विकासन्युज

गुगलले दक्षिण एसियाका लागि भारतमा डेटा सेन्टर राख्ने

अमेरिका। गुगलले भारतमा माइक्रोसफ्ट र अमेजनको भन्दा ठूलो डेटा सेन्टर बनाउने भएको छ। उसले सन् २०१७ सम्ममा सक्नेगरी क्लाउड बेस्ड डेटाबेस सेन्टर बनाउन लागेको हो। अमेरिकन टेक्नोलोजी जाइन्ट गुगलले सरकारी कार्यालय र फाइनान्सियल सर्भिस दिने कम्पनीहरुलाई लक्षित गरेर यो सेन्टर सञ्चालनमा ल्याइने जनाएको छ। गुगलले यसलाई ग्लोवल अनाउन्समेन्टको एउटा पार्ट भनेको छ। हरेक महादेशमा एउटा क्लाउड डेटा सेन्टर राख्ने योजनाअनुरुप उसले भारतपछि विश्वका आठ स्थानमा थप डेटा सेन्टर खोल्ने जनाएको छ। माइक्रोसफ्टले यसअघि नै भारतका तीन ठाउँमा डेटा सेन्टर खोलिसकेको छ भने अमेजनले गत जुन महिनामा भारतमै लोकल डेटा सेन्टर खोलेको थियो। यी दुवै कम्पनीहरुले भारतमा आफ्नो बर्चस्व हुने बताइरहेका छन्। गुगलका सिनियर भाइस प्रेसिडेन्ट उरस होल्जीले दक्षिण एसियामा गुडलको डेटा सेन्टरका मोटिभेटेड भएर माग भएको र धेरै जनासङ्ख्या भएका कारण प्रतिस्पर्धी कम्पनीसँग काम गर्नका लागि तयार रहेको बताएका छन्। गुगलले यसअघि नै क्लाउड डेटामा अरु कम्पनीसँग धेरै प्रतिस्पर्धा गरिसकेको छ। होल्जीले भारतमा निर्माण हुन लागेको सेन्टरमा अटोमेसनसहितको सुविधा रहेने र यो क्षेत्रका जनताको हिसावमा डेटा स्टोरेजको मूल्य पनि धेरै नपर्ने जानकारी दिए। गुगलले यसअघि नै आफ्नो क्याउडमा एक विलियन प्रयोगकर्ताको डेटा रहेको जनाएको छ। जसमा स्न्याप च्याट, पोकेमोन गो, टेलुस इन्टरनेशनल, विप्रो, अशोक लेलैण्ड, महिन्द्रा एण्ड महिन्द्रा, दैनिक भाष्कर ग्रुपको डेटावेस रहेको जनाएको छ। गुगलका भाइस प्रेसिडेन्ट ब्रेन स्टिभेन्सले यो क्षेत्रमा हाल भइरहेको लिटेन्सी रेटमा ८० प्रतिशत पुर्याउने बताए। उनले सन् २०१७ मा नै भारतपछि सिंगापुर, अष्ट्रेलिया र ब्राजिलमा नयाँ डेटा सेन्टर खोल्ने बताएका छन्। गुगलले नयाँ क्लाउड बेस्ड डेटा सेन्टर खोलेपछि नेपालमा पनि विद्यमान अवस्थामा रहेको लिटेन्सीको दर घट्ने र गुगल ब्राउज गर्दा कम समय लाग्नेछ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौं, २० असोज । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले नारायणगढ शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहक वर्गमा सरल, सहज र अधिक पहुचको दृष्टिले उक्त शाखालाई बिहीबारदेखि साविक नारायणगढ, पुरानो वजार क्षेत्रबाट नारायणगढको मुख्य वजार क्षेत्र, लायन्स चोकमा स्थानान्तरण गरेको छ । उक्त शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन बैंकका अध्यक्ष सुशिल राज पराजुलीले गरेका छन् । उक्त अवसरमा अध्यक्षले बैंकको शाखा संजालको माध्यमद्धारा सरल तथा स्तरीय बैंकिङ्ग सेवाबाट ग्राहक महानुभावहरु थप लाभान्वित हुने बताएका छन् । उक्त बैंकले विभिन्न शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस, मोबाइल बैंकिङ् लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टर गरी कुल ४३ स्थानहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कन्काई विकास बैंकले ३० प्रतिशत बोनस दिने, पूँजी १५ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २० असोज । कन्काई विकास बैंकले २० प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १ दशमलब ३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंक सञ्चालक समितिले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ पुग्ने छ ।

