विकासन्युज

महाकाली सिँचाइ आयोजनाकाे मुआब्जामा सकस, प्रगति २७ प्रतिशतमा सीमित

काठमाडौं । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचे अनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेश भक्त पोखरेलले जानकारी दिए ।  ‘राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो । अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण ४ वटा प्याकेजमा काम भइरहेको छ,’ सिडीई पोखरेलले भने ।  ४ प्याकेजको मूल नहर निर्माणका लागि १ अर्ब ९७ करोड रुपैयाँको ठेक्का सम्झौता गरिएको छ । करिब २ वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि ४ वटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य ३ वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहर अन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट)देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए । भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल-भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने १ हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेड रेगुलेटर लगायतका संरचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकारात्मक देखिएको छैन । ‘मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, ५/७ वटा शाखा नहरसमेत निर्माण गरिएको छ । पानीका लागि पटकपटक ताकेता पनि भएको छ,’ पोखरेलले भने ।  उनले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा ९ अर्ब रुपैयाँ लगानी भइसकेको जानकारी दिए । करिब २ वर्षअघि मालाखेतीसम्म ४ वटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ ।  ‘मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झन लगायतका कारणले कामले गति धेरै लिन सकेन । पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन,’ उनले भने ।  आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनवस्ती, गुलरिया र दोधारा चाँदनी पुर्याइनेछ । त्यसका लागि कुल १५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ । आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन १ लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गनुपर्ने बाध्यता विद्यमान छ । महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिचाइँ सुविधा पुगेको थियो । 

घरजग्गाको कारोबार गर्नेलाई लाइसेन्स बाँड्दै विभाग, १० लाख रुपैयाँ शुल्क

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । विभागले एक सूचनामार्फत ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ । अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । विभागको सूचनाअनुसार एक पटकमा ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले ५ लाख रुपैयाँ र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ । सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा ६ वटा महानगर र ११ वटा उप-महानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो ।

आज विश्वका विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदै

काठमाडौं । शहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जन केन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा यसै अवसरमा आज कोलोम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसर युक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवर्द्धन गर्नु हो । विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ । राष्ट्र सङ्घको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ ।   

चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते, अवरुद्ध भएको सडक खुल्यो

काठमाडौं । गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका-९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । चितवनस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ । 

हिमालयनबाट बाहिरियो हबिब बैंक, अब नेशनल लाइफ सबैभन्दा ठूलो सेयरधनी

काठमाडौं । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.२२ अंक बढेर २ हजार ६००३८ विन्दुमा पुग्यो । दिनभरिको उतारचढाव पछि सेयर कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबर भयो । आज दिनभर ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको नेप्सेले जनाएको छ । आज हिमालयन बैंकको १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर ब्रोकर नम्बर ४८ अर्थात् त्रिशक्ति सेक्युरिटिज पब्लिकबाट बिक्री भएको छ भने ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट खरिद गरिएको छ । उक्त सेयर हिमालयन बैंकका सबैभन्दा ठूलो संस्थापक सेयरधनी पाकिस्तानको हबिब बैंक लिमिटेडले बिक्री गरेको हो । हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन लागेको हो ।  हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकको उक्त सम्पूर्ण संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गरेको हो । यस मूल्यका आधारमा नेशनल लाइफले उक्त सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९९ रुपैयाँमा खरिद गरेको हो । तर, नेप्सेमा भने बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१ रुपैयाँमा कारोबार भएको देखिन्छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार होम पेज (गृहपृष्ठ)मा देखिएको सेयर मूल्य १३१ रुपैयाँ रेगुलर ट्रेड भएपनि वास्तविक मूल्य भने फ्लोरसिटमा देखिन्छ ।  ‘होमपेजमा देखिएको १३१ रुपैयाँ रेगुलेर ट्रेड हो । हिमालयन बैंकको सेयर खरिद बिक्री नेगोसिएट विण्डोबाट भएको हो । फ्लोरसिटमा भने खरिदबिक्री प्रतिकित्ता ११८.८८ रुपैयाँमै भएको छ,’ उनले भने, ‘यस्तो सेयर खरिद बिक्रीलाई नेगोसिएट भनिन्छ । किनभने बाहिर नै सेयर मूल्य तय भएर नेप्सेमा कारोबार देखाएको मात्रै हो । यसले दुविधा भएपनि आगामी दिनमा यस्तो सुधार गरिनेछ ।’  साथै हबिबले बिक्रीमा राखेको सेयरमध्ये बिहीबार ५० प्रतिशत मात्रै कारोबारमा आएको छ । बाँकी रहेको ५० प्रतिशत सेयर आइतबार मात्रै कारोबारमा आउने नेशनल लाइफ स्रोतले जनाएको छ ।  ‘आज ५० प्रतिशत मात्रै सेयर कारोबार भयो । कारोबारको डिजिजका कारण बाँकी रहेको ५० प्रतिशत अर्थात् १ करोड ४० लाख ६ हजार २२३ कित्ता सेयर आइतबार मात्रै कारोबारमा आउनेछ,’ कम्पनी स्रोतले भन्यो । हबिबले तिर्याे १३ करोड २२ लाख रुपैयाँ कर हबिबले हिमालयन बैंकको संस्थापक सेयर नेशनल लाइफलाई बिक्री गर्दा १३ करोड २२ लाख १८ हजार रुपैयाँ कर सरकारलाई तिर्नु परेको छ । हबिबले पुँजीगत लाभकर २५ प्रतिशतका दरले उक्त कर सरकारलाई बुझाउनु परेको हो । बैंकले बिक्रीमा राखेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयरको मूल्य अंकित मूल्य १ सय रुपैयाँ कायम हुनेछ । तर, बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १८.८८ रुपैयाँ थप गरेर बिक्री गरेको हुँदा सो आम्दानीमा २५ प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्ने हुन्छ ।  ‘बिक्री गर्ने संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ । नेप्सेमा कारोबार भएपछि सिस्टमबाट टीडीएस बापत १० प्रतिशत काट्छ भने १५ प्रतिशत रकम कर कार्यालयमा बिक्री गर्ने ब्रोकर कम्पनीले संस्था (हबिब) को नाममा जम्मा गर्नुपर्छ,’ एक ब्रोकर व्यवसायीले भने, ‘११८.८८ रुपैयाँमा खरिद बिक्री भएपनि १८.८८ रुपैयाँमा मात्रै २५ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ ।’

