र शुक्रबार विहानसम्म सञ्चालनमा आउने उनले बताए ।  यद्यपि कान्तिपथ, त्रिभुवन राजपथ, बीपी हाइवे र पोखरा राजमार्गहरू खुला रहेको र विकल्पका रूपमा फास्टट्र्याक र अन्य सम्भावित मार्गबारे छलफल भइरहेको जनाइएको छ ।

दसैँमा पर्यटक भिसा खुला रहने

काठमाडौं । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो । असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा पहिरो पन्छाउने काम तीव्र, शुक्रबार सञ्चालना आउने

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिक झरेको पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ । सडक डिभिजन कार्यालयका अनुसार नारायणगढतर्फबाट १ एक्साभेटर र १ लोडर तथा मुग्लिनतर्फबाट १ एक्साभेटर र २ लोडर प्रयोग गरी लगातार पहिरो पन्छाउने काम भइरहेको हो । यसका अतिरिक्त दुवै दिशामा १/१ ब्याक-हो लोडर तयारी अवस्थामा राखिएको छ । काम गर्ने क्षेत्र साँघुरो भएकाले एकैपटकमा दुवैतर्फबाट अधिकतम पाँचवटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको कार्यालयले जनाएको छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको डिभिजन कार्यालयले जनाएको छ ।  कार्यालयले कुनै अन्य अवरोध नआए आज रातिसम्ममा पहिरो पूर्णरूपमा हटाई सडक आवागमन सुचारु गर्ने लक्ष्य लिएको जनाएको छ ।

पहिरो र सडक अवरुद्धले हवाई उडानमा चाप बढ्यो, दैनिक ३४० भन्दा बढी उडान सञ्चालन

काठमाडौं । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ ।  प्रवक्ता शेर्पाले बिहीबारका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका छन् । बुधबार १४१ उडान निर्धारण गरिएको भए पनि प्रतिकूल मौसमका कारण जम्मा १३५ मात्रै उडान भएका छन् । आज बिहानैदेखि मौसम अनुकूल रहेकाले धमाधम उडान भइरहेको उनले उल्लेख गरे । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीका अनुसार बुधबार मौसमका कारण केही उडान स्थगित भएकाले आजका लागि निर्धारित उडानमा चाप बढेको छ । उनका अनुसार बुधबार दिउँसो ३ बजेपछि पोखरा र भैरहवाको सबै उडान रद्द गरिएको थियो । कम्पनीले आज दुईतर्फ १७० उडान निर्धारण गरेको छ भने बुधबार १५० उडान निर्धारित थियो । निर्देशक जोशीले दशैंमा यात्रु चापलाई मध्यनजर गर्दै भैरहवा र भरतपुरमा समान दुई उडान थप गरिएको जानकारी दिए । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले विगत दुई दिनदेखि हवाई उडान चाप बढेको बताए । उनका अनुसार सडक आवागमन अवरुद्ध हुँदा हवाई उडानमा चाप बढेको छ । आइतबारसम्म यस्तो चाप रहने छ । हाल काठमाडौंबाट बाहिरिने यात्रु बढी भएको र काठमाडौं फर्किने यात्रुको सङ्ख्या कम भएकाले हवाई भाडा केही महँगो भएको मानन्धरको भनाइ छ । श्री एयरलाइन्सले अहिले दैनिक दुईतर्फी ५० हाराहारी उडान गर्दै आएको छ । बुधबारदेखि शुक्रबारसम्म नियमित उडान भएमा आन्तरिकतर्फ उडान व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । हाल समग्रमा आन्तरिकतर्फ दैनिक तीनसय ४० भन्दा बढी उडान भइरहेको छ । अन्तर्राष्ट्रियतर्फ पनि आवागमन बढी रहेको दैनिक दुईतर्फी १ सय १० भन्दा बढी उडान भइरहेको छ । अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दशैं-तिहार तथा छठलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज हवाई यातायात उपलब्ध गराउन वायुसेवा कम्पनीलाई पथ उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई उडान सहजीकरणका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे । उनले हवाई इन्धनको मूल्य अत्यधिक बढेकाले हवाई भाडा महँगो भइरहेको भन्दै राज्यकातर्फबाट हवाई भाडा नियन्त्रणका लागि इन्धनलगायतमा सहुलियत दिएर नीतिगत व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । काठमाडौंबाट बाहिरिने मुख्य नाका मुग्लिङ–नारायणगढ सडककण्डको तुइनखोलामा पहिरो गएपछि सडक अवरोध हुँदा हवाई उडानमा चाप बढेको हो । विगत तीन/चार दिनदेखि पटक–पटक पहिरो खसेकाले पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आएको छ । उक्त क्षेत्रमा यही असोज ७ गते साँझ ठूलो पहिरो खसेर आवागमन अवरुद्ध भएको छ । हाल विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।  

कर्ण थापाले ओलीलाई भने– नेतृत्व भनेको सही विश्लेषण गरेर सही निष्कर्ष निकाल्नु हो

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले देश र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले नोक्सानी बेहोरेपछि पनि गल्ती स्वीकार्न नचाहने मानिसलाई मूर्ख सम्बोधन गर्दै त्यस्ता व्यक्तिलाई समाजबाट अलग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेता थापाले एमाले अध्यक्ष केपी ओलीलाई अप्रत्यक्ष संकेत गर्दै पार्टीमा नोक्सानी हुनबाट जोगाउने व्यक्तिलाई नै नेतृत्वको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।  थापाले ओलीसँगै अहिलेको जटिल अवस्थामा प्रष्ट विचार राख्न नसक्नेहरूलाई पनि व्यङ्ग्यसमेत गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘हर परिस्थितिमा अलमलमा परिरहने मानिस सुषुप्त हुन्छन् । उनीहरूलाई सही दिशानिर्देश दिन सक्नुपर्छ । नेतृत्व भनेकै सही विश्लेषण गरेर सही निष्कर्ष निकाल्ने क्षमता हो ।’ देश निर्माण हावादारी गफले सम्भव नहुने स्पष्ट पार्दै थापाले सही नीतिगत दिशा, व्यवहारिक दृष्टिकोण र जनमुखी योजनाबाट मात्रै मुलुकलाई अगाडि बढाउन सकिने उल्लेख गरे । ‘देश र जनता नै हाम्रो राजनीतिको केन्द्रबिन्दु हुनुपर्छ । त्यसैको आधारमा मात्र राष्ट्रिय समृद्धिको बाटो खुल्छ,’उनले थपे ।

