प्रचण्डको अपिल - 'राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थी एउटै झण्डामुनि एकताबद्ध होऊँ'
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरे । 'देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ,' प्रचण्डले भने, 'राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।' प्रचण्डले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । साथै, उनले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरे । प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, 'यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ ।'
अस्पताल तोडफोड र चिकित्सकमाथि भएको कुटपिट घटनामा चिकित्सक संघको आपत्ती
काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि भएको कुटपिट र अस्पताल तोडफोड घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्तिक ८ गते उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको आपराधिक कार्यको भत्सर्ना गरेको छ । संघले उपचारको क्रममा मृत्यु भएको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार र नवजात शिशुको शिघ्र स्वास्थ्यको कामना गर्दै आफन्तहरूले अस्पतालमा गरेको क्रियाकलापप्रति खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि उपचारको क्रममा लापरबाही भएको संका लागेमा कानूनी प्रकृयामा जान सकिने प्रावधान हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर पुग्ने छ ।’ समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित तथा भयभीत पार्ने गरी घटाइएको यस्तो अस्वभाविक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कडा भन्दा कडा कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
सुनको मूल्य तोलामा २ हजार ९ सय घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा झरेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
गोर्खाज फाइनान्सबाट बाहिरिए बुढाथोकी, अध्यक्ष बनिन् कल्पना खापुङ
काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ नियुक्त भएकी छिन् । कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा खापुङलाई चयन गरेको कम्पनी सचिव यान सिं राईले जानकारी दिए । उनका अनुसार उनी संस्थापक सेयरधनीहरुकोतर्फबाट कम्पनीको सञ्चालक बनेकी थिइन् । फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले राजीनामा दिएपछि खापुङ अध्यक्षमा चयन भएकी हुन् । बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समिति सदस्य दुवै पदबाट कात्तिक ९ गते राजीनामा दिएका हुन् । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले आज मंगलबारदेखि लागू हुने गरी बुढाथोकीको राजीनामा स्वीकृत गरेको उनले बताए । खापुङ राष्ट्र बैंकबाट अवकाश कर्मचारी हुन् । उनी विभिन्न संघसंस्थामा समेत आवद्ध रहेको बताइएको छ ।
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
बागमती । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र बुझाएको थियो । प्रमुख प्रतिपक्ष दलको ज्ञापनपत्रपश्चात केही दिनअघि बसेको सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको संयुक्त बैठकमा प्रदेश सरकारको मन्त्रालय घटाउने विषयमा सहमति भएपछि सरकार मन्त्रालयको सङख्या घटाउने गृहकार्यमा जुटेको हो । 'सत्तारुढ दलको संयुक्त बैठकमा मन्त्रालयको सङ्ख्या घटाउने सैद्धान्तिक सहमति भएसँगै सरकारले एउटा समिति नै बनाएर यस विषयमा अध्ययन सुरु गरिसकेको छ', मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, 'मन्त्रालयको सङ्ख्या कति घटाउने ? कुनकुन मन्त्रालय राख्ने ? कुनकुन मन्त्रालय समायोजन गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्नेलगायतका विषयमा समितिले अध्ययन गरिरहेको छ ।' प्रदेश सरकारको मन्त्रालयको घटाउने विषयमा दलहरू सहमत रहेकाले मन्त्रालयको सङ्ख्या घटाउने विषयमा ठोस निर्णयमा पुग्नका लागि हामीले प्रक्रिया सुरु गरिसकेका छौँ, मुख्यमन्त्री बानियाँको भनाइ छ । खर्च कटौती र सुशासन प्रदेश सरकारको प्रमुख प्राथमिकता भएकाले मन्त्रालय र संरचनाको विषयमा दलहरूसँग छलफल गरेर साझा धारणा निर्माण गरी यसलाई तार्किक निष्कर्षमा पुर्याउने मुख्यमन्त्री बानियाँले बताए । 'अहिलेको परिस्थिति फेरिएको छ, हामी केबल मन्त्रालयको सङ्ख्या घटाउने भनेर मात्र होइन, कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छौँ', मुख्यमन्त्री बानियाँले भने, 'पहिलो चरणमा दलीय सहमति जुटाउने र त्यसपछि विज्ञहरूको सुझाव सल्लाहअनुसार मन्त्रालयको सङ्ख्या घटाउने र व्यवस्थापन गर्ने निचोडमा पुग्छौँ', मन्त्रालयको सङ्ख्या घटाउने विषय विशुद्ध प्रशासनिक सुधार र वित्तीय अनुशासनसँग जोडिएको विषय भएकाले दलीय सहमतिकै आधारमा टुङ्गो लगाउने मुख्यमन्त्री बानियाँले भने । रासस
हिमपातपछि पदयात्रा स्थगित, पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो
म्याग्दी । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । 'सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन', उनले भने, 'जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ ।' मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाले पर्यटक कम आएका जनाइएको छ । मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो क्षेत्रमा हल्का वर्षा सहित हिमपात भएको छ । म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा, कोखेडाँडाका भ्रमणमा गएका पर्यटक पनि वर्षा र हिमपातका कारण प्रभावित भएका छन् । अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलाका होटल व्यवसायी तेज गुरुङले आज बिहानैदेखि पदमार्गमा आवतजावत नभएको जानकारी दिए । 'अघिपछि दैनिक पाँच सय जना पर्यटक आएकामा सोमबार दुई सय जना जति आएका थिए', उनले भने, 'वर्षात् र हिमपात भएकाले आजको पदयात्रा स्थगित गरेर बसेका छन् ।' अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले गएराति १२ः०० बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको जानकारी दिए । घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले मौसममा खराबी आएपछि पर्यटकले पदयात्रा स्थगित गरेर बसेका जानकारी दिए । 'पुनहिलको दृृश्यावलोकन हेर्न र गन्तव्यतर्फ जाने पर्यटक बिहानैदेखि ‘डाइनिङमा ब्रेक फास्ट’ खाएर कोठामै बसेका छन्', उनले भने, 'चिसोका कारण स्वास्थ्यमा समस्या आउने, हिउँले पदमार्ग ढाकिँदा बाटो बिराउने, लडेर दुर्घटना हुने जोखिम भएकाले पदयात्रा स्थगित गर्न अनुरोध गरेका छौँ ।' रासस
सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट क्षति भएको रनभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
कतारमा अन्तर्राष्ट्रिय गहना प्रदर्शनी शुरु
काठमाडौं । अन्तर्राष्ट्रिय गहना प्रदर्शनी अस्जादको सातौं संस्करण कतारको राजधानी दोहामा शुरु भएको छ । ६ दिने प्रदर्शनीमा स्थानीय, खाडी, अरब र अन्तर्राष्ट्रिय गहना कम्पनीहरूका १ सय ३० ब्रान्डहरू समावेश छन् । जसले यसलाई यस क्षेत्रको आफ्नो प्रकारको सबैभन्दा ठूलो कार्यक्रमहरू मध्ये एक बनाउँछ । यस वर्षको संस्करणको विशेष आकर्षण मोतीहरूको लागि समर्पित मण्डप हो । जसले कतारको गहिरो जरा गाडेको सम्पदालाई प्रतिबिम्बित गर्ने उत्कृष्ट संग्रहहरू प्रदर्शन गर्दछ ।