विकासन्युज

सुनको मूल्य तोलामा दुई लाख ३७ हजार ८०० पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल दुई लाख ३७ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १० रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुन दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी दुई हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।  बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ ।    

बेमौसमी वर्षा : गुल्मीमा पाँच करोडको धानबाली नष्ट

तम्घास । हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ । त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको हो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको उनले बताए । इस्मा गाउँपालिका–६ का  कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा पनि क्षति भएको छ ।  त्यसैगर, अर्का किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । उनी यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित भएको स्थानीयले बताएका छन् । 

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनसभन्दा नगद धेरै

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।  यस्तो लाभांश इतिहास बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।  यस्तै, बैंकले आव २०७८/७९ मा १३ प्रतिशत, आव २०७७/७८ मा २१.०५ प्रतिशत, आव २०७६/७७ मा १५.७८ प्रतिशत, आव २०७५/७६ मा ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।  यस्तै, आव २०७४/७५, आव २०७३/७४, आव २०७२/७३ मा २१.०५ प्रतिशत, आव २०७१/७२ मा १५.७९ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत र आव २०६९/७० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  

तीन महिनामा जीवन बीमा कम्पनीको कुल व्यवसाय ४९ अर्ब २२ करोड, कसले कति कमायाे ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब रूपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले असोजमा मात्रै ४ लाख १४ हजार ५२८ पोलिसी जारी गरेर १३ अर्ब ९७ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार तीन महिनामा कम्पनीले १६ लाख ७४ हजार ६८१ बीमालेख जारी गरेर १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ १३ लाख ५८ हजार ७९८ पोलिसी बिक्री गरेर ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  असोज मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रियलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।  तीन महिनाको अवधिमा रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ र  सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । 

१७ करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

पर्वत । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ ।  प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की  पुल निर्माण सुरु गरेको हो ।  पुलको लागत १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ ।  निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरेको हो । सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । पुल एक सय मिटर लामो र ११ मिटर चौडा हुने छ ।

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

देवदह । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।   भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार रुपैयाँ, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार रुपैयाँ र असोजमा नौ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ संकलन भएको छ ।  जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।   

सोफा हबको लक्की ड्र नतिजा सार्वजनिक, १० ग्राहकलाई थाइल्यान्ड भ्रमणको उपहार

काठमाडौं । देशका १० स्थानमा शाखा रहेको सोफा हब काठमाडौंले ल्याएको दशैं तिहार झड्का अफरको विजेता घोषणा गरेको छ । मंगलबार भक्तपुरमा आयोजित एक समारोहमा कम्पनीले 'लक्की ड्र' मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो । जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सञ्चालक तारालाल धरेलले जानकारी दिए । उनका अनुसार केही समयमा ती विजेतलाई थाइल्याण्डको भ्रमण गराइने भएको छ । साथै गत वर्ष पनि कम्पनीले १० जना ग्राहकलाई युरोप भ्रमण गराएको थियो । कम्पनीले नेपालीहरूको महान् चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो । उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौंले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे । दशैं तिहार, छठको अवसरमा १५ सय बढी ग्राहकले सोफा हबका विभिन्न शाखाबाट फर्निचर तथा सोफा खरिद गरेको सञ्चालक सदस्य जिवन पाण्डेले जानकारी दिए । कम्पनीको गोठाटार, कंलकी, सामाखुसी, बिर्तामोड, पोखरा, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौंडा गरी १० वटा शाखा सञ्चालनमा रहेका छन्।  

मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।