लहान वितरण केन्द्र : ४४ करोड बक्यौता, ७०३ ग्राहकमाथि कारबाही

सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम ४४ करोड रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकी बक्यौता ४४ करोड ९२ लाख ५७ हजार १८४ रहेको छ । कार्यालयले बक्यौता असुल गर्न विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म १७ लाख ३२ हजार ३१२ सङ्कलन गर्न सफल भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी बक्यौता रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् । ‘कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै १ करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी छ,’ प्रमुख गुप्ताले भने, ‘गत असार २५ गते पत्र काटिएको भए पनि हालसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन ।झ् प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र विद्युत् महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको उनको भनाइ छ ।  ‘अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक हामीसँग अर्को विकल्प छैन,’ गुप्ताले भने । विद्युत् चुहावटको अवस्था पनि वृद्धि हुँदै गएको छ । आव २०८०÷८१ मा चुहावट दर ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१र८२ मा बढेर ३८ दशमलव १० प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिए । उनका अनुसार चालु आवको साउन मसान्तसम्ममा यो दर बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ । यसैबीचमा प्राधिकरणले ७०३ जना ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको कार्यालयले जनाएको छ । सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम गरी तीन वटा वितरण केन्द्र रहेका छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् । 

जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना बनाउन सरकारले बनायो पूर्वाधार पुनर्निर्माण कोष

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । गत २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले स्रोतको अभावमा सहायता लिन लागेको हो ।  त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ । त्यस्तो कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्न सक्नेछन् । अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माणका लागि सरकारलाई स्रोतको अभाव नरहेको बताए । उनले स्रोत अभाव नभएपनि विदेशमा भएका नेपालीले पुनर्निर्माणमा सहभागिता जनाउन चाहेकाले कोष बनाइएको बताए । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खनालले भने– ‘पुनर्निर्माण गर्नका लागि स्रोत पर्खेर बसेका छैनौं । तपाईहरुले पनि देख्न सक्नुहुन्छ, अर्थमन्त्रालय,भौतिक मन्त्रालय नै रंगरोगन गर्ने काम चलिरहेको छ । त्यस्तै, तुरुन्त बनाउनुपर्ने प्रहरी भवनको निर्माण अघि बढाउन हामीले भनेका छौं । सम्बन्धित मन्त्रालयले आफ्नै स्रोतबाट पनि भवन बनाउन सक्छन् भने नयाँ सरकारले भ्रष्टाचार अन्त्य गरोस् र पुनर्निर्माणमा हामी पनि सहभागी बन्छौं भनेर विदेशमा बसेका नेपालीले भनेकाले पुनर्निर्माण कोष बनाएका हौं ।’ निजी क्षेत्रसहित दातृ निकायहरुले कोषमा आर्थिक सहायता गर्न सक्नेछन् । उनीहरुले गरेको सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्नसक्ने भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जानकारी दिए । उनकाअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण समिति बनाइएको छ । त्यसका लागि आदेश जारी भइसकेको छ र अर्थमन्त्री अध्यक्ष रहने गरी पाँच सदस्यीय समिति बनेको छ । समितिमा गृहमन्त्री र शहरी विकासमन्त्री पनि सदस्य रहनेछन् । समिति सदस्यमा मुख्यसचिव पनि रहने व्यवस्था आदेशमा छ । साथै समिति सदस्यसचिवका रूपमा सहरी विकास मन्त्रालयका सचिवले काम गर्नेछन् । घिसिङले भने–‘समितिले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कार्यान्वयन कार्ययोजना निर्माण र स्वीकृत गर्नेछ । कोषबाट खर्च हुने रकमसहित कार्यक्रम स्वीकृत गर्ने तथा आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित निकायको जिम्मेवारी तोक्ने काम समेत समितिले गर्नेछ । कोषको रकमबाट सञ्चालित कार्यक्रमको नियमित अनुगमन र सुपरीवेक्षण गर्ने, गराउने तथा कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत निर्णय गर्ने काम समितिको तोकिएको छ ।’ उनकाअनुसार आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापना सम्बन्धी कार्य गर्नेछ । कोषमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले प्रदान गरेको रकम जम्मा हुनेछ । साथै, स्वदेशी वा विदेशी व्यक्तिले प्रदान गरेको रकम, गैरआवासीय नेपालीले प्रदान गरेको रकम जम्मा हुनेछ । त्यसैगरी विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संघसंस्था वा दातृ निकायबाट प्राप्त नगद वा वस्तुगत सहायता वा कार्यक्रम बापत प्राप्त रकम पनि सोही कोषमा जानेछ । विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रदान गरेको सामाजिक उत्तरदायित्व बापत रकम समेत सोही कोषमा जम्मा हुनेछ ।   

तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ ।  नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई  बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । उनले भने,'पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।' पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए । पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।  पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।