२० अर्बकाे विद्युत् उत्पादन कम्पनी स्थापना गर्ने मन्त्रिपरिषदकाे निर्णय, सर्बसाधारणाकाे सेयर २९ प्रतिशत हुने

काठमाडौं, २० असोज । आज बसेको मन्त्रिपरिषदको बैठकले विद्युत् उत्पादन कम्पनी स्थापना सम्बन्धी संरचनाको मन्त्रिपरिषदले स्वीकृत गरेको छ । केही वर्षयता कम्पनी स्थापना गर्ने भनिए पनि विभिन्न बाबजुदको कारण सरकारले कम्पनी स्थापना गर्न सकिरहेको थिएन । सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी सरकारले उक्त कम्पनी स्थापना गर्न लागेको हो । सरकारले जलासययुक्त परियोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापनाबाट नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानी जस्ता जलासययुक्त आयोजना निर्माण गर्ने उदेश्य राखेको छ । सरकारले नेपालको पानी जनताको लगानी सहितको अल्पकालिन तथा दिर्घकालिन योजना र राष्ट्रिय उर्जा संकट निवारण कार्य योजनालाई कार्यान्वयन गर्न कम्पनी ऐन २०६३ बमोजिम विद्युत उत्पादन कम्पनी लिमिटेड स्थापना गरेको हो । उक्त कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ हुनेछ भने कम्पनीको अधिकृत पूँजी भने २० अर्ब रुपैयाँ हुनेछ । सरकारले तत्कालका लागि जारी पूँजी १० अर्ब र सस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी दुई अर्ब रुपैयाँ रहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । विद्युत उत्पादन कम्पनीमा सर्बसाधारण नागरिकका लागि १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत र अति विपन्न परिवारलाई दुई प्रतिशत रहने गरी सेयर दिने योेजना बनाएको छ । त्यसैगरी कम्पनीमा नेपाल सरकार उर्जा मन्त्रालयको २० प्रतिशत, अर्थ मन्त्रालयको पाँच प्रतिशत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, नागरिक लगानी कोषको पाँच प्रतिशत, जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेडको चार प्रतिशत, नेपाल दूरसंचार कम्पनी लिमिटेडको १० प्रतिशत र राष्ट्रिय बिमा संस्थानको दुई प्रतिशत सेयर रहेको जानकारी पनि उर्जा मन्त्रालयले दिएको छ ।

बैतडी– काठमाडौं एसी बस सञ्चालन, प्रतियात्रु भाडा ६४५ रुपैयाँ

बैतडी, २० असोज । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी– काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरु गरेको छ । यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी बिहीबारदेखि बैतडी– काठमाडौं एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिए । बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ । “लामो यात्रामा यात्रुलाई समस्या भएपछि एसी बस सञ्चालन गरेका हौं,” महासचिव कँडेलले भने । बैतडीबाट दैनिक एउटा बस बिहान ७ बजे सदरमुकाम गोठलापानीबाट तथा काठमाडौंबाट बिहान ११ बजे गङ्गबु बसपार्कबाट छुट्ने समितिले जनाएको छ । बैतडीबाट काठमाडौंको भाडा प्रतियात्रु दुई हजार ४३० रुपैयाँ तोकिएको छ । हाललाई बैतडी–काठमाडौं छ वटा एसी बस सञ्चालन भए पनि छिट्टै थप छ वटा बस थप्ने तयारी समितिले गरेको छ । यस्तै समितिले बैतडी–महेन्द्रनगरसम्म समेत पहिलोपटक एसी बस सञ्चालनमा ल्याएको छ । बैतडी र महेन्द्रनगरबाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ भने भाडादर प्रतियात्रु ६४५ रुपैयाँ कायम गरिएको छ । सदरमुकाममा अवस्थित बसपार्कमा यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको छ । लामो समयपछि बसपार्क सञ्चालनमा आए पनि यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको बताइएको छ । रासस

‘२५ बुँदे सम्झौताले नेपाललाई भुटानको स्तरमा झारेको छ’