कांग्रेस केन्द्रीय सदस्यहरू नियमित महाधिवेशनमा एकमत

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।  पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताए ।  उनका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।  गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उनको भनाइ छ ।  यद्यपि सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरले राखेको प्रवक्ता महतले जानकारी दिए। उनले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताए ।  केही केन्द्रीय सदस्यहरूले संसद पुनःस्थापनाको सम्भावनाबारे समेत धारणा राखेको महतको भनाइ छ । 

गोल्छा ग्रुप र एनपीएलबीच सहकार्य, उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल

काठमाडौं । गोल्छा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सहकार्य अगाडि बढाएको छ। नक्सालमा बिहीवार एक कार्यक्रम आयोजना गर्दै एनपीएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन् ।  गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  सम्झौताअनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले समान एउटा पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य आर्थिक पक्ष भने खुलाइएको छैन ।  निर्देशक गोल्छाले लामो समयदेखि खेलकुदमा जोडिरहेको र एनपीएलसँग जोडिनु सुखद पक्ष रहेको बताए । सचिव  खड्काले यो सम्झौताले क्रिकेट विकासमा योगदान पुर्‍याउने आशा राखे । एनपिएलको दोस्रो सिजन आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ । क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्स हराएको थियो  । काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।  क्यानले मिनी अक्सन पनि गरिसकेको छ । अधिकांश फ्रेन्चाइज टोलीले विदेशी खेलाडी पनि भित्राउँदैछन् ।

सांसदहरूको तलव, सुविधा घटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ ।  बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  बिहीवार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको पनि बताए ।  उनका अनुसार बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतवारका लागि निर्वाचनको मिति तोकिएको छ । मन्त्री खरेलले विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय गरेको पनि बताए ।  यस्ता छन् बुधवारको मन्त्रिपरिषद् बैठकले गरेका बाँकी निर्णयहरू : संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने ।  (पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाइएको) २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल टे«टी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागि हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने ।  २०८२ मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा सहभागि हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने ।  राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने ।  ५. देहायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतिय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्ने  वैदेशिक रोजगार सम्बन्धी अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी अध्यागमन सेवासम्बन्धी बन्दीको पहिचान, प्रमाणिकरण तथा बन्दीहरूका विवरण सम्बन्धी समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने ।  बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।  कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने । नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने ।  १०. २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैटौं सेसन अफ द टोकियो कन्भेन्सन कमिटी/नवौँ सेसन अफ द बैंकक कन्भेनसन कमिटी कार्यक्रममा सहभागि हुन सचिव (शिक्षा) श्री चूडामणि पौडेललाई स्वीकृति दिने ।  छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।