विकासन्युज

बक्यौता विवाद : ५ प्रतिशत सेवाशुल्क बुझाएर उजुरी दर्ता गर्न आयोग पुग्यो पञ्चकन्या समूह

काठमाडौं । पञ्चकन्या समूहअन्तर्गतका पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले नेपाल विद्युत् नियमन आयोगमा उजुरी दर्ता गराएका छन् ।  नेपाल विद्युत प्राधिकरणको बक्यौता विवादमा उद्योगहरूले बक्यौतामाथि ५ प्रतिशत सेवा शुल्क बुझाएर आयोगमा उजुरी दिएको आयोगका सूचना अधिकारी हरिबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘दुई उद्योगले सेवा शुल्कसहित निवेदन ल्याएका छन् । हाल हामी कागजातको रीत पुगेरनपुगेको अध्ययन गर्दैछौं ।’ सूचना अधिकारी खत्रीले आयोगले निवेदन दर्ता भएपछि प्राधिकरणलाई प्रत्युत्तरका लागि लेखी पठाउने र औपचारिक सुनुवाइ प्रक्रियामा प्रवेश गर्ने जानकारी दिए । यसअघि गत वर्ष पनि यस्तै विवादमा उद्योगहरूले आयोगमा उजुरी दिएका थिए । त्यसबेला आयोगले दुई पटक फरक निर्णय गरेको थियो । ६ साउन २०८१ मा आयोगले विवाद समाधान नहुँदासम्म विद्युत् विच्छेद गर्न नपाइने भन्दै काटिएका उद्योगका लाइन तत्काल जोडिदिन निर्देशन दिएको थियो । तर, १४ कात्तिकमा आयोगले आफ्नै अघिल्लो निर्णय विपरीत आदेश जारी गर्दै बक्यौता बुझाएपछि मात्रै लाइन जोडिदिन भनेको थियो ।  गत वर्ष उद्योगहरूले आवश्यक ५ प्रतिशत सेवा शुल्क नबुझाएकाले उजुरी कानुनी रूपमा नचलेको बताइएको थियो । तर, यो पटक पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले सबै प्रक्रिया पूरा गर्दै उजुरी दर्ता गराएका हुन् ।  सूचना अधिकारी खत्रीले भने, ‘यस प्रकारको निवेदन आयोगमा पहिलो पटक औपचारिक रूपमा आएको हो, त्यसैले प्रक्रियामा केही समय लागेको हो । अब दर्ता प्रक्रिया टुंग्याइनेछ ।’ उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी रूपमा महसुल असुल गर्न खोजेको र लाइनसमेत काटेको आरोप लगाएका छन् । उनीहरूले विद्युत् कटौती रोक्न आयोगसँग लिखित निवेदन दिएका छन् ।   प्राधिकरणका अनुसार पञ्चकन्या स्टिलको ५२ लाख र पञ्चकन्या प्लास्टिकको २५ लाख बक्यौता छ  । बक्यौता नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा यी दुईसहित २५ उद्योगको लाइन काटेको थियो  ।   बक्यौता उठाउन खोज्दा तत्कालीन सरकारले ११ चैतमा बर्खास्त गरेका घिसिङ अहिले ऊर्जामन्त्री बनेका छन् । त्यसयता उनी बक्यौता उठाउन लागिपरेका छन् ।

जेनजी आन्दोलनमा लुटिएको १८ किलो सुन यसरी फिर्ता गर्दैछ राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेनजी आन्दोलनमा लुटिएको ग्राहकको सुन बराबरको पैसा दिने तयारी थालेको छ । दुई महिनाअघि भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ केजी सुन लुटिएको थियो । आन्दोलनका क्रममा बैंकबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र १८ केजी सुनसहितको गरगहना लुटपाट भएकोमा हालसम्म ३२ लाख रुपैयाँ बराबरको मात्र सम्पत्ति बरामद भएको प्रहरीले जानकारी दिएको छ ।  बैंकबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका सुनका गरगहना प्रदर्शनका क्रममा लुटिएको थियो । सुरक्षित कोठाभित्र राखिएको भल्ट फोडेर करिब १८ किलो सुनका गरगहना लुटिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निरीक्षणका लागि बैंकमा पुगेका थिए ।  प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका तीन जना व्यक्तिहरूबाट करिब ७०० ग्राम सुन बरामद भएको छ । पक्राउ परेकामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ भने अर्का एक जना अनुसन्धानकै क्रममा छन् ।  बाँकी एक जना नाबालक रहेका कारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले बताए ।  उनका अनुसार प्रदर्शनका क्रममा बैंकका  सीसीटीभीसहित नयाँ बानेश्वर क्षेत्रका कैयौं सीसीटीभी क्यामेरामा क्षति पुगेका कारण अनुसन्धानका लागि समय लागेको छ । ग्राहकले यसरी पाउँछन् सम्पत्ति फिर्ता  राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी पवन रेग्मीले ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको बताए ।  ‘ग्राहकहरूले ल्याएर राख्नुभएको सुन चोरी भएको छ । हामीले उहाँहरूलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद भए पनि दिनेछौं । त्यसका लागि एउटा समिति पनि बनेको छ, त्यो समितिले छिट्टै निर्णय गरेर क्षतिपुर्ति दिनेछौं,’ उनले भने ।  सबैभन्दा महत्वपूर्ण विषय गहनासँग व्यक्तिको भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ ।  ‘यसअघि बैंकहरुले के कसरी फिर्ता गरेका रहेछन्, त्यो पनि हेरिरहेका छौं, केहि दिन मै समितिले निर्णय गर्छ र हामी क्षतिपुर्ति दिन्छौं, यसअघि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि कतिपय बैंकहरु लुटिएका थिए । त्यसबेला पनि बैंकहरुले जिम्मा लिएर राखेका ग्राहकका गरगहना र नगदको क्षतिपूर्ति दिएका थिए,’ उनले विगतको अभ्यास सुनाउँदै भने ।  एउटै शाखाबाट ठूलो परिमाणको रकम लुटपाट भए पनि यो रकम बैंक आफुले नै क्षतिपुर्ति तिर्नु पर्दैन । बैंकले आफना्े भल्ट तथा लकरमा राखेका गहनाको बीमा गरेको हुन्छ ।  राष्ट्रिय वाणिज्य बैंकले पनि सबै गहनाको पूर्ण बीमा गरेको थियो । जसअनुसार बैंकले बीमा दाबी गरिसकेको छ । बीमाबाट रकम आउने हुँदा बैंक आफैले रकम हाल्नु नपर्ने रेग्मीको भनाइ छ । सेयरधनीले पनि लुटिएको रकमबाट धेरै गुमाउनु पर्ने अवस्था नभएको उनले जानकारी दिए ।   

सिटिजन्स बैंक र केल्मी शोरूमबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक र ललितपुरको जावलाखेलस्थित केल्मी शोरूमबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका डेबिट र क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी शोरूम, जावलाखेलमा सामान खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने र नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यका साथ समय–समयमा विभिन्न ग्राहकमैत्री सेवा तथा योजना सञ्चालन गर्दै आएको छ । डिजिटल माध्यम हुँदै गरिने खरिदबापत उपलब्ध छुट तथा अन्य विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स ‘बीबीबी पल्स’ रेटिङमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी प्लस (BBB+)’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले वित्तीय सुदृढता, दायित्व पूरा गर्ने क्षमता र समग्र संस्थागत व्यवस्थापनमा सुधार गर्दै यो रेटिङ हासिल गरेको हो । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियो झल्काउँछ । ‘बीबीबी प्लस’ श्रेणीका कम्पनीहरूलाई आफ्नो दायित्व समयमै पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ । कम्पनीले ग्राहक, अभिकर्ता र सेयरधनीहरूको निरन्तर विश्वासका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवारीपूर्ण र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हाल कम्पनीले देशभरका १४८ शाखा तथा उपशाखामार्फत सेवा सञ्चालन गरिरहेको छ ।

दोलखामा हिमपहिरोमा परी ३ जनाको मृत्यु, ८ जना बेपत्ता

‍काठमाडाैं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।  सोमबार बिहान १०:३० बजे गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी जानकुमार महतोका अनुसार ८ जना हराइरहेका छन् । १५ जनाको टोली नेपाली गाइडसहित नाँ गाउँबाट हिमाल आरोहण गर्न भनी निस्किएको थियो । हिँडेको डेढ घन्टापछि पहिरो गएको महतोले जानकारी दिए । उनका अनुसार उद्दारका लागि हेलिकप्टर तयार रहेको तर मौसमका कारण जान सकिरहेको छैन । उनले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए । टोलीमा नेपाली विदेशी दुवै रहेका थिए । मृतक र हराएका दुवैको पहिचान हुन सकेको छैन । 

लक्ष्य, चुनौती र आगामी योजना समेटेर एनआईसी एशिया लघुवित्तको प्रदेश समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेशस्तरीय बजेट समिक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गतेसम्म बाँकेको कोहलपुरमा सम्पन्न गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूबाट १२१ जना प्रतिनिधिहरूको सहभागिता थियो । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट प्रदर्शन गर्न सफल कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न प्रेरित गरेका थिए । सो अवसरमा नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, प्रतिबद्धता र दक्षताको आवश्यकता औंल्याउँदै अगाडि बढ्नुपर्ने बताएका थिए । विभागीय प्रमुखहरू राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले पहिलो त्रैमासिक अवधिमा आफ्ना विभागहरूले हासिल गरेका उपलब्धि प्रस्तुत गर्दै चालु त्रैमासका लागि कार्ययोजना सार्वजनिक गरेका थिए । गोष्ठीमा पहिली त्रैमासिक उपलब्धि, देखिएका चुनौती, सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो । साथै, दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा गहन छलफल गरिएको संस्थाले जनाएको छ । गोष्ठीले कर्मचारीहरूलाई थप उत्प्रेरणा, उत्साह र जिम्मेवारीका साथ काम गर्न प्रोत्साहित गर्ने र शाखा सञ्चालन सुधार तथा सेवा गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास संस्थाले व्यक्त गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले लिए शपथ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सोमबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ गराएका हुन् । नेपाल सरकारले कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्रीको निर्देशनः खर्चमा मितव्ययिता, काममा नतिजामुखी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र सबै सरकारी कर्मचारीहरूलाई सम्बोधन गर्दै तत्कालीन प्राथमिकता र सुधारका कार्ययोजनाबारे कडा निर्देशन दिएकी छन् ।  प्रधानमन्त्रीले भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म आत्मसात गर्दै सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित गर्नुपर्ने बताइन् । बैठकमा विषयगत मन्त्रालयका सचिवहरूले प्रस्तुत गरेका सुधार योजनाहरू प्रशंसनीय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले ती योजनाले आम नागरिकलाई प्रत्यक्षरूपमा छुनेगरी परिमार्जन गर्न निर्देशन दिइन् । भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रत्यक्ष सुधार नागरिकले महसुस गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गर्ने निर्देशनमा भनिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दिएको जानकारीअनुसार सार्वजनिक खर्चमा मितव्ययिता र नतिजामुखी उपयोग सुनिश्चित गर्न अर्थ मन्त्रालयको परिपत्र कडाइका साथ पालन गर्न प्रधानमन्त्रीले दिएको निर्देशनमा उल्लेख गरिएको छ । निजी क्षेत्रको मनोबल वृद्धि र औद्योगिक वातावरण सुधारका लागि संवाद र सहकार्य बढाउनेबारे पनि निर्देशन दिएको रावलले जानकारी दिए । यस्तै, सरकारप्रतिको नागरिक भरोसा र कर्मचारीहरूको मनोबल बढाउने प्रभावकारी उपाय अवलम्बन गर्न पनि मुख्यसचिव र सचिवहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएकी छन् । कर्मचारी सरुवा–बढुवा प्रणालीलाई पारदर्शी र न्यायोचित बनाउने संरचनात्मक सुधार गर्न समेत प्रधानमन्त्रीले चासो राखेको रावलले जानकारी दिए । रावलका अनुसार आन्दोलनमा क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकन गरी तत्काल पुनर्निर्माण नीति र कार्ययोजना बनाउनसमेत कार्कीले अग्रसर हुन निर्देशन दिएकी छन् ।  आसन्न निर्वाचनको तयारीमा सबै निकायले चुस्तरूपमा जिम्मेवारी निर्वाह गर्नका साथै सबै मन्त्रालयले वार्षिक कार्ययोजना पुनरावलोकन गरी नयाँ कार्य मानकहरू स्थापित गर्न समेत प्रधानमन्त्रीले चासो राखेकी छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक नियमित गरी राष्ट्रिय तहमा प्रस्ताव पेश गर्नमा पनि कार्कीको चासो रहेको छ ।