काठमाडौँ, २० असोज । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा गरेको सम्झौता राष्ट्रघाति भएको भन्दै नेपाललाई भुटानिकरणमा अगाडि बढाएको बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री प्रचण्डले गरेको २५ बुँदे सम्झौताले नेपाललाई सधैं भारतको पछि लाग्ने बनाएको बताएका छन् । देशभक्त जनगणतान्त्रि मोर्चाले बिहीबार संवाद डबलीमा गरेको ‘२५ बुँदे सम्झौता र राष्ट्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले भने, ‘प्रचण्ड जी भारतको आर्शिवाद थाप्न गएर राष्ट्रघाति सम्झौता गरे तर मागेजस्तो आर्शिवाद पाएनन् ।’ भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले २५ बुँदे सम्झौताले नेपाललाई सिक्मिकरण र भुटानकरणको दिशामा नेपाललाई लगेको बताए । कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारतमा नेपालमाथि गद्दारी गरेको भन्दै २५ बुँदेबारे सत्तासाझेदार नेपाली काँग्रेसलाई समेत जानकारी नगराएको बताए । ‘प्रचण्ड जी राष्ट्रघाति हुन् वा राष्ट्रवादी भन्ने उनले पटक पटक व्यवहारमा देखाएका छन्’ बिजुक्छेले भने ।अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री प्रचण्डले गरेको राष्ट्रघातको विरुद्धमा सडकमा आउनुको विकल्प नभएको बताए । नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले २५ बुँदे सहमतिले नेपाललाई भारतको पुच्छर बनाएको बताएका छन् । मैनालीले सम्झौताको १० नम्बर बुँदा सबैभन्दा खतरनाक भएको बताए । ‘नेपालको परराष्ट्र नीति तटष्थ र पंचशीलका आधारमा हुने भएपनि २५ बुँदे सम्झौताले भुटानको स्तरमा पुर्याइ दिएको छ’ उनले भने । अध्यक्ष मैनालीले ६०१ जनाले संविधान लेखे भन्दैमा नेपाल भारतीय हस्तक्षेपबाट मुक्त नभएको बताए । नेकपा (माओवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सत्तामा आमूल परिवर्तन नभएसम्म जो ब्याक्ति सरकारमा गएपनि राष्ट्रघातलाई निरन्तरता दिने बताए । ‘नेपालमा भारत निर्भर प्रतिक्रियावादी सत्ता रहेसम्म सरकारमा जो गएपनि राष्ट्रघात भइरहनेछ । यो सत्तामा जो गएपनि राष्ट्रघात गर्नुपर्ने बाध्यता हुन्छ । यो ब्यक्तिको कुरा नभएर सत्ताको कुरा हो’ बास्तोलाले भने । उनले नेपालमा राष्ट्रघातलाई रोक्नलाई सत्तामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता भएको बताए । बास्तोलाले नेपालका नेताहरुले संघर्षको स्तरअनुसार राष्ट्रघात गर्ने गरेको बताए । ‘काँग्रेस, माले–एमाले, प्रचण्डलाई हेर्दा उनीहरुले गरेका संघर्षको स्तरअनुसार राष्ट्रघात गरेका छन् । यो भारत निर्भर राज्य संरचनाका कारणले भएको हो’ बास्तोलाले भने । कार्यक्रममा मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेकपा (मसाल) का प्रबक्ता र जनमोर्चाका संयोजक साध्यबहादुर भण्डारीले २५ बुँदे सम्झौता राष्ट्रघाति भएको भन्दै सडक संघर्ष गर्नुपर्ने बताएका थिए ।

देव: विकास बैंकले धितोपत्र बोर्डमा दियो ५० प्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, २० असोज । देवः विकास बैंकले २ बराबर १ (५० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ४४ करोड ५ लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ३८१ रुपैयाँमा कारोबार भएको छ । देवः विकास बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।

डोल्पा र हुम्लामा पुग्यो थ्रीजी सेवा, अब ७५ वटै जिल्लामा, दसै र तिहारको अबसरमा प्रति एमबी १२ पैसामा डाटा अफर

काठमाडौं, २० असोज । आधुनिक सूचना र प्रविधिको सेवा अब डोल्पा र हुम्ला जिल्लामा पनि पुगेको छ । हिजो (असोज १९ गते) डोल्पाको दुनै र आज ‘२० गते’ देखि हुम्लाको सिमिकोटमा थ्रीजी सेवा शुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको कम्पनीले जनाएको छ । थ्रीजी अहिलेसम्म नेपालमा प्रयोगमा आएको प्रविधि मध्ये अत्याधुनिक हो । टेलिकमले फोरजी सेवा सञ्चालनको लागि तयारी गर्दैछ । ‘नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो’ टेलिकमद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल टेलिकमले जीएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो । थ्रीजी सेवा मार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । त्यसै गरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ । नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि स्पेशल५००एमबी वा स्पेशल१२००एमबी लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा पठाउनु कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीका प्रबक्ता प्रतिभा बैद्यले बताईन